शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओलीको गुणगान गाउँदै थापा

शनिबार, २५ भदौ २०७९, १८ : ०४
शनिबार, २५ भदौ २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सत्ता गठबन्धन विदेशी शक्तिहरूको आडमा आगामी निर्वाचनमा नेकपा एमालेलाई कुनै पनि हालतमा हराउन सक्रिय रहेको बताएका छन् । वर्तमान सत्ता गठबन्धन निर्माणमा विदेशी शक्तिको हात रहेकाले उनीहरू आगामी निर्वाचनमा कुनै पनि अवस्थामा एमालेलाई उठ्न नदिने खेलमा लागेको बताए ।

शनिबार हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पछिल्लो समय देशमा विदेशी शक्तिको हस्तक्षेप बढ्नुमा वर्तमान सत्ता गठबन्धनका दलहरूले नै मुख्य भूमिका खेलेको बताए ।

‘वर्तमान सत्ता गठबन्धन निर्माणमा विदेशी शक्तिको हात छ । कुनै सम्झौता नगरी भारतसँग नाकाबन्दीको सामना गरेको र लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्सा जारी गर्ने साहस गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई र एमालेलाई उठ्न नदिने पक्षमा विदेशी शक्तिहरूले सत्ता गठबन्धन निर्माण गरेका हुन् ।’ उनले भने, ‘ त्यसैले वर्तमान गठबन्धन एमालेलाई कुनै पनि हालतमा चुनाव हराउनका लागि सक्रिय रहेका छन् ।’

अध्यक्ष थापाले वर्तमान सत्ता गठबन्धनका दलहरूले चुनावमा सिन्डिकेट खडा गरेको आरोप लगाए ।  सत्ता गठबन्धनका दलहरू एक्लै एक्लै चुनावमा जाँदा हारिने डरले गठबन्धन गरेर सिन्डिकेट खडा गरेको उनले बताए । युवाहरूले आउने निर्वाचनलाई सामान्य ढंगबाट हेर्नु नहुने भन्दै राजनीतिक दलहरूभन्दा माथि उठेर देशको भविष्यको बारेमा सोच्नु पर्ने बेला आएको उनको भनाई छ ।

‘विगतको १० वर्षमा ११ वटा सरकार फेरबदल भए । त्यसबाट दिक्दार भएर देशमा राजनीतिक स्थिरता र विकासका लागि तत्कालीन नेकपालाई दिएको दुई तिहाइ मत दिए पनि त्यसले कदर हुन सकेन । जनताले दिएको म्यान्डेट अनुसार काम हुन सकेन । स्वार्थ र कसले कति कमाउने भन्ने भागबण्डा नमिल्दा र विदेशीको चलखेलको कारणले गर्दा नेकपा तिन टुक्रामा विभाजन हुन पुग्यो । केपी शर्मा ओली नेतृत्वको सरकार ३ वर्षमा नै ढल्यो । राजनीतिक अस्थिरताको शृङ्खला सुरु भयो । केपी शर्मा ओलीले राजनीतिक अस्थिरतालाई रोक्न ताजा जनादेशका लागि निर्वाचनमा जान प्रतिनिधिसभा विघटन गरे । तर, अनेक चलखेल र तिकडम गरेर अदालतको परमादेशबाट त्यसलाई रोक्ने काम भयो,’ उनले भने ।

उनले सत्ता गठबन्धनको सरकार बनेदेखि यता जनताले शान्ति स्थायित्व प्राप्त गर्न नसकेको बताए । गठबन्धनको सरकार ३÷३ महिनामा भाग पुर्‍याउन मन्त्रीहरू फेर्नमा नै व्यस्त रहेको उनको आरोप छ । अध्यक्ष थापाले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको समेत बताए । उनले विदेशीहरूको चलखेलका कारण राष्ट्रियता कमजोर भएको भन्दै चिन्ता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप