शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको तिनाउमा नेपालकै नमूना सिग्नेचर पुल बन्दै

बुधबार, २९ भदौ २०७९, ०७ : २६
बुधबार, २९ भदौ २०७९

बुटवलको तिनाउ नदीमा बन्ने आकर्षक सिग्नेचर पुलको आर्किटेक डिजाइनमाथि छलफल भएको छ । आधुनिक पुलको डिजाइन तयार पारेको नेपाली र विदेशी इन्जिनियरहरूले बुटवलका जनप्रतिनिधिसँग छलफल गरेका हुन् । 

बुटवल उपमहानगरपालिकाको कार्यालयमा विश्व बैंकका प्रतिनिधिले जनप्रतिनिधि र सरोकारवालासँग मंगलबार बेलुका पुलको आर्किटेक डिजाइन, यसले ओगट्ने क्षेत्र र पार्ने प्रभावका बारेमा छलफल गरेका हुन् ।  
चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरुसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयार भइसकेको छ । डिजाइनअनुसार पुल निर्माणको प्रक्रिया अघि बढाउनका लागि बुटवलमा आएका विश्व बैंकका प्रतिनिधिलाई पुल निर्माणका लागि उपमहानगरको तर्फबाट सहकार्य गर्न तयार रहेको र बुटवलको आवश्यकताका बारेमा जानकारी गराइएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । उनले पुल निर्माणका क्रममा आवश्यक पर्ने जग्गा व्यवस्थापन र पुल आसपासको क्षेत्रको बस्तीका बारेमा थप अध्ययन गरेर निर्णय गर्ने जानकारी गराएको बताए ।

पुलको डिजाइन तयार पार्ने क्रममा पुलको पूर्वी प्रवेशद्वार नजिकै राधाकृष्ण टोल र विकास पथका बीचमा भूमिगत सडक जोड्ने र पश्चिम तर्फको मार्ग पनि कायमै रहने गरी डिजाइनलाई अन्तिम रुप दिन सुझाव दिइएको नगर प्रमुख पाण्डेयले बताए । 

‘यो सामान्य पुलमात्र हुनेछैन, जीतगढी किल्ला, युद्ध संग्रहालय, बुटवलको पुरानो बस्ती, हिन्दूका मन्दिर र मुस्लिमका मस्जिदका बीचमा समेत मैत्रीभाव राख्ने सन्देश दिने गरी संयोजन गरेको पुल बन्नेछ, उनले भने, ‘यो पुलको वारीपारी चेक ड्याम बनाएर तलाउ बनाइनेछ र नदी किनारमा आरती गर्ने, रात्रीकालीन बजारमा रमाउने गरी लाइटिङ हुनेछ ।’ 

नगरप्रमुख पाण्डेयले पुलसँगै हरियाली बगैँचा, क्याफे र विश्राम स्थलहरु समेत बन्ने हुँदा यसले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताए । 

छलफलका क्रममा विश्व बैँककी दक्षिण एशिया शहरी विकास इकाईकी वरिष्ठ शहरी विकास योजनाकार स्टेफनिया अबकेर्लीले तिनाउमा बन्ने पुल नेपालकै नमूना र पर्यटकीय स्थलहरूसँग जोडिएकाले यसले स्थानीय बासिन्दा र स्थानीय सरकारलाई लाभ दिलाउने बताए । उनले ऐतिहासिक र पर्यटकीय स्थलहरु जीतगढी किल्ला र युद्ध संग्रहालयमा पर्यटक आउनका लागि पुलले समेत सहयोग पुर्याउने बताए । उनले स्थानीय सरकारका तर्फबाट पुल निर्माणका लागि स्थानीय रुपमा समन्वय गरि दिनका लागि बुटवल उपमहानगरपालिकालाई आग्रह गरे । 

सिग्नेचर पुलका लागि भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप