शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेमकिपाको गढ भक्तपुर १ः यसपालि कसलाई बनाउला उम्मेदवार ?

शनिबार, २५ भदौ २०७९, २२ : ४४
शनिबार, २५ भदौ २०७९

गत स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले जित मात्र हासिल गरेन अरू पार्टीको जमानत नै जफत हुने नतिजा ल्यायो । राजनीतिक हिसाबले विगत लामो समयदेखि भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ र नेपाल मजदुर किसान पार्टी एक अर्काका पर्यायवाची जस्तै बन्दै आएको छ । 

नेमकिपाको यही बलियो पकड भएका कारण आगामी मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावबाट आउने सिटको नतिजामा भक्तपुर १ लाई सत्तारुढ गठबन्धन दलले आफ्नो हिसाबमा राख्न सकेको छैन । 

विभिन्न निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गर्न ठुला दल व्यस्त रहेका बेला नेपाल मजदुर किसान पार्टीले पनि आन्तरिक गृहकार्य गरिरहेको छ ।  

२ सय ७५ सिटको प्रतिनिधि सभामा १ सिटको प्रतिनिधि गर्ने सानो दल भए पनि फरक कार्यशैली र भक्तपुर केन्द्रित राजनीति र संसद्मा सदाबहार प्रतिपक्षको भूमिका निभाउने भएका कारण नेमकिपाले छुट्टै पहिचान बनाउँदै आएको छ । 

२०७४ सालमा भएको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट प्रेम सुवाल प्रतिनिधि सभाको सांसद बनेका थिए भने प्रदेश तर्फ सुरेन्द्रराज गोसाई र सृजना सायजू बागमती प्रदेश सांसद बनेका थिए । २०४८ सालदेखि भक्तपुर १ मा नेमकिपाले एकछत्र राज गर्दै आएको छ । 

आगामी चुनावमा भक्तपुरमा नेमकिपाले कसलाई बनाउँछ उम्मेदवार ? 

हालै नेपाल मजदुर किसान पार्टीले ३२ औँ केन्द्रीय परिषद् बैठक सकेको छ । बैठकमा चुनावको तयारी लगायतका एजेण्डामा छलफल भएको केन्द्रीय सदस्य सुरेन्द्र गोसाईले रातोपाटीलाई बताए । सो परिषद्ले यो पटकको निर्वाचनको पनि उपयोग गर्ने निर्णय गरेको छ । 

केन्द्रीय परिषद्ले जिल्ला जिल्लाका अध्यक्ष तथा पार्टीका कार्यकर्ताहरूलाई प्रशिक्षण समेत दिएर कार्यकर्ताहरूलाई जिल्ला जिल्लामा खटाएको छ । अहिले समानुपातिक तर्फको उम्मेदवार छनौटको लागि काम भइरहेको उनले बताए । 

उम्मेदवार अहिलेसम्म सिफारिस नगर्नुको कारणबारे केन्द्रीय सदस्य गोसाईले भने–‘हाम्रो पार्टीमा उम्मेदवारहरूको सिफारिस गर्दा कमिटीको तहगत रूपबाट गर्ने प्रणाली छ । ठुला पार्टीहरूमा त उम्मेदवार सिफारिस गर्नै मोलमोलाइ हुन्छ । तर हाम्रोमा सैद्धान्तिक वैचारिक रूपमा तयार भएका साथीहरूलाई जोड दिएर गर्नुपर्ने हुन्छ । आन्तरिक रूपमा कमिटीहरूमा छलफल गर्दै चरणबद्ध रूपमा टुङ्ग्याउने चरणमा रहेका छौँ ।’ 

ठुला दलले उम्मेदवारको रूपमा व्यक्ति प्रचारको नीति लिएजस्तो नेपाल मजदुर किसान पार्टीले भने बिचार, सिद्धान्त प्रचार गर्ने र त्यसमै प्रतिबद्ध भएको उम्मेदवार चयन गर्ने गोसाई बताउँछन् । देशको कुरा भन्दा व्यक्ति  उम्मेदवारको कुरामा ठुला दल केन्द्रित भएका कारण उनीहरूको बिचार सिद्धान्त मर्दै गरेको उनी बताउँछन् । 

उनले भने–‘हाम्रोमा व्यक्ति चुनावमा उठ्ने हैन पार्टी नै चुनावमा उठ्ने हो, पुँजीवादी पार्टीहरू व्यक्तिलाई हाइलाइट गर्छन् । सेलिब्रेटी जस्तै नेता तयार गर्छन् । व्यक्तिको हो हल्लाको आधारमा मत तान्न खोज्छन् । हामी त्यसको ठिक विपरीत धारमा छौँ । हामी पार्टीको, सङ्घर्षको कुरा गर्छौँ । यसरी गर्दा व्यक्ति गौण हुन्छ । चुनावमा को उठ्ने भन्दा पनि कसरी जनताकोमा बिचार लाने ? कस्तो खालको नीति अघि सार्ने भन्नेमा हामी बढी जोड दिन्छौँ ।’

पञ्चायती शासन ढले पछिको पहिलो आम निर्वाचन २०४८ सालदेखि नेपाल मजदुर किसानले भक्तपुर क्षेत्र नम्बर १ मा जरा गाडेको छ । त्यो बेलादेखि २०७० सालसम्म पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले ५ पटक सांसद जितेका थिए । २०७४ सालको चुनावमा भने उनले आफूलाई समानुपातिक सूचीमा पनि राखेन भने प्रत्यक्ष उम्मेदवारी पनि दिएनन् । २०७४ सालको प्रेम सुवालले भक्तपुर १ बाट चुनाव जितेका थिए । 

‘नयाँ पुस्तालाई अगाडि बढाउनुपर्छ भनेर उहाँले उम्मेदवारी दिन छोड्नुभयो । पार्टीको सैद्धान्तिक, वैचारिक प्रशिक्षणमै केन्द्रित हुन्छु भनेर २०७४ सालमा निर्णय गर्नुभएको थियो । अगामी चुनावमा को उठ्ने भन्ने कुरा पार्टीको निर्णय नै अन्तिम हुन्छ । को व्यक्ति उठ्ने वा नउठ्ने भन्ने हुँदैन ।’

केही दिन पछि नै प्रतिनिधि सभा प्रदेश सभाको उम्मेदवारबारे निर्णय हुने उनले बताए । सुरुमा समानुपातिक तर्फको उम्मेदवार छान्ने र त्यसपछि मात्रै प्रत्यक्ष तर्फको उम्मेदवार छनौट हुने उनले बताए । प्रत्यक्ष निर्वाचनतर्फ भक्तपुर १ मा बलियो रहेको यो दलले अन्य निर्वाचन क्षेत्रमा समानुपातिक तर्फको मतमा जोड दिने यो दलले नीति लिएको छ ।  

भक्तपुरमा कसरी बलियो भयो नेमकिपा  

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ खासगरी पुरानो बस्ती, दरबार क्षेत्रमा हालसम्म नेमकिपा बाहेक अन्य राजनीतिक दलले जित निकाल्न सकेका छैनन् । नेमकिपाको तर्फबाट बागमती प्रदेश सांसद समेत रहेका गोसाई भन्छन्–‘हामी जनतासँग जोडिएका छौँ । इमानदारितापूर्वक निस्वार्थ भएर हामी सेवा गर्छौ । ठुला दलले राजनीतिलाई व्यापार गरेका छन् । हामीले राजनीतिलाई जनताको सेवा गर्ने उत्कृष्ट कर्मको रूपमा अघि बढाएका छौँ । अर्को कुरा हामीले जनताका लागि शिक्षा, विकास निर्माण, भौतिक पूर्वाधार निर्माणका कुराहरूमा २०४८ सालको चुनाव भन्दा पनि अगाडिदेखि सक्रिय रहेका थियौँ । जनतासँग जोडिने नीति, व्यवहारका कारण जनताको अपार विश्वास र माया छ ।’ स्थानीय तहमा पनि नेमकिपाले सदाबहार रूपमा भक्तपुर नगरपालिकामा विजय हासिल गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप