बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विरोध खतिवडाको लगातार जित कायम राख्दै डिनाको निरन्तर पराजय टार्न यस्तो छ गठबन्धनको रणनीति

मङ्गलबार, २८ भदौ २०७९, ११ : २५
मङ्गलबार, २८ भदौ २०७९

मकवानपुरबाट पटक पटक पराजित भएकी नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ आगामी निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्य पदमा प्रत्यक्ष तर्फ उम्मेदवार बन्ने तयारीमा जुटेकी छन् । मकवानपुर–२ मा उम्मेदवारी दिँदै आएकी उनले यसअघि सो क्षेत्रबाट जित हासिल गर्न सकेकी छैनन् ।

सत्तारुढ गठबन्धन आपसमा तालमेल गरेर चुनावमा जाने भएसँगै मकवानपुर–२ मा यसअघि जित हासिल गरेका नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले गठबन्धनबाट उम्मेदवारी दिने निश्चितजस्तै छ । खतिवडा अहिलेसम्म सो क्षेत्रमा अपराजित छन् ।

खतिवडाको अपराजय यात्रालाई कायम राख्दै डिनाको पराजयलाई टार्न यस पटक गठबन्धनले खतिवडा र डिनालाई अलग–अलग निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने रणनीति अपनाउने भएको छ ।मकवानपुर–२ बाट पटक पटक हार व्यहोरेकी डिना आगामी निर्वाचनमा मकवानपुर–१ बाट चुनाव लड्ने तयारीमा छन् । उनी सत्ता गठबन्धनबाट प्रतिनिधिसभातर्फ मकवानपुर–१ बाट उम्मेदवार बन्ने सम्बद्ध स्रोतको भनाइ छ ।

मकवानपुरको २ क्षेत्र मध्ये मकवानपुर–२ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा उम्मेदवार बन्ने लगभग पक्का जस्तै छ भने मकवानपुर–१ मा कांग्रेसले भाग पाउने र सो क्षेत्रमा कांग्रेसबाट डिना उम्मेदवार बन्ने भएकी हुन् ।

विद्यार्थीकालदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहेकी डिना बहुदलको समयमा २ पटक र गणतन्त्र आएपछि एक पटक गरी ३ पटकको चुनावी प्रतिस्पर्धामा पराजित भइसकेकी छन् । २०४८ पछिको निर्वाचनमा पटकपटक अवसर पाएकी डिनाले हालसम्म प्रत्यक्षतर्फ चुनाव जित्न सकेकी छैनन् । डिना २०४८, २०५१ र २०७४ मा मकवानपुर जिल्लाको क्षेत्र नम्बर–२ बाट ३ पटक संसदीय निर्वाचनमा पराजित भएकी थिइन् ।

चुनावमा हार व्यहोर्दै आएकी डिना २०६४ को निर्वाचन अघि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा जलस्रोत राज्यमन्त्री नियुक्त भएकी थिइन् ।

डिनाको चुनावी प्रतिस्पर्धा

डिना २०४८ को निर्वाचनमा पहिलो पटक पराजित भएकी थिइन् । उनलाई एमालेका तत्कालीन उम्मेदवार विरोध खतिवडाले पराजित गरेका थिए । खतिवडाले १६ हजार ८६९ मत ल्याएका थिए भने डिनाले ११ हजार ५७६ मत पाएकी थिइन् ।

२०५१ को चुनावमा पनि खतिवडासँगै डिनाको प्रतिस्पर्धा भयो । खतिवडाले १६ हजार १४४ मत पाएर चुनाव जित्दा डिना ३ हजार ७९२ मतमा सीमित भइन् । लगातार २ वटा चुनाव हरेकी डिनाले २०५६ को निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवसर पाइनन् । २०५६ मा मकवानपुर–२ बाट कांग्रेसले रामचन्द्र अर्याल माइकललाई उम्मेदवार बनाएको थियो । खतिवडासँगको प्रतिस्पर्धामा माइकल पनि पराजित भए ।

२०६४ मा भएको संविधानसभा निर्वाचनमा मकवानपुरको सबै क्षेत्रमा माओवादी केन्द्रको वर्चश्व रह्यो । सो निर्वाचनमा पनि डिनाले प्रतिस्पर्धा गर्ने अवसर पाइनन् । तर, उनी समानुपातिक सांसद बन्न भने सफल भइन् । सो क्षेत्रबाट कांग्रेसका जयराम लामिछाने चुनावी प्रतिस्पर्धामा उत्रिए पनि उनीसमेत पराजित भएका थिए ।

२०६४ मा प्रत्यक्ष तर्फबाट अवसर नपाएकी डिनाले समानुपातिक तर्फबाट भने सांसद बन्ने अवसर पाइन् । कांग्रेसले उनलाई पहिलो पटक समानपातिक सूचीबाट सांसद बनाएको थियो । डिना २०६४ मा समानुपातिकतर्फको महिला कोटाबाट प्रतिनिधित्व गर्दै सांसद भएकी थिइन् ।

२०७० को संविधानसभा निर्वाचनमा पनि उनले सहभागी हुने अवसर पाइनन् । मकवानपुरका तत्कालीन ४ वटा क्षेत्रमध्ये मकवानपुर–१ बाट इन्द्रबहादुर बानियाँ, मकवानपुर–२ बाट रामचन्द्र अर्याल माइकल, मकवानपुर–३ बाट राघुरमण न्यौपाने र मकवानपुर–४ बाट उमा दाहाल उम्मेदवार बने । सो निर्वाचनमा कांग्रेसले मकवानपुर–१ बाहेक अन्य क्षेत्रमा जित्न सकेन । मकवानपुर–१ बाट इन्द्रबहादुर बानियाँ विजयी भएका थिए ।

त्यस यता मकवानपुरमा प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र कायम भएको छ । सोही अनुसार २०७४ मा भएको निर्वाचनमा डिना मकवानपुर–२ बाट उम्मेदवार भइन् । तर उनी फेरि विरोध खतिवडासँगै पराजित भइन् । खतिवडा ४६ हजार ४८१ मतका साथ निर्वाचित हुँदा डिनाले ३४ हजार ९० मत प्राप्त गरेकी थिइन् ।

मकवानपुर–१ मा पनि डिनालाई चुनौती

पटक पटकको चुनावी प्रतिस्पर्धामा एकै व्यक्तिसँग हार व्यहोरेकी डिनालाई आगामी निर्वाचनमा निर्वाचन क्षेत्र नै फेर्नुपर्ने बाध्यता उत्पन्न भएको छ । सत्ता गठबनधनका कारण विगतको चुनावमा एमालेका तत्कालीन उम्मेदवार विरोध खतिवडासँग हारेकी डिनाले आगामी निर्वाचनमा उनैलाई सहयोग गर्नुपर्ने बाध्यताका कारण निर्वाचन क्षेत्र छोड्नु पर्ने भएको हो ।

सत्ता गठबन्धनमा भागबण्डाका कारण मकवानपुर–२ बाट एकीकृत समाजवादीले उम्मेदवारी दिने र सो पार्टीले विरोध खतिवडालाई नै उम्मेदवार बनाउने लगभग निश्चित छ । खतिवडालाई मकवानपुर–२ मा सघाउनु पर्ने भएपछि डिना मकवानपुर–१ बाट चुनाव लड्ने भएकी छन् । मकवानपुर–१ नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको क्षेत्र हो ।

केन्द्रीय राजनीतिमा प्रभाव भएकी डिनालाई मकवानपुर–१ का मतदाताको विश्वास जित्न ठुलो चुनौती छ । कांग्रेसको १४ औं महाधिवेशन र मकवानपुरको अधिवेशनपछि डिना र इन्द्रबहादुुर बानियाँ बिचको शक्ति सन्तुलन मिल्न सकेको छैन । जसले गर्दा आगामी निर्वाचनमा मकवानपुर–१ मा डिनालाई थप चुनौती सामना गर्नुपर्ने देखिन्छ ।

सत्ता गठबन्धनको साथ पाएकी डिनाले आगामी निर्वाचनमा मकवानपुर–१ मा बलियो रहेको एमालेको सामना गर्नुपर्ने हुन्छ । सो क्षेत्रबाट एमालेका कृष्णप्रसाद दाहाल, मदन दाहाल लगायतमध्येबाट उम्मेदवार बन्ने चर्चा छ । डिनाले एमालेको उक्त चुनौतीलाई समेत सामना गरेर अघि बढ्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप