बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुर–१ मा एमालेले राप्रपासँग तालमेल गर्ला कि राप्रपा नेपालसँग ?

आइतबार, २६ भदौ २०७९, ११ : ४७
आइतबार, २६ भदौ २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह जिल्ला मकवानपुरलाई राप्रपाले समेत रणनीतिक रूपमा निकै महत्त्वका साथ लिने गरेको छ । थापाले राप्रपा छाडेर राप्रपा नेपाल गठन गरेपछि उनकै गृह जिल्लामा राप्रपाले समेत आफ्नो प्रभाव देखाउन कुनै कसर बाँकी राखेको छैन ।

सोही क्रममा आसन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले मकवानपुरबाट समेत उम्मेदवारी दिने भएको छ । प्रतिनिधिसभातर्फ मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाबाट दीपक बहादुर सिंह उम्मेदवार बन्ने तयारीमा छन् । पार्टीले उनको नाम सर्वसम्मत रूपमा उम्मेदवारका लागि सिफारिस गरेको छ ।

२०५६ र २०७० मा भएको निर्वाचनमा समेत उम्मेदवार बनेका सिंहले जित हासिल गर्न भने सकेका छैनन् । समानुपातिकतर्फ पनि उनी ३ पटक सूचीमा परे पनि पार्टीले राम्रो मत ल्याउन नसक्दा उनको सांसद बन्ने सपना पूरा हुन सकेको छैन ।

यता स्थानीय तहतर्फ पनि उनले हेटौँडा उपमहानगरको प्रमुख पदमा उम्मेदवारी दिएका थिए । २०५४ र २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौँडाको मेयरमा उम्मेदवार बने पनि उनी पराजित भए ।

एमालेको साथ पाउने झिनो आश

राप्रपाले मकवानपुरमा एमालेको साथ पाए चुनाव जित्ने आकलन गरिएको छ । केन्द्रमा एमालेको एलाइन्स राप्रपासँग भएको खण्डमा मकवानपुर–१ बाट सिंहलाई चुनाव जित्न सहज हुने उनको सचिवालयको हिसाब किताब छ ।

उता राप्रपाले पनि देशभरबाट ५ वटा क्षेत्रमा चुनाव जित्ने आकलन गरे अनुसार मकवानपुर–१ बाट सिंह चुनाव जित्न सक्ने सम्भावित उम्मेदवारको सूचीमा छन् । सोही अनुसार केन्द्रमा एमालेसँग एलायन्स गर्ने प्रयास भइरहेको राप्रपा मकवानपुरले जनाएको छ ।

यता एमालेले भने राप्रपासँग तालमेल हुन कठिन रहेको जनाएको छ । आगामी निर्वाचनमा राप्रपा नेपालसँग गठबन्धन गर्ने तयारी भइरहेका कारण राप्रपासँग तालमेलको सम्भावना कम रहेको एमाले मकवानपुरका एक नेताले जानकारी दिए । केन्द्रमा पनि सोही अनुसार छलफल भएको उनको भनाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यस अघि नै राप्रपा नेपालका अध्यक्ष कमल थापालाई तालमेलको बचन दिएको र गत स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले एमालेका उम्मेदवारलाई सघाएको कारणले पनि केन्द्रले दिएको निर्देशन अनुसार नै राप्रपा नेपालसँग एलायन्स हुने सम्भावना बढी रहेको उनले बताए । सोही अनुसार मकवानपुर–१बाट एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सघाउने सम्भावना रहेको ती नेताको भनाइ छ ।

यता राप्रपा भने झिनो आश बोकेर एमालेसँगको तालमेलको निर्णय पर्खिरहेको छ । झापामा एमालेका लागि राप्रपाको साथ अपरिहार्य जस्तै रहेको अवस्थामा मकवानपुरमा भने एमालेले राप्रपालाई महत्त्व दिन्छ कि राप्रपा नेपाललाई भन्ने प्रस्ट हुन बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप