शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिखाईल गोर्बाचेभः आफूले थेग्न नसक्ने सुधारका प्रवर्तक

पश्चिममा देवत्वकरण, देशमा दानवीकरण
शनिबार, १८ भदौ २०७९, ०८ : २०
शनिबार, १८ भदौ २०७९

मिखाईल गोर्बाचेव जुन सुधारका लागि चिनिन्छन्, यदि उनले त्यसलाई कार्यान्वयन नगरेको भए सम्भवतः उनी सोभियत संघका महासचिवको रूपमा बित्थे । उनको स्वास्थ्य समस्याहरू पहिलेदेखि मिडियामा चर्चा रहन्थे ।

तर बुधबार सरकारी समाचार एजेन्सीहरूले बुधबार गोर्बाचेभको मृत्युको खबर प्रकाशित गरेपछि मात्र उनी लामो समयदेखि विरामी भएको खुलेको थियो ।

‘लामो समयदेखि गम्भीर रोगबाट पीडित गोर्भाचेभको निधन भएको छ,’ मस्कोको केन्द्रीय क्लिनिकल अस्पतालको यस भनाईलाई उद्धृत गर्दै मंगलबार रुसी समाचार एजेन्सीहरू इन्टरफ्याक्स, तास र आरआईए नोवोस्तीले खबर छापेपछि अघिल्लो दिन बितेका गोर्बाचेभको निधनको खबर विश्वले थाहा पायो । 

गोर्बाचेभलाई मस्कोको नोभोडेभिची चिहान क्षेत्रमा उनकी पत्नी राइसाको छेउमा गाडिनेछ ।

जीवन अन्तिम दिनसम्म, मिखाइल गोर्बाचेभ दोहोरो पहिचानका साथ बाचे । उनी वासिङ्टन, पेरिस र लन्डनमा प्रिय राजनीतिज्ञ थिए भने, अधिकांश रुसीहरूमाझ घृणाका पात्र थिए ।

सन् १९८५ देखि १९९१ बीच सोभियत संघको सबैभन्दा शक्तिशाली पद महासचिव रहेका गोर्बाचेभको यस्तो दोहोरो पहिचान कसरी बन्यो ?

शीतयुद्ध अन्त्य गर्न मद्दत गरेकोमा नोबेल शान्ति पुरस्कार पाएका गोर्बाचेभ देशभित्र भने एक असफल नेता रहिरहे ।

राजनतिमा प्रवेश

मिखाईल गोर्बाचेभको जन्म सन् १९३१ मार्च २ मा रूसको दक्षिणी भेगमा स्टाभ्रोपोलमा एक सामान्य किसान परिवारमा भएको थियो । उनका अभिभावक सामूहिक खेतमा काम गर्थे, जसमा किशोर गोर्बाचेभले पनि सघाउने गर्थे । 

सोभियत संघमा महत्वकाक्षी युवाको राजनीतिको पहिलो खुड्किलो योङ कम्युनिष्ट लिग (जसलाई रुसी भाषामा कोमसोमोल भनिन्थ्यो) हुन्थ्यो । गोर्बाचेभ विश्वविद्यालय प्रवेशअघि यस संगठनमा जोडिए ।

सन् १९५३ मार्च ५ मा विश्वविद्यालयमा अध्ययनरत रहँदा तत्कालीन सोभियत नेता स्टालिनको मृत्यु भयो । स्टालिनको मृत्युमा गोर्बाचेभको प्रतिक्रिया अन्य कुनै देशबासीको जस्तै दुःख र स्तब्धको भाव रहेको उनका जीवनी लेखकहरूले लेखका छन् । 

स्टालिनको शव हेर्न उनी रातभर लाइनमा बिताएका थिए । पछि आमुल सुधारका लागि चिनिएका गोर्बाचेभ सोभियत संघका सबैभन्दा कठोर शासकप्रति यो आस्थाले उनीमा पहिलेदेखि सुधारवादी थियो भन्ने देखाउँदैन ।

सन् १९५५ मा स्नातक पुरा गरेपछि उनी स्थानीय पार्टी विभागमा काम गर्न स्टाभ्रोपोल फर्किए । त्यहाँ उनी पार्टीको प्रचार विभागमा जोडिएका थिए ।

राजनीतिक उदय

क्षेत्रीय पार्टीमा गोर्बाचेभको छिटो छिटो पदोन्नति हुँदा १५ वर्षभित्रै उनी सन् १९७० को अप्रिलमा स्टाभ्रोपोल क्षेत्रको फर्स्ट सेक्रेटरी (प्रथम सचिव) बन्न सफल भए ।

स्टाभ्रोलपोल क्षेत्रको प्रमुखको रूपमा उनी अर्को वर्ष स्वतः सोभियत संघको कम्युनिष्ट पार्टीको केन्द्रीय समिति सदस्य बने ।

सोभियत संघका अधिकांश नेताको राजनीतिक करियर यही क्षेत्रीय तहमा पुगेर टुगिन्थ्यो ।

उनी जन्मिएको स्टाभ्रोपोल तुलनात्मक रूपमा धनी र कृषि उत्पादनको हिसाबले प्रभावशाली क्षेत्र थियो । र यस भेगबाट केही नेता शीर्ष तहमा पुगेको फाइदा उनलाई भयो । विशेषतः गोर्बाचेभको भाग्य तब चम्कियो जब उनी स्टाभ्रोपोल क्षेत्रबाटै उदाएका केजीबी प्रमुख तथा पोलिट्ब्युरो सदस्य युरी एन्ड्रोपोभको आँखामा परे ।

एन्ड्रोपोभले गोर्बाचेभमा उनको गुटमा युवा जोश ल्याउनसक्ने प्रतिभाशाली क्षमता देखेका थिए । उता एन्ड्रोपोभको संरक्षणले गोर्बाचेभलाई सञ्जाल विस्तार गर्न निक्कै सहयोग पुर्‍यायो ।

एन्डोपोभकै सहायताले सन् १९७८ मा गोर्बाचेभ कृषि क्षेत्रको लागि काम गर्ने केन्द्रीय समितिको सदस्यको रूपमा मस्को पुगे । त्यसको दुई वर्षपछि उनी पोलिटब्युरोको पूर्ण सदस्य बनिसकेका थिए ।

त्यस समय उनी देशको सबैभन्दा शक्तिशाली यस कमिटीको सबैभन्दा कान्छा सदस्य थिए । पोलिटब्युरोमा पदोन्नतिमा गोर्बाचेभलाई एन्ड्रोपोभकै सहयोग थियो ।

सन् १९८२ मा तत्कालीन कम्युनिष्ट पार्टीका महासचिव लियोनिद ब्रेझनेभको मृत्यु भएपछि देशको शक्तिशाली गुप्तचर निकाय केजीबीका प्रमुख एन्ड्रोपोभ महासचिव बने । एन्ड्रोपोभको उदय गोर्बाचेभको लागि थप फाइदाजनक ठहरियो । उनी अर्थव्यवस्थासम्बन्धी महत्त्वपूर्ण जिम्मेवारीमा चुनिए । यस जिम्मेवारीका हैसियतमा उनी नियमित रूपमा पश्चिमी मुलुकहरूको भ्रमणमा निस्किरहन्थे । उनलाई एन्ड्रोपोभको उत्तराधिकारीको रूपमा हेर्न थालिएको थियो ।

सन् १९८४ एन्ड्रोपोभको मिर्गौला रोगका कारण असामयिक निधनपछि गोर्बाचेभलाई सोभियत संघको महासचिवको स्वाभाविक दाबेदारको रूपमा हेरिएको थियो ।

तर पोलिटब्युरोले अर्को बिरामी नेता कोन्स्टान्टिन चेरनेन्कोलाई महासचिव चुन्यो । अधिकांश वयोवृद्ध पोलिट्ब्युरो सदस्यको नजरमा गोर्बाचोभ अझै परिपक्व भइसकेका थिएनन् । 

फेरी गोर्बाचेभ तत्कालीन सत्तारुढ पार्टीभित्रका ती नयाँ पुस्ताको हिस्सा थिए, जसले सोभियत संघको शीर्ष पदहरूमा रहेका वृद्ध नेताहरू चाँडै हटाउने पक्षमा थिए ।

त्यसले गर्दा उनीप्रति पोलिट्ब्युरोका अधिकांश सदस्य विश्वस्त हुन सकेको थिएन ।

चेरनेन्कोको एक वर्षपछि मृत्यु भएपछि, महासचिवको रूपमा गोर्बाचेभको चयन अनिवार्यजस्तै भयो । चेरनेन्कोकै कार्यक्रममा उनलाई महासचिवपछिको दोस्रो वरियता दिइएको थियो ।

१९८५ मा सोभियत संघ कम्युनिष्ट पार्टीको महासचिव चुनिदाँ उनी सन् १९१७ को अक्टोबर क्रान्तिपछि जन्मिएका कम्युनिष्ट पार्टीका पहिलो महासचिव बनेका थिए ।

उसको तुलनात्मक युवा उमेरलाई हेरेर त्यसबेला सोभियत संघमा एक चुट्किला नै बनेको थियो । मानिसहरू गफगाफमा ‘पोलिटब्युरोमा गोर्बाचेभलाई कसको साथ छ ?’ भन्ने प्रश्न गर्दै ठट्यौली जवाफ दिन्थे ‘गोर्बाचेभ आफै हिड्डुल गर्न सक्ने भएकाले उनलाई कसैको साथ सहयोग चाहिँदैन’ । यो व्यङ्ग्य गोर्बाचेभअघिका चेरनेन्कोप्रति लक्षित थियो, जसको अधिकांश समय विरामी रहेर सुत्ने गर्थे । 

सुधारको पृष्ठभूमि

सन् १९६४ मा ख्रुश्चेभलाई बलपूर्वक हटाएर सत्तामा आएका लियोनिद ब्रेझनेभको शासन अवधि सोभियत संघको इतिहासमा स्थायित्व र जीवनस्तरको हिसाबले सबैभन्दा स्वर्णिम मानिन्छ । तर उनको शासनकालपछि देशको आर्थिक वृद्धि सुस्त हुदै गएर लगभग गतिहीन हुन भयो ।

एकतर्फ सोभियत संघ अमेरिकासँग हरेक कुरामा प्रतिस्पर्धामा थियो । तर सन् १९७० मा अर्थतन्त्र सबैभन्दा उचाइ पुगेर स्थिर रहन थाल्यो । अर्थतन्त्रको सबैभन्दा विशाल आकारमा समेत त्यो अमेरिकाको अर्थतन्त्रको ६० प्रतिशत मात्र थियो ।

यसले सोभियत एलिटहरुमाझ चिन्ता बढाएको थियो । ब्रेझनेभको पालामा अर्थतन्त्रलाई गति दिन साना तिन कदम उठाइए पनि त्यसले खासै प्रभाव पारिरहेको थिएन ।

सन् १९८२ मा नेतृत्वमा आएपछि युरी एन्ड्रोपोभले अर्थतन्त्रलाई गति दिन नियन्त्रित सुधार, वा ‘उस्कोरेन्य’को नीति ल्याए । 

एन्ड्रोपोभले सैन्य प्रतिस्पर्धालाई कम गर्ने र त्यसमा भइरहेको उच्च रक्षा खर्च कटाएर विकास निर्माणमा प्रयोग गर्ने प्रयास सुरु गरेका थिए ।

एन्ड्रोपोभ देशको आर्थिक रूपमा निक्कै बलियो अमेरिकासँगको सैन्य प्रतिस्पर्धामा बजेट रक्षा क्षेत्रमा लगानी हुने कुराले चिन्तित थिए । उनी त्यसलाई विकास निर्माणमा प्रयोग गर्न चाहन्थे ।

उनले नाफाको लोभमा मानिसहरू बढि काम गर्न चाहन्छन् भन्ने अर्थशास्त्रीय नियमलाई ध्यान दिएर व्यक्तिले सिमित नाफा आफैसँग राख्न पाउने व्यवस्था गरिदिएका थिए ।

यी सुधारले अर्थतन्त्रमा ठूलो असर नगरे पनि एक खालको सकारात्मक उत्साह भने निम्त्याएको थियो । तर छोटो शासनका कारण उनका सुधारका कार्यक्रमले निरन्तरता पाएन ।

तर नियन्त्रित सुधारको प्रयासको चलिरहेकै समयमा एन्ड्रोपोभको असमायिक निधन भयो ।

बीचको १३ महिनाको अवरोधपछि, महासचिव चुनिएर आएका गोर्बाचेभले पहिलो दिनबाटै एन्ड्रोपोभको नियन्त्रित सुधारलाई पुन अघि बढाए । तर गोर्बाचेभको सुधार एन्ड्रोपोभभन्दा दुई कुराले फरक थियो ।

 गोर्बाचेभको सुधार

मिखाईल गोर्बाचेभले एन्ड्रोपोभको सुधारलाई निरन्तरा दिएर आफ्नो सुधार सुरु गरेका थिए । तर उनको सुधार आर्थिक क्षेत्रमा मात्र सिमित थिएन, राजनीतिक र सामाजिक क्षेत्रमा पनि फैलाए । ।

कम्युनिष्ट पार्टीको केन्द्रीय संयन्त्रको मध्यम तहमा रहेका अधिकांश युवाहरुले आफूलाई साथ दिने अपेक्षाका साथ उनी थप सुधारको लागि जोसिएका थिए ।

सामाजिक र राजनीतिक सुधार अन्तरगत उनले देशका लेखक र पत्रकारहरूलाई सबैजसो निषेधित विषयमा बोल्न अनुमति दिए । अब विगतमा सोभियत इतिहासका निषेधित विषयहरू जस्तै स्टालिनिस्ट पर्ग, श्रम शिविर(गुलाग)को भयावह स्थितिमा बहस सुरु भयो ।

त्यसबोहक संघभित्र कायम समकालीन समस्याहरू जस्तै मादकपन, वेश्यावृत्ति, घरबारविहीनता, अपराध र भ्रष्टाचारहरू प्रेसमा छापिन थाले । ग्लास्नोस्टका रूपमा चिनिने यो नीतिको अर्थ सेन्सरशिपको अन्त्य हुन्छ । प्रेस र लेखकमाथिको सेन्सरसिप पूर्ण रूपमा खुल्यो ।

मिखाइल गोर्बाचेभको ग्लासनोस्ट नीतिले मानिसहरूलाई अघिल्ला सरकार र सामाजिक कुरीतिको मात्रै होइन, उनकै सरकारको आलोचना गर्ने छुट दिएको थियो ।

विदेश नीतिको सवालमा उनले सन् १९८६ मा पनि सत्तामा आएको एक वर्षपछि अफगानिस्तानमा तैनाथ सोभियत सेना फिर्ता गर्न चाहेको सङ्केत दिए ।

त्यसको एक वर्ष पछि, सन् १९८७ मा, उसले पूर्वी युरोपेली राज्यहरू समाजवादको लागि आफ्नै बाटो विकास गर्न स्वतन्त्र रहेको बताए ।

विगतमा सन् १९६८ मा चेकोस्लााकियाको कम्युनिष्ट पार्टीले फरक ढंगले हिँड्न खोज्दा मस्कोले सैन्य हस्तक्षेपको इतिहासको परिपेक्षमा उनको यस नीतिलाई ठूलो परिवर्तन मानिएको थियो ।

यही नीतिको कारण पूर्वी युरोपमा कम्युनिष्ट विरोधी लहरले बल पाएको थियो ।

खुलापनको नीतिमा व्यापक सफलता हासिल भएको भए पनि आर्थिक सुधारको क्षेत्रमा भने अपेक्षित लाभ हासिल भइरहेको थिएन । तत्कालीन सोभियत संघको शासनप्रणाली कम्युनिष्ट पार्टीले चुनेर पठाउने सदस्यहरूले चलाउँथे । कुनै नेता एक पटक पदमा पुगेपछि उ निजामती कर्मचारीजस्तो स्थायी हुन्थ्यो ।

यी सदस्यहरू परिवर्तन खासै मन पराउँदैनथे । परिवर्तनले उनीहरूको स्थायी पदलाई असर गर्ने भएकाले तिनले गोर्बाचेभको सुधारलाई पनि अवरोध पुर्‍याईरहेका थिए । गार्बाचेभ अब यसलाई पनि बदल्ने नीतिमा अघि बढे ।

गोर्बाचेभले १९८८ जुनमा कम्युनिष्ट पार्टीको १९ औँ भेला बोलाए र एक ठूलो घोषणा गरे । सो बैठकमा उनको नामसँग जोडिने दोस्रो सुधारको नीति पेरेस्ट्रोइका(पुनरसंरचना) लागु गरे ।

जसमध्ये सबैभन्दा ठूलो रूपान्तरण, देशमा नयाँ निर्वाचित विधायीकी सभा ‘कंग्रेस अफ पिपुल्स अफ सोभियत युनियन’को गठन थियो ।

उनी सरकार कम्युनिष्ट पार्टीप्रति भन्दा पनि नयाँ गठित हुने निकायप्रति जबाफदेही बनोस् भन्ने चाहन्थे । पार्टीले दैनिक सरकारी मुद्दामा हस्तक्षेप गरेर आफ्ना सुधार लागु नभएको बुझाइका कारण उनले नयाँ व्यवस्था गरेका थिए ।

कति प्रयास गर्दा पनि आर्थिक सुधारको गति अपेक्षाकृत असफल हुन नसकेको स्थितिमा उनले यस्तो निर्णय लिएका थिए ।

नयाँ बन्ने विधायीकी इकाईका दुई तिहाइ सदस्य प्रत्यक्ष प्रतिस्पर्धात्मक निर्वाचनमा निर्वाचित हुनुपर्ने व्यवस्था गरियो । विगतका व्यवस्थापकीय निकाय कम्युनिष्ट पार्टीका निकायहरुले चुनेर पठाउने सदस्य रहन्थे ।

प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्थाका अतिरिक्त कंग्रेस अफ पिपुल्सका लागि स्वतन्त्र उम्मेदवारसमेत उठ्न पाउने भए । यसले गर्दा कयौँ कम्युनिष्ट पार्टीका उम्मेदवार नै पराजित भएर तिनको स्थानमा स्वतन्त्र उम्मेदवारले लिए ।

यसमध्ये सबैभन्दा चर्चित नेता थिए, बोरिस एल्तसिन जो गोर्बाचेभको स्थायी प्रतिद्वन्द्वी बने । उनी स्वतन्त्र उम्मेदवारको रूपमा संघको सबैभन्दा प्रभावशाली सदस्य रुसी गणराज्यको राष्ट्रपति बन्न सफल भए ।

खुलापनमा फस्टाएको राष्ट्रवादी लहरले खन्यो संघको चिहान

गोर्बाचेभले सुरु गरेको ग्लास्नोष्ट नीति लागु भएपछि संघमा दोस्रो विश्वयुद्धको अन्त्यतिर मात्र समावेश गरिएका तीन बाल्टिक मुलुकमा राष्ट्रवादी लहर उठ्यो ।

त्यहाँ जनस्तरमै सोभियत संघको हिस्सा रहँदा रुसीहरूको बसाइसराइ बढेको, आफ्नो भाषामाथि रुसी भाषाको प्रभाव बढेको माग चर्कोसँग उठ्यो । सन् १९८८ देखि त्यहाँको उच्च तहबाट सोभियत संघविरुद्ध विरोध सुरु भयो । सन् १९८८ को अन्त्यमा इस्टोनिया, सन् १९८९ को मध्यमा लिथुआनिया र लात्भियाका विधायकी निकायले आफू अलग रूपमा कानुन बनाउन स्वतन्त्र भएको घोषणा गर्‍यो ।

सन् १९८९ को नोभेम्बरसम्म आइपुग्दा तीनै वटा सोभियत सदस्यले सोभियत संघसँगको सहकार्य अन्त्य गरेको घोषणा गर्दै आफ्नो भूमिमा ‘सैन्य अतिक्रमण’ अन्त्य गर्न माग गर्‍यो ।

सुरुमा गोर्बाचेभको सरकारले यी कदमहरूलाई बेवास्ता गरिरहेको थियो । तर मार्च १९९० मा लिथुआनियाले आफूलाई स्वतन्त्र मुलुक घोषण गरेपछि उनी बल्ल झस्किए । मस्कोले लगतै उसलाई नाकाबन्दी लगायो तर पनि तनाव कम भए ।

सन् १९९१ जनवरी ११ मा सोभियत सैनिकले भिलनियसमा गोली चलाउदाँ १४ को मृत्यु भयो, त्यसको पाँच दिनपछि रिगामा पनि हिंसा भयो । पाँच जना मरे ।

बाल्टिक मुलुकका नागरिक सोभियत संघमा कुनै सर्तमा पनि नबस्ने अड्डी कसेर बसेका थिए । ती क्षेत्रमा जनस्तरमा उठेको स्वतन्त्रताको माग अन्य गणराज्यहरूले पनि हेरिरहेका थिए । केही ठाउँमा रुसी भाषाको बढ्दो आकर्षणले चिन्ता बढाएको भए पनि अन्य गणराज्यमा बाल्टिक क्षेत्रमा जस्तो स्वतन्त्रताको माग थिएन । कम्तीमा जनस्तरमा थिएन ।

तर त्यहाँको केही अवसरवादी नेताहरु भने अब आफू पनि अलग हुनसक्ने दाउ हेर्न थालेका थिए ।

अनौठो गरी संघबाट अलग हुनुपर्ने माग उठ्ने निकायमा सोभियत संघको सबैभन्दा ठूलो इकाई रुसी गणराज्यमा पनि एक थियो । संघको निर्माण ताका ठूलो भएकाले रुसमाथि धेरै नियन्त्रणात्मक सर्त राखिएकाले यसको विकासमा असर परेको यस्ता माग राख्नेको विचार थियो । त्यस्तै विचार राख्नेहरुमध्ये एक थिए, रुसका नव निर्वाचित राष्ट्रपति बोरिस ऐल्तसिन ।

सोभियत संघभित्र रुसको आकार, आर्थिक प्रभाव, जनसंख्या आदी अनेकका कारण रुसी गणराज्यका राष्ट्रपति एल्तसिन र समग्र १५ गणराज्यका राष्ट्रपति गोर्बाचेभबीच अब शक्ति संघर्ष सुरु भयो ।

यस संघर्षमा आफू कमजोर हुने ठानेर पनि ऐल्तसिनले रुसको स्वतन्त्रताको माग गर्न थालेका थिए । योसँगै संघभित्र बढ्दै गएको तनावमा सन् १९९० मार्चमा ऐल्तसिनको रुसी गणराज्यको राष्ट्रपति चयनले नयाँ द्वन्द सिर्जना गर्‍यो ।

सोभियत संघको विघटन उत्तरको बाल्टिक गणतन्त्रहरूबाट सुरु भयो र त्यहाँबाट यो ककेसस क्षेत्रका माल्दोभा, आर्मेनिया र जर्जिया हुदैं मध्य एशियाली गणराज्यसम्म फैलियो ।

यो । लाटभिया, लिथुआनिया र एस्टोनियाले आफूलाई मस्कोबाट मुक्त गरे, त्यसपछि विस्तारै यसको प्रभाव वारसा सम्झौतामा समावेश रूसका सहयोगीहरूमा देखिन थाल्यो ।

इस्टोनिया, लाट्भिया र लिथुआनियामा जनस्तरबाटै स्वतन्त्रताको माग उठेको थियो र नेतृत्वले त्यसलाई पछ्याएको थियो भने अन्य क्षेत्रमा नयाँ निर्वाचन प्रणालीबाट चुनिएका स्वतन्त्र नेतृत्वको चाहनामा राष्ट्रवादी लहर उठ्यो ।

सुरुमा आफ्नो खुलापनको नीतिको परिणाम ठानेर यी आवाजलाई सामान्य ठानेका गोर्बाचेभले सन् १९९१ को सुरुमा बाल्टिक गणराज्यहरूमा बल प्रयोगलाई स्वीकृत दिए । तर त्यस बेलासम्म ढिलो भइसकेको थियो । उल्टो दमनको झन् ठूलो स्तरमा विरोध हुन थाल्यो ।

गोर्बाचेभ सोभियत संघका साना गणराज्यमा दबेर रहेको राष्ट्रवादी भावनाको अनुमान गर्न असफल देखिए ।

पृथकतावादी भावना संघभर फैलिएको फाइदा उठाउँदै रुसी गणराज्यको नेतृत्वमा सोभियत संघका ईकाईहरुबीचको सम्बन्धको प्रकृति नै बदलेर स्वतन्त्र राज्यको खुकुलो सहकार्ययुक्त इकाई बनाउने तयारी सुरु भयो ।

त्यससम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने अन्तिम तयारी भइरहँदा कम्युनिष्ट पार्टीको प्रभाव कम हुने प्रक्षेपणमा उपराष्ट्रपति गेन्नाडी यानायेभ, प्रधानमन्त्री, रक्षा मन्त्री, गुप्तचर निकाय केजीभी प्रमुखको संलग्नतामा अगष्ट १९, १९९१ मा गोर्बाचेभलाई अपदस्त गरियो ।

कू हुदाँ गोर्बाचेभ ब्ल्याक सीस्थित रिसोर्ट सहर फोरोसमा बिदा मनाउन गएका थिए । उनी त्यही नजरबन्द गरियो ।

मस्कोका सडकमा तोप निस्किए । तर कू त्यति व्यवस्थिति थिएन । यसले गर्दा एल्तसिनलाई पक्राउ गर्न पठाइएको फौजलाई मस्कोबासीले घेरे । शिर्ष सैन्य अधिकारी पनि कूको विषयमा विभाजित हुदाँ एक पक्षले कूलाई समर्थन गर्न अस्वीकार गर्‍यो । जसले गर्दा तीन दिनमै कू असफल भयो ।

तीन दिनपछि नजरबन्दबाट छुट्दा गोर्बाचेभभन्दा मस्कोमा रहेर कूलाई सडकमै निस्किएर विरोध जनाएका एल्तसिन हाबी भइसकेका थिए ।

बोरिस येल्तसिन प्रतिरोधको अनुहारका रूपमा प्रस्तुत भएका थिए जो कूपछि सडकमा तैनाथ तोप चढेर स्वतन्त्रको पक्षमा भाषण गरेका थिए ।

२१ डिसेम्बरमा कू असफल भएपछि गोर्बाचेव राष्ट्रपतिमा पुनर्स्थापित त भए तर उनको शासनको वैधानिकता गुमिसकेको थियो ।

यसलाई बुझेर उनले डिसेम्बर २५ मा कम्युनिष्ट पार्टीको महासचिवको पदबाट राजीनामा मात्र दिएनन्, सरकार सञ्चालनका लागि खडा गरिएका सबै पार्टी निकाय भंग गरिदिए ।

त्यसको पाँच दिनपछि संसद्ले कम्युनिष्ट पार्टीलाई नै प्रतिबन्धित संगठन घोषणा गरिदियो ।

पश्चिममा देवत्वकरण, देशमा दानवीकरण

सोभियत संघको विघटनपछि पश्चिममा गोर्बाचेभ नायकजसरी प्रस्तुत हुन थाले । तर उनको देशभित्र भने उनको पहिचान देशको वैभव र महानता नष्ट गर्ने गद्दार नेताको रूपमा बन्यो, जुन अझै भत्किएको छैन ।

युरोप र अमेरिकामा उनलाई शान्ति स्थापनाकर्ताको रूपमा सम्झिरहँदा रुसीहरू भने उनलाई देशमा अस्थिरताको संवाहकका रूपमा सम्झन्छन् ।

हुन पनि सोभियत संघको पतनपछि रुसमा ठूलो आर्थिक संकट उत्पन्न भयो । मानिसहरूले झण्डै एक दशकसम्म निक्कै कठिनाइका साथ जीवन यापन गर्नुपर्‍यो ।

संघको विघटन लगतै कुल ग्राहस्थ उत्पादन झण्डै आधा(४० प्रतिशत)ले घटेको थियो । वास्तविक ज्याला पनि आधा भयो । करोडौं मानिसहरू अत्यावश्यक आवश्यकता समेत पुरा गर्न नसक्ने स्थितिमा पुगे ।

रिपोर्ट अनुसार सन् १९८७–८८ मा २२ लाख मानिसहरू गरिबीको रेखा मुनी रहेकोमा सोभियत संघको विघटनको दुई वर्षभित्र यो सङ्ख्या बढेर ६.६ करोड पुगेको थियो ।

वृद्धि, बिरामी, असक्तहरूले सोभियतकालीन समयमा पाइरहेको कयौँ सुविधाहरू अन्त्य भए । सरकारी उद्योगहरू कौडीका भाउमा विक्री हुन थाल्यो । यी उद्योग संयन्त्र हात लिन माफियाहरू परिचालित हुँदा देशमा अपराध आकासियो ।

खान लाउने स्थिति नहुँदा झण्डै पाँच लाख महिलाहरू देहव्यापारमा धकेलिएका थिए ।

यी सबै कठिनाइका लागि रुसीहरूले गोर्बाचेभलाई जिम्मेवार ठहराए ।

यो असन्तोष गोर्बाचेभले नोबेल शान्ति पुरस्कार पाएपछि एक जना रुसी शिक्षकले रोयटर्सलाई भनेको कुरामा झल्किन्छ ,‘ नोबेल समितिलाई रुसभित्रको स्थिति थाहा छैन ।  उनीहरूलाई रुसमा हामी कस्ता जीवन बिताउन बिताईरहेका छौं हेर्न आउन् । के शान्ति विदेशीहरूको लागि मात्र आएको हो ? ’

सत्ताबाट बाहिरिएको पाँच वर्षपछि सन् १९९६ को चुनावमा स्वतन्त्र उठेका गोर्बाचेभलाई जम्मा ०.५१% मत परेबाट पनि जनतामा उनीप्रतिको असन्तुष्टि झल्किन्छ ।

सो निर्वाचनमा कम्युनिष्ट पार्टीका उमेद्वार गेन्नाडी गुजानोभले ४०.७३ प्रतिशत मत ल्याएर दोस्रो भएका थिए ।

गोर्बाचेभको रुसभित्र पश्चिमलाई खुसी बनाउन देशलाई धोका दिने नेताको जुन छाप रुसीहरूमा बनेको थियो, त्यो कहिले मेटिएन ।

उपलब्धि

तर रुसभित्र सोचिएजस्तो गोर्बाचेभले केही नगरेका भने होइनन् । उनले मुख्यतः शीतयुद्धको समयमा रहेको सैन्य प्रतिस्पर्धालाई कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

उनले सन् १९८८–८९ मा एक दशकदेखि अफगानिस्तानमा तैनाथ सोभियत सेनाहरू फिर्ता गरे । उनले अफगान हस्तक्षेपलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनका रूपमा स्वीकारे ।

उनले पूर्वी युरोपमा कम्युनिष्ट शासनविरुद्ध उठेका आन्दोलनमा सत्ताको पक्षबाट हस्तक्षेप गर्न अस्वीकार गरे ।

यसको सबैभन्दा ठूलो उदाहरण सन् १९८९ नोभेम्बर ९ मा देखियो, जब व्यापक प्रदर्शनपछि, सोभियत संघको बलियो सहयोगी पूर्वी जर्मनीका नागरिकहरूलाई स्वतन्त्र रूपमा पश्चिम जर्मनीमा जान अनुमति दिइएको थियो ।

गोर्बाचेभले उनका पूर्ववर्ती शासकहरु जसरी त्यस भेग बल प्रयोग गर्न चाहेनन् । उनी घरेलु तथा विदेशी मामिलामा अहिंसाका सिद्धान्तमा अडिग रहे । साथै उनले कठिनाईबचि स्वेच्छाले आफ्नो पद छोडिदिए ।

आफूले थेग्न नसक्ने सुधारका प्रवर्तक

केही इतिहासकारहरू गोर्बाचेभ आफूले विरासतमा पाएको व्यवस्था पश्चिमबाट झन् झन् पछि पर्दै गएकोमा चिन्तित रहेको र त्यसमा साहसी सुधारको आवश्यक रहेको निष्कर्षमा पुगेको बताउँछन् ।

फर्केर हेर्दा उनको खास उदेश्य सोभियत संघमा बढ्दै गएको विकृति र शासनको नोकरशाही प्रवृत्ति बदल्ने रहेको देखिन्छ ।

उनले आफ्ना सुधारले सोभियत संघलाई पुनर्जीवित गर्ने र यसका कमजोरीहरूलाई सम्बोधन गर्ने आशामा थिए । 

तर ग्लासनोस्ट र पेरेस्ट्रोइकाले बाल्टिक राज्य हुँदै अन्यत्र पृथकतावादी भावना बलियो बनाएपछि उनको सुधार अब संघको विघटनको उत्प्रेरक बन्न पुग्यो, भलै त्यसको खास उद्देश्य त्यो थिएन ।

गोर्बाचेभले विरासतमा पाएको अवस्था सहज थिएन तर त्यो सम्हाल्न सकिने नै थियो । त्यसैले त सोभियत संघ विघटनको केही समयअघिसम्म यसका सबैभन्दा ठूला प्रतिद्वन्द्वीहरुले समेत यसको पतनको कल्पना गरेका थिएनन् । 

‘गोर्बाचेभले सोभियत संघ, सोभियत समाज र तिनको संचालनशैली नबुझी सुधारका कदम अघि सार्नु नै यसको पतनको मुल कारण रह्यो ,’ क्वीन्स युनिभर्सिटी बेलफास्टका इतिहासका अध्यापक अलेक्ज्याण्डर टिटोभले भने ।

वैचारिक रूपमा गोर्बाचेभले सुरुमा आफूलाई माक्र्सवाद–लेनिनवादलाई बताउने गरे पनि १९९० को दशकको सुरुतिर सामाजिक लोकतन्त्रतर्फ ढल्किन थालेका थिए । यो कुरा उनको राजनीति संलग्नताबाट पनि देखिन्छ ।

सोभियत संघको विघटनपछि रुसी कम्युनिष्ट पार्टी स्थापना भए पनि उनले कहिल्यै त्यसको सदस्यता लिएनन् । बरु सन् २००० देखि उनी विभिन्न सोसल डेमोक्रेटिक पार्टीसँग आबद्ध रहे ।

उनी मुलत सोभियत संघजस्तो जटिल, बहुराष्ट्रिय र विशाल साम्राज्य चलाउन असमर्थ देखिए ।

तर सोभियत संघ विघटनाको केही समयपछि सन् १९९२ मा एसोसियट प्रेस(एपी)लाई दिएको अन्तरवार्तामा भने गोर्बाचेभले ‘दोहोर्‍याएर पुन पहिलेको अवसर पाए, पहिले जे जे गरेको थियो तिनै कुरा थप दृढताका साथ सञ्चालन गर्ने थिएँ’ भन्ने जवाफ दिएका थिए ।

गोर्बाचेभ र उनी अघिका सोभियत नेतामा यही कुरामा फरक रहेको थियो । उनले आफूले सुरु गरेको सुधारको प्रक्रिया आफ्नो नियन्त्रणबाट बाहिरिने स्थिति पुग्दासमेत त्यसलाई उल्टाउने प्रयास गरेनन् ।

गोर्बाचेभका गल्ती अर्को विशाल कम्युनिष्ट मुलुक चीनका लागि पाठ बन्यो । मूलत: उसले गोर्बाचेभले जस्तै एक्कै पटक आर्थिक र राजनीतिक सुधार घातक हुन्छ भन्ने महत्त्वपूर्ण पाठ सिक्यो । त्यसैले उसले एकातर्फ आर्थिक सुधार गर्दै बजार अर्थतन्त्रलाई अपनायो । तर राजनीतिक सुधारको माग गर्ने प्रदर्शनकारीहरूलाई सन् १९८९ मा निर्ममतापूर्वक दमन गर्‍यो । यस नीतिले अझै पनि चिनियाँ कम्युनिष्ट सत्तामै कायम छन् ।

रुसमा धेरैले अझै पनि उनलाई सोभियत संघको पतनका लागि दोष दिन्छन् । केही मानिस गोर्बाचेभले रोक्न नसक्ने स्थितिमा पुगेको बाल्टिक गणराज्यलाई छुट्याइदिएको भए र कंग्रेस अफ पिपुल्स डेमोक्रेटिकको चुनावमा स्वतन्त्रलाई उठ्ने अधिकार नदिएको भए संघको विघटन टर्ने विश्वास गर्छन् । तर यो सम्भावनाको कुरा हो ।

अन्तिममा, सोभियत संघको विघटनबारे वर्तमान रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कस्तो विचार राख्छन् त ? उनले एक अवसर सोभियत संघको विघटनलाई  ‘२० औं शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक दुर्घटना’को संज्ञा दिएका थिए । त्यस्तै फरक स्थानमा उनले ‘सोभियत संघको विघटनमा नपछुताउने रुसीहरू ‘हृदय नभएको’ र यसलाई ब्युँताउने माग गर्नेहरू ‘मस्तिष्क नभएको’ भन्ने चतुर जवाफ दिएका थिए ।

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप