स्वास्थ्य

डेंगु नेगेटिभ देखिँदै, चिकुनगुनिया भाइरस पो हो कि ?

person explore access_timeभदौ १९, २०७९ chat_bubble_outline0

हाल अस्पतालमा डेंगु र डेंगु जस्ता लक्षणहरू लिएर आउने बिरामीको चाप बढ्दो छ । परीक्षण गरेका सबैमा डेंगु पोजेटिभ आउँदैन । कतिपयमा दोहोराएर परीक्षण गर्दा पनि डेंगु नेगेटिभ नै आउने गर्दछ। 


अधिकांश डेंगु सङ्क्रमितमा प्लेटेलेट्सको सङ्ख्यामा देखिने उल्लेखनीय कमी पनि देखिँदैन। व्यापक देखिएको डेंगु फैलाउने एडीस जातको लामखुट्टेले चिकुनगुनिया भाइरस पनि फैलाउने गर्दछ । सन् २०१३ मा नेपालमा पहिलो पटक लेखकले चिकुनगुनिया भाइरस पत्ता लगाएको थियो र तत् पश्चात् परीक्षणले निरन्तरता पाउँदासम्म पुष्टि हुने पनि गर्थ्यो । बिरामीहरूमा ज्वरोको साथ साथै जोर्नीमा पनि अधिक पिडा हुने समस्या लिएर आउने गर्दछन् । यो चिकुनगुनिया भाइरसमा देखिने मुख्य लक्षणहरू हुन् । त्यसो भए ‘के डेंगु नेगेटिभ बिरामीमा चिकुनगुनिया भाइरस सङ्क्रमण भएको होला ?’



चिकुनगुनिया भाइरसको परीक्षण केहि वर्षदेखि  लगभग बन्द जस्तो देखिन्छ। यो परीक्षण नगरी पुष्टि हुँदैन। पुष्टि नभएसम्म भाइरस हो/होइन/फैलिएको छ/छैन भन्न मिल्दैन । डेंगु र चिकुनगुनिया भाइरस फैलाउने लामखुट्टे एकै हुँदा दुवै भाइरस पहिले देखिसकेको ठाउँमा सँगै देखिनु असम्भव मानिँदैन । सन् २००६ मा भारतमा गरेको अनुसन्धानले दुवै भाइरस सोही समयमा एकै पटक फैलिएको देखाएको थियो। नेपालमा पनि लेखकले चिकुनगुनिया भाइरस पत्ता लगाइसकेपछि परीक्षणले निरन्तरता पाउँदा सम्म सङ्क्रमितहरू देखिने गर्दथ्यो। यसर्थ डेंगु फैलाउने लामखुट्टेको व्यापक उपस्थिति देखिदा चिकुनगुनिया भाइरसको सम्भावनालाई पनि बढाई दिएको छ। 



चिकुनगुनिया एडीस जातको लामखुट्टेको टोकाईबाट सर्ने भाइरस हो । सङ्क्रमण भएको २ देखि १२ दिनसम्ममा लक्षणहरू देखा पर्ने गर्दछ। ज्वरो आउनु, सहनै नसक्ने गरी जोर्नीको दुखाई हुनु र शरीरमा बिबिरा देखिनु यसका मुख्य लक्षणहरू हुन् । मांशपेशी दुख्नु, टाउको दुख्नु, जोर्नी सुन्निनु, वाक-वाक लाग्नु , आलस्य हुनु यसका अरू लक्षणहरू हुन् ।

यसको विशेष एन्टी-चिकुनगुनिया भाइरल औषधी भने छैन। तसर्थ यसको उपचार पनि डेंगुमा जस्तै लक्षणको आधारमा गरिन्छ। आवश्यकता अनुसार दुखाई कम गर्ने औषधीको प्रयोग (सिटामोल), प्रशस्त झोलयुक्त खानेकुरा खाने र आरामको आवश्यकता पर्ने गर्दछ। चिकुनगुनियाबाट मृत्यु दुर्लभ मानिन्छ । तर सन् २००२ देखि २००६ सम्मको तथ्याङ्कमा आधारित भारतको अहमदाबादमा गरिएको एक अनुसन्धानले चिकुनगुनियाको मृत्युदर १२ प्रतिशतसम्म देखाएको थियो ।  जसमा ७० प्रतिशत मृतक ६० वर्ष माथिका थिए। अर्थात् चिकुनगुनियाको उच्च जोखिममा वृद्ध/ज्येष्ठ नागरिकहरू देखिन्छन्। नेपालमा पनि केहि वर्ष अगाडी केहि व्यक्तिको मृत्यु चिकुनगुनियाको कारणले भएको आधिकारिक तथ्याङ्क सार्वजनिक भएको थियो। 

चिकुनगुनिया र डेंगु दुवै भाइरसका लक्षणहरू एक अर्कासँग मिल्दो जुल्दो हुनु, डेंगु जस्तो लक्षणहरू लिएर आउने बिरामीमा प्रयोगशालाबाट डेंगु भाइरस पुष्टि हुन नसक्नु, दुवै भाइरस फैलाउने लामखुट्टे एकै हुनु र विगतमा परीक्षणले निरन्तरता पाउँदासम्म देखिरहनुले पनि चिकुनगुनिया भाइरसको उपस्थितिलाई नजर अन्दाज गर्न सकिँदैन। यी दुई भाइरसलाई छुट्याउन सकिए सम्भावित जटिलताको बारेमा परामर्श दिन सहज हुनेछ। यद्यपि सङ्क्रमण सर्ने तरिका, उपचार र नियन्त्रणका उपायहरू भने समान हुन्छन् ।

डा शेरबहादुर पुन  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा  क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।