मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

निशानामा नाबालिग : १३ महिनामा १७ सय २५ जना बलात्कृत

शनिबार, २५ भदौ २०७९, १२ : १८
शनिबार, २५ भदौ २०७९

नाबालिग बलात्कार गरेको आरोपमा अभिनेता पल शाह पुर्पक्षका लागि थुनामा छन् । तनहुँ र पूर्वी नवलपरासीमा १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा २०७८ फागुन १५ मा शाह पक्राउ परेका थिए । उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ भने नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुरुपयोग गरेको कसुरमा दोषी ठहर गरेको छ । नवलपुर जिल्ला अदालतले उनलाई २ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध १७ वर्षीय नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । भदौ ५ मा दिनभर नगरकोट घुमाएर राति एयरपोर्टस्थित शम्भु मार्गमा रहेको होटल ‘काठमाडौँ इन’मा लगेर सन्दीपले पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ । सन्दीपमाथि लागेको आरोपबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

​दुईजना सेलिब्रेटी जोडिएका दुई घटना प्रतिनिधि हुन् । पछिल्लो समय नाबालिगमाथि हुने बलात्कार र यौन दुर्व्यवहारका घटना बढ्न थालेका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८–०७९ मा १ हजार ५६० जना नाबालिग बलात्कारको शिकार भएका छन् । सो अवधिमा ११ देखि १६ वर्षका ९ सय ६३ जना नाबालिग बलात्कृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

२०७८ साउनपछि २०७९ असार सम्म १० वर्षमुनिका २ सय ६८ जना बालिका बलात्कृत भए । १७ र १८ वर्ष उमेर समूहका ३२९ जना बलात्कृत भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कबाट देखिन्छ । 

२०७९ साउन महिनामा १० वर्षमुनिका ३३ जना बालिका बलात्कृत भएका छन् । ११ देखी १६ वर्षका १०३ जना र १७ देखी १८ वर्ष  उमेर समूहका २९ जना बलात्कारको शिकार भएका छन् । सो अवधिमा काठमाडौँ उपत्यकामा मात्र १४ जना नाबालिग बलात्कृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षको साउन महिनाभरमा १ हजार ७२५ जना नाबालिग बलात्कृत भए । 

ओरेक नेपालले २०२२ मे महिनामा गरेको अध्ययन अनुसार कूल बलात्कृत मध्येमा ४० प्रतिशत नाबालिगहरू बलात्कृत हुने गरेका छन् । हाम्रो कानुनले १८ वर्ष पुगेपछि मात्र बालिग मान्ने गरेको छ । 

यौनबारे सचेतना र यौन शिक्षा नदिँदा नाबालिग बलात्कृत हुने घटना बढ्दै गएको बताउँछिन् प्रा.डा. गंगा पाठक । मनोविद् डा.पाठक भन्छिन्, ‘यौन शिक्षाको कमी छ, किनभने घरमा सेक्ससम्बन्धी शब्द उच्चारण गर्न बन्देज छ । स्कुलमा शिक्षकहरूले यसबारे कुरा गर्दैनन्, वातावरण छैन ।’ 

विद्यालयको पाठ्यक्रममा यौन शिक्षा राख्नुपर्ने डा. पाठकको तर्क छ । उनी भन्छिन्–‘बाल बालिकालाई म के गर्दै छु, कोसँग कति दुरी राख्ने ? कसले कतिसम्म टच गरे राम्रो/नराम्रो वा उनीहरुको इन्टेन्सन के हो भन्ने कसरी बुझ्ने भन्नेबारे शिक्षा दिनुपर्छ ।’ 

विद्यालय र क्याम्पसमा यौन शिक्षा दिएर सचेतना अभियान चलाएमा नाबालिगमाथिको बलात्कार शृङ्खला रोक्न सकिने जानकारहरू बताउँछन् । यौन शिक्षा र नैतिक शिक्षाको विषय हाम्रो पाठ्यक्रममा कम छ । पाठ्यक्रममा भएको यौन शिक्षा र नैतिक शिक्षा पढाउन सक्ने क्षमता भएका र तालिम प्राप्त शिक्षकहरूको अभाव देखिएको बताउँछिन् अधिवक्ता राधिका खतिवडा । रातोपाटीसँग कुरा गर्दै खतिवडाले भनिन्–‘के गर्ने, के नगर्ने, कहाँ जाने, कहाँ नजाने भन्ने न्यूनतम कुराको निर्णय गर्न पनि बालबालिकाहरू सक्षम छैनन्, त्यसले गर्दा यस्तो घटना बढेको छ ।’ 

बालिगलाई कानुनी अज्ञानता क्षम्य हुँदैन । तर, नाबालिगका लागि पनि पाठ्यक्रममा कानुनी शिक्षा लागु गर्नुपर्ने अधिवक्ता खतिवडाको तर्क छ । ‘नैतिक शिक्षालाई पाठ्यक्रममा नाबालिगहरूको चेतना स्तर विकास हुँदादेखि नै पढाउनुपर्ने हो’ उनी भन्छिन्–‘तर, त्यसबारेको पाठ्यक्रम नै छैन ।’ 

बालबालिकाहरूलाई अभिभावकले गर्ने निगरानीमा पनि कमी भइरहेको छ । घरमा बस्दा कोठा थुनेर बस्ने छोराछोरीले कोसँग कुरा गर्छन् भन्नेबारे अभिभावकले वास्ता गर्दैनन् । उनीहरू कस्ता साथीभाइसँग संगत बनाएर कहाँ जान्छन् भन्नेबारे अभिभावले निगरानी गर्न नसकेको बताउँछिन् मनोविद् डा. गंगा पाठक  । ‘हरेक अभिभावक सजग हुनुपर्छ’ उनी भन्छिन्–‘पछिल्ला घटनाले सामाजिक–पारिवारिक संरचनामा नै चुनौती आएको छ ।’ 

आफ्ना छोराछोरी कहाँ जाँदै छन्, कस्ता साथीभाइ छन् भनेर अभिभावले निगरानी गर्नुपर्ने डा. पाठकको भनाइ छ । ‘बच्चाहरू क्लब जान, गलत साथी बनाउन र संगत गर्न रोक्नुपर्छ’ उनले भनिन्–‘आफ्नो बच्चाको मनोविज्ञान  अभिभावले स्वास्थ्यकर बनाउनुपर्छ ।’ 

१० वर्षका बालबालिकाले पोर्नोग्राफी हेरेको घटनामा आफूले काउन्सेलिङ गरेको उदाहरण दिँदै डा. पाठक भन्छिन्–‘बालक र बालिका दुवै पोर्नोग्राफी हेर्छन्, त्यो हेरे पनि बायोलोजिकल हर्मोनका कारण यौन इच्छा जागृत हुन्छ तर हामीले त्यसलाई कसरी म्यानेज गर्ने भन्नेबारे सिकाएनौँ ।’ विद्यालयको कोर्समा यौन शिक्षा अनिवार्य गरेपछि बल्ल अहिलेको स्थितिलाई नियन्त्रण गर्न सकिने डा. पाठकको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप