बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रोप–वे लिलामी गर्ने हेटौँडा सिमेन्टको ९ वर्षदेखिको प्रयास असफल

शनिबार, १८ भदौ २०७९, १५ : २२
शनिबार, १८ भदौ २०७९

हेटौँडा सिमेन्ट उद्योगले विगत ९ वर्षदेखि पटक÷पटक आफ्नो रोप–वे लिलामीको असफल प्रयास जारी राखेको छ । ९ वर्ष अघि पहिलो पटक रोप–वे लिलामी प्रक्रिया सुरु गरेको उद्योगको प्रयास असफल भएको थियो ।

त्यस यता उद्योगले पटक पटक लिलामी प्रक्रिया अनुसार बोलपत्र आह्वान गरेको थियो । उद्योगले सरकारी स्वामित्वको उद्योगले पटक÷पटक लिलाम प्रक्रिया अघि बढाएको भए पनि करोडौं मूल्यको रोप–वे उपकरण बिक्री हुन नसकेको हो । उद्योगले पटक÷पटक सूचना प्रकाशित गरे पनि बन्द अवस्थाका उपकरण खरिद गर्न खरिदकर्ताको बोलपत्र परेको छैन ।

खरिदकर्ताले लिलामी प्रक्रियामा बोलपत्र दर्ता नगराएपछि उद्योगले हरेक पटक लिलामी दर पनि घटाउँदै आएको छ । बन्द अवस्थामा रहेको रोप–वेका उपकरणहरू लिलामीका लागि पहिलो पटक उद्योगले ९ वर्षअघि सूचना आह्वान गरेको थियो । उद्योगले उक्त समयमा रोप–वे र जगेडा पार्टपुर्जाका लागि मूल्य अभिवृद्धि करबाहेक न्यूनतम ६ करोड १६ लाख ५३ हजार ३५२ रुपैयाँ कायम गरिएको थियो ।

खरिदकर्ताको बोलपत्र नपरेपछि उद्योगले दोस्रो पटक मूल्य घटाएर लिलामीका लागि सूचना आह्वान गरेको थियो । सो समयमा उद्योगले रोप–वेको लिलामी मूल्य ४ करोड ६१ लाख रुपैयाँ निर्धारण गरेको थियो । सो समयमा पनि रोप–वे लिलामी प्रक्रियामा खरिदकर्ताले बोलपत्र परेन ।

२०७४ मा उद्योगले पुनः मूल्य घटाएर लिलामीको सूचना जारी गरेको देखिन्छ । उद्योगले सो समयमा २ करोड ८० लाख रुपैयाँ कायम गरेर बोलपत्र आह्वान गरेको थियो । तर, सो समयमा पनि रोप–वे लिलामीमा खरिदकर्ताको बोलपत्र नै परेन । रोप–वे लिलामी हुन सकेपछि १६ वर्षदेखि बन्द रोप–वे हालसम्म अलपत्र अवस्थामा छ ।

रोप–वेको पुनः लिलामीको प्रक्रियाको तयारीमा उद्योग

उद्योगले पुनः रोप–वे लिलामीको तयारी थालेको छ । रोप–वे लिलामीको तयारी उद्योगले यसअघि पनि पटक पटक पहल गरे पनि उद्योगले अपेक्षा गरे जति रकम पाउन नसकेपछि बिक्री हुन सकेको छैन ।

वर्षौंदेखी सञ्चालन हुन नसकेको सो रोप–वेका कारण मानव बस्ती र विद्यालयका लागि जोखिम बनेर बसेको छ । उद्योगको रोप–वे का डब्बाहरु हेटौंडाबाट भीमफेदी गाउँपालिकाको भैँसेखानीसम्म तारमा झुन्डिरहेको अवस्थामा रहेको देख्न सकिन्छ । बेवारिसे अवस्थामा झुन्डिएका रोप–वेका डिब्बाहरूले मानव बस्ती नै जोखिममा पारेको देखिन्छ । ती डिब्बा तारमा नै झुन्डिएको ३६ वर्ष भइसकेको छ ।

विगतमा यातायातका साधनहरूको सुविधा नहुँदा उद्योगको चुन ढुङ्गा खानीबाट ढुङ्गा ओसार्नको लागि सो रोप–वे को प्रयोग हुने गरेको थियो । तर, पछिल्लो चरण यातायातको साधनहरूको उपभोगमा सहजता आएसँगै उद्योगले रोप–वे बाट चुन ढुङ्गा ल्याउन बन्द गरेको थियो ।

करिब २० वर्ष ती डिब्बा हेटौँडा सिमेन्ट उद्योगको लागि चुनढुङ्गा ओसार्न प्रयोग भए पनि २०६२ सालदेखि भने पूर्ण रूपमा बन्द छ । सो रोप–वे मा झुन्डिएका कतिपय डिब्बामा अझै पनि ढुंगाहरू भरिएको अवस्थामा रहेको छ ।

उद्योगको रोप–वेमा प्रयोग भएका करोडौँका फलामलाई कवाडीमा बिक्री गर्ने तयारी उद्योगको रहेको छ । रोप–वेमा प्रयोग भएको फलामका पोलदेखि, तार र बाकससम्म कवाडीमा बिक्री गर्ने तयारीमा हेटौँडा सिमेन्ट उद्योग गरेको हो । रोप–वे बिक्रीबाट करिब १२ करोड रुपैयाँसम्म रकम प्राप्त हुने आँकलन गरिएको छ ।

उद्योगले उक्त रोप–वेका सामग्री लिलाम गर्न उद्योगका भण्डार विभाग प्रमुख विकास श्रेष्ठको संयोजकत्वमा मूल्याङ्कन समिति बनाएको छ । समितिमा कोष तथा लेखा नियन्त्रक, जिल्ला प्रशासन र सडक विभागबाट १÷१ जना र उद्योगबाट २ जना प्रतिनिधि हुने व्यवस्था गरिएको छ ।

मूल्याङ्कन समितिको रिपोर्टपछि वास्तविक बिक्री मूल्यबारे जानकारी पाइने उद्योगका महाप्रबन्धक वसन्त कुमार पाण्डेले बताए । रोप–वेलाई पहिलाको अवस्थामा ल्याएर सञ्चालन गर्ने स्थिति नरहेको र मानव बस्ती नै जोखिममा परेकाले सोको मूल्याङ्कन गरेर चाँडो लिलामी प्रक्रिया अघि बढाउने तयारी गरेको पाण्डेले बताए ।

रोप–वे बेचेर घाटा पूर्ति र नयाँ प्रविधि खरिद गर्ने उद्योगको तयारी

विगत ४ वर्षदेखि निरन्तर घाटा व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योगले घाटा पूर्ति र उद्योगमा नयाँ प्रविधि खरिदको लागि रोप–वेका सामग्री बिक्रीको तयारी सुरु गरेको हो ।

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले बजार मूल्य समायोजन गर्न नसक्दा र पुरानो प्रविधिका कारण क्षमता अनुसार सिमेन्ट उत्पादन गर्न नसक्दा विगत ४ वर्षदेखि निरन्तर घाटा व्यहोर्दै आएको छ । उद्योगले व्यहोर्दै आएको घाटा पूर्तिका लागि आफ्नो रोप–वे सेवाको सामग्री बिक्री गर्ने तयारी गरेको हो ।

उद्योगका महाप्रबन्धक पाण्डेका अनुसार रोप–वेलाई पहिलाको अवस्थामा ल्याएर सञ्चालन गर्ने स्थिति नरहेको र मूल्याङ्कन गरेर चाँडो लिलामी प्रक्रिया अघि बढाउने तयारी गरिएको हो । रोप–वे लिलामीले मानव बस्तीको सुरक्षा हुनुको साथै प्राप्त रकमबाट उद्योगमा नयाँ उपकरण ल्याउन सकिने उनले बताए ।

पुराना प्रविधिका कारण उद्योगले वर्षेनी करोडौं घाटा व्यहोर्नु पर्ने बाध्यता रहेको उनका भनाई छ । प्रविधिको कारण उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए ।

उद्योगको जडित उपकरण, मेसिनरी औजार पुरानो प्रविधि भएकाले निरन्तर उत्पादन हुन नसकेको सार्थ मेसिनरी संयन्त्रको मर्मत–सम्भारमा बढी श्रम समय र जनशक्ति खर्चिनु पर्ने अवस्था रहेको उनको भनाई छ ।

यस्तो छ सो रोप–वेको इतिहास

नेपालमा नै पहिलो पटक तत्कालिन प्रधानमन्त्री चन्द्रशमशेरले विसं १९८२ मा मकवानपुरको भीमफेदी नजिकको धोर्सिङबाट मातातीर्थसम्मको २२ किलोमिटरमा रोप–वेको स्थापना गरेका थिए ।

सोही कार्यको अनुसरण गर्दै हेटौँडा सिमेन्टले पनि खानी क्षेत्रबाट चुन ढुङ्गा ओसार्न २०४२ सालमा रोप–वे सञ्चालनमा ल्याएको थियो । उद्योगले २०४२ सालबाट भैंसेखानीबाट लामसुरेस्थित कारखानासम्म ११ किलोमिटर लम्बाइको रोप–वे चुन ढुङ्गा ढुवानी गर्न सञ्चालनमा ल्याइएको थियो ।

करिब २० वर्ष सो रोप–वेबाट उद्योगले चुन ढुङ्गा ढुवानी ग¥यो । २०६२ सालमा उद्योगको सो रोप–वे बन्द भयो । त्यस यता सो रोप–वे सञ्चालनमा आउन सकेको छैन ।

२०६० सालमा आएको बाढी पहिरोले भैँसे त्रिखण्डी नजिकको टावरमा क्षति पुगेपछि रोप–वे बन्द भएको थियो । करिब १० करोड लगानीमा निर्माण भएको रोप–वेको टावरमा बाढीले क्षति पुर्‍याएपछि पूर्ण रूपमा बन्द भइएको थियो । क्षति पुगेपछि बन्द भएको रोप–वे मर्मत गर्न उद्योगले चासो देखाएन । रोप–वे मर्मत गर्नुको विकल्पमा उद्योगले चुन ढुंगा ढुवानीको लागि यातायातको साधन प्रयोग गर्न सुरु ग¥यो ।

प्रतिघन्टा ३ सय मेट्रिकटन चुनढुङ्गा ढुवानी गर्ने क्षमता रहेको रोप–वेको शुरुमा १ सय ६५ वटा बकेट (क्यारियर) रहेको थियो । रोप–वे बिग्रिए पछि त्यसका क्यारियर पनि झर्दै गए जसका कारण हाल त्यसमा १ सय ४० जति बाँकी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप