शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : गठबन्धन कार्यदलमा अझै जुटेन सहमति, एमालेसँग निकट हुँदै लोसपा

दसैँमा यात्रीलाई राहत : सार्वजनिक यातायातको भाडा नबढ्ने
सोमबार, २० भदौ २०७९, २१ : १६
सोमबार, २० भदौ २०७९

आज २०७९ साउन भदौ २० गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा निर्वाचनसम्मका लागि कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा रोक, गठबन्धनको कार्यदलले जुटाउन सकेन सिट बाँडफाँटमा सहमति, भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले पाए नेपाली सेनाको मानार्थ महारथी पदवी, सत्ता गठबन्धनले बेवास्ता गरेपछि एमालेसँग निकट हुँदै लोसपा, दसैँमा यात्रीलाई राहत : सार्वजनिक यातायातको भाडा नबढ्ने, नागरिकता विधेयक प्रमाणीकरण नभए अदालत जाने प्रचण्डको चेतावनी, सम्पत्ति शुद्धीकरणसम्बन्धी १४ कानुन संशोधन गरिँदै लगायत छन् ।

१. निर्वाचनसम्मका लागि कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा रोक
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्मका लागि सरकारले कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवाजस्ता काम गर्न नपाउने भएको छ । सोमबारदेखि लागू हुने गरी कर्मचारी नियुक्ति, सरुवा, बढुवामा रोक लागेको निर्वाचन आयोगले जनाएको छ । 

​२. गठबन्धनको कार्यदलले जुटाउन सकेन सिट बाँडफाँटमा सहमति 
सत्तारुढ गठबन्धनको कार्यदल सिट बाँडफाँटमा सहमति जुटाउन असफल भएको छ । कार्यदलको बैठकमा दलहरूले दाबी गरेको सिट संख्यामा कोही लचक नभएपछि सोमबारको कार्यदल बैठक बिना सहमति टुंगिएको हो ।

​३. भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले पाए नेपाली सेनाको मानार्थ महारथी पदवी 
भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदवी प्रदान गरेकी हुन् । 

४. सत्ता गठबन्धनले बेवास्ता गरेपछि एमालेसँग निकट हुँदै लोसपा
पाँच दलीय गठबन्धनमा सामेल नहुने लगभग पक्का भएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेकपा एमालेसँग निकटता बढाउन थालेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा लिने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रगति नभएका कारण लोसपाले विकल्पका रुपमा एमालेको साथ खोजेको हो । 

५. दसैँमा यात्रीलाई राहत : सार्वजनिक यातायातको भाडा नबढ्ने 
यस पटकको दसैँ, तिहार जस्ता ठुला चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो । 

६. नागरिकता विधेयक प्रमाणीकरण नभए अदालत जाने प्रचण्डको चेतावनी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक यस पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बताएका छन् । सोमबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले संविधानतः राष्ट्रपतिले एउटै विधेयकलाई एक पटकभन्दा बढी फिर्ता गर्न नपाउने भन्दै नागरिकता विधेयक अब पनि प्रमाणीकरण नभए अदालतमा जाने बताएका हुन् ।

७. बागमती प्रदेशसभा : २७ वटा अत्यावश्यक कानुन निर्माण हुन सकेन
बागमती प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा अत्यावश्यक भनिएकामध्ये २७ वटा कानुन निर्माण हुन सकेन । प्रदेशसभाको १० औं अधिवेशन अन्त्य भइसकेको र कार्यकालसमेत लगभग समाप्त भइसकेको अवस्थामा ती कानुन अब आगामी मंसिरपछि बन्ने प्रदेशसभाले निर्माण गर्नुपर्ने भएको छ ।

सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) बारे विभिन्न १४ कानुन संशोधनको प्रक्रिया अघि बढाएको छ । सम्पत्ति शुद्धीकरण निवारणमा नेपालले गरेका प्रयासको अन्तर्राष्ट्रिय मूल्यांकन हुन लागेको समयमा सरकारले १४ कानुन संशोधनमार्फत् थप कडाइ गर्न लागेको हो । 

९. सन् २०१८ मा इपीएस परीक्षा पास गरेकाहरू दक्षिण कोरिया जान पाउने सम्भावना न्यून 
सन् २०१८ मा कोरियन भाषा (इपीएस) परीक्षा पास गरेकाहरू दक्षिण कोरिया जान पाउने सम्भावना निकै कम देखिएको छ । रोष्टर अवधि सकिएका उनीहरूलाई कोरियाले लैजाने सम्भावना निकै कम देखिएको हो । 

१०. र यो पनि,
घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले क्लिन स्विप गरेको छ । नेपालले यसअघि पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।

​गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् ।  

आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङबाट प्रमुख दलका तर्फबाट पुरानै नेताहरु उम्मेदवार बन्ने तरखरमा देखिएका छन् ।

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप