साहित्य वार्ता

‘गुञ्जन महिलाको मञ्च भए पनि पुरुष लेखकहरू सँगसँगै अघि बढ्दैछ’

person explore access_timeभदौ २५, २०७९ chat_bubble_outline0

नेपाली साहित्यको आख्यान विधामा पद्मावती सिंहको विशेष योगदान छ । कन्या माध्यमिक विद्यालयमा अध्ययन गर्दा नै साहित्यमा अभिरुचि राख्ने उनले त्रिचन्द्र कलेजमा विज्ञान विषयमा अध्ययनका क्रममा थप साहित्यिक परिवेश पाइन् । पारिजात, प्रेमा शाह, गोविन्दबहादुर मल्ल, सिद्धिचरण श्रेष्ठ, शङ्कर लामिछाने लगायतका कथाहरू अध्ययन गरिन् । त्यसले उनलाई आख्यान लेखनमा विशेष रुचि जगायो । २०२२ सालमा आरती साप्ताहिकमा उनको ‘पत्थरको हृदय’ पहिलो कथा प्रकाशित भयो । यसपछि उनी निरन्तर साहित्य साधनामा छिन् । 


उनका कथामा ‘कथादि’ ‘कथायाम’, ‘कथाकार’, ‘पद्मावतीका कथाहरू’, मौन स्वीकृति, ‘समय–दंश’, ‘एक झुल्को घाम,’ ‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’, उपन्यासमा ‘मौन अक्षर’, ‘समानान्तर आकाश’, ‘निःशब्द यात्रा’  प्रकाशित छन् । त्यस्तै, अनूदित नेपाली कविताहरू ‘डटर अफ द अर्थ’, ‘गुञ्जन : नारी साहित्यकारहरूको विधागत इतिहास’ आदि जस्ता गहन कृति पनि आएका छन् । 



‘समानान्तर आकाश’ सिंहको पहिलो प्रकाशित उपन्यास हो । यो उपन्यासलाई नारीवादी भनेर पनि समालोचकहरूले चर्चा गर्छन् । नारी–पुरुष एउटा रथका दुई पाङ्ग्रा हुनुपर्छ, अनि मात्र परिवार र समाजले सहज रूपमा गति लिन्छ भन्ने सिंहको यो उपन्यासले साझा पुरस्कारसमेत प्राप्त गर्यो ।



सिंहले साहित्यमार्फत् नै परिवर्तन ल्याउन सकिन्छ भनेर नारीहरूलाई साहित्य सिर्जनाका प्रेरित गर्न र त्यसलाई अभिव्यक्त गर्न एउटा साहित्यिक मञ्च स्थापना गर्ने मनसुवा बनाइन् । अनि २०५४ सालमा १२ जना नारी साहित्यकारहरू मिलेर ‘गुञ्जन’ नामक् साहित्यिक संस्था स्थापना गरे । यो संस्थामार्फत नेपाली नारी सर्जकहरूलाई डोर्‍याउने उनी अगुवा बनिन् । प्रस्तुत छ, गुञ्जन साहित्यिक संस्थाकी संस्थापक अध्यक्ष पद्मावती सिंहसँग रातोपाटीका लागि शिखरमोहनले गरेको कुराकानीः

–गुञ्जन स्थापनाको अवधारणा कसरी आयो ? यतातर्फ तपाईंहरूलाई केले प्रेरित गर्‍यो ?

यो साहित्यिक संस्था २०५४ मा स्थापना गरेका हौँ । त्यतिबेला महिला साहित्यकारहरूमा आपसमा चिनजान त हुन्थ्यो तर विशेष उद्देश्य बनाएर नियमित भेटघाट हुँदैन थियो । विभिन्न कार्यक्रममा हेलो, हाई मात्र हुन्थ्यो । 

त्यसपछि मैले हाम्रा अग्रज वरिष्ठ साहित्यकारहरू ईश्वर बल्लभ, मञ्जुल, कृष्णचन्द्र सिंह प्रधान, केदारमान व्यथित आदिलाई भेटेर युवा महिला साहित्यकारहरूको एउटा मञ्च बनाउने विचार गरेका छौँ भनेँ । उहाँहरूले ‘धेरै राम्रो काम हो, तिमीले त्यसलाई सञ्चालन गर्न सक्छौ, यसमा हामी पनि सहयोग गर्छौं,’ भन्नुभयो । मलाई हौस्याउनु भयो । 

यसपछि धेरै महिला साहित्यकारहरूसँग भेटघाट गर्न थालेँ । धेरै जनासँग फोनबाट र प्रत्यक्ष भेटेर पनि मञ्च बनाऔँ, महिलाका लागि एउटा मञ्च खोलौँ भनेँ । त्यतिबेला नाम चलेका महिलाहरूलाई अनुरोध गरेँ । सबैले समर्थन जनाए । 

अनि विभिन्न विधाका १२ जना महिला सर्जकहरूलाई मेरै घरमा बोलाएँ । सबैको सहमतिले संस्था खोल्यौँ । संस्थाको नाम गुञ्जन नामकरण गरियो । उषा शेरचन, गीता केशरी, सुलोचना मानन्धर, सुष्मिता नेपाल, भुवन ढुङ्गाना, मृदुला शर्मा, पद्मावती सिंह, ज्ञानु पाण्डे, हिरण्यकुमारी पाठक, चन्द्रकला नेवार, प्रतिसरा सायमी, भागीरथी श्रेष्ठ गरी १२ जना नारी सर्जक संस्थापक थियौँ । 

गुञ्जन निर्माण गर्ने भन्ने सोच मेरै हो । यसका लागि मैले एक वर्षसम्म गृहकार्य गरेँ । विभिन्न व्यक्तित्वहरूको विचार र सल्लाह लिएँ, विधान बनाएँ । यसमा सम्पूर्ण महिला सर्जकहरूको उत्तिकै सहयोग र सद्भाव छ ।

–गुञ्जन स्थापनाको सुरुवातमा के कस्तो कार्यक्रम गर्नु भयो ? 

कोठेगोष्ठीबाट कार्यक्रम सुरु गर्यौँ । ध्रुवचन्द्र गौतमको अग्निदत्त+अग्निदत्त भन्ने उपन्यास भर्खर प्रकाशनमा आएको थियो । पहिलो गोष्ठीमा उहाँलाई अतिथि बनाई उहाँको पुस्तकको चर्चा परिचर्चा, प्रश्न उत्तर गरी कार्यक्रम गर्यौँ । त्यसपछि हरेक महिना एक जना साहित्यकारलाई बोलाउने, तिनका पुस्तकबारे चर्चा परिचर्चा गर्न थाल्यौँ । 

यसरी गोष्ठी गर्दा पनि सहभागीलाई चिया पानीको व्यवस्था त गर्नैपर्यो । त्यसका लागि हामी १२ जनाले नै महिनामा एक पटक आफ्नो घरमा गराउने र त्यसको खर्च व्यवस्थापन पनि आफैँ गर्ने नियम बनायौँ । 

गुञ्जनका कार्यक्रममा माधव घिमिरे, केदारमान व्यथित, ईश्वर बल्लभलगायत त्यतिबेलाका चर्चित लेखकहरुलाई बोलाएर कहिले पुस्तक, कहिले उहाँहरूका साहित्यिक विचार सुन्ने, आपसमा छलफल गर्ने गर्दै २, ३ वर्ष कार्यक्रम चलायौँ । 

त्यतिबेला ईश्वर बल्लभले कान्तिपुरको आफ्नो स्तम्भमा, सुलोचना मानन्धर लगायतले हाम्रो कार्यक्रमबारे पत्रपत्रिकामा लेख्नुभयो । अन्य पत्रपत्रिकाले पनि गुञ्जनका कार्यक्रमबारे लेख्न थाले । त्यसपछि ब तपाईंहरूले एकदमै राम्रोसँग कार्यक्रमहरू चलाइरहनुभएको छ, संस्था खोल्नुस्, संस्था दर्ता गर्नुस् भन्ने धेरैको सुझाव आयो अनि गुञ्जन दर्ता गर्यौँ ।

त्यसपछि धेरैभन्दा धेरै साहित्यकारहरूलाई समेट्ने भनेर वर्षमा एउटा ठूलो कार्यक्रम गर्ने योजना बनायाँै । सोही अनुरुप अन्तर्राष्ट्रिय स्तरको ठूलो कार्यक्रम पनि गर्यौँ । भारतबाट पनि महिला लेखकहरू आए । 

–यसले महिला सर्जकलाई मात्र प्रोत्साहित गर्ने हो ? 

हो, खास गरी महिलालाई नै प्रोत्साहित गर्न स्थापना भएको हो । यसले गुञ्जनमा आबद्ध महिलाका कृतिहरू प्रकाशन गर्ने, ती महिलाका सिर्जनाका बारेमा बहस गराउने गर्छ । गुञ्जनमा नरहेका महिला साहित्यकारलाई पनि त्यतिकै प्रोत्साहन गर्ने, कृति प्रकाशनदेखि विमोचन र समीक्षासम्मका कार्य यसले गर्दै आएको छ । 

यसको मुख्य उद्देश्य भनेको महिला लेखकहरूलाई साहित्य सिर्जनामा अगाडि बढाउने, गतिशील बनाउने, यही माध्यमले साहित्य सम्वद्र्धन र विकासमा सहयोग पुर्याउने हो । २५ वर्षको अवधिमा गुञ्जनमा विस्तारै धेरै महिला साहित्यकार सहभागी हुँदै गए । १२ जनाले खोलेको यो संस्थामा अहिले एक सय भन्दा बढी महिला साहित्यकार आबद्ध छन् । गुञ्जन अहिले अमेरिका, अस्ट्रेलियामा पनि फैलिइसकेको छ । 

यसमार्फत् महिला प्रतिभालाई पुरस्कार दिने व्यवस्था गरेका छौँ । मातृभाषी महिला लेखकलाई प्रोत्साहन गर्नका लागि पनि पुरस्कार स्थापना गरेका छौँ । यी पुरस्कार हरेक वर्ष दिँदै आएका छौँ । 

भर्खरै आख्यान त्रिवेणी पुरस्कार पनि स्थापना गर्नु भयो नि ?

हो, माया ठकुरी, भागीरथी श्रेष्ठ र म पद्मावती सिंह मिलेर भर्खरै आख्यान त्रिवेणी पुरस्कारको स्थापना गरेका छौँ । यो पुरस्कारका लागि बैङ्कमा अक्षयकोष जम्मा गरेका छौँ, त्यसको व्याजबाट अर्को वर्षबाट पुरस्कार प्रदान गर्नेर्छौं । यसमा हामीले महिला सर्जक भनेर छुट्याएका छैनौँ । आख्यान लेख्ने महिला पुरुष जोसुकैले यो पुरस्कार पाउन सक्छन् । 

किनभने यो महिला सर्जकहरूको मञ्च भए पनि पुरुषको पनि त्यतिकै सहभागिता छ । हाम्रा कार्यक्रममा पुरुषहरूलाई पनि प्रमुख अतिथि बनाएर बोलाउँछौं । महिलाको मञ्च भए पनि पुरुषसँग छुट्टिएर होइन, पुरुष लेखकहरू सँगसँगै अघि बढिरहेका छौँ । यो नितान्त महिलाहरू मात्र सहभागी हुने संस्था होइन । 

महिला मात्र भनेर हामी किन छुट्टिने भनेर २०७७ सालदेखि एक जना उत्कृष्ट पुरुष साहित्यकारलाई पनि सम्मान गर्न थालेका छौँ । गुञ्जनका लागि उहाँहरूको पनि त्यति नै सहयोग छ । परशु प्रधान लगायत २, ३ जनालाई हामीले सम्मान गरिसकेका छौँ । 

गुञ्जनले साहित्य सिर्जनामा लाग्ने महिलाहरूलाई लेखनसम्बन्धी तालिम पनि दिन्छ ? तालिम भनेर तोकेरै दिएको छैन । तर गोष्ठीहरूमा वरिष्ठ लेखिका, नव लेखिकाहरूले  सहभागिता जनाउनुहुन्छ । भर्खर लेख्न सुरु गर्ने लेखकलाई पनि हामीले कार्यक्रममा बोलाउँछौँ । कथा, निबन्ध, कविता आदि लेखनसम्बन्धि छलफल पनि गर्छौं । त्यस्ता कार्यक्रममा वरिष्ठ लेखकहरूलाई बोलाउँछौँ । उहाँहरूसँग सरसल्लाह, समीक्षा र अन्तरक्रिया गराउँछौँ । यसले साहित्य सिर्जनामा नवप्रवेशीहरूलाई तालिमकै काम गरेको हुन्छ । हामी पुरानाले पनि यसबाट धेरै कुरा सिक्छौँ । 

हरेक दुई वर्षमा गुञ्जनको अधिवेशन हुन्छ । सो अधिवेशनले यसका पदाधिकारीहरू निर्वाचित गर्छ । म संस्थापक अध्यक्ष तथा उषा शेरचन महासचिव भएर १२ वर्षमा यसको संस्थागत विकास गराएर एउटा राम्रो ठाउँमा पुर्याएर अरूलाई नेतृत्वका लागि अघि बढायौँ । यही अवधिमा यसले आफ्नो पहिचान बनायो । 

गीता केशरी दोस्रो अध्यक्ष हुनुभयो । उहाँले पनि ४ वर्ष अध्यक्ष सम्हाल्नुभयो । त्यसपछि हृदयकुमारी अनि अहिले जलेश्वरी श्रेष्ठ हुनुहुन्छ । यसरी यो संस्थालाई प्रजातान्त्रिक रूपले दुई दुई वर्षमा चुनाव गरेर अध्यक्ष र कार्यसमिति चुन्ने गरेका छौँ । 

–बजारमा आएका पुस्तकबारे पनि समीक्षा गर्छौं भन्नुभयो, अहिले बजारमा आउने साहित्यिक कृति चाहिँ कतिका गहन छन् ?      

चर्चामा आएका नयाँ पुस्तकका बारेमा पनि गुञ्जनका कार्यक्रमा छलफल हुन्छ । केही समयअघि हामीले प्रभा बरालको ‘फिलुङ्गो’बारे चर्चा गरेका थियौँ । 

सङ्ख्यागत रूपमा हेर्ने हो भने अहिले बजारमा धेरै नयाँ पुस्तक आउँछ । महिलाले पनि धेरै लेखिरहेका छन् । तर उत्कृष्ट र गहनताका हिसाबले हेर्ने हो भने चाहिँ थोरै छ भन्नैपर्छ ।  महिलाहरूको लेखनमा पनि धेरै राम्रो सुधार हुँदै गएको छ । सक्रिय महिला लेखक धेरै भएका छन् । पहिले पहिले ‘आइमाईले के लेख्छन् र ? त्यही घरको कुरा, त्यही चौकाको र आफ्नो गन्थन त लेख्छन् नि’ भनेर होच्याउने गर्थे । त्यो होइन, अहिले राम्रा राम्रा कथा, उपन्यास, निबन्ध र कविताका पुस्तक महिलाले पनि लेखेका छन् । गहन अध्ययन, चिन्तन, मनन गर्नेहरूले राम्रै लेखिरहेका छन् । 

 –अहिलेका साहित्य र साहित्यकारहरू प्रचारमुखी मात्र भएजस्तो लाग्दैन तपाईंलाई ?

अहिलेको जमाना नै प्रचारको हो । प्रचारबिना केही पनि हुँदैन । कुनै साहित्यकारले राम्रो लेखेको छ तर उसले प्रचार गर्न सकेन, बजारसम्म आउन सकेन, चर्चा परिचर्चा गर्न सकेन भने ओझेलमा पर्छ । उसका कृति मान्छेले पढ्दा पनि पढ्दैनन्, पुस्तक प्रकाशन भएको थाहा पनि हुँदैन । सञ्चारमाध्यममा आएन भने कसैले अध्ययन पनि गर्दैनन् । उत्कृष्ट भएर पुरस्कार पनि पाउन सक्दैन । 

जब सञ्चारमाध्यममा आउँछ, चर्चा परिचर्चा हुन्छ, अनि पाठकलाई कौतुहल हुन्छ र पढ्छन् । अनि पुरस्कार पनि पाउँछ । तसर्थ अहिले प्रचारमुखी नै हुनुपर्ने बाध्यता छ । युगले ल्याएको कुरा हो यो ।

–अहिले नेपाली साहित्यमा पठन संस्कृति कस्तो पाउनुभएको छ ? पाठकले किनेर कतिको पढ्छन् जस्तो लाग्छ ?

मैले लेख्न थालेको ५५÷५६ वर्ष भएछ । २००५ वैशाख १९ गते काठमाडौँको ओम बहालमा मेरो जन्म भएको हो । हाम्रो पालामा पुस्तक पढ्ने चलनै थिएन । मैले कुनै पुस्तक लेखेँ भने सबैलाई सित्तैमा बाँड्नुपथ्र्यो । आजभन्दा करिब दुइ दशकअघि बिक्रेतालाई दिए पनि पुस्तक बिक्री हुँदैनथ्यो । 

तर अहिले पठन संस्कृतिको विकास भएको छ । हामीले कुनै किताब हजारप्रति छाप्यौँ भने वर्ष दिन नपुगी सकिन्छ । पहिले पहिले प्रकाशकले बिक्री भएन भनेर किताब फिर्ता गर्थे, अब त्यो स्थिति छैन । त्यसमा पनि उपन्यास र कथाका पुस्तक बढी बिक्री हुन्छन् । त्यस आधारमा हेर्ने हो भने अहिले पठन संस्कृतिको विकास भएको छ, मान्छेले पुस्तक किनेर पढ्छन् ।   

–आम साहित्य सर्जक र पाठकलाई गुञ्जनका तर्फबाट के भन्न चाहनुहुन्छ ? 

सिर्जना भनेको एउटा ईश्वरीय वरदान हो । किनभने यो समाजमा भएका कुरा सबैले भोगिरहेका, देखिरहेका हुन्छन् । धेरैले त्यो अनुभव गर्छन् तर सबैले लेख्दैनन् । अनुभव सबैको एउटै भए पनि सर्जकलाई त्यसले पूरै छुन्छ र त्यसलाई प्रस्तुत गर्न सक्छन् । 

पहिले पहिले लेखन एउटा सोख थियो । म पनि एउटा कविता, गीत या निबन्ध लेखौँ न भनेर लेख्थेँ । हामीले पनि त्यस्तै सोखका लागि सुरु सुरुमा लेख्यौँ । 

लेख्दै गएपछि झन कठिन हुँदै जान्छ । किनभने त्यसका लागि अध्ययन पनि जरुरी हुन थाल्छ । सुरुमा जस्तो काल्पनिक कुरा, आफ्नो अनुभव मात्र लेखेर पाठक अकर्षित हुँदैनन् । 

अबका लेखकहरूले धेरै नै मिहिनेत गर्नुपर्छ । कुनै सिर्जनाका लागि पहिले गहिरोसँग अध्ययन, चिन्तन गर्नु पर्यो । कलात्मक रूपले लेख्नुपर्छ, अनि मात्र पाठकले रुचाउँछन् । 

आज लेखेर भोलि नै स्थापित हुन सकिँदैन । त्यसैले युगअनुसारको सत्यता लेखनमा आउनुपर्छ । अलिकति गम्भीर भएर निरन्तर लेखिरहे विस्तारै स्थापित भइन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।