शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२७ हजारभन्दा बढी नर्सले लिए विदेश जान अनुमति

अमेरिका जानेको पीआर नेपालबाटै हुन्छ कन्फर्म
मङ्गलबार, २८ भदौ २०७९, ०७ : ०३
मङ्गलबार, २८ भदौ २०७९

सरकारले बेलायतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने तयारी गर्दैछ । त्यसका लागि बेलायतसँग समझदारी पत्रमा सम्झौता गरिएको थियो । नेपालले पहिलो चरणमा बढीमा २०० नर्सलाई बेलायत पठाउने गरी तयारी गरेको छ । तर, बेलायतमा यो भन्दा अगाडि नै ५ हजार भन्दा बढी नर्सहरू कार्यरत रहेका छन् । 

गत वर्ष ४०० भन्दा बढी नर्सहरू बेलायत पुगेका छन् । उनीहरू व्यक्तिगत श्रम स्वीकृति लिएर गएका हुन् । बेलायतमा सरकारले कामदार पठाउँदैन । उनीहरू सबै जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएकाहरू हुन् । नेपालीहरूले बेलायतमा गर्दै आएको कामप्रति बेलायतका रोजगारदाता सन्तुष्ट देखिन्छन् । जसले गर्दा संस्थागत रूपमा नै कामदार लैजान बेलायत तयार भएको हो । अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संस्थागत रूपमा नै नर्सहरू पठाउने गरी तयारी थालिरहेको छ । 

अहिले कोही मेनपावर व्यवसायी मार्फत गइरहेका छन् । भने कोही व्यक्तिगत रूपमा स्पोन्सर खोजेर गइरहेको हुन् । बेलायतमा नेपाली नर्सहरूलाई पठाउँदै आएको एजेन्सी ओईटी प्रिप्रेशन नेपालका अध्यक्ष भक्त बहादुर केसीले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर जानेको संख्या बढ्दो क्रममा रहेको बताए ।

नेपाली नर्सहरू कसरी जान्छन् ?  

बेलायतले डिप्लोमा, स्नातक र स्नातकोत्तर गरेका सबै खासका नर्सहरूलाई रोजगारीका लागि लगिरहेको छ । सामान्यता २ वर्षका लागि भिसा दिने गरेको छ । तर, बेलायत पुगेकाहरू नेपाल फर्किने सम्भावना एकदमै कम रहेको अध्यक्ष केसीले बताए । बेलायतमा रोजगारीका लागि जान सबैभन्दा पहिला नेपालको नर्सिङ काउन्सिलबाट उपलब्ध गराउने लाइसेन्स लिएको हुनुपर्छ । त्यसपछि व्यवसायिक अंग्रेजी परीक्षा (अक्कुपेसनल इङ्लििस टेष्ट– ओईटी) पास गर्नुपर्छ । त्यो पास भएपछि एजेन्सीले बेलायतमा रोजगारीका अवसरहरू खोजिदिन्छन् । ओईटीको लिस्निङमा ‘बी’, राईटिङमा ‘सी+’, रिडिङमा ‘बी’, स्पिकिङमा ‘बी’, ल्याउनुपर्छ । 


यो परीक्षा भौतिक उपस्थितिमै नेपालमा हुन्छ । त्यसका लागि सेन्टरमा जानुपर्छ । नेपालमा काठमाडौंको डिल्लीबजार र चितवन गरी दुई ठाउँमा सेन्टर छन् । त्यही गएर भौतिक उपस्थितिमा ओईटी परीक्षा दिनुपर्छ । यो पास गरिसकेपछि यूकेको नर्सिङ एण्ड मिडवाईफरी काउन्सिलको परीक्षा पास गर्नुपर्ने हुन्छ । यसलाई सामान्य भाषामा कम्प्युटर बेस्ड टेष्ट (सीबीटी) भनिन्छ । त्यो पास भइसकेपछि इलिजिबल हुन्छन् । 

यूकेमा रहेका फेमिली तथा आफन्तले स्पोन्सर गरेर नेपालबाट बोलाउने गरेका छन् । विशेषगरी यूकेमा धेरै नेपालीहरू ब्रिटिस आर्मी भएकाले उनीहरू मार्फत नै जाने गरेको अध्यक्ष केसीको भनाई छ । 
स्पोन्सर नभईकन बेलायतले भिसा दिँदैन् । त्यसका लागि या कुनै व्यक्ति यूकेमा रहेर उनले स्पोन्सर गरेको हुन्छ, या कुनै रोजगारदाताले  गर्नुपर्‍यो । 

भिसा थपियो भने उनीहरू उतै बस्छन् भने नथपियो भने नेपाल फर्किने गरेको उनको भनाई छ । प्राय व्यक्ति यूके गइसकेपछि नेपाल नफर्किएको अध्यक्ष केसीले बताए । रोजगारदाताले भिसा थप गरिदियो भने बस्न पायो नत्र फर्किनुपर्ने हुन्छ । सबै प्रक्रिया पुरा भएर भिसा आइसकेपछि श्रम स्वीकृति लिनुपर्छ । श्रम स्वीकृति लिएर उनीहरू यूके जान्छन् । तर, कमै मात्रा फर्किन्छन् । यूके जानको लागि सामान्यतया ५ लाख रूपैयाँसम्म खर्च लाग्ने गरेको छ । उता गएर उनीहरूले मासिक २ देखि ४ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । 

अमेरिका जान यतैबाट पीआर फिक्स 

यसरी व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति लिएर यूके मात्र नभई अन्य देशमा पनि नेपाली नर्सहरू जाने गरेका छन् । नेपाल नर्सिङ काउन्सिलको तथ्यांक अनुसार साउनसम्म २७ हजार ४७२ जनाले अनुमति लिएका छन् । वैदेशिक रोजगारीका लागि जान भन्दै उनीहरूले काउन्सिलबाट अनुमति लिएका हुन् । २०७८ को वैशाखदेखि चैतसम्म मात्र ५ हजार ९३ जनाले गुड स्ट्याण्डिङ सर्टिफिकेट (जीएसआर) लिएका छन् । साउन मात्र १ हजार ७०४ जनाले जीएआर लिएको काउन्सिलको तथ्यांकले देखाएको छ । अनुमति लिएका सबै विदेश गएको हो वा होइन् भन्नेबारे काउन्सिललाई जानकारी छैन् । 

नेपालबाट प्रत्येक वर्ष ५०० भन्दा बढी नर्सहरू अमेरिका जाने गरेका छन् । अमेरिका जाने नर्सहरूको यतैबाट ‘पीआर’ फिक्स हुन्छ । यूके, क्यानडा तथा खाडी मुलुक जाने नर्सहरू नेपाल फर्किने आधार रहन्छ । भने अमेरिका गएकाहरूको नेपालबाटै पीआर फिक्स भएकाले फर्किन अवस्था रहँदैन । 

बुटवलकी लक्ष्मी (नाम परिवर्तन) बीएन हुन् । उनले नेपालका विभिन्न अस्पतालमा काम गरिसकेकी छिन् । तर, उनी यतिबेला अमेरिका जाने तयारी गर्दैछिन् । अमेरिकामा पाउने सेवा सुविधाबाट आफ्नो भविश्य राम्रो हुने भन्दै उनी त्यसको तयारीमा लागेकी हुन् । उनले एक कन्सल्टेन्सी मार्फत एप्लाई गरेकी हुन् । नेशनल काउन्सिल लाइसेन्स इक्जाम (एनसीएल्एक्स)  पास गरिसकेकी उनी यतिबेला आईएल्टिएसको तयारी गर्दैछिन् । आईएल्टिएसमा ७ अंक ल्याउनुपर्छ । आईएल्टिएस पास गरिसकेपछि इमिग्रेशनको फारम भर्नुपर्छ । त्यही फारममा उनले पाउने सेवा सुविधा, गर्नुपर्ने काम, पीआर लगायतका सेवा सुविधा सबै उल्लेख हुन्छ । 

यसरी जाने कामदारले व्यक्तिगत श्रम स्वीकृति लिनुपर्दैन । अमेरिका पुगेको खण्डमा पीआर पनि पाउने र र आफ्नो भविष्य उतै सुरक्षित हुने भएकाले आफु त्यसको तयारी गरिरहेको उनको भनाई छ  । 
त्यस्तै अष्ट्रेलिया, क्यानडा, नर्वे, डेनमार्क, न्युजिल्याण्ड लगायतका देशमा समेत नेपाली नर्सहरूको आकर्षण छ । यतिमात्र नभएर खाडी मुलुकमा समेत नेपाली नर्सहरूको आकर्षण र माग बढ्दो क्रममा रहेको नेपाल नर्सिङ संघकी अध्यक्ष प्रोफेसर मनकुमारी राईले बताईन् । नेपाली नर्सहरू अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया मात्र नभइर खाडी मुलुकमा समेत राम्रो डिमाण्ड आइरहेको राईको भनाई छ । खाडी मुलुकहरूमा अन्य अदक्ष तथा अर्धदक्ष कामदारको तुलनामा नर्सहरूलाई सेवासुविधा एकदम राम्रो रहेको उनको भनाई छ । 

नेपाली नर्सहरूले दुबईका लागि डीएचए (दुबई हेल्थ एथोरेटी) ले लिने परीक्षा पास गर्नुपर्छ । त्यसपछि मात्रै नर्सहरूले काम गर्ने मौका पाउनेछन् । नर्सिङ परिषद्मा ८ सेप्टेम्बर २०२२ सम्म ७२ हजार ५५० नर्स दर्ता छन् । त्यस्तै ३६ हजार ८५३ अनमी छन् । भने ६४५ विशेषज्ञ नर्स छन् । भने ८४८ जना विदेशी नर्स समेत दर्ता छन् । ति मध्ये हालसम्म २३ हजार ४१७ जना नर्सले मात्र आफ्नो लाइसेन्स नवीकरण गरेको देखिएको छ । त्यस्तै ११ हजार ४०७ जना अनमीले आफ्नो लाइसेन्स नवीकरण गरेका छन् । 

संघकी अध्यक्ष प्रोफेसर राई यस्तै गतिमा वैदेशिक रोजगारीमा जाने हो भने केही वर्षभित्रमा विदेशबाट नर्स आयात गर्नुपर्ने अवस्था आउने बताउँछिन् ।  नर्सहरू नेपालमा सरकारी क्षेत्रमा राम्रो सेवा सुविधा भएपनि नीजि क्षेत्रमा न्युन सेवा सुविधामा काम गर्न बाध्य छन् । सरकारी क्षेत्रमा एक हजार ५०० को हाराहारीमा मात्रै दरबन्दी छ । नीजि क्षेत्रमा काम गर्दा मासिक १० देखि १५ हजारमा काम गर्न बाध्य छन् । जबकी तीन वर्षे नर्सिङ पढ्नका लागि ४ लाख ७५ हजार खर्च शुल्क लाग्छ । भने ४ वर्षे स्नातक तहको नर्सिङ पढ्न ५ लाखदेखि ७ लाख रूपैयाँसम्म खर्च लाग्छ । लाखौंमा खर्च गरेर पढ्दा १०÷१५ हजारको जागिर पाइने भएपछि उनीहरू विदेश पलायन हुन थालेको अध्यक्ष राईको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप