बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योतिषअनुसार मंसिर ४ पछिको प्रचण्डको भविष्य

आइतबार, २६ भदौ २०७९, १४ : ३३
आइतबार, २६ भदौ २०७९

ग्रहाः राज्यं प्रयच्छन्ति ग्रहाः राज्यं हरन्ति च ।
ग्रहैव्र्याप्तमिदं सर्वं त्रैलोक्यं सचराचरम् ।।
ज्योतिषीय मतका आधारमा रहेर गरिएका विश्लेषण  र विवेचनाले मानवमात्र नभई राष्ट्रसमेत सहि मार्गमा निर्देशित हुन सक्छ । भारत वर्षमा अझैपनि ज्योतिषीय साधना, तन्त्र र  मन्त्रका आश्चर्यलाग्दा तथ्यपरक कुरा सुन्नमा आउँछ । नेपालका सन्दर्भमा बाह्य रुपमा मानिस नास्तिक धर्मनिरपेक्षी जे भएता पनि अन्तर्मनमा आस्तिक नै हुन्छ । यसको कारण नेपालको धार्मिक सांस्कृतिक प्रभाव नै हो । 

नेपालको राजनीतिक इतिहासमा आफ्नो बेग्लै पहिचान बनाउन सफल पुष्पकमल दाहाल ‘प्रचण्ड’को अबको राजनीतिक यात्रा कस्तो रह्ला ? भनेर चौतारी, क्याफेहरुमा चर्चा चलिरहेका बेला यो पंक्तिकारले केही ज्योतिषीय अध्ययन गरेको छ ।  यस लेखमा त्रिमहापुरुष बुधादित्य योगवान् प्रचण्डको अबको राजनीतिक यात्राको विषयमा छोटो चर्चा गरिएको छ  ।

नेपाली राजनीतिका सशक्त खेलाडी प्रचण्डको न्वारनको नाम छविलाल हो ।  विसं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरीमा जन्मेका पुष्पकमल दाहाल आमा भवानी र बुबा मुक्तिरामका  जेठा सन्तान हुन् । 
कम्युनिष्ट आन्दोलनमा विभिन्न हण्डर ठक्कर खाएका प्रचण्ड २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । २०६५ साउन ३१ गते उनी पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका हुन् । 

 संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं.–५ बाट निर्वाचित भएका ‘प्रचण्ड’ २०७३ साउन १९ गते दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भएका  । २०५२ सालबाट सुरु भएको जनयुद्धको सर्वोच्च कमाण्डर बनेका प्रचण्ड हालसम्म पनि नेपाली राजनीतिको केन्द्रविन्दुमा छन् ।

शनिश्चर  चौथो घरमा केन्द्रवर्ती भएर उच्च राशिमा स्थापित भएर बनेको शश महापुरुष योग प्रचण्डलाई क्रान्तिप्रति निरन्तर लाग्ने बनाएको योग हो । यो योगको कारणले गर्दा पनि उनी आफ्नो लक्ष्यबाट कहिल्यै विचलित भएका छैनन् । आफ्ना सहयोद्धाहरुको विछोड र वियोग, पारिवारिक विचलन लगायतका अनेकौं घेराहरुले पनि प्रचण्डलाई प्रभाव पार्न नसक्नु पनि शश योगकै कारण हो ।  शुक्र केन्द्रवर्ती अनि स्वगृही भएर बनेको मालव्य महापुरुष योग पनि प्रचण्डको राजनीतिक सफलताको प्रमुख कारक हो । शुक्रले भौतिक तथा राज्य सुख सुविधा प्रदान गर्दछ । 

प्रचण्डका जीवनका दुईवटा महत्वपूर्ण तिथिको अध्ययनले पनि उनको आगामी राजनीतिक जीवनका विषयमा केही चर्चा गर्ने आधार मिल्दछ । कुनै पनि व्यक्तिको विगतको कालखण्डमा व्यतित भएका प्रभाव पारेका ग्रह योगिनीहरुको अध्ययनले वर्तमानमा चलेका ग्रहको विषयमा पक्कै नै धेरै कुरा भन्न सकिन्छ । 

प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा उल्काको मूल दशाको समयमा प्रत्यान्तरमा धान्यको समय आएको र स्वयं उल्काको स्वामी शनिले कुण्डलीमा शश नाम गरेको राजयोग बनाएको र  त्यसको समय चलेको अवस्था थियो त्यसबेला । साथै प्रत्यान्तरमा धान्य योगिनी प्रभाव रहँदा हंस  महापुरुष योगकारक ग्रहको समयमा प्रथमपटक प्रचण्ड प्रधानमन्त्री भएका थिए ।  

यता विंशोत्तरी महादशामा बुधको अन्तर्दशामा बृहस्पति र बृहस्पतिको प्रत्यान्तरमा मंगल (जुन स्वयं सेनापतिग्रह हो ।)को समय चलेको हुँदा राज्यस्थानका मालिक मंगलको समयमा पनि मतिभ्रम गराउँदा सेनापति प्रकरणमा प्रधानमन्त्री पद छोड्न बाध्य भएका थिए ।  । 

बुध स्वयं विद्या बुद्धिस्थानमा रहेको छ । ग्रहको फल ग्रहस्थान तथा अवस्था अनुसार हुने हुँदा बुद्धि त्यसैअनुसार रहने भयो । बुधको अन्तर बृहस्पतिको समयमा देवालयप्रति मतिभ्रम गराएर पशुपतिनाथको सञ्चालन प्रक्रियाप्रति किञ्चित हस्तक्षेप हुनुपनि ग्रहकै प्रभाव हो । फेरि बृहस्पति ग्रहकै प्रत्यान्तरमा मंगलको समयमा राज्यसञ्चालन अत्यन्त कठिन बन्यो । मंगल स्वयं सेनास्वभावयुक्त ग्रह हो ।  प्रचण्डको कुण्डलीको राज्यस्थानको मालिक मंगल भएतापनि मृत्युस्थानमा रहेको कारणले तत् समयमा सत्तात्याग गर्नुपर्ने अवस्था सिर्जित भयो ।  

प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बन्दा १२औं स्थानका केतुले समझदारी र सम्झौताका आधारमा प्रधानमन्त्री बन्ने योग निर्माण गर्यो । केतु ग्रहको दशाको अन्तरमा शनिश्चर आउँदा शश योगकारक ग्रहको प्रभावले गर्दा राज्य नेतृत्वका लागि सहज बनायो । केतुको अन्तरदशामा शनिश्चर फेरि प्रत्यान्तरमा पनि शनिश्चरको समय रहँदा सम्झौताको प्रथम चरण नै प्रचण्डका लागि सहज बन्यो । 

सोही समय योगिनी दशा सिद्धा र अन्तर्दशामा भद्रिकाको अन्तर्दशाले पनि उनको मनोकांक्षा पूर्ण बनाउन सहज गरायो । योगिनी सिद्धा, अन्तर्दशामा भद्रिका र प्रत्यान्तरदशामा धान्य भएकोले पनि प्रचण्डलाई किञ्चित् इमान्दार बनायो । धान्य स्वयं बृहस्पतिसँग सम्बन्धित योगिनीदशा भएकोले  नै सहजताका साथ सत्ता हस्तान्तरण  गरे । नेपालको राजनीतिमा यति सहजै पूर्वसम्झौता अनुरुप सत्ता हस्तान्तरण भएको सायदै पहिलो परिघटना हो । 
नेपालमा संघीय निर्वाचनको लागि मिति तोकिएको छ । २०७९ मंसिर ४ गते संघीय एवं प्रदेशसभाको निर्वाचन गर्ने भनेर दिन यकिन गरेसँगै नेपाली राजनीतिक वृत्तमा अबको प्रधानमन्त्री को बन्ला ? भनेर बहस छेडिएको छ । हुन त राजनीति हल्लाको भरमा चल्ने कुरो पनि होइन तर पनि हल्लाले धेरै कुरो बोलेको हुन्छ । 

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा समाजवादी सहितका अन्य साना दलहरुको गठबन्धनले गर्दा पनि गठबन्धनको लागि विजय प्राप्ति असहज भने देखिदैन । कार्तिकको समयमा सूर्य र केतुको युतिले गर्दा गठबन्धनभित्रका नेताहरुबीचको खिचातानीले गर्दा अन्तरपार्टी वा इतरपार्टीहरुका बीचमा कलह, अविश्वास, धोका जस्ता विषय सिर्जित भई अहिले गरिएका भनिएका सम्झौताहरुको कार्यान्वयन  हुन नसक्ने उत्तिकै सम्भावना छ । 
निर्वाचनको दिन  मंसिर ४ गतेको ग्रहगोचर हेर्दा देवगुरु बृहस्पति र न्यायद्रष्टा शनिश्चर आफ्नै घरमा बसेको कारणले गर्दा मतदातामा पूर्ववत् निर्वाचनझैं मतदानको मनशाय रहने अवस्था देखिदैन । परन्तु यिनै ग्रहको कारणले स्वतन्त्रहरु वा सुषुप्त पार्टीहरु जागरुक बन्ने उत्तिकै सम्भावना देखिन्छ । 

हुन त आजसम्म गरिएका निर्वाचनहरुमा पराजित उम्मेदवारहरुले धाँधली भयो, निष्पक्षता भएन भनेर भनिरहेका हुन्छन् । कतिपय त अझै पुनःगणना र पुनःमतदानको माग समेत राखिरहेका हुन्छन् । यो मंसिर महिनाको ग्रहगोचरअनुसार सूर्य र मंगलको परस्पर दृष्टिले गर्दा निर्वाचनका प्रक्रियालाई लिएर निष्पक्षता भएन भन्ने धेरै आवाज आउन सक्ने प्रवल सम्भावना देखिन्छ । 

राजनैतिक दृष्टिले सम्भावना देखिएपनि ग्रहगोचर राम्रो भएन भने मानिसले हातमा पाएको पनि गुमाउँछ । प्रचण्ड लगायतका नेपाली नेताको जीवनमा समेत यस्ता अनेकौं संयोग देखा परेका छन् । 
प्रचण्डको कुण्डलीमा २०७९ कार्तिक, मंसिरमा राज्यस्थानमा शुक्र र शनिश्चरको लाभदृष्टि परेको देखिन्छ । शुक्र र शनिश्चर दुबै राज्यलाभ गराउने ग्रह भएको कारण, दुबै ग्रहको शुभदृष्टि देखिनु र उनै ग्रहको दशाअन्तरमा आउनुले प्रचण्डमा राज्य नेतृत्वको प्रवल सम्भावना देखिन्छ । 

विचारणीय पक्ष के छ भने लग्नको मालिक चन्द्रमाको १२औं घरमा केतुसँगको  युतिले गर्दा ग्रहण योग परेको हुँदा प्रचण्डको मानसिकतामा चञ्चलता र छिट्टै विश्वस्त हुने ग्रहप्रभावको कारणले गर्दा राज्यसञ्चालनमा अत्यन्त चनाखो हुन आवश्यक छ । 

प्रधानमन्त्रीमा चर्चा चलेका अन्य व्यक्तित्वहरुको विषयमा अधिक ज्योतिषीय अनुसन्धान गरेता पनि यहाँ कुनै चर्चा गर्न मनासिब लागेन । ज्योतिषीय विहंगम दृष्टिअनुसार वर्तमान समयमा नेपाली राजनीतिक पार्टीहरुले प्रधानमन्त्रीहरुमा चर्चा चलाएका चर्चित अनुहारहरुमध्ये प्रचण्डको कुण्डली सर्वाधिक प्रभावशाली देखिएको छ । 

नेपालको मंसिर महिनाको समय र प्रचण्डको कुण्डलीको ग्रहगोचर अध्ययनले निजमा आध्यात्मिक चिन्तन किञ्चित् बढेको खण्डमा प्रचण्डलाई अबको सफल प्रधानमन्त्रीको रुपमा नेपालले प्राप्त गर्नेछ । अन्यथा भएमा नेपालको अबको प्रधानमन्त्री नयाँ अनुहार आउनेछ । 
लेखक ज्योतिष वास्तुविद् हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप