शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साफ च्याम्पियनसिप : नेपालले भारतलाई हराउनै नसक्ने हो त ?

शुक्रबार, १७ भदौ २०७९, १५ : १३
शुक्रबार, १७ भदौ २०७९

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समय आउनुपूर्व नै नेपाली टोलीका लागि मुख्य टाउको दुखाइको विषय हुन्छ भारतलाई कसरी हराउने ?  नेपालको पुरुष या महिला दुबै टोलीको लागि भारत बलियो प्रतिद्वन्द्वी हो । छिमेकी मुलुक भएका कारण राजनीतिक रुपमा पनि नेपाल र भारतको कुरा बेला–बेलामा जोडिन्छ । त्यसैले, नेपाली टोलीका लागि अन्य टिमसँगको खेलभन्दा भारतसँगको खेललाई विशेष महत्वका रुपमा लिइन्छ । 
नेपाली महिला टोलीको साफ सपनाको बाधक अहिलेसम्म भारत बनेको छ । नेपाल साफका चार फाइनल खेलमा भारतसँग पराजित भएको छ । 

समूह चरणका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाललाई फाइनलमा पुग्दा भारतलाई हराउन मुस्किल हुन्छ । घरेलु मैदानमा नै हुन लागेको पछिल्लो साफ च्याम्पिनयसिपमा भने नेपालले भारतलाई हराएर उपाधि जित्ने योजना बनाएको छ । यो पटकको प्रतियोगितामा भारतलाई हराउँदै उपाधि जित्ने नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले बताए । आफूले नेपाललाई उपाधि दिलाएर नेपाली समर्थकलाई खुशी दिलाउने उनको भनाइ छ । 
‘छैटौं संस्करणमा पुग्दा हामी उपाधिका लागि कुरिरहेका छौं । सन् २०१० देखि नै हामी उपाधिका लागि पर्खेका छौं । यो पटक हामी चुक्ने छैनौं । सबै टिम बलियो छन् । तर, हामी विशष रुपमा लाग्नेछौं,’ उनले रातोपाटीसँगको कुराकानीमा भने । 

थापाले पहिलो संस्करणदेखि नै भारत चुनौती बनेकाले अहिले त्यसलाई दोहोरिन नदिने बताए । भारतसँग खेल भन्ने बित्तिकै खेलाडीको आत्मबलमा कमजोरी आएजस्तो आफूलाई अनुभव हुने बताउँदै उनले अहिलेको अवस्था त्यो नभएको विश्वास व्यक्त गरे । 

‘हाम्रो लागि भारत मुख्य चुनौतीका रुपमा रहेको छ । भारतलाई हराउन नसक्ने भन्ने होइन । नेपालले भारतलाई सेमी फाइनलमा हराएको पनि छ । भारतसँग खेल भन्दा नेपाली खेलाडीको मनोबल पनि कमजोर भएजस्तो मान्थे मैले, अब त्यस्तो छैन । यो पटक भारतलाई हारउँदै उपाधि जित्छौं,’ थापाले भने । 

पहिलो साफदेखि अन्तिम पटक नेपालमा भएको सन् २०१९ को साफसम्म नेपाल भारतसँग नै पराजित भएको थियो । प्रशिक्षक बालगोपाल महर्जन पनि नेपाली टोलीले भारतलाई हराउन सक्ने तर, त्यसका लागि नेपालले पहिले भारतको खेल राम्रोसँग बुझ्नुपर्ने बताउँछन् । 

​महर्जनले नेपाली टोलीले भारतजस्तै म्याच एक्स्पोजर पाएमा रसोही अनुसारको तयारी भएमा भारतलाई हराउन त्यति असहज नभएको बताए । प्रतियोगिता अघि मात्र गरेको तयारीले ठूलो नतिजाको अपेक्षा गर्न नसकिने महर्जनको भनाइ छ । 

‘नेपाली टोलीले लामो समय तयारी गर्दैन । अन्तर्राष्ट्रिय म्याच एक्स्पोजर पनि राम्रो छैन । जति बंगालादेश, भारतले महिला फुटबलमा लगानी गरेका छन् । त्यति हामीले गर्न सकेका छैनौं,’ महर्जनले भने, ‘तर, आत्मबलका साथ मैदान छिर्दा हामी अवश्य सफल हुनेछौं ।’

सन् २०१० मा बंगलादेशमा भएको पहिलो साफकी सर्वाधिक गोलकर्ता अनु लामाले भारतसँग खेल्दा मनोबल नै कमजोर पार्ने परिपाटी त्यागेमा नेपाललाई सफलता मिल्ने बताउँछिन् । अनुले पहिलो साफमा ११ गोल गरेकी थिइन् । 
‘हामी भारतसँग खेल्दा सधैँ हारको डर नै मान्छौं । मनोबल नै हाम्रो कमजोर हुन्छ । त्यो परिपाटीलाई त्याग्ने हो भने हामी अवश्य पनि बलियो सावित हुनेछौं,’ लामाले रातोपाटीसँगको कुराकानीमा भनिन् । 

यता प्रशिक्षक हरि खड्का पनि नेपाली टोलीले यो पटक घरेलु मैदानको फाइदा उठाउँदै भारतलाई हराउनु पर्ने बताए । प्रशिक्षकले पनि प्रतियोगिता अघि भारतको खेल अध्ययन गरेको हुँदा त्यहीअनुसार प्रस्तुत हुँदा सहज हुने उनको भनाइ छ । 

सन् २०१९ मा नेपाली टोलीको प्रशिक्षक रहेका हरि खड्काले नेपाली टोलीले भारतको खेल बुझेर मैदान छिर्दा नतिजा उल्टाउन सकिने विश्वास व्यक्त गर्छन् । उनले अबको साफमा प्रशिक्षक कुमार थापाले भारत लगायतको टिमको खेल अध्ययन गरेर मैदान छिर्ने भएकाले केही सहज हुने बताए । खड्काले यो उपाधि रक्षा गर्ने सुनौलो मौका गुमाउन नहुने धारणा राख्छन् । नेपालले महिला साफ च्याम्पियनसिपको पहिलो खेल भदौ २१ गते भुटानविरुद्ध खेल्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप