शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनमा गलाउने, थकाउने र बार्गेनिङ गर्ने काम भइरहेको छ : चित्रबहादुर केसी

सिट बाँडफाँटबारे शीर्ष तहमै हलो अड्किएको छ
सोमबार, २० भदौ २०७९, १६ : ४५
सोमबार, २० भदौ २०७९

मंसिर ४ मा हुने निर्वाचनका लागि सत्ता गठबन्धनमा रहेका ५ दलले साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरे । कार्यदल गठन भएको एक महिना बित्दा समेत सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन । ११ सदस्यीय कार्यदलको अलबा बेला बेला ५ दलका शीर्ष नेताहरुबीच पनि बैठक र छलफल हुँदै आएका छन् । शीर्ष तहको बैठकमा राष्ट्रिय जनमोर्चाका तर्फबाट अध्यक्ष चित्रबहादुर केसी सहभागी बन्छन् । साउन २० यता तीनचार पटक गठबन्धनका शीर्ष नेताहरुबीच बैठक बसेपनि ती छलफलमा कसले कति सिट लिने भनेर कसैले  मुख नखोलेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी बताउँछन् । बरु दलहरुले आफूलाई बढी सिट चाहिन्छ भन्ने गर्दा निर्णयमा पुग्न ढिलाइ भएको केसीको भनाइ छ । अहिले गलाउने, थकाउने  गर्नमा पार्टीहरु लागेपनि अन्तत: समयभित्रै भागबण्डा मिलाएर गठबन्धन अघि बढ्ने केसीको भनाइ छ ।

‘बैठकमा कसैले पनि हामीलाई यति नै चाहिन्छ भनेर हिसाव सुनाएका छैनन्, बढी हुनुपर्छ भन्नेमात्रै छ’, केसीले रातोपाटीसँग भने, ‘मलाई यति चाहिन्छ भन्दैनन् । पहिला कांग्रेस टुंगिनुपर्यो भन्नेछ । काँग्रेसले सार्वजनिकरुपले सय भन्दै आएको छ । कांग्रेस एउटाले सय सिट लिएपछि ६५ सिट चार पार्टीलाई कसरी मान्य हुन्छ र ?’

शीर्ष तहमा सिट बाँडफाँटबारे कसरी छलफल भइरहेको छ त ? प्रस्तुत छ केसीसँगको छोटो कुराकानी- 

कार्यदल गठन गरेको १ महिना बित्दापनि सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न सकेन। तपाईं पनि बारम्बार शीर्ष नेताहरूको बैठकमा सहभागी हुँदै आउनुभएको छ, किन कुरा मिलिरहेको छैन ?

जसले पनि आफूलाई बढी चाहिन्छ भनेकाले कुरो नमिलेको हो । अरूलाई पनि दिनुपर्छ भन्ने होइन कि जसरी हुन्छ आफूलाई बढ्ता चाहियो भनेका कारणले ढिला भएको हो । अरू केही पनि कारण छैन ।

धेरै सिट लिने अडान नछोड्दा कसरी मिल्छ त अब सिट बाँडफाँट ?

हामीले त त्यसो गरेका छैनौ । हामीले हाम्रो जहाँ सम्भावना छ, जहाँ हाम्रो कम्प्लिट मत छ त्यहाँ मात्रै हामीले सुरुका दिनदेखि भनेका छौँ, दाबी गरेका छौँ । नमिलेको त सवभन्दा बढी काँग्रेसलाई चाहिने रे ! त्यसपछि समाजवादीलाई चाहिने । माओवादी भइहाल्यो । अरू केही कारण होइन आफूलाई बढी चाहिने भनेकाले सकस परेको हो ।

जनमोर्चाले दाबी गरेको प्रतिनिधि सभाका दुई सिटमा चाहिँ कसैको विमति नरहेको हो ?

बागलुङ र प्युठानका २ सिटमा हाम्रो दाबी छ ।

ती दुवै स्थान जनमोर्चाले जित्ने आधार छन् त ?

आधार नभएको भए त हामी दाबी नै गर्दैनौ नि ! पहिला जितिरहेका ठाउँ हुन् तिनीहरू । बागलुङ त मैले दुई चोटि प्रत्यक्ष जितेको हो । स्थानीय चुनावमा पनि राम्रो मत आएको छ । दुई वटा गाउँपालिका र एउटा नगरपालिकामा राम्रो सङ्गठन छ । यो हाम्रो आधार भएकाले मैले बागलुङ १ नम्बरमा उम्मेदवारी दिने भनेर पार्टीले पनि घोषणा गरेको छ । प्युठानमा दुर्गाजीको ठाउँ हो । म लड्ने भनेको चाहिँ एमालेले जितेको ठाउँ हो ।

प्रदेश सभातर्फचाहिँ जनमोर्चाको कति सङ्ख्यामा दाबी हो ?

प्रदेश सभामा सात वटा दाबी गरेका छौँ ।

जनमोर्चालाई प्रतिनिधि सभाका २ र प्रदेशका सात सिट दिन अन्य दलले सहमति जनाइसकेका हुन् ?

यो हामीले राखेको प्रस्ताव हो, निर्णय भैसकेको छैन । अहिलेसम्म त उनीहरु आफै लडिरहेका छन् । हाम्रा कारणले वा हाम्रो प्रस्तावले बैठक लम्बिएको होइन । सोझो कुरा गर्ने हो भने जनता समाजवादीका कारणले पनि होइन, कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका कारण लम्बिएको हो ।

कांग्रेस, माओवादी र समाजवादीले चाहिँ कति सिट चाहिन्छ भनेर प्रस्ताव गरेका छन् ?

बैठकमा कसैले पनि हामीलाई यति नै चाहिन्छ भनेर हिसाब सुनाएका छैनन् । बढी हुनुपर्छ भन्नेमात्रै छ । मलाई यति चाहिन्छ भन्दैनन् । पहिला कांग्रेस टुंगिनुपर्यो भन्नेछ । काँग्रेसले सार्वजनिक रूपले सय भन्दै आएको छ । कांग्रेस एउटाले सय सिट लिएपछि ६५ सिट चार पाटीलाई कसरी मान्य हुन्छ र ? त्यो त मिल्दो कुरा होइन । त्यसो हो भने त एक्लै लडेर १६५ सिटमै लडे भयो, त्यसमा केही फरक परेन । होइन मिलेर जाने हो भने आफ्नो जहाँ सम्भावना छ त्यहाँ दाबी गर्दा त भइजान्छ । सबैभन्दा ठुलो समस्या यिनीहरूलाई नेताको व्यवस्थापन गर्न समस्या भएको हो । आफ्ना नेताहरूको व्यवस्था पनि गर्नुपरेकाले गाह्रै परेको हो । हाम्रो त्यस्तो छैन । हाम्रो जायज माग छ भनेर बाहिरकाले पनि हेरेका छन् भनेका छन् ।

तपाईँको विचारमा सिट बाँडफाँट कहिलेसम्म टुङ्गिएला त ?

सहमतिमा नटुङ्ग्याई त सुख छैन । तर अहिलेसम्म गठबन्धनमा एकले अर्कालाई कति गलाउन सकिन्छ र कति थकाउन, थर्काउन सकिन्छ भन्नेमा लागेका छन् ।  

सिट बाँडफाँटमा कुरा नमिल्दा गठबन्धन टुट्ने खतरा छैन ?

मैले त टुट्ने दख्दिनँ । गठबन्धन टुट्यो भने प्रतिगमनले फेरि टाउको उठाउने मौका पाउँछ । उसले अनेक प्रपञ्च गरिरहेको छ । बाध्यता भएर नै गठबन्धन गरेको हो । नत्र त बाम गठबन्धनले सफलता प्राप्त गरेकै हो । त्यति वेला त कुनै रिस राग कसैले गरेको थिएन नि ! सहज रूपले कम्युनिस्टले ५ वर्ष शासन गरोस् भन्नेमा त कांग्रेस नै उभिएको हो । अरूले पनि कुनै लोभ लालसा देखाएका थिएनन् । २०७४ मा वाम गठबन्धनले बहुमत पाए पनि चलाउन नसकेका कारण, खास गरेर केपी ओलीजीको कमजोरीले यो गठबन्धन बनेको हो ।

त्यसकारण उनीहरू आआफै रियलाइज गर्छन् र निर्णयमा पुग्छन् । गलाउने र थकाउने गर्दा थाक्छन् । समय बाँकी नै छ त्यही भएर अहिले लडिरहेका छन् । यसरी लड्दा आफ्नै भागमा बढी पार्ने उनीहरूको प्रयास हो । जब समय सकिँदै जान्छ अनि नमिली सुखै छैन ।

सिट संख्यामात्रै होइन, निर्वाचन क्षेत्र पनि मिलाउने कुन नेता कहाँबाट लड्ने भनेर ‘माइक्रो एनालाइसिस’ भइरहेको छ भनिन्छ । के त्यस्तै गृहकार्य भएको हो ?

माइक्रो साइक्रो जे भनेपनि आफ्नो दलले कहाँ कसलाई लडाउने भन्ने निर्णय गर्न पाउँछ । त्यो दलभित्रको कुरा हो । गठबन्धनले यो नेता उ नेता भनेर हुँदैन । जस्तो मलाई राष्ट्रिय जनमोर्चाले बागलुङ १ भन्यो, तर मेरो घर त २ नम्बर हो । १ नम्बरमा हाम्रो प्रभाव र संगठन पनि २ को भन्दा बढी भएकाले पार्टीले त्यहाँका लागि निर्णय गरेको हो । त्यो निर्णय सर्वदलीय होइन, जनमोर्चाको हो । गठबन्धनले सिट बाँड्ने कुरा हो, आफ्नो पार्टीको नेतालाई कहाँ व्यवस्थापन गर्ने भन्ने सम्बन्धित पार्टी आफैले गर्ने हो ।

कार्यदलले सङ्ख्यामा सहमति जुटाउन नसकेर शीर्ष नेतालाई जिम्मा दिएका खबर आएका थिए । फेरि आइतबारको बैठकले कार्यदलमै फिर्ता पठाएजस्तो निर्णय आयो । किन यसरी ओहोरदोहोर भइरहेको छ ?

सङ्ख्या नै नटुंगिएर हो । शीर्षस्तरबाट नटुंगिएसम्म कार्यदलले के गर्छ र ! हलो अड्किएको सिट सङ्ख्यामै हो । पहिला सिट सङ्ख्या टुङ्ग्याउने भन्ने भएपनि मिलिसकेको छैन । त्यसमा पनि प्रतिनिधि सभाको सिट सङ्ख्या टुङ्ग्याउन हम्मे हम्मे भएको छ । प्रतिनिधि सभापछि प्रदेश सभामा जाने कुरा छ । तर अव ढिलो चाँडो टुंग्याउछन् । नटुंग्याएर सुखै छैन । गठबन्धन नगरी पनि सुखै छैन । अहिले.समय भएकाले अभ्यास मात्रै गरिरहेका छन् ।

यो अभ्यास कहिलेसम्म जारी रहला त ?

जब समयले चाप्दै जान्छ, अनि टुङ्गोमा नपुगी सुखै छैन ।

काँग्रेसले सय नछोड्ने, माओवादीले ६० नछोड्ने, समाजवादीले ४० नछोड्ने भन्ने अडान कायमै रहे त गाह्रो पर्ने भयाे नि  ?

त्यो अनावश्यक कुरा हो । एक्लै लडेर जित्ने भए त १६५ नै दावा गर्दा पनि भइहाल्छ त ! नत्र गठबन्धन गर्ने भन्ने अनि होचो अग्लो मिलाउँदिन भन्न त कहाँ पाइनछ र ? पाइँदैन । त्यसकारण यिनीहरू मिल्छन्, बाध्यता पनि छ । समय भएसम्म केही न केही बार्गेनिङ गरेका मात्रै हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप