शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतसँग खेल्न पाकिस्तान उत्साहित, श्रीलंका खुसी, नेपाललाई हराउने भुटानको दाउ

सोमबार, २० भदौ २०७९, २० : ४२
सोमबार, २० भदौ २०७९

घरेलु मैदानमा आजदेखि साफ महिला च्याम्पियनसिप आयोजना हुँदैछ । प्रतियोगिताका लागि सबै टोलीले आफ्नो तयारी राम्रो भएको बताएका छन् । 

सोमबार भएको पत्रकार सम्मेलनमा पाकिस्तानले यो पटक भारतसँगको खेल रोचक हुने बताएको छ । ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानले नेपालमा भारतलाई हराउँदै प्रतियोगिताको सुरुवात गर्ने लक्ष्य बनाएको छ ।

यता आर्थिक मन्दीमा परेको श्रीलंका पनि प्रतियोगिताका लागि उत्साहित छ । आर्थिक मन्दीले खेल क्षेत्रलाई प्रभाव नपरेको श्रीलंकाका प्रशिक्षकको भनाइ छ । प्रतियोगिताका लागि १० दिन अघि नै नेपाल आएको भुटान पहिलो खेलमा नेपाललाई हराउँदै आफूलाई बलियो साबित गर्ने योजनामा छ ।

यता नेपाल पनि प्रतियोगिताको समूह चरणको खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै सेमीफाइनल सहित उपाधि होडमा आफूलाई बलियो बनाउने योजनामा छ ।

उत्साहित पाकिस्तान

पाकिस्तान ८ वर्षपछि फुटबलमा फर्किएको हो । पाकिस्तानले अघिल्लो महिला साफमा सहभागिता जनाउन पाएन । पाकिस्तान साफको पहिलो खेलबाटै प्रतियोगितामा सुखद् सुरुवात गर्ने योजना बनाएको छ ।

पाकिस्तानको टोलीमा विदेशी क्लबहरुमा खेलेका र विदेशमै बस्ने खेलाडीहरु छन् ।

मुख्य प्रशिक्षक आदील रिज्कीले टिम छोटो समयमा तयार भए पनि प्रतियोगिताका लागि तयारी भएको बताए । पाकिस्तानको टोली पहिलेभन्दा धेरै राम्रो भएकाले प्रतिस्पर्धाको लागि आफूहरु तयार रहेको उनको भनाइ छ ।

‘हामीले छोटो समयमा टिम तयार पारेका थियौं । हामी प्रतियोगिताका लागि तयार छौं । ८ वर्ष पहिला देखिने पाकिस्तानको टोलीजस्तो अहिलेको टोली छैन,’ रिज्कीले भने ।

यता कप्तान मारिया खानले भारतसँगको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवत गर्ने बताएकी छन् । टिममा युएई र बेलायतमा खेलिरहेका खेलाडी छन् । पहिलो खेल भारतसँग भएकाले पनि निकै प्रतिस्पर्धात्मक देखिने उनले बताइन् ।

ढुक्क भारत

पाँच पटकको च्याम्पियन भारत यो पटक पनि उपाधिका लागि ढुक्क छ । भारतले प्रतियोगिताका लागि राम्रो तयारी गरेको बताएको छ ।

मुख्य प्रशिक्षक शुरेन क्षेत्रीले आफूहरुले राम्रो तयारी गरेको बताए । उनले फिफाको केही समयको प्रतिवन्धको असर टिममा नपरेको बताए ।

‘हाम्रो तयारी धेरै राम्रो छ । प्रतियोगिताका लागि हामी तयार छौं । पाँच पटकको च्याम्पियन भएका कारण पनि केही हौसला छ । तर, अहिलेको प्रतिस्पर्धा केही फरक हुनेछ । सबै टोली बलियो नै छन्,’ क्षेत्रीले भने ।

यता कप्तान आशालता देवीले पाँच पटकको च्याम्पियन टोली अहिले पनि च्याम्पियन बन्ने हौसलाका साथ आएको बताइन् ।

उनले टिममा केही नयाँ खेलाडी आएका कारण पनि आफूहरुलाई सहज भएको बताइन् । फिफाले गरेको प्रतिबन्धको विषयमा भने उनले टिममा कुनै किसिमको असर नपरेको बताइन् ।

पहिलो उपाधिको पर्खाइमा नेपाल

घरेलु मैदानमा नेपाललाई पहिलो उपाधि जित्ने मौका छ । छैटौं संस्करणमा पुगेको नेपालले हालसम्म प्रतियोगिताको चार संस्करणमा फाइनलमा भारतसँग पराजित हुनु परेको छ ।

यो पटक पनि नेपाली टोलीलाई फाइनल पुग्दै उपाधि जित्ने मौका छ । मुख्य प्रशिक्षक कुमार थापाले यो पटक टिमको उपाधि भोक मेट्ने लक्ष्य भएको बताए ।

उनले टिम बलियो भएकाले इतिहासमा भएको कमजोरीलाई सच्याउँदै घरेलु मैदानमै ट्रफी राख्ने योजना भएको बताए ।

‘दोस्रो पटक घरेलु मेदानमा प्रतियोगिता हुँदैछ । राष्ट्रिय महिला टोलीले अफिसियल खेलमा रंगशालामा डेब्यू गर्दैछ । त्यसका लागि पनि हामी उत्साहित छौं । नेपालको लामो समयदेखिको उपाधि भोक अब मेटिनेछ,’ उनले भने ।

एन्जिलाले आफूलाई कप्तानको जिम्मेवारी दिएर विश्वास गरेकोमा टिमलाई धन्यवाद दिँदै आफूले कप्तानीको रुपमा उपाधि दिलाउँदै प्रमाणित गरेर देखाउने बताइन् ।

‘मलाई विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको छ । म त्यो जिम्मेवारीलाई सफल बनाएर देखाउने छु । टिमलाई उपाधि दिलाउन सकेमा म सफल भएको प्रमाणित हुनेछ । स्वर्ण नै मेरो लक्ष्य हो,’ उनले भनिन् ।

नेपाली टोलीमा पहिलो पटक ३ जना राष्ट्रिय टिममा परेका छन् । तीन जनाले पुनरागमन गरेका छन् । नेपालले प्रतियोगिताका लागि सात हप्ताको समय पाएको थियो ।

बंगलादेशलाई युवा खेलाडीबाट सकारात्मक अपेक्षा

बंगलादेशको टोलीमा अहिले युवा खेलाडी धेरै छन् । विराटनगर साफमा सहभागी टोलीका खेलाडीहरु अहिले राम्रो अवस्थामा छन् ।

मुख्य प्रशिक्षक रब्बानीले बंगलादेशको टोली अहिले बलियो भएको बताए । यसअघिको साफमा भन्दा टिमबाट अहिले धेरै राम्रो अपेक्षा गर्न सकिने बताए ।

‘अघिल्लो साफभन्दा अहिले टोली निकै बलियो छ । हामीले राम्रो तयारी गरेका छौं । अब उपाधिका लागि राम्रो चुनौती पस्कनेछौं,’ रब्बानीले भने ।

नेपाललाई हराउँदै सुरुवात गर्ने भुटानको आशा

भुटानले हालसम्म नेपाली टोलीलाई हराउन सकेको छैन । यो पटक युवा खेलाडीको जोसले भरिपूर्ण भुटान नेपाललाई हराउँदै प्रतियोगिताको सुरुवात गर्ने योजनामा छ ।

भुटानकी कप्तान पेमा छोदोङले भुटानको टोली सबै पक्षबाट तयार भएको बताइन् । ‘टिममा युवा खेलाडी धेरै छन् । नेपालसँगको खेलका लागि टिम तयार छ । नेपालसँगको खेल पहिलेको जस्तो हुने छैन । घरेलु टोलीसँगको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । हामी त्यसका लागि तयार पनि छौं,’ पेमाले भनिन् ।

यता मुख्य प्रशिक्षक क्युङ सुकले भुटानको टोलीले जुनसुकै टोलीलाई चुनौती दिन सक्ने बताइन् । यो पटक तयारी पनि राम्रो गरेकाले आफूहरुलाई सहज भएको उनको भनाइ छ ।

आर्थिक मन्दीको असर छैन श्रीलंकाली खेलाडीमा

श्रीलंकाका मुख्य प्रशिक्षक चामिन्दा निल स्टेनवालले खेलाडीहरुमा आर्थिक मन्दिको असर नपरेको बताए । उनले एक महिनाको तयारी गरेको भए पनि खेलाडीहरु राम्रो अवस्थामा भएको र टिम पनि बलियो भएको बताए ।

आर्थिक मन्दीले लामो समय तयारी गर्न नपाए पनि त्यसको असर खेलाडीहरुमा नपरेको उनले बताए । ‘आर्थिक मन्दीको असर खेलाडीहरुमा परेको छैन । एक महिना तयारी गरे पनि हामी राम्रो अवस्थामा छौं,’ उनले भने ।

यता कप्तान पूर्णिमाले साफका लागि आफू उत्साहित भएको बताइन् । प्रतिकुल समयमा नेपाल आउँदा पनि आफू खुसी भएको उनको भनाइ छ ।

बलियो टोलीबीच माल्दिभ्स

प्रतियोगिताको समूह ‘ए’लाई ‘ग्रुप अफ डेथ’ मानिएको छ । यो समूहमा भारत, पाकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।

बलियो समूहमा परेको माल्दिभ्सलाई भने धेरै चुनौती छ । तर, त्यसका लागि आफूहरु तयार भएको मुख्य प्रशिक्षक अहमद सरिफले बताए ।

आफूहरु कठिन समूहमा परको भए पनि प्रतिस्पर्धाका लागि तयार भएको उनले बताए ।

‘हामी कठिन समूहमा छौं । तर, प्रतिस्पर्धाका लागि हामी तयार छौं । विकसित हुँदै आएको माल्दिभ्सको महिला फुटबलमा यो प्रतियोगिताले सहयोग पुग्नेछ,’ प्रशिक्षक सरिफले भने ।

यता कप्तान लिजाले आफूहरु भारत, पाकिस्तानजस्तो बलियो टोली रहेको समूहमा परे पनि प्रतिस्पर्धामा बलियो बन्न मेहनत गरेको बताइन् ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता छ ।

सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् भने समूह ‘बी’ मा आयोजक नेपाल सहित श्रीलंका र भुटान छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप