शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्यार्थी पढाउने भनेर कन्सल्टेन्सी खोल्ने, मेनपावर जस्तै कामदार वैदेशिक रोजगारीमा पठाउने

क्रोयसिया पठाउन खोज्ने कन्सल्टेन्सी सञ्चालक रंगेहात पक्राउ
मङ्गलबार, २८ भदौ २०७९, २० : ५४
मङ्गलबार, २८ भदौ २०७९

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं रूपैयाँ ठगी गर्ने एक जना कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । वैदेशिक रोजगार विभागले चावहिलमा रहेको एसबीई कन्सल्टेन्सी प्रालिका सञ्चालक विष्णु शर्मालाई पक्राउ गरेको हो । 

वैदेशिक रोजगारीमा पठाउन अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको टोलीले छापा मारेको थियो । पक्राउ परेका शर्माले क्रोयसिया​, क्यानडालगायतका देश पठाइदिने भन्दै प्रतिव्यक्ति ९ देखि १२ लाख रूपैयाँ उठाएको आरोप छ । काठमाडौंको एक होटलमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै आवश्यक कागजातमा हस्ताक्षर गर्न बोलाएका थिए । त्यही बेला विभागबाट गएको टोलीले रंगेहात पक्राउ गरेको हो । 

उनले कागजपत्रमा हस्ताक्षर गर्न भन्दै धादिङ र मकवानपुरका ५ जना युवालाई होटलमा बोलाएको थियो । त्यही बेला पक्राउ गरिएको विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिए । मेन पावर कम्पनी बाहेक अन्यले वैदेशिक रोजगारीमा पठाउन गैर कानूनी मानिन्छ । तर, कन्सल्टेन्सी सञ्चालकले नै लाखौं पैसा असुल्दै उनीहरूलाई विदेश पठाउन लागेको पाइएको विभागले जनाएको छ । सञ्चालक शर्माले १०÷१२ जना युवाहरूलाई होटलमा राखेर विभिन्न कागजपत्रमा हस्ताक्षर गराउँदै थिए । त्यही बेला विभागको टोली पुगेको थियो । टोलीले कुनै कागजपत्र भने फेला पर्न सकेन् । आवश्यक सबै कागजात भारत पठाइसकेको बताएको थियो ।  

धादिङ गजुरी गाउँपालिका–५ न्यौपानेका मिलन सुनारले क्रोयसिया​ पठाइदिने भन्दै ९ लाखका दरले पैसा मागेको बताए । त्यसमा ५ लाख रूपैयाँ नेपालमै बुझाउनुपर्ने र बाँकी ४ लाख रूपैयाँ क्रोयसिया​ पुगेर काम थालेपछि मासिक तलबमा काटिँदै जाने बताएका थिए । ‘अहिले मैले १ लाख ५० हजार रूपैयाँ दिइसकेको छु । ५ लाखमध्ये बाँकी सबै काम भएर भिसा आइसकेपछि दिनुपर्ने र ४ लाख उतै गएर काम थालेपछि मासिक ४० हजारको दरले ११ महिनासम्म काटिने भनेको थियो,’ उनले भने । उनलाई साउनमै क्रोसिया पठाइसक्ने भन्दै पैसा लिएको थियो । तर, भदौ सकिन लाग्दा पनि नपठाइ विभिन्न बहाना गर्दै आएको थियो । 

‘आज होटलमा दुई जना भारतीय नागरिक आएर हाम्रो लयर हुन्, डकुमेन्टहरूमा सिग्नेचर गर्न बोलाएको थियो । त्यही बेला विभागको टोली आएर नियन्त्रणमा लियो,’ मिलनले भने । उनीसँगै धादिङकै युवराज कार्की, सरन सुनारसँग पनि उनले डेढ लाखको दरले पैसा दिएको पाइएको छ । त्यस्तै मकवानपुरका जोगबहादुर सापकोटासँग उनले २ लाख रूपैयाँ अग्रिम रूपमा लिएका थिए । मकवानपुरकै नवराज सेञ्चुरीसँग समेत उनले २ लाख रूपैयाँ लिएको पाइएको हो । मिलनले आफ्नो समूहमा रहेका ५ जना बाहेक अन्य ३० जनाभन्दा बढीसँग पनि क्रोयसिया​, क्यानडा, नर्वे लगायतका देश पठाइदिने भन्दै पैसा लिएको बताए । 

‘मासिक ९०० यूरो तलब हुन्छ भनेको थियो । सुरूमा कृषि कामका लागि भनेको थियो । कृषि कामका लागि भनिएपनि जे पनि काम गर्नुपर्ने हुनसक्छ भनेको थियो । त्यसका लागि भिसा आउँदासम्म पर्खनु भनेको थियो,’ मिलनले भने । शर्माले नेपाली विद्यार्थीहरूलाई विदेश अध्यनका लागि पठाईदिने भन्दै कन्सल्टेन्सी खोलेका हुन् । तर, उनले गैरकानूनी रूपमा नेपालीलाई वैदेशिक रोजगारीमा समेत पठाउने भन्दै लाखौं पैसा असुल्ने गरेको पाइएको हो । पक्राउ परेका शर्मालाई प्रहरी वृत्त बानेश्वरको जिम्मा लगाइएको छ । यस विषयमा अनुसन्धान गर्न विभागले अनुसन्धान अधिकृत तोकेको छ । अनुसन्धान अधिकृतले गरेको अनुसन्धानको आधारमा कारवाही प्रक्रिया अगाडि बढ्ने विभागले जनाएको छ । 

धेरै मुद्दामा अनुसन्धान हुन्छ : महानिर्देशक आचार्य 


विभागका महानिर्देशक आचार्यले नियन्त्रणमा लिइएको शर्मामाथि विभिन्न अभियोगमा अनुसन्धान हुने बताए । ‘एजुकेसन कन्सल्टेन्सी भनेर दर्ता गर्ने, अनि मान्छे पठाउने भनेपछि यो त धेरै ठूलो क्राइम भयो,’ महानिर्देशक आचार्यले भने, ‘यसमा मानव बेचबिखन, ठगी, गैर कानूनी रूपमा एकातिर दर्ता गरेर अर्को काम गरेको, राजश्व ठगी गरेको जस्ता मुद्दामा अनुसन्धान हुन्छ ।’ एक कामको लागि अनुमति लिएर अर्को काम गरेको पाइएकाले यसतिर पनि अनुसन्धान अघि बढ्ने उनको भनाई छ । कन्सल्टेन्सीलाई नियमन गर्ने निकाय भनेको शिक्षा मन्त्रालय हो । तर, कन्सल्टेन्सीले मान्छेलाई वैदेशिक रोजगारीमा पठाउन खोजेकाले यो वैदेशिक रोजगार ऐन अन्तर्गत गएको उनको भनाई छ । 

शिक्षा मन्त्रालयमा दर्ता भएका निकायलाई शिक्षा मन्त्रालयले नै अनुमगन गर्नुपर्ने हुन्छ । तर, मन्त्रालयले समेत यस्तो खालको अनुगमन गर्न सकेको छैन् । रोजगारीमा पठाइदिन्छु भनेर पैसा लिएर ठगी गरेको पाइएकाले त्यही अनुसार कारवाही अघि बढ्ने उनले बताए । अब विभागले कन्सल्टेन्सीमाथि पनि निगरानी र अनुगमन बढाउने उनको भनाई छ । ‘यस्ता खालका घटना बढ्दै गयो भने हाम्रै संयन्त्रबाट अनुगमन बढाउनुपर्छ भन्ने भएको छ । एजुकेसन कन्सल्टेन्सीबाट भएको यस्तो खालको घटनाले त्यतातिर पनि निगरानी बढाउनुपर्छ भन्ने भएको छ,’ उनले भने । 

विभागले अहिले दुई किसिमले अनुगमन गर्दै आएको उनको भनाई छ । सूचनाको आधारमा विभागले छापा मार्दै आएको छ भने अर्कोतिर आफ्नै नियमित तरिकाले समेत अनुगमन गर्दै आएको छ ।
वैदेशिक रोजगारीमा ठगीका घटना बढेको भन्दै उनले त्यसका लागि सबै सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताए । ‘वैदेशिक रोजगारभित्र अनेकन किसिमका स्टेकहोल्डर छन् । यसमा सरकारी संयन्त्र, मेनपावर व्यवसायी, रोजगारदाता, श्रमिकलगायतका धेरै निकाय छन् । सबैले आफ्नो कर्तव्यमा बसिदिए यस्तो यो लेबलको ठगी नै हुने थिएन,’ महानिर्देशक आचार्यले भने ।  

स्वयं श्रमिकले सहयोग नगर्दा बढी समस्या भइरहेको उनको भनाई छ । ‘स्वयं श्रमिकहरू जो ठगिरहेका छन्, उनीहरूलाई हामी यतिधेरै सूचना दिइरहेका छौं । तर, यो विषयमा उहाँहरू सिधा ठगिराख्नुभएको छ । तर, उहाँ आएर भन्नु हुन्न,’ उनले भने । श्रमिक स्वयमले राम्रोसँग बुझेर मात्र वैदेशिक रोजगारी जाने र आफू ठगिएको विषयमा समयमै जानकारी गराउने हो भने अहिलेको ठगी धन्दा २५ प्रतिशतमा झार्न सकिने उनको भनाई छ । 

ठगिनबाट जोगिन के गर्ने ? 


श्रमिक ठगिनबाट जोगिनको लागि सबैभन्दा पहिला स्वयं सचेत हुनुपर्छ । त्यसका लागि कुन देश जाने हो ? के कामको लागि जाने हो ? त्यसका लागि डिमाण्ड आएको छ कि छैन् ? कुन प्रक्रियामार्फत जाने हो लगायतका विषयमा जानकार हुनुपर्छ । ‘त्यसपछि त्यही आधारमा भेरिफाई गर्नुपर्छ । सबै प्रक्रिया पुरा गरेको रहेछ तर, अलि बढी पैसा लिएको रहेछ भन्ने भयो भने एक किसिमको मात्र समस्या हुन्थ्यो । यहाँ त पाइला पाइलामा ठगिइरहेका छन्,’ महानिर्देशक आचार्यले भने । 

कुनै कामदार नठगिउन भनेर सरकारले धेरै मिहिनेत गरेको उनको भनाई छ । ‘त्यसका लागि विभाग छ, मन्त्रालय छ, श्रम कार्यालय छन् । २४ घण्टा नै सञ्चालनमा ल्याइएको कल सेन्टर छन्,’ महानिर्देशक आचार्यले भने, ‘त्यसमा भेरिफाई गरिदिनुभयो भने पनि धेरै हदसम्म ठगीका घटना कम हुने थिए । तर, त्यसो केही नगरी सिधै जान्छन्, अनि ठगिइरहेका छन् ।’ ठगी नियन्त्रणको हकमा श्रमिकले सहयोग नगर्दा समस्या भइरहेको उनको भनाई छ । 

‘श्रमिकहरूले समेत हामीलाई सहयोग गरिराख्नुभएको छैन् । प्रि–डिपार्चर पनि सहयोग गर्नुभएको छैन् । पोष्ट डिपार्चरमा उहाँहरू ठगिए भनेर आउनुहुन्छ । तर, तत्कालै हुनुप¥यो भन्नुहुन्छ । तत्कालै अनुसन्धान हुनुप¥यो, तत्कालै कारवाही हुनुप¥यो भन्दै हतार गर्नुहुन्छ । यसका लागि पनि त केही समय लाग्छ नि,’ उनले भने । राज्यको न्याय निरूपण गर्दै जाँदा समय लाग्ने भएकाले त्यतिबेला सम्म धैर्य गर्नुपर्ने उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप