शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सहकारीले किसानलाई मल नदिएर व्यापारीलाई बेच्दै गरेको भेटियो

शनिबार, २५ भदौ २०७९, १८ : ४८
शनिबार, २५ भदौ २०७९

किसानले मल नपाइरहेको बेला महोत्तरीको एक डिपोले व्यापारीलाई बढी मूल्य लिएर बेच्ने गरेको खुलेको छ। बर्दिबास नगरपालिका-९ को पशुपति जन उपभोक्ता सहकारीले यसरी अनधिकृत रूपमा मल बेच्ने गरेको खुलेको हो । 

सहकारीका अध्यक्ष रामजतन महतोले भंगाहा नगरपालिकाका व्यापारी सन्जय साहलाई बेचेकाे मल लोड गर्दागर्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि घटना सार्वजनिक भएको हो । `शुक्रबार राति करिब ९ बजे मलखाद लोड गरेर भंगाहातर्फ जाँदै गर्दा स्थानीय युवाहरूले नियन्त्रण लिएका हुन्,´ विजय सिंहले भने ।

व्यापारी साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । साहले प्रारम्भिक बयानमा उक्त सहकारीका सञ्चालक तथा अध्यक्ष महतोले आफूलाई मल बेचेको बताएका छन् । साहलाई उद्धृत गर्दै प्रहरीले भनेको छ, 'हामीले साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ, उनले धेरै कुरा खुलाएका छन् ।´

अहिले नगरभित्र समयमा मल नआउँदा किसानहरू चिन्तित छन् । भएको मल समेत वितरक डिपोले मनोमानी गरेपछि किसान थप आक्रोशित बनेका छन् । वडामा पुरानो र नयाँ गरेर २७३ बोरा मल हुनुपर्ने वडा कार्यालयले जनाएको छ । किसानहरूलाई मल वितरण गर्दा वडाले कुपनसहितको आफ्नै मापदण्ड बनाए पनि त्यसलाई अध्यक्ष महतोले खुलेआम बेवास्ता गरिरहेको वडा अध्यक्ष घुरन महतोको गुनासो छ ।

`किसानहरूलाई राहत होस् भन्ने उद्देश्यले हामीले कुपनको व्यवस्थापन गरेका छौँ तर डिपोमा पुगेपछि किसानहरू निराश भएर फर्कन्छन्,´ वडा अध्यक्ष महतोले भने । शुक्रबार राति मल वितरक महतोले तीन वटा टेम्पुमा राखेर मल भंगाहा पुर्‍याएको आरोप स्थानीयको छ । नगरपालिकाले किसानलाई मल वितरण गर्न हरेक वडामा एक सहकारीलाई जिम्मा दिएको हुन्छ ।

अघिल्लो स्थानीय सरकारले अनुदान मल वितरण गर्ने जिम्मेवारी दिएका १४ वटै वडाका सहकारीको सम्झौता खारेज गरेपछि उनै रामजतन महतो उच्च अदालत जनकपुरमा रिट हाल्न पुगेका थिए । अदालतले पनि मल वितरणको जिम्मेवारी यथावत् राख्न अल्पकालीन आदेश जारी गरेसँगै वडाका सबै सहकारीले मल वितरण अगाडि बढाएका थिए । – न्यूज कारखानाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप