शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुर–२ मा पाँचौं पटक जित्ने विरोधको दाउलाई महेशले रोक्लान् ?

बिहीबार, २३ भदौ २०७९, २१ : ३०
बिहीबार, २३ भदौ २०७९

आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ को चुनावी प्रतिस्पर्धा अत्यन्त रोमाञ्चक हुने सम्भावना देखिएको छ । यो क्षेत्रमा विगतका निर्वाचनमा एमालेले आफ्नो प्रभाव जमाउँदै आएको छ । यस पटक भने पूर्व एमाले र एमालेका उम्मेदवारबीच चुनावी भिडन्त हुने सम्भावना बढेको छ ।

मकवानपुर–२ बाट सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई उम्मेदवार बन्ने लगभग पक्का छ । खतिवडा पार्टी विभाजनपछि एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका हुन् ।एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका खतिवडा सो क्षेत्रका बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् ।

२०४८ पछिका ४ वटा निर्वाचनमा जितेर सांसद भइसकेका खतिवडा आगामी निर्वाचनमा पाँचौं पटक चुनावी मैदानमा उत्रिँदै छन् । सोही क्षेत्रबाट लगातार जित्दै आएका उनी पाँचौँ जितको खोजीमा छन् । विगतमा एमालेबाट चुनाव लडेर जित्दै आएका उनलाई यस पटक भने एमालेलाई नै पराजित गर्नुपर्ने चुनौती छ ।

सो क्षेत्रमा एमालेले नयाँ अनुहारलाई अघि सार्ने पक्काजस्तै भइसकेको छ । सो क्षेत्रमा खतिवडाको जितलाई रोक्न एमालेले महेश बर्तौलालाई अघि साने सम्भावना अधिक छ । एमालेका बागमती प्रदेश कमिटी उपसचिव एवम् प्रचार विभाग प्रमुखसमेत रहेका युवा नेता बर्तौलालाई एमालेले खतिवडाविरुद्ध चुनावी मैदानमा भिडाउने कार्यकर्ताहरुको भनाइ छ ।

एकीकृत समाजवादीबाट सो क्षेत्रमा खतिवडाको एकल नाम सिफारिस गरिएको छ भने एमालेबाट बर्तौलासहित ३ जनाको नाम सिफारिस गरिएको छ । सो क्षेत्रबाट चुनाव लड्न एमालेबाट बर्तौलाका अतिरिक्त संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी र बुद्धरत्न मानन्धर सिफारिस भएका छन् । सिफारिसमा परेका ३ जनामध्ये एमालेले बर्तौलालाई टिकट दिने सम्भावना बढी छ ।

पाँचौं पटक जित्ने विरोधको दाउलाई महेशले रोक्लान् ?

पाँचौं पटक जितको खोजीमा रहेका खतिवडा २०७४ को निर्वाचनमा एमालेबाट वाम गठबन्धनका साझा उम्मेदवार थिए । गत २०७८ मा एमाले विभाजनपछि उनी एकीकृत समाजवादीमा आवद्ध छन् ।

२०७४ को निर्वाचन र त्यसअघिका निर्वाचनमा एमालेबाट खतिवडालाई चुनाव जिताउन लागि परेका एमालेका बर्तौला आगामी निर्वाचनमा उनकै प्रतिस्पर्धी हुने भएका छन् । बर्तौलामाथि पाँचौं जितको दाउमा रहेका खतिवडालाई रोक्नु पर्ने चुनौती छ ।

राजनीतिक सम्बन्धका आधारमा भन्ने हो भने खतिवडा र बर्तौला गुरुचेला हुन् । पहिलो पटक चुनावी परीक्षणमा लागेका बर्तौला अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष हुँदै पार्टीको मुल राजनीतिमा आएका हुन् ।

जनताले परिवर्तन चाहेको र त्यसको सम्वाहक एमाले भएकाले आफूले सो क्षेत्रमा सहजै चुनाव जित्ने उनको दाबी छ । एमालेको संगठन र युवाहरुको आडभरोसाबाट गठबन्धनका उम्मेदवारलाई हराउन कुनै समस्या नरहेको उनले बताए ।

खतिवडाले सो क्षेत्रबाट २०४८, ०५१, २०५६ र २०७४ मा गरी चारपटक प्रत्यक्ष निर्वाचन जितिसकेका छन् । उनले २०६४ र २०७० मा भएको संविधानसभा सदस्य पदको निर्वाचनमा भने भाग लिने अवसर पाएनन् ।

खतिवडालाई आगामी निर्वाचन आफूलाई साबित गर्नुपर्ने बाध्यता पनि छ । उनले जितेका सबै निर्वाचनहरु एमालेबाटै सहभागी भएका थिए । उनी आगामी निर्वाचनमा एमालेबाटै विभाजित भएको पार्टीबाट आफ्नो परीक्षण गर्दैछन् ।

यता गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले पनि सो क्षेत्रमा दाबी गरिरहेको छ । प्रतिनिधिसभातर्फ मकवानपुर–२ मा आफ्नो दाबी नछोड्ने माओवादी केन्द्रको अडान छ ।

माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य कुमारी मोक्तान र केन्द्रीय सदस्य एवम् पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले सो क्षेत्रमा उम्मेदवारीका लागि दाबी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप