शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रक्सी पिए बिग्रेकी महिला, अनि पुरुष...?

शनिबार, १८ भदौ २०७९, ०६ : १३
शनिबार, १८ भदौ २०७९

 महिलालाई परापूर्व कालदेखि नै कुनै न कुनै रूपमा समाजले हस्तक्षेप गर्दै आएको छ । कहिले पोसाकलाई लिएर चरित्रमाथि औला उठाएको छ, कहिले महिला भएर धेरै बोल्नु हुँदैन भनेर वाक स्वतन्त्रता समेत हनन गरेको देखिन्छ । महिलाको इतिहास हेर्ने हो भने सङ्घर्षले भरिएको छ ।  

पाँच पाण्डवको एकल पत्नी बनेकी द्रौपदीको दर्दनाक इतिहास साक्षी नै छ र उनलाई पाण्डवहरूले जुवामा हारेको समेत पुरुषवादी सत्ताको अहङ्कार सबैलाई ज्ञात नै छ  । महिलाहरू परापूर्व कालदेखि कुनै न कुनै रूपमा आफ्ना इच्छालाई दबाएरै बसे । 

पुरुष सत्ताले बनाएको कुसंस्कार र कुप्रथालाई अहिले पनि महिलाहरूले स्विकारिरहेका छन् । यदि महिलाले इच्छा व्यक्त गरी भने उसलाई पुरुष सत्ताले दबाएर, तँ महिला होस्, यो तेरो काम होइन भनेर अहिले पनि स्वतन्त्रता हनन गरिरहेकै छ  । 

पुरुषलाई नै आफ्नो पालनकर्ता मान्ने र पुरुषमा निर्भर हुने महिलाहरूको परनिर्भरता अहिले पनि कायमै छ । भात, भान्सा सन्तानको हेरचाहमा मात्र समय खर्चिने महिलाहरू असक्षम हुन् भनेको होइन । घर, परिवारको दायराभन्दा बाहिर पनि संसार छ । त्यो संसारसँग परिचित हुँदै निर्धक्क रूपमा पुरुष सरह समानताको अनुभूति गर्न सके भने मात्र सम्पूर्ण महिला स्वतन्त्र भएको मान्न सकिन्छ । 

 तीजमा महिलाहरूले नृत्य गर्दै गरेको  एउटा भिडियो भाइरल भएको थियो । यो हाम्रो संस्कृति होइन । चाडपर्वको नाममा सरासर विकृति हो । यस्तो नृत्य गर्नेलाई कारबाही गर्नुपर्छ । यो कुकुर डान्स हो, कति धेरै हल्लाएको ? आदि । 

महिला शारीरिक संरचना प्राकृतिक रूपमा नै पुरुषभन्दा फरक छ । नृत्य गर्दा महिलाको छाती हल्लिनु स्वाभाविक हो । किन हल्लाएको ? कसरी हल्लाएको आदि, इत्यादि टिप्पणी गर्नु उचित होइन ।  महिलाहरू निहुरेर नृत्य गर्दैमा कुकुरसँग तुलना गर्न मिल्छ र ? महिलाले कस्तो नृत्य गर्नुपर्छ भनेर पुरुषहरूसँग अनुमति लिनुपर्ने हो ? 

परम्परावादी विरह, वेदनाले भरिएको र पुरुषको गुणगान गरिएको गीतमा नृत्य गर्दा आहा ! कति शालीन महिला भनेर प्रशंसा गर्नेको जमात नै छ यहाँ । तर ती परम्परावादी गीतमा नृत्य गरेर आफूलाई प्रत्यक्ष रूपमा पितृसत्ताको दास बनाइरहेको कुरा महिलालाई ज्ञात छ कि छैन ? 

पुरुषले दिएको दासत्वको चिनो रातो सिन्दुर, पोते र चुरा लोग्ने बाँचुन्जेल लगाउनुपर्ने ।  दासत्वको चिनो दिएर पुरुषले आफ्नो सत्ता कब्जा गरेर राखेका छन् भनेर महिलाहरूले बुझेका छन् कि नाइँ ?  लोग्नेलाई भगवान्को रूपमा पूजा गर्नुपर्ने, त्यसमाथि लामो आयुको लागि निवाला व्रत बस्नुपर्ने, गोडाको पानी खानुपर्ने । अरूको चेलीलाई आफ्नो घरमा भित्र्याएर गोडाको पानी खुवाउन लगाउनु कहाँको न्याय हो ? यो कस्तो संस्कृति हो ?  

बिहेमा सँगै जिउने र मर्ने कसम खाने अनि लामो आयु पुरुषलाई मात्र चाहिने ?  यसको अर्थ के हो ? अरुकी चेली मरे पनि भो । पुरुषले आजसम्म स्वास्नीको लागि व्रत बसेको कुनै पनि उदाहरण छैन । यसमा महिलाहरू हामीलाई पनि लामो आयु चाहिन्छ भनेर किन विरोध गर्दैनन् ?

यहीबाट यो कुरा झल्किन्छ कि पुरुष सत्ताको बागडोर पुरुषले आफ्नो हातमा लिएर महिलामार्फत् आफ्नो सताको उत्तरदायित्व सम्हालिरहेको छ । आखिरमा बयलगाडा गोरुले घचेटिरहेको हुन्छ तर गन्तव्यमा पुग्ने भनेको बटुवा न हो । 

तीजको नृत्य हेरेर कतिको के आरोप थियो भने महिलाहरू मदिरा सेवन गरेर मात्तिएर नृत्य गरेका हुन् । वर्षैभरि घर, धन्दामा व्यस्त महिला तीजको दरमा मदिरा सेवन गरी त के बिराई ? हो, मदिरा सेवन गर्नु भने गलत हो । 

हाम्रो समाजमा ९० प्रतिशत पुरुष मदिरा सेवन गर्छन् । मदिराको लत लागेका पुरुषहरूले पुर्ख्यौली सम्पत्ति बेच्दै पिइरहेको उदाहरण हाम्रै गाउँ समाजमा छ । मदिरा सेवन गर्नका लागि पुरुषले पुरै सम्पत्ति सखाप पारेको कयौँ जीवन्त उदाहरण छन् । त्यही पुरुषसँग जीवन बिताउन हाम्रै आमा र दिदी, बहिनीहरू बाध्य छन् । मदिरा सेवन गरेका लोग्नेमार्फत राति राति स्वास्नी कुटिएको प्रत्यक्षदर्शी तपाईं हामी नै हौँ  ।  

पुरुषले पनि मदिरा सेवन गर्नु हुँदै हुँदैन भनेर किन महिलाहरूले विरोध गर्न सकेका छैनन् आजसम्म ? महिलाले मदिरा सेवन गरेको पुरुषले हेर्न नसक्ने अनि मदिरा सेवन गर्ने त्यही पुरुषलाई जीवनसाथी स्वीकारेर महिला बस्नुपर्ने  ? 

मदिरा सेवन गरेर पुरुषहरू अहिले पनि खेतको आली, गाउँको डगहर (कच्ची सडक) सहरको सडकको पेटीहरूमा लडिरहेका हुन्छन् । कुकुर जसरी बाटोघाटोमै सुतिरहेका हुन्छन् तर उसलाई किन मदिरा सेवन गरिस् ? तेरो चरित्र ठिक छैन भनेर औँला ठड्याउने र टिका टिप्पणी कसैले गर्दैन किन ? यदि महिलाले त्यस्तो गरेको भए, सबैभन्दा पहिला उसको चरित्रमाथि औँला ठड्याउँदै, तेरो चरित्र ठिक छैन भन्ने आरोप लाग्थ्यो । 

हो मदिरा सेवन गर्नु गलत हो । स्वास्थ्यको लागि हानिकारक हो । तर यदि कसैले लत नलाग्ने गरी, घरवार र सम्पत्ति बर्बाद नपार्ने गरी र आफ्नो स्वास्थ्यलाई समेत ध्यानमा राखेर कहिलेकाहीँ औषधीको रूपमा चाडबाडमा मदिरा सेवन गर्छ भने त्यसलाई बहसको विषय बनाइनु, टीका टिप्पणी र आलोचना गर्नु सही होइन । मदिराको सेवनबारे वकालत पुरुष र महिला दुवैको हकमा लागू हुनुपर्छ  । पुरुषको लागि सही र महिलाको लागि गलत हो भन्नु पितृसत्ताको कलङ्क महिलामाथि थुपार्नु मात्र हो । 

आजबाटै नयाँ सोचको सुरुवात गरौँ । आफूलाई गलत लागेको संस्कृति र दमन गरेको अनुभव हुने बित्तिकै खुलेर विरोध गरौँ । हामी आफ्नो पुस्तालाई परिवर्तन नगरे आगामी पुस्तालाई कसरी अनुहार देखाउने ? कुप्रथाहरू भावी पुस्ताको टाउकोमा नथुपारौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप