बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दैलेख–२ मा एमालेबाट उम्मेदवारीका लागि होड, कसले फुत्काउला टिकट ?

आइतबार, १९ भदौ २०७९, ११ : ४९
आइतबार, १९ भदौ २०७९

 नेकपा एमालेको बाहुल्यता रहेको दैलेख क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभातर्फ उम्मेदवारीका लागि सो पार्टीबाट ५ जनाले दाबी गरेका छन् । पार्टीको प्रभाव राम्रो रहेका कारण उम्मेदवारीका लागि पनि नेताहरुबीच हानथाप देखिएको हो । शनिबार दुल्लुमा बसेको प्रतिनिधिसभा समन्वय समितिको बैठकले उम्मेदवारीका लागि ५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा हाल कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, प्रतिनिधिसभा सदस्य समेत रहेका राजबहादुर बुढा, जिल्ला इञ्चार्ज लक्ष्मी पोखरेल, एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाह र एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाल छन् ।

पाँच वटा पालिका पर्ने यो क्षेत्रबाट पाँच जनाले नै प्रतिनिधिसभाको उम्मेदवारमा दाबी गरेपछि पाँचै जनाको नाम केन्द्रमा सिफारिस गर्नुपरेको एक नेताले बताए । पाँच पालिकामध्ये पोखरेल दुल्लु नगरपालिकाका हुन् भने रिजाल भैरवी गाउँपालिकाका हुन् । यस्तै बुढा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका हुन् भने समामुख शाही र विनोद शाह ठाटीकाँध गाउँपालिकाका हुन् । आठबीस नगरपालिकाबाट भने कुनै नेताले उम्मेदवारी दिएका छैनन् ।

यो क्षेत्रबाट उम्मेदवारीका लागि एमालेका पाँच आकांक्षीमध्ये सभामुख शाही र युवा नेता रिजालमध्ये एक जनाले टिकट पाउने सम्भावना प्रबल रहेको नेताहरु बताउँछन् । किनकि हाल प्रनितिधिसभा सदस्य समेत रहेका बुढाले आफ्नो क्षेत्रको लागि कुनै उदाहरणीय काम गर्न नसकेको भन्दै कार्यकर्ता पंक्तिमै निराशा छ । उनी ०७४ मा २३ हजार ३२३ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका शिवराज जोशीले १६ हजार ६३४ मत प्राप्त गरेका थिए । जबकि उनलाई त्यो बेला माओवादीले साथ दिएको थियो ।

यस्तै जिल्ला इञ्चार्ज पोखरेल ०७० सालको संविधानसभाको निर्वाचनमा विजयी भएका थिए । नयाँलाई अवसर दिनुपर्ने पक्षमा जिल्लामा कार्यकर्ताहरुको जोड रहेको बताइन्छ । त्यसैले अहिले नयाँले उम्मेदवारीको अवसर पाउने सम्भावना देखिन्छ ।

युवा नेता रिजाल पहिलो पटक चुनावमा भाग लिने तयारीमा छन् भने ०७४ मा प्रदेशसभा जितेर सभामुख बनेका राजबहादुर शाहीले पनि पहिलो पटक प्रतिनिधिसभामा लड्ने तयारी गरिरहेका छन् ।  प्रदेश अध्यक्षसमेत रहेका विनोद कुमार शाह ०५६ सालमै उम्मेदवार बनेर पराजित भएका थिए । लामो समयसम्म पार्टीभित्र जिम्मेवारी नपाएका उनी अहिले प्रदेश अध्यक्ष बनेका छन् । उनले अन्य नेताहरुलाई मिलाएर लैजानुपर्ने बाध्यता पनि रहेकाले आफै उम्मेदवार बन्नुभन्दा पनि सबै पक्षलाई कसरी ‘स्पेस’ दिने भन्नेतर्फ नै उनको बढी भूमिका रहने देखिन्छ । सम्भवतः उनी समानुपातिकमा जान सक्ने पनि नेताहरुको आकलन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप