शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्राजिल : समुद्रमा डुबे तर फ्रिजले जोगायो ज्यान

बुधबार, २२ भदौ २०७९, १६ : ५८
बुधबार, २२ भदौ २०७९

आन्द्र महासागरमा डुबेका ब्राजिलका एक जना माछा मार्ने माझी ११ दिनसम्म फ्रिजमा तैरिएर बचेका छन् । ब्राजिलियन टेलिभिजन च्यानल ‘रेकर्ड टीभी’ को समाचार अनुसार रोमुआल्डो मसेडो रोद्रिगेज नामका ती व्यक्ति अगष्टमा तीन दिनका लागि माछा मार्न भनेर घरबाट निस्किएका थिए ।  तर उनले माछा मार्न प्रयोग गर्ने डुंगा बीचमै डुब्न थाल्यो ।

उनलाई पौडी खेल्न पनि आउँदैनथ्यो, त्यसैले उनलाई आफ्नो अन्त्य नजिक आएको जस्तो लाग्यो ।  तर डुंगा डुब्दै गर्दा उनले छेउमै तैरिरहेको फ्रिज देखे । हतार हतार उफ्रिएर उनी डुंगाबाट छेउको फ्रिजमा पसे । ११ दिनपछि डुंगा डुबेको स्थानबाट २८० माइल टाढा सुरीनामका अन्य माझीले भेट्दा पनि उनी फ्रिजभित्रै थिए ।

 ‘फ्रिज मेरो जीवनमा भगवान भएर आयो । त्यो समय मेरो साहारा फ्रिज मात्र थियो । जुन समय मैले अब जीवन सकियो भन्ने सोचेको थिएँ, भगवानले मलाई फ्रिजको रुपमा जीवन बाँच्ने अवसर दिए,’ रोद्रिगेजले रेकर्ड टीभीसँगको कुराकानीमा भने ।  ‘छेउमा तैरिरहेको फ्रिज देखेपछि म त्यसमाथि उफ्रिए । म उफ्रिएपछि त्यो एकातर्फ ढल्कियो तर पनि तैरिरह्यो । मलाई म यसरी आफ्नो कथा भन्न बाँचुलाजस्तो लागेको थिएन । तर आज म यहाँ छु,’ उनले भने ।

रोद्रिगेजले ११ दिनसम्म पानी र खानाबिना फ्रिजमा गुजारेका थिए । त्यस अवधिमा विभिन्न अड्चन पनि आए । एक समय डुंगामा पानी पसेको र आफूले हातले फाल्नुपरेको रोद्रिगेजले भने । पछि सार्कको एक झुण्डले फ्रिजलाई चक्कर लगाएको तर तिनले आक्रमण नगरी फर्किएका उनले भने ।  ‘११ दिनसम्म मैले बालबच्चा, श्रीमती, आमा, बुवा र सबै परिवारलाई सम्झिरहे ।

यसले मलाई आशा र बल दियो ,’ उनले ती दिनहरू सम्झिँदै भने । उनका अनुसार ११ दिनमा झण्डै पाँच किलो दुब्लाएको र निरन्तरको घाम र हावाले उनको आँखा बिग्रिएको बताए । पानीको अभावले पनि उनको शरीरमा असर गरेको थियो । अन्तिममा अर्को डुङ्गा उनको फ्रिज छेउ आयो । उनले सकि नसकि हात उठाएर तिनको ध्यान ताने ।  त्यहाँबाट उद्दार गरेर उनलाई प्राथमिक उपचार गरियो । तर सुरिनाम प्रहरीले उनलाई आवश्यक कागजात बिना मुलुक छिरेको आरोपमा दुई साता नियन्त्रणमा राखेका थिए । –इण्डिपेन्डेन्टबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप