बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यसरी मन्नाइन्छ जितीया पर्व

आइतबार, २६ भदौ २०७९, १६ : ३६
आइतबार, २६ भदौ २०७९

जिउतिया, जिमूतवाहन र जिवित्पुत्रका नामले पनि चिनिन्छ, जितीया पर्व । यो मधेसको महत्वपूर्ण लोक पर्व हो । यो पर्वमा विशेषगरी सन्तानको दीर्घायु, सुखशान्तिका साथै बंश वृद्घीको कामना गर्दै यहाँका महिला ब्रत बस्ने गर्छन् । यो व्रत तीन दिनसम्म चल्छ । असोज सप्तमीदेखि नवमी तिथीसम्म विधिपूर्वक व्रत गरिन्छ । 

मैथिल महिला समाज नेपालका अध्यक्ष अञ्जला झाले जितया व्रतको विधिबारे जानकारी दिँदै भनिन्, “यो पर्वमा महिलाहरू सामूहिक रुपमा जिमुतवाहन कथा सुन्ने गरिन्छ, तवमात्र ब्रत पूर्ण हुन्छ भन्ने लोक मान्यता छ ।” पछिल्लो समय देशभर यो पर्व मनाउने गरिन्छ । 

विशेष गरेर थारु र तराईका महिलाहरू काठमाडौंको पशुपती क्षेत्रका मन्दिरमा पुजा गर्छन् । खोला–नालामा गई धुमधामसँग जितिया पर्व मनाउँछन् । तर शहरका खोलाहरू फोहर भएकाले घरमै व्रतालुहरू नुहाउने गर्छन् । उनले भनिन्, “सप्तमी अर्थात् पहिलो दिनलाई ‘निहाएखाय’को दिन भनिन्छ । यस दिनमा बिहानै बर्तालु नङ काटी खोला, पोखरी वा घरमै गङ्गाजल पानीमा राखी तोरीको तेल र खरी (पिना)ले नुहाउने गरिन्छ । त्यो दिन पितृ स्मरण गरी पूजा गरिन्छ ।” 

विषेश गरेर यो दिन नौनीको साग, कोदोको पिठोको रोटी, कन्दा, झिमनीको तरकारी खान्छ । कति ठाउँमा माछा पनि खाई पूजाको शुरुआत गरिन्छ । खानाको लागि तिथि अनुसारको समय तोकिएको हुन्छ । त्यहीअनुसार सप्तमीको एक छाक मात्र नूनिलो खाना खानुपर्छ ।

अध्यक्ष झाका अनुसार जितियाको दोस्रो दिनलाई खुरजितीया भनिन्छ । यस वर्षमा सरगही–ओठगन गर्ने समय पनि छ । बिहानै सबेरै नुहाएर घिरौंलाको पातमा दही, चिउरा मिठाईले चिल, स्याल र जिमुतवाहनको पूजा गरिन्छ । त्यही सयमम व्रतको संकल्प लिई व्रतालुले प्रसादी खाने गर्छ । त्यस समयमा परिवारको सदस्यहरूले पनि चढाएको प्रसादी खाने चलन छ । विशेषगरी व्रतालु घरका बालबालिकालाई प्रसादी दिए खुशी तुल्याइन्छ । 

यो जितिया व्रत छठ  जस्तै, कठीन व्रत हो । अष्टमी तिथिको जतीया व्रतको संकल्प लिई सकेपछि  निरहार, निर्जला व्रत नवमी अर्थात् पारनसम्म बस्नुपर्छ । यो व्रत प्रदोशकाल अर्थात् औंसीमा गरिन्छ । यो वर्ष नयाँ व्रतालुहरूलाई शुभ मुहरत (समय) छ । 

अष्टमीको दिन जितीया (जिवित्पुत्रिका) को माटो वा गाईको गोवरको मुर्ति बनाएर पूजा गरिन्छ । त्यसैगरी चिल र स्यालको पनि प्रतिमा बनाएर पूजा गरिन्छ । पूजा सामग्रीमा विशेषगरी रक्षा धागो, रातो सिन्दुरको टीका, पान , ल्वाङ , नभाँचिएको चामलको अक्ष्यता, भिजेको चना, काक्रो, पान र घिरौंलोकोे पात, श्रृंगारको सामान आदिले विधिपूर्वक व्रतालुले कथा, गीत गाएर पूजा गर्छन् । यो व्रत नेपालको विभिन्न भौगोलिक क्षेत्र साथै काठमाडौं उपत्यकालगायत विशेषत तराई क्षेत्रमा वसोवास गर्ने महिलाले पूर्व तयारी गरी धुमधामसँग मनाउने गर्छन् ।

नेपाल महिला समाजका समूहका अध्यक्ष अनामिका झाका अनुसार यो व्रत सन्तान हुने महिलाले मात्र गर्छन् । यसमा छोरा–छोरीको केही भेदभाव नगरी पूजा गरिन्छ । यो व्रत गर्दा सन्तानको सबै सङ्कट दूर हुन्छ भन्ने विश्ववास प्राचिनकालदेखि रहँदै आएको छ । यो सन्तानको आयू लामो होस् सुख शान्तीको कामना गर्दै आमाले जितिया भगवानसँग निर्जला व्रत बसी प्रार्थना गर्छ । यो व्रत कठिन हुने भएकाले स्वास्थ्य अवस्थालाई विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप