शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सकहरु धमाधम विदेशतिर

एक वर्षमा १३ सयभन्दा बढीले लिए ‘गुड स्ट्याण्डिङ सर्टिफिकेट’
बिहीबार, २३ भदौ २०७९, १२ : ०८
बिहीबार, २३ भदौ २०७९

नेपाल मेडिकल काउन्सिलबाट ‘गुड स्ट्याण्डिङ सर्टिफिकेट’ लिएर विदेश जाने चिकित्सकको संख्या बढ्दै गएको छ । सन् २०२० को तुलनामा २०२१ मा यस्तो सर्टिफिकेट लिनेको संख्या ४१५ बढी रहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

गुड स्ट्याण्डिङ सर्टिफिकेट लिनेको संख्या बढ्नु भनेको विदेश जाने डाक्टरहरुको संख्या बढ्नु भएको नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले बताए ।

यो सर्टिफिकेट डाक्टरहरुलाई विदेशमा स्नातकोत्तर तहको पढाइ गर्न जाँदा बिरामी जाँच गर्न पाउने रेजिडेन्सी तालिम, फेलोसिप र जागिर खानका लागि आवश्यक पर्ने रजिष्टार डा. अधिकारी बताउँछन् । यद्यपि चीन रुसजस्ता देशमा स्नातकोत्तर तहमा अध्ययन गर्न जानेहरुका लागि गुड स्ट्याण्डिङ सर्टिफिकेट आवश्यक नपर्ने उनले बताए ।

गुड स्ट्याण्डिङ सर्टिफिकेटको आधारमा मात्रै विदेशमा उच्च शिक्षा हासिल गर्न तथा जागिर खान पाउने रजिष्ट्रार अधिकारीले सुनाए । 

एमबीबीएस, बीडीएस, एमडी, एमस, एमडीएस गरेका डाक्टरले सन् २०२१ मा १३ देशमा जानका लागि गुड स्ट्याण्डिङ सर्टिफिकेट लिएका थिए ।

सन् २०२१ मा एक हजार ५०२ जना चिकित्सकले यस्तो सर्टिफिकेट लिएका थिए । जसमध्ये सबैभन्दा धेरै ४०३ जनाले माल्दिभ्समा अध्ययन तथा रोजगारका लागि भनेर सो सर्टिफिकेट लिएको काउन्सिलले जनाएको छ ।

यस्तै, बेलायतमा अध्ययन तथा रोजगारीका लागि ३१९, अमेरिकामा २७३, भारतमा १५९, अस्ट्रेलियामा ६६, यूएईमा ५३, क्यानडामा १७, कतारमा ६, जर्मनीमा २३, सिङ्गापुरमा १, आयरल्याण्डमा ५, साउदीमा १, ब्रुनाइमा जान १ जनाले सर्टिफिकेट लिएका थिए ।

२०२० मा  स्वदेशसहित १५ राष्ट्रका लागि १ हजार ८७ जनाले यो सर्टिफिकेट लिएको काउन्सिलले जनाएको छ ।

सन् २०२० मा बेलायत जानका लागि १ सय ६२ ले यो सर्टिफिकेट लिएका थिए भने माल्दिभ्सका लागि २१६ जनाले, अमेरिकाका लागि २७६ जनाले यस्तो सर्टिफिकेट लिएका थिए ।

यसैगरी भारतमा अध्ययन तथा रोजगारीका लागि सन् २०२० मा ६२ जनाले यस्तो सर्टिफिकेट लिँदा अस्टे«लिया जानका लागि ६२, युएईका लागि ३५, क्यानडाका लागि १०, कतारका लागि ७, सिङ्गापुरका लागि ३, ब्रुनाइका लागि ४, डेनमार्कका लागि २, हङकङका लागि ५ र बेल्जियमका लागि १ जनाले काउन्सिलबाट सर्टिफिकेट लिएका हुन्  ।

स्वदेशमा अध्ययन र जागिरका लागि सर्टिफिकेट लिनेको संख्या भने घटेको छ । सन् २०२० मा २१८ जनाले नेपालमै अध्ययन तथा रोजगारीका लागि यो सर्टिफिकेट लिँदा २०२१मा यो संख्या  घटेर १७५ मा सीमित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप