सम्झनामा दाहाल यज्ञनिधि

‘रेडियो नेपालमा कडा शब्द प्रयोग गर्दा २२ पल्ट स्पष्टीकरण दिनुपर्‍यो’

person explore access_timeभदौ १८, २०७९ chat_bubble_outline0
तस्विर : कृष्ण खड्का

दाहाल यज्ञनिधि एक समयका चर्चित रेडियो प्रस्तोता हुन् । २०३६ देखि २०५६ सालसम्म रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रम उनले निरन्तर चलाए । रेडियो नेपालमा दाहालकोे ‘साहित्य संसार’ कार्यक्रम त्यो पुस्ताकाले नसुन्ने श्रोता कमै थिए होलान् । ‘जदौ स्रोता, जदौ ! खुल्यो साहित्य संसारको दैलो’ भन्ने वाक्यांश धेरैले सुनेको हुनुपर्छ । यस कार्यक्रममार्फत नेपाली गीत–सङ्गीत, कविताका साथै पछि पारिएकाहरूको आत्मसम्मानका लागि धेरै सन्देशमूलक विचार प्रसारण भए । 


त्यसपछि पनि दाहालले विभिन्न रेडियो र टीभीहरुमा कार्यक्रमहरु सञ्चालन गरे । यसका अतिरिक्त उनले साहित्यिक लेख, समीक्षा, समालोचना, अन्तरवार्ता प्रकाशन तथा प्रसारण गरे । कथित तल्लो जातका मानिसहरूले प्रयोग गर्ने अभिवादन ‘जदौ’ शब्दलाई रेडियो कार्यक्रममार्फत् नै सबैले प्रयोग गर्ने गरी स्थापित गराए । 



निरङ्कुश पञ्चायती व्यवस्थाका समयमा रेडियो नेपालबाट कार्यक्रम प्रस्तुत गर्दा उनले शोषित, पीडित जनताका आवाजलाई प्रसारण गर्दा २२ पटकसम्म स्पष्टीकरण दिनु परेको थियो । उनकै कारण तत्कालीन समयमा लाइभ प्रसारण पनि रोकिएको थियो । 



तर यस्ता निडर, निर्भीक व्यक्तित्व शारीरिक रूपमा भने कमजोर थिए । उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । तर पनि उनी नेपाली साहित्यका फाँटमा निमुखा जनताका रगत चुसुवाहरूकै हालीमुहाली रहेको बताउँथे । “हामीले त्यस्तै साहित्यलाई साहित्य भनेका रहेछौँ, जसले राहित्य मात्र दिएछ, कि त रगत चुसिनेहरूको नाममा लेखिनुपर्ने साहित्य छोपिएछ, लेख्नै सकेका छैनौँ” उनी भन्थे । त्यही भएर उनले एउटा कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानलाई रगत चुसिनेहरूको साहित्य लेख्न लगाओस् भनेका थिए । धेरै सहिदको रगत बगेर आएको गणतन्त्रमा बाँचेकाहरूले रगत चुसिनेहरूको साहित्य लेख्न आग्रह गर्थे । 

अभिव्यक्ति शैलीमा मिठास, भाषामा लयात्मक र झर्राेपना उनका मौलिक विशेषता हुन् । गणतान्त्रिक विचारले परिष्कृत यज्ञनिधिले लोकतान्त्रिक साहित्यिक आन्दोलनका समयमा आफ्नो अनामनगरस्थितको निवासलाई ‘दाहालको दैलो’ पछि ‘गणतन्त्र काव्यटार’ भनेर नामकरण पनि गरेका थिए । नागार्जुन साहित्यिक प्रतिष्ठानका सल्लाहकार र पछि लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चको स्थापना गर्नमा उनको विशेष योगदान छ । विस २०१० मा खोटाङको खाल्लेमा जन्मिएका स्रष्टा दाहाल २०७५ साउन २५ गते शुक्रबार सदाका लागि हामीबाट टाढा भए । प्रस्तुत छ, यिनै दाहाल यज्ञनिधिका बारेमा उनकी जीवनसङ्गिनी सुधा दाहाल आचार्यसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश : 

–दाहाल यज्ञनिधिसँग यहाँको पहिलो भेट कसरी, के सिलसिलामा भयो ?

त्यतिबेला म मामा घर धेरै बस्थेँ । त्यहाँ नजिकै उहाँ (यज्ञनिधि) बस्नुहुन्थ्यो । उहाँ केशवशरणजीको चेलो पनि हुनुहुँदो रहेछ । रेडियो नेपालमा धार्मिक कार्यक्रम चलाउने खेमराज केशवशरणकोमा उहाँ आउँदा मसँग पहिलो पटक भेट भएको थियो । त्यस्तै ३३ सालतिर हो, पहिलो पटक देखेको । 

–विवाहको प्रस्ताव चाहिँ कसरी आयो ?

उहाँ रेडियोमा काम गर्नुहुँदो रहेछ । त्यतिबेला म पद्मकन्या क्याम्पसमा सङ्गीत विषय लिएर अध्ययन गर्दै थिएँ । सङ्गीत अध्ययनका सिलसिलामा रेडियो नेपाल गइरहन्थेँ । त्यस क्रममा उहाँलाई नामले मात्र चिनेको थिएँ तर देखभेट भएर प्रस्टसँग चिनेकी थिइनँ । विहेको प्रस्ताव आउँदा पनि त्यही मान्छे हो भनेर चिनेको थिइनँ । 

सायद मलाई कतै देखेर होला, उहाँले त्यसअघि नै दुइ पल्ट प्रस्ताव पठाइसक्नु भएको रहेछ । तेस्रो पटक चाहिँ हजुरआमाले केटा मलाई साह्रै मन परेको छ, भेटिसकेकी छु भनेर जोड गरेपछि मैले ‘हुन्छ’ भनेकी थिएँ । त्यतिबेला मैलै ग्राजुएसन नगरी विवाह गर्दिनँ भनेकी थिएँ । स्नातक तहको परीक्षा सकेपछि हजुरआमाले झन् जोड गर्नुभयो । अनि मलाई हेर्न भनेर आएपछि देख्दा पो छक्क परेँ । मैले पहिले नै देखेको रहेछु । 

धेरै पहिलेदेखि म रेडियो नेपाल जान्थेँ । म आफैँ भजनहरू गाउँथेँ, सुधा आचार्य भनेर धेरै भजन रेकर्ड भएका छन् त्यहाँ । अहिले पनि छन् । उहाँ बिरामी भएपछि मैले सङ्गीत चट्टै छोडेँ । त्यसपछि आईएनजीओमा करिब २५ वर्ष जति काम गरेँ । 

–विवाह गरेर आएपछि उहाँको आनिबानी चाहिँ कस्तो थियो ?

सुरुमा चाहिँ अनौठो लाग्यो । उहाँ निडर, हक्की स्वभावको । त्यस्तो स्वाभावमा नपरेकी मलाई सुरुमा त निकै अफ्ठ्यारै भयो । 

एउटा प्रसङ्ग सम्झन्छु । असारमा मेरो विवाह भयो, त्यसपछिको भदौमा तीज पर्‍यो । म तीजको व्रत बसेकी थिएँ । उहाँ रेडियोबाट बेलुका आउनुभयो । बत्ति बालेकी थिएँ । आउनेवित्तिकै पहिले बत्ति निभाएर हटाइदिनुभयो र ‘मेरो आयुका लागि तिमीले यसरी पूजा गर्नु पर्दैन’ भन्नुभयो । म यही पढेर आएको हुँ, यसैको विद्यार्थी हुँ तर म यसको विश्वास गर्दिनँ । यदि कर्मकाण्डी बाहुनले व्रत राख्नुपथ्र्यो भने श्रीमतीको आयुका लागि पनि व्रत राख्नुपथ्र्यो । श्रीमतीले चाहिँ श्रीमान्का लागि व्रत राख्ने, अनि श्रीमान्ले श्रीमतीका लागि राख्ने व्रत खोई ? त्यसकारण यस्ता कार्य मलाई मन पर्दैन भन्नुभयो । यो सुनेर मलाई एकदमै अनौठो लाग्यो । 

विस्तारै उहाँलाई चिन्दै गएँ । उहाँमा यस्तो किसिमको खुबी थियो कि कुनै कुरा कसैले बुझेको छैन या चित्त बुझाउँदैन भने त्यसलाई बुझाएरै छोड्नुहुन्थ्यो । कुनै कुरा मलाई चित्त बुझेन भनेँ भने बसेर विभिन्न तर्क र सुझाव दिएर ‘हो’ नै पार्नुहुन्थ्यो । पछि पछि मलाई पनि चित्त बुझ्दै गयो । बाहिरबाट हेर्दा उहाँ जति कट्टर र नास्तिक देखिनुहुन्थ्यो, भित्र त्यति हुनु हुन्न थियो । 

हो, व्यावहारिक रुपमा उहाँ फरक हुनुहुन्थ्यो । पूजापाठ गर्नु हुन्न थियो, मानव पूजा चाहिँ एकदमै गर्नुहुन्थ्यो । गरिब गुरुवालाई सहयोग गर्न कहिल्यै नाइँ भन्नुभएन । 

तर पछि पछि पूजाआजा गर्नमा मलाई रोक्नुभएन । म पनि पूजा भनेर त्यस्तो निर्लिप्त भएर लागिनँ । म उहाँसँग ३८ वर्ष सँगै रहेँ । यो अवधिभर एक दिन पनि ठूलो स्वर नगरीकन बित्यो । श्रीमान् श्रीमतीबीच यति लामो समय ठाकठुक नपरी वित्न गाह्रै हुन्छ होला । जति समय सँगै रह्यौ, एकदमै राम्रोसँग बस्यौँ ।

–साहित्य लेखनमा उहाँको रुचि विवाह पहिलेदेखि नै थियो कि पछिबाट हो ?

विवाहअघिदेखि नै लेख्नुहुन्थ्यो । त्यो कहिल्यै छोड्नुभएन । बिरामी हुँदा अलिक दिन रोकियो । पछि मिर्गौला ट्रन्सप्लान्ट गरेर आएपछि फेरि लेख्न सुरु गर्नुभयो । उहाँ हुँदै एउटा मात्र पुस्तक प्रकाशन भयो । पछि दुईवटा प्रकाशित गर्यौँ । 

–उहाँका सिर्जनाको पहिलो पाठक तपाईं नै हो कि अरूलाई सुनाउनु हुन्थ्यो ?

पहिलो श्रोता त म नै थिएँ । उहाँले कविता लेखे पनि, निबन्ध लेखे पनि पहिला मलाई नै सुनाउनु हुन्थ्यो । प्रायः मलाई पढ्न दिएपछि मात्र अरुतिर पठाउनुहुन्थ्यो । मैले पढेपछि मनमा लागेका केही कुरा पनि भन्थेँ । सुझाव दिन्थेँ । 

सिर्जनामा कतिपय कडा शब्द प्रयोग गर्नुहुन्थ्यो । किनभने उहाँ डराउनु हुन्न थियो । रेडियो नेपालमा कडा शब्द प्रयोग गरेबापत २२ पल्ट त स्पष्टीकरण दिनुभएको थियो । जदौ भनेकै कारण पनि उहाँले स्पष्टीकरण दिनुभयो । कतिपटक त रेडियो नेपालमा बोल्नै नपाउने गरिदियो । दुई पटक त भ्वाइस बन्द नै गरिदियो । पटक पटक स्पष्टीकरण दिन जाँदा कहिलेकाहीँ त दिक्क लाग्थ्यो । कति स्पष्टीकरण दिनुहुन्छ भन्थेँ । नकराउ न, काम गर्दा यस्तै हुन्छ भन्नु हुन्थ्यो । 

उहाँ सञ्चारकर्मी । त्यतिबेला बीपीको नाम लिनै नहुने अवस्था थियो । कवितामा अलिकति कडा शब्द आए दरबारबाट फोन आउँथ्यो । तर पनि आफ्नो काम छोड्नु भएन । उहाँलाई साहसी नै भन्नुपर्छ ।

–हालै उहाँको ‘जदौ’ पुस्तक प्रकाशित भएको छ, उहाँका रचनाहरू अझै छरिएर रहेका छन् कि ?

विभिन्न पत्रपत्रिकामा उहाँका प्रकाशित र आफ्ना डायरीमा लेखेका केही रचना अझै छन् । तीमध्ये केही दिनेश लुइँटेललाई संरक्षणका लागि दिएकी छु । म यो विषयमा काम गरेको मान्छे नभएकाले हराउँछन् कि भनेर उहाँलाई दिएको हो । बाँकी केही यहीँ घरमै सुरक्षित छन् । 

–रेडियोमा बोल्न जानुअघि पनि उहाँ केही तयारी गर्नुहुन्थ्यो ?

पहिले त लाइभ कार्यक्रम नै चलाउनुहुन्थ्यो । धेरै वर्ष त्यसरी नै चलाउनुभयो । पछि रेडियोले नै लाइभ कार्यक्रमहरू रोक्यो । त्यसरी कार्यक्रम गर्नु छ भनेर त्यतिविधि धूमधाम तयारी गरेको देखिनँ । तर पनि आज के विषयमा बोल्ने भनेर सामान्य तयारी चाहिँ गर्नुहुन्थ्यो । खास गरी पुस्तकहरू धेरै अध्ययन गर्नु हुन्थ्यो । जुन विषयमा बोल्ने हो, त्यो विषयका पुस्तक लिएर जानुहुन्थ्यो । कोसँग अन्तरवार्ता गर्ने हो ऊसँग सम्बन्धित विषयमा हेरेर जानुहुन्थ्यो । 

–उहाँसँग भेट गर्न कस्ता प्रकृतिका व्यक्ति आउँथे ?

दाहालको दैलामा त उहाँलाई भेट्न प्रशस्त मान्छे आउँथे । राजनीतिक भन्दा पनि साहित्यिक मान्छे बढी आउँथे । त्यो ठाउँ (अनामनगर) सेन्टर पनि थियो । त्यहाँ कुनै पनि बेला मान्छे खाली हुँदैनथे । हाम्रै घरमा नागार्जुन साहित्य प्रकाशन उहाँले नै सुरु गर्नु भएको थियो । अहिले प्रकाश सिलवाल भाइले सञ्चालन गरिरहनुभएको छ । रावा सावा भन्ने खोटाङको साहित्यिक पत्रिका थियो । त्यो पनि त्यहीँ बसेको थियो । अहिले के गरिरहेका छन् कुन्नि ।   

–अनामनगरको ‘दाहालको दैलो’ बेचिसक्नु भएको हो ?

भुइँचालो आएपछि त्यो घरको पुनःनिर्माण गर्नुपर्‍यो । त्यहाँ अलि साँघुरो भएर यता (मण्डिखाटार) सर्यौँ । अहिले त्यो घर भाडामा दिएका छौँ । त्यो घरमा पनि सीमा मिचिएको विषयमा मुद्दा परेको छ । 

–मृत्युपछि शरीर दान गर्ने भनेर उहाँ कसरी निर्णयमा पुग्नुभयो  ? 

उहाँले पुस्तकमा लेख्नु भएको थियो, “मेरो शरीर मरेपछि पनि काम लाग्यो भने चिकित्सा शास्त्र अध्ययन गर्ने ठाउँमा दान गरिदिनू, नजलाउनू, मेरो अङ्ग कसैलाई पढ्दा काम लाग्छ ।” त्यतिबेला गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । उहाँले सहयोग गर्नु भयो । नभए शरीर दान गर्न पनि गाह्रो हुने रहेछ । हामीले उहाँको इच्छा पूरा गर्न सफल भयौँ । 

–सरकारले उहाँका लागि केही गर्‍यो कि गरेन ?

सरकारले केही गरेन भन्न पनि मिलेन । सन् २००० मा उहाँको मिर्गौला ट्रान्सप्लान्ट गर्दा तात्कालीन काँग्रेस नेतृत्वको सरकारले पाँच लाख रुपियाँ सहयोग गरेको थियो । वीर अस्पतालमा उपचारका लागि राखेको बेला गिरिजाप्रसाद कोइराला आफैँ आउनुभएको थियो । पछि उहाँले रामचन्द्र पौडेललाई सरकारका तर्फबाट भनेर पाँच लाख रुपियाँ औषधि उपचारका लागि भनेर पठाइदिनु भएको थियो । 

उहाँको नाममा संस्था स्थापना गरेको सुन्नमा आएको छ । यसले के के गर्दैछ ?

अहिले दाहाल यज्ञनिधि–सुधा ट्रस्ट संस्था स्थापना गरेकी छु । उहाँले जिन्दगीभर गरेको दुःखबाट जेजति गर्नुभयो, त्यसबाट केही जग्गा बेचेर ट्रस्टमा राखेर पुरस्कार स्थापना गरेकी छु । अस्ति संस्था दर्ता गरेर पहिलो पटक महावीर पुनलाई पुरस्कृत पनि गरियो । यति गरेपछि कमसे कम संस्था त मर्दैन नि त । यसमा सरकारले थप केही मद्दत गरिदिए हुने भन्ने मात्रै हो । कमसे कम उहाँको नाम नहराओस् भन्ने हो । 

साहित्यलाई मात्र सम्मान नगर्ने भन्ने हाम्रो मान्यता छ । हरेक क्षेत्रमा उत्कृष्ट काम गर्नेहरूलाई सम्मान गरेर उहाँलाई सम्झने उद्देश्य यसको हो । उहाँ पनि त्यस्तै मनपराउने मान्छे हो । खास गरी मेरो इच्छाबाट नै यसको स्थापना गरेकी हुँ । 

–तपाईंहरुका सन्तान छैनन् । शेषपछि चलअचल सम्पत्ति व्यवस्थापनको योजना के छ ?

अलिकति त मैले ट्रस्टमा हालिसकेको छु । जति सक्छु, त्यसमा हाल्छु । भतिजहरू छन्, उनीहरूका बारेमा पनि सोच्नुपर्‍यो । मण्डिखाटारको हाम्रो घरको उत्तरतर्फको जग्गामा ट्रस्टका नाममा एउटा भवन बनाउने योजना बनाएकी छु । त्यसमा उहाँका सरसामान, सम्मानपत्र, पुरस्कार र कृतिहरू राख्न सजिलो हुन्छ भन्ने लागेको छ । ट्रस्टमार्फत पछिसम्म त्यसको सञ्चालन हुनेछ । कति सफल हुन्छु, समयले बताउला । 

–उहाँसँगका कुनै महत्त्वपूर्ण क्षण ?

उहाँका हरेक कुरा स्मरण नै छ । तर जब पहिलो पटक उहाँको मिर्गौला ट्रान्स्प्लान्ट हुँदा उहाँको स्थिति एकदमै नाजुक थियो । अस्थिपञ्जर मात्र बाँकी थियो । मलाई नै चिन्नु हुन्नथ्यो । दुईवटै मिर्गौला निकालिएका थिए । त्यतिबेला उहाँलाई अब कुनै पनि हालतमा बाँच्दिनँ भन्ने लागेछ । जब दुई दिन अपरेसन थिएटरभित्र राखेर बाहिर ल्याए, त्यो बेलाको क्षण साह्रै अविष्मरणीय छ मेरा लागि । उहाँले त्यतिबेला बर्बर्ती आँशु पनि खसाल्नुभयो । तर पनि उहाँसँगका सबै क्षण मेरा लागि महत्त्वपूर्ण छन् । यति योग्य मानिससँग जीवन विताएँ, यसमा म एकदमै गौरवान्वित छु । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।