बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

३१ हजार वर्ष अघि शल्यक्रिया गरेर काटिएको थियो मानिसको खुट्टा

बिहीबार, २३ भदौ २०७९, १६ : ५१
बिहीबार, २३ भदौ २०७९

जब कसैको हात वा खुट्टाले काम गर्न छोड्छ, त्यो क्रमशः कुहिन थाल्छ । वा दुर्घटना वा रोगले बेकार हुन्छ भने डाक्टरले के भन्छन् ? त्यसलाई काटेर शरीरबाट अलग पारिन्छ । तर यो काम सबैभन्दा पहिला कहिले भएको थियो । तपाईंलाई सुन्दा अचम्म लाग्छ होला कि ३१ हजार वर्ष अघि एक बालकको खुट्टा काटेर छुट्याइएको थियो । यसलाई त्यतिबेलाका सर्जनले बोर्नियोमा गरेका थिए । यो घटना पाषाण युगको हो ।

३१ हजार वर्ष अघि एक प्राचिन सर्जनले बार्नियोमा एक बालकको खुट्टाको तल्लो हिस्सा काटिदिएका थिए । यी बालक शिकारी थिए । यो कुराको प्रमाण पुरातत्वविद्ले हालै खोजी गरेका छन् । त्यो समयको हिसाबले यो शल्यक्रिया निकै विशेष थियो । यो शल्यक्रियापछि ती बालक ६ देखि ९ वर्षसम्म जीवित रहेका थिए । जब रेडियोकार्बन डेटिङ गरियो तब यो कुराबारे पत्ता लागेको हो । यसको रिपोर्ट जर्नल नेचरमा प्रकाशित भएको हो ।

युनिभर्सिटी अफ सिड्नीमा पोस्टडक्टोरल रिसर्च असोर्सिट तथा बायोआर्कियोलोजिस्ट मेलान्द्री वोकले यो एउटा निकै ठूलो सरप्राइज भएको बताएका छन् । अचम्मको कुरा के हो भने जुन बालकको खुट्टा काटियो ती बालक शल्यक्रियापछि ६ देखि ९ वर्षसम्म बाँच्न सफल भएका थिए । उनको घाउ निको भइसकेको थियो । उनको छाला सुकिसकेको थियो । त्यसपछि पनि ती शिकारी बालक पहाडी इलाकामा थुप्रै वर्षसम्म लठ्ठीको सहारामा हिँड्थे । यो शल्यक्रियाले के बताउँछ भने त्यो समयमा मानिसहरु आफ्नो समुदायको कति ध्यान राख्दथे ।

अन्तर्राष्ट्रिय पुरातत्वविद्को एउटा समुहले यो बालकको कंकाल इन्डोनेशियाको बोर्नियाको लियांग तेबो नामको गुफामा भेटेका थिए । यो अनुसन्धान सन् २०२० मा गरिएको थियो । यो गुफा असाध्यै कठिन स्थानमा रहेको थियो । यहाँ डुङ्गामार्फत् एक पटक मात्रै जान सकिन्थ्यो, त्यो पनि विशेष मौसममा । कंकालको एउटा खुट्टाको तल्लो हिस्सा निकै सावधानीका साथ काटिएको थियो । हड्डीको विकासले घाउ निको भएपछि कतिसम्म सुधार आएको बताउँथ्यो । वैज्ञानिकले भनेका छन्, ‘यस्तो लाग्थ्यो कि कुनै खतरनाक जनावरले हमला गरेपछि वा कुनै ठूलै दुर्घटनाका कारण ती बालकको  खुट्टा काट्नुपरेको जस्तो देखिन्छ ।’

यसअघि हात वा खुट्टा काटेको जुन प्रमाण भेटिएको थियो त्यो सात हजार वर्ष अघिको थियो । त्यतिबेला एक वृद्धको बायाँ हातको शल्यक्रिया गरेर काटिएको थियो । यो अनुसन्धान पनि सन् २००७ मा नेचर प्रिसिडिङ्स जर्नलमा प्रकाशित भएको थियो । यसअघि अहिलेका मानिसलाई के लाग्थ्यो भने प्राचिन समयमा हात खुट्टा काट्ने शल्यक्रियाको जानकारी मानिसहरुलाई थिएन । तर अब यस्तो लाग्छ कि त्यतिबेला पनि मानिसलाई यस्ता चिजको जानकारी थियो ।

अष्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीका जियोकेमिस्ट र आर्कियोलोजिस्ट म्याक्सम आबर्टले भने, ‘यति मात्रै होइन । यो खोजले के पनि पत्ता लाग्यो भने पाषाण युगका मानिसहरुलाई हात–खुट्टाको स्नायु प्रणाली, नसा र रगतको बहाव आदिको पनि जानकारी थियो होला, कसरी अत्यधिक रक्तश्रावलाई रोक्ने वा शरीरमा फैलिँदै गरेको संक्रमणलाई रोक्ने भन्ने पनि थाहा थियो । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप