मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘५ दलसँग कुरा मिलेन, एमालेसँग चुनावी गठबन्धन हुन्छ’

शुक्रबार, २४ भदौ २०७९, १५ : २०
शुक्रबार, २४ भदौ २०७९

पाँच दलीय सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेत समेट्ने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रयास असफल भएको छ । सरकारले नागरिकता विधेयक संसदबाट पास गर्ने र लोसपालाई समेत गठबन्धनमा ल्याउने प्रधानमन्त्री देउवाको प्रयास रहँदै आएको थियो ।

सोही अनुसार नागरिकता विधेयक संसदबाट पास समेत भैसकेको छ । तर पछिल्लो समय ५ दलीय गठबन्धनमै सिट बाँडफाँटमा कुरा नमिलेपछि लोसपाले एमालेसँग चुनावी गठबन्धन गर्ने तयारी गरेको छ । लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले पाँच दलीय गठबन्धन ६ दल बनाउने प्रयास सफल नभएको बताए । उनले अब लोसपाले एमालेसँग चुनावी गठबन्धन गर्नेगरी अनौपचारिक संवाद थालेको समेत दावी गरे ।

लोसपा र ५ दलबीच चुनावी तालमेलको सम्भावना सकिएको हो ?

पाँच दलसँग चुनावी गठबन्धन गर्ने कुरा विगतमा भएको हो । प्रयास पनि गरको हो । लोसपासँग चुनावी गठबन्धन गर्ने भनेर उतैबाट प्रस्ताव पनि आएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले नै गरौ भन्नुभएको हो । हामी सकारात्मक पनि थियौ तर गर्न सकिएन ।

के ले रोकेको होला ?

५ दलीय गठबन्धन ६ दलीयमा परिणत गर्ने प्रयास हुँदाहुँदै पनि सम्भव भएन । पाँच दलीय गठबन्धनमा उनीहरुलाई पनि अप्ठेरो भएर हुनसक्छ । देख्दा पनि पनि अप्ठेरो नै देखिन्छ । राजनीतिक भागबण्डामा अप्ठेरो भएर हुनसक्छ । यसलाई हामीले स्वभाविक रुपमै लिएका छौ ।

लोसपालाई गठबन्धनमा ल्याउन प्रधानमन्त्री देउवाले निकै जोड गर्नुभएको थियो, कसरी कुरा विग्रयो त ?

पाँचवटा पार्टी भएकाले हो । पाँच वटाको चित्त बुझ्नुपर्यो नि ! एउटाको चित्त बुझेर मात्रै हुने कुरा पनि होइन ।

पाँच दलसँगको चुनावीयात्रा टुंगिएपछि एक्लै चुनावमा जाने हो या अर्को गठबन्धनको खोजीमा लाग्ने ?

देश नै गठबन्धनमा गैसकेपछि हामी पनि कसै न कसैसँग लोसपा पनि गठबन्धनमा जानै पर्ने बाध्यतामा छ । हामी एक्लै चुनावमा जान्छौ भन्न अलि अप्ठेरो नै छ ।

एमालेसँग चुनावी गठबन्धन गर्ने तयारी हो ?

एमालेबाट गठबन्धन गर्नुपर्छ भन्ने प्रस्ताव एमालेबाट पनि आएको हो, पाँच दलबाट पनि आएकै हो । अहिले पनि एमालेसँग अनौपचारिक रुपले गठबन्धन गर्नुपर्छ भनेर कुराहरु अगाडि बढेको छ । तर अहिलेसम्म त्यसले औपचारिकता पाइसकेको छैन ।

एमालेसँग गठबन्धन गर्दा मधेसका ३२ सिटमध्ये कति सिटमा दावी गर्ने तयारी छ ?

पहिला औपचारिक संवाद सुरु गर्नुपर्छ । अहिले औपचारिक संवादको चरणमै पुगेका छैनौ भने यति सिट उति सिट भन्ने कुरा आउदैन । अब गठबन्धन गर्ने कुरामा औपचारिक कुरा अघि बढ्छ त्यसवेला पाँच दलीय गठबन्धनसँग जस्तो एमालेसँग अप्ठेरो हुँदैन ।

एमालेसँग औपचारिक कुरा अघि बढ्दाको स्ट्याण्ड के हुन्छ त लोसपाको ?

एमालेसँग धेरै सजिलोगरी गठबन्धन हुनसक्छ, पाँच दलजस्तो मारपिट हुदैन । एमालेसँगको सिट बाँडफाँटमा धेरै सजिलो छ । किनभने एमालेको दावी भएका स्थानमा लोसपाले दावी गर्दैन, लोसपाको दावी भएको ठाउँमा एमालेले दावी गर्दैन, यति भएपछि गठबन्धन गर्न कुनै असहजता नै उत्पन्न हुदैन, कुरा मिलिहाल्छ ।  

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप