मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ड्रयागन खेतीमा क्रान्ति : १ करोड लगानी १६ महिनामै उठ्यो

शनिबार, २५ भदौ २०७९, १४ : ४६
शनिबार, २५ भदौ २०७९

नेपालमा ड्रयागन फ्रुटको बिरुवा भित्र्याउने व्यक्ति हुन् डाक्टर जगन्नाथ राई । यस्तै ड्रयागन फ्रुटको व्यावसायिक खेतीमा लाग्ने व्यक्ति हुन् लोकेन्द्र विष्ट मगर । उनीहरू नेपालमा ड्रयागन खेतीका गुरु मानिन्छन् । तर, नेपालमा यो खेतीमा क्रान्ति ल्याउने अर्का व्यक्ति हुन् मोरङ सुनवर्षी १ का गणेश राई । 

राईले २०७८ साल वैशाखमा तीन विगाहा जग्गामा ड्रयागनको खेती लगाए । परम्परागत (लोकल) जातलाई विस्थापित गर्दै अत्यधिक उत्पादन हुने ड्रयागन फ्रुटको सायम रेट (सी) भेराइटी लगाएका उनले आफ्नो लगानी १६ महिनामै उठाइसकेको दाबी गर्छन् । बिरुवा लगाएको ४ महिनादेखि फाट्टफुट्ट उत्पादन सुरु भएको यो बिरुवाबाट उत्पादित ड्रयागन फलमात्रै हालसम्म १३ हजार किलो बिक्री गरिसकेको उनी बताउँछन् । 

पेसाले उनी निर्माण व्यवसायी हुन् । उनीसँग निर्माण व्यवसायका लागि चाहिने सबै निर्माण सामाग्रीहरू छन् । उनको घर अगाडि जेसिबी, स्काभेटर, टिप्पर अझै छन् । लकडाउनको समयमा जतासुकै बन्द भयो । के गर्ने भन्ने कुनै विकल्प भएन । निर्माणको काम पनि ठप्प भयो । ‘त्यहीबेला मैले केही नयाँ गर्ने सोच बनाएँ,’ राई बताउँछन्, ‘मेरो सोच ड्रयागन खेती गर्ने तर्फ मोडियो ।’

त्यसपछि उनी देश दौडाहा निस्के । लकडाउनकै बेलामा उनी राजनीति छोडेर खेतीपातीमा लागेका लोकेन्द्र विष्टलाई भेट्न दाङ पुगे । नेपालका विभिन्न ठाउँमा यो खेती गर्नेहरूको फर्ममा गए । त्यसपछि उनले युटुवलगायत धेरै स्रोत मार्फत ड्रयागनको अनुसन्धान गरे । पछि उन्नत खालको बिरुवा भारतको हैदराबादमा डाक्टर श्रीनाथ रावतले सुरु गरेको फर्ममा रहेको उनले पत्ता लगाए । ‘हैदराबादबाट पनि ६२ किलोमिटर टाढा रहेछ उनको फर्म,’ राई भन्छन् । 

लकडाउनकै क्रममा उनी त्यसतर्फ लागे । खोज्दै खोज्दै जाँदा उनी फर्ममा पुगे र एडभान्स रकम तिरेर बिरुवा अर्डर गरे । लकडाउनको बेलामा थुप्रै हन्डर ठक्कर खाएर नेपालमा ६ महिनापछि बल्लतल्ल उनले बिरुवा ल्याउन सफल भए । त्यहाँबाट उनले १ सय ६६ रुपैयाँ भारतीय रुपैयाँ प्रतिगोटा बिरुवा ल्याएका हुन् । कोरोना कालमा बीचबीचमा हुने अवरोध छिचोल्दाको झण्झट उनलाई निक्कै भयो । बिरुवा ल्याउने समयमा उनले आफ्ना बुबाले जोडेको ३ विगाहा जग्गा तयारी अवस्थामा राखे । बिरुवा आउने वित्तिकै उनले त्यहाँ रोपे ।  

‘त्यसबेला मान्छेले भन्थे बाउले कमाएको जग्गा विक्री गरेर सक्ने भयो । सबैभन्दा नजिकको मान्छेले नै कुरा धेरै काटे,’ उनी भन्छन्, ‘काँडा रोपेर के गरेको भन्थे । त्यसबेला ड्रयागन फ्रुटको मूल्य प्रतिकिलो ९ सयसम्म थियो । ६ सय मूल्य घटेपनि ३ सयमा त बेच्छु भन्ने लागेको थियो ।’

यति छिटो फल्ला भन्ने उनलाई लागेकै थिएन । त्यसबेला बजारको खुब चिन्ता थियो । तर, अब उनलाई बजारको पनि समस्या छैन । ‘अरू तीन बिगाहामा यही खेती थप्ने सोचमा छु,’ उनले भने । अरूको डिमान्ड पुरा गर्दागर्दै आफूलाई बिरुवा नपुग्ने भएको कारण खेती विस्तारमा ढिलो भएको उनको भनाइ छ, ‘बिरुवा माग गर्नेको घुइँचो छ, नदिँदा पनि मान्छेहरूले चित्त दुखाउँछन्,’ उनी भन्छन्, ‘दिँदा पनि आफैँले खेती विस्तार गर्न सकेको छैन ।’ 

यसको न्यूनतम आयु २० देखि २५ वर्षसम्म हुने उनको भनाइ छ । उनले ७–९ फिटमा रोपेका छन् । १ कट्ठा जग्गामा ६० वटा पिल्लर राख्न सकिने उनको भनाइ छ । यो फल काँचो टिप्यो भने २० दिनसम्म राखेर बेच्न सकिन्छ । यो फल क्यान्सर पीडितका लागि अति उपयोगी मानिने उनको भनाइ छ ।

राई अहिले पनि निर्माणको काम गरिरहेका छन् । ‘पार्टनरहरुले निर्माणको काम गर्ने गरेका छन्, महत्त्वपूर्ण काममा मात्रै आफू जान्छु । विशेष गरी यही खेतीमा म लागिरहेको छु,’ उनी भन्छन् ।

निर्माण व्यवसायमा भन्दा यो पेसामा आम्दानी धेरै हुने उनी बताउँछन् । ‘ठेक्कामा यति पैसा कहाँबाट हुनु ? यो त तनाव पनि भएन । एकोहोरो काम गरे भयो । आनन्द खालको छ,’ उनी सुनाउँछन् ।

तीन बिगाहामा तयारी गरेर खेती सुरु गर्दा उनले १ करोड बढी खर्च गरेका थिए । तीन बिगाहामा ३ हजार पोल रहेको र १२ हजार बिरुवा रोपेको उनी बताउँछन् । ११ महिनादेखि मनग्गे फल्न थालेको र १२ महिनादेखि विक्री हुन सुरु भएको बताउने उनले हालसम्म १३ हजार किलो विक्री फल र ३२ हजार बिरुवा विक्री गरिसकेको जनाए । अहिले पनि दैनिक २ सयदेखि ३ सय किलोसम्म फलिरहेको छ । उनले स्थानीय बजारका साथै भाटभटेनी सुपरमार्केटमा विक्री गरिरहेका छन् ।

‘कृषिमा अहिले यो भन्दा राम्रो व्यवसाय छैन,’ उनी भन्छन्, ‘नसोचेको आम्दानी भइरहेको छ ।’ उनको फर्मबाट ए, बि, सी साइजका फल उत्पादन हुन्छ । अहिले ए साइजको बजार मूल्य ६ सय २५, बि साइजको ४ सयदेखि ४ सय ५० र सी ग्रेडको ३ सयदेखि साढे ३ सय रुपैयाँ प्रतिकेजी रहेको छ । चौथोदेखि सातौँ लटसम्म सी ग्रेडका फल फलेको थियो । अहिले १० औँ लटमा फलिरहेको छ । अहिले भने ए साइजका धेरै उत्पादन भएको छ । 

यस्तै बिरुवा पनि उनले ३ सय भन्दा बढी मूल्यमा विक्री गर्ने गरेको बताए । ‘होलसेल धेरै लिनेका लागि मिलाएर दिने गरेको छु, तर थोरै लानेका लागि ३ सय ५० रुपैयाँ प्रतिगोटा बिरुवा बेचिरहेको छु,’ राई भन्छन् । 

ड्रयागन फ्रुटको सायम रेट भेराइटी भनेको लोकल जातभन्दा तीन गुणा बढी उत्पादन दिने खालको हुन्छ । यसमा रोगप्रतिरोधी क्षमता बढी हुने भएको कारण रोक किरा पनि कम लाग्ने उनी बताउँछन् । ‘यो हाइब्रिड हो, यसको ग्रोथ पनि धेरै छ, उत्पादन पनि लोकल भन्दा थ्री टाइम्स मोर छ,’ राई भन्छन् । 

उत्पादित ड्रयागन फ्रुटको माग धान्नै गाह्रो भएको उनी बताउँछन् । ‘हप्तामा ५ हजार किलोभन्दा बढी माग छ, मैले पुर्‍याउन सकिरहेको छैन,’ उनी भन्छन् । 

ठूलोठूलो सुपरमार्केटले मात्रै पहिले लिने गर्दथे । तर, अहिले सानातिना बजारमा पनि यो फलको माग सुरु भएको छ । भियतनामबाट आएको भन्दा यहाँ फलेकाको स्वाद धेरै मिठो हुने उनी बताउँछन् । ठेला, घुम्तीमा र डालामा पाउने गरी नेपालमा उत्पादन गर्नका लागि १० औँ वर्ष लाग्न सक्ने उनको भनाइ छ । उनी पैसा हुने तर कृषि व्यवसायमा विकल्प चाहनेहरूका लागि ड्रयागन खेती उपयुक्त हुने बताउँछन् । ‘विकल्प चाहनेका लागि ड्रयागन फ्रुट खेतीमा लाग्न सबैलाई मेरो सुझाव छ,’ उनले भने । विश्वमा १५४ जातको ड्रयागन फ्रुट रहेको उनी बताउँछन् । त्यसमध्ये पनि यो सी भेराइटी उन्नत रहेको उनको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप