संघर्षका कथा

अर्जुनलाई नसोध, कहाँ दुख्छ घाउ

person explore access_timeभदौ २५, २०७९ chat_bubble_outline0

नेपाली साङ्गीतिक क्षेत्रमा चम्किरहेको एउटा नाम हो, अर्जुन पोखरेल । सङ्गीत सिर्जना, गायन अनि लेखन तीनै विधामा अब्बल छन् पोखरेल । 


चितवनबाट एसएलसी सकेर २०५६ सालमा काठमाडौँ आएका पोखरेल साङ्गीतिक क्षेत्रमा जति चर्चामा छन्, उनको संघर्ष पनि उस्तै स्मरणीय छ छ । बाल्यकालबाट संगीतसँग जोडिएका अनेकन किस्सा उनको मानसपटलमा ताजै छन् । 



उनी सङ्गीत पढ्न भनेरै काठमाडौँ आएका थिए  तर, ‘ब्या नेक पेन’ गर्धनको दुखाइले तत्काल घर फर्किए । सपना देखेर काठमाडौँ हानिएको पोखरेल एकाएक चितवन फर्किने बाध्यता आइ लाग्यो ।



‘मैले दुखाईकै कारण डेढ वर्षको समय ब्रेक गर्नु पर्‍यो। लाग्थ्यो, यो दुखाइले नै मलाई सक्ने छ। यतिसम्म दुख्थ्यो कि, न बोल्न सक्थेँ, न हाँस्न नै । मलाई केही कुराले थिचिरहेको छ, मलाई यसैले कतै टाढा लगिरहेको छ जस्तो हुन्थ्यो ।’

काठमाडौँ पछिको चितवन बसाइँ उनलाई दिग्दारिलो बन्दै थियो । पढाइको चिन्ताले सताउँदै थियो । दुखाइ सहन नसक्दा उनलाई लाग्थ्यो, ‘आमा, हजुरको अर्को पनि छोरा भएको भए म आत्महत्या गर्थे होला नि !’ तर अहँ, अभिवाकका अघि उनले यस्तो भन्ने आँट चाहिँ गरेनछन् ।

उनी जेनतेन पुनः काठमाडौँ फर्किए । आफ्नो पीडा डाक्टरसँग साटे । त्यही दिनदेखि पोखरेलले जीवनको नयाँ अध्याय सुरु गरे । सुनाउँछन्, ‘आफ्नै शरीरको दुखाइले मलाई अन्तै कतै टाढा लाँदै छ जस्तो लाग्थ्यो तर, अहँ होइन रहेछ । डाक्टरले मज्जाले सम्झाउनु भयो ।’ 

पोखरेल डाक्टरले भनेका वाक्य जस्ताको त्यस्तै सम्झन्छन्,‘‘कतै गाडी दुर्घटना हुँदा खुट्टा भाँच्चियो भने कि खुट्टा फाल्ने या त, मर्नुको विकल्प नभए जस्तै हो तपाईंको भोगाई । त्यसैले अप्रेसनभन्दा औषधी र नियमित व्यायाममा लाग्नुहोस् । आफूले देखेको सपना पूरा गर्नतर्फ लाग्नुहोस्। चिन्ता होइन, आशा लिएर बाँच्नुहोस्।’’  

यो पीडा उनले करिब ५/७ वर्ष सम्म भोगिरहे । तथापि, त्यही दिन डाक्टरले दिएको सल्लाहपछि उनको दैनिकी फेरियो । दुखाइलाई आत्मसाथ गरेर करियरलाई पनि उनले सँगै अँगाले । ‘मलाई थाहा थिएन, मेरो दुखाइ कुनै दिन निको होला वा नहोला ! तर, पनि २०५८ सालमा मैले अनुराग सङ्गीत विद्यालयमा सङ्गीत अध्ययन सुरु गरेँ।’

परिवार नै सङ्गीतको गुरु

नेपाली सङ्गीत बजारमा लोक र आधुनिक फ्युजनमा पोखरलेका कैयौँ गीत करोड क्लबमा दर्ज छन् । उनको गीत नसुन्ने श्रोता पनि कमै होलान् । अझ नेपाली पार्श्व गायनमा पोखरेलको देन अतुलनीय छ । 

यो सफलताको श्रेय आफ्नो परिवार, समाज र आफ्नै व्यक्तिगत आचरणसँग गाँसिएको पोखरेलको बुझाइ छ । ‘मेरो सङ्गीतको पहिलो विद्यालय परिवार थियो । घरमा भजन कीर्तनको खुब माहौल थियो,’ पोखरेल बाल स्मृति पल्टाउँछन्, ‘जतिबेला हाम्रो परिवार गोरखाबाट चितवन झर्‍यो। त्यहाँ भजन गाउने चलन थियो । म भजन भनेपछि हुरुक्क हुन्थेँ । लाग्छ, मभित्र थाहै नपाइ सङ्गीत पसिसकेको थियो ।’

उनको टोलमा क्लासिकल भजन भन्दा पनि लोक शैलीका भजन बढी गाउने चलन रहेछ । यसरी बालन गाउने, खैजडी बजाउने कलामा पोखरेल सानैबाट अब्बल भए । सुनाउँछन्, ‘म कक्षा ८ सम्म पढ्दा नै भजन गाउन र खैँजडी बजाउन जान्ने भइसकेको थिएँ। पढाई भन्दा भजन, कीर्तन, बालन र रत्यौलीप्रतिको मोह ममा बढ्दो थियो । त्यो नै संसार झैँ लाग्थ्यो। त्यसको परिणाम कक्षा ८ मा फेल पो भएँ ।’

बत्ती निभाएर सङ्गीत शिक्षण

दुखाइ विर्सर्दै पोखरेलले एक वर्षसम्म सङ्गीत पढेपछि आफू पढेको अनुराग सङ्गीत विद्यालयमा पढाउने अवसर पाए ।  ती दिन पनि उनको स्मृतिमा निकै गढेर बसेका छन् । 

दुखाइको गहिराइ ढाकेर विद्यार्थीसँग खुसी साट्दै पढाउन उनलाई कम कठिन थिएन । भन्छन्, ‘मेरो दुखाइ लुकाउन, अनुहारमा पीडाको भाव  नदेखियोस् भनेर बत्ती निभाएरै अभ्यास गराउँथेँ । हार्मोनियम मेरो ‘ब्रेन’मै थियो, सरगम सिकाउँदा होस् वा राग पढाउँदा म बत्ती बन्द गर्थेँ।’

विद्यार्थीको जिज्ञासा हुन्थ्यो, ‘लाइट किन अफ गर्नु भएको सर’? उनको जवाफ हुन्थ्यो, ‘बत्ती बन्द गर्दा ध्यान केन्द्रित हुन्छ नि !’ त्यो बेला उनीसँग सङ्गीत पढ्ने विद्यार्थीहरूलाई आज आएर उनी आग्रह गर्छन्, ‘यदि मेरो कुरा पढ्दै/सुन्दै हुनुहुन्छ भने भन्न चाहन्छु, त्यो समय म आफ्नै पीडामा बाँचेको थिएँ, दुखाइ लुकाउन बत्तीको सहारा लिएको थिएँ।’

यस्ता अनेकौँ दुःखका किस्सा छन् सङ्गीतकार पोखरेलसँग । आरआर पढ्दै गर्दा गाउन पाएको अवसर र गाउँदै गर्दा सशस्त्र द्वन्द्वको चपेटमा पर्खाल नाघ्दै भागेका क्षण हुन् वा आफ्नै साथीहरूले द्वन्द्वको भुमरीमा परेर ज्यान गुमाएका किस्साहरू, उनीसँग ताजै छन् । 

यी र यस्तै अनुभव अनुभूति अनि जीवनका भोगाइमा रहेर उनै सङ्गीतकार अर्जुन पोखरेलसँग रातोपाटीको नियमित कार्यक्रम टक विथ द टपका लागि गरिएको भिडियो संवादः 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।