बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : गठबन्धनलाई सिट बाँडफाँटमा सकस, एमाले पनि गठबन्धनको तयारीमा

असोज १ मा प्रतिनिधिसभा सदस्यलाई सभामुखको भोज
आइतबार, २६ भदौ २०७९, २० : ५१
आइतबार, २६ भदौ २०७९

आज २०७९ साउन भदौ २६ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा सर्वोच्चको भवन निर्माणमा अनियमितता : चोलेन्द्र शमशेरले लिए केपी ओली र विष्णु पौडेलको नाम, गठबन्धनलाई सिट बाँडफाँटमा सकस, प्रचण्डको चुनाव क्षेत्रमा कांग्रेसको विद्रोही समूहले उम्मेदवारी दिने, एमाले पनि गठबन्धनको तयारीमा, असोज १ मा प्रतिनिधिसभा सदस्यलाई सभामुखको भोज, डीएनए टेष्टका लागि शिवराजले दिए रगतको नमूना, नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा लगायत छन् ।

१. सर्वोच्चको भवन निर्माणमा अनियमितता : चोलेन्द्र शमशेरले लिए केपी ओली र विष्णु पौडेलको नाम
महाभियोगको सामना गरिरहेका सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार पनि महाभियोग सिफारिस समितिसमक्ष बयान दिएका छन् । सर्वोच्च अदालतको भवन निर्माणमा भएको अनियमितताबारे सोधिएको प्रश्नमा उनले भवन निर्माणका लागि आफूलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले पनि सघाएको बयान दिएका हुन् ।

​२. गठबन्धनलाई सिट बाँडफाँटमा सकस
आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले सहमति जुटाउन नसकेको हो । बैठक सोमबार फेरि बस्ने जनाइएको छ ।

​३. प्रचण्डको चुनाव क्षेत्रमा कांग्रेसको विद्रोही समूहले उम्मेदवारी दिने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनाव क्षेत्र चितवन–३ मा नेपाली कांग्रेसको विद्रोही समूहले उम्मेदवारी दिने भएको छ । स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा पनि गठबन्धनको उम्मेदवारविरुद्ध कांग्रेसको विद्रोही पक्षले उम्मेदवारी दिएको थियो । यसैबीच प्रचण्डले आफू जीनको उत्तरार्द्धमा आइपुगेको भन्दै अब आफ्नो उद्देश्य मुलुकको समृद्धि मात्र रहेको बताएका छन् ।

४. एमाले पनि गठबन्धनको तयारीमा
सत्तारुढ पाँच दलीय गठबन्धन विरुद्ध नेकपा एमालेले पनि साना दलसँग गठबन्धन गर्ने तयारी थालेको छ । एमाले र लोसपाबीच गठबन्धनका लागि पहल भइरहेको र दुवै दलबीच सिट बाँडफाँटबारे खाका बनाउन कार्यदल बनाउने तयारी भइरहेको लोसपाका कार्यकारिणी समिति सदस्य उमाशंकर अरगरियाले बताए । यता, कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि एमालेसँग गठबन्धनको तयारी गरिरहेको छ भने राप्रपा पनि एमालेसँगै गठबन्धनको तयारीमा छ ।

५. असोज १ मा प्रतिनिधिसभा सदस्यलाई सभामुखको भोज
आगामी असोज १ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा सदस्यहरुका लागि सामूहिक भोज आयोजना गर्ने भएका छन् । असोज १ मै प्रतिनिधिसभाको अन्तिम बैठक राखेर भोजसहित सांसदहरुलाई बिदाइ गर्ने कार्यक्रम रहेको संसद सचिवालय स्रोतले जनाएको छ । 

६. डीएनए टेष्टका लागि शिवराजले दिए रगतको नमूना
निहारिका राजपुत भनिने सोनाली कुमारी सिंहबाट जन्म भएको बालकसँग डीएनए टेष्ट गराउन आरोपित शिवराज श्रेष्ठले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारमा रगतको नमुना दिएका छन् । उनी डीएनए टेष्टका लागि आइतबार नै जनकपुरबाट काठमाडौं आएका हुन् । 

७. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा
नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् । 

८. सन्दीप लामिछाने अध्यागमन कार्यालयको कालो सूचीमा
क्रिकेटर कप्तान सन्दीप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले कालोसूचीमा राखेको छ । गत मंगलबार बलात्कार आरोपमा जाहेरी परेसँगै राष्ट्रिय टिमबाट निलम्बनमा परेका उनलाई अध्यागमनले कालोसूचीमा राखेको हो ।

९. एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न दरखास्त आह्वान
नेपाल प्रहरीले  प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा परिचालन गर्न म्यादी प्रहरीमा भर्ना खुला गरेको छ । एक लाख पन्ध्र हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको रहने प्रहरीले जानकारी दिएको हो । 

१०. र यो पनि,
नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ ।

ललितपुर महानगरपालिकाले लगनखेलस्थित बसपार्कमा रहेको मञ्जुश्री पेट्रो सेन्टरलाई अनधिकृत रूपमा सञ्चालन हुँदै आएको भन्दै आइतबार सिल गरेको छ । 

संसदीय समितिले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरूलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप