शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

०७४ मा झिनो मतान्तरले कांग्रेस पराजित भएका यी हुन् १५ निर्वाचन क्षेत्र

बुधबार, २९ भदौ २०७९, १२ : ४२
बुधबार, २९ भदौ २०७९

राजनीतिक दलहरु आगामी मंसिर ४ गते हुने आम निर्वाचनको हिसाब किताबमा व्यस्त छन् । पाँच दलीय सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुङ्गो लगाउन दिनहुँ छलफल भइरहेको छ ।

एमालेले पनि पाँच दलीय गठबन्धनको काउन्टरमा साना दललाई एकीकृत गर्ने रणनीति बनाएको छ । ०७४ को निर्वाचनमा वाम गठबन्धनको सामना गरेको कांग्रेस यस पटक पाँच दलीय गठबन्धनमै चुनावी मैदानमा उत्रिने तयारीमा छ ।

कांग्रेसले ०७४ मा पाँच सयभन्दा कम मतान्तरमा ५, हजारभन्दा कम मतान्तरमा ३ र ४ हजारभन्दा कम मतान्तारमा ७ वटा निर्वाचन क्षेत्र गुमाएको थियो । ०७४ मा वाम गठबन्धनका बाबजुद कांग्रेसका पाँच जना उम्मेदवार पाँच सयभन्दा कम मतले पराजित भएका थिए । हुम्ला, काठमाडौं–८, कञ्चनपुर–३, मनाङ र मुस्ताङमा कांग्रेसका उम्मेदवार पाँच सयभन्दा कम मतान्तरले पराजित भएका थिए ।

हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले कांग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतान्तरले पराजित गरेका थिए । माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका लामा २०७४ सालको चुनावमा सबैभन्दा कम मतान्तरमा निर्वाचित सांसद बनेका थिए ।

लामा वाम गठबन्धनका अधिकारिक उम्मेदवार छिमिदोर्जे लामाविरुद्ध वागी उम्मेदवारी दिएर संघीय सांसदमा बाजी मार्न सफल भए । उनले ८ हजार ४९१ मत पाउँदा कांग्रेसका शाहीले ८ हजार ४४४ मत पाएका थिए ।

वाम गठबन्धनका आधिकारिक उम्मेदवार छिमिदोर्जे लामाले २७ सय मत पाएका थिए ।

यस्तै काठमाडौं–८ मा पनि कांग्रेस उम्मेदवार पाँच सयभन्दा कम मतान्तरले पराजित भएका थिए । तत्कालीन वाम गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठले कांग्रेसका नवीन्द्रराज जोशीलाई ४ सय ४४ मतान्तरले पराजित गरेका थिए । श्रेष्ठले १३ हजार ३९७ मत ल्याउँदा जोशीले १२ हजार ९५३ मत ल्याएका थिए ।

पाँच सयभन्दा कम मतान्तरले कांग्रेस उम्मेदवार हारेको अर्को निर्वाचन क्षेत्र कञ्चनपुर–३ पनि हो । कञ्चनपुर–३ मा वाम गठबन्धनका उम्मेदवार दीपकप्रकाश भट्टले कांग्रेसका रमेश लेखकलाई २५८ मतान्तरले पराजित गरेका थिए । भट्टले २६ हजार ३६४ मत पाएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार लेखकले २६ हजार १०६ मत प्राप्त गरेका थिए ।

यस्तै हिमाली जिल्ला मनाङ र मुस्ताङमा पनि ०७४ मा पाँच सयभन्दा कम मतले हारजित भएको थियो । यी दुवै जिल्लामा तत्कालीन वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।

मनाङमा एमालेका पोल्देन गुरुङले जम्मा २ हजार ३०० मत पाएर विजयी भएका थिए । उनले कांग्रेसका टेकबहादुर गुरुङलाई २७९ मतले पराजित गरेका थिए । टेकबहादुरले २ हजार २१ मत पाएका थिए ।

यता मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ५४४ मत पाएका थिए भने नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३ हजार १८१ मत पाए । तुलाचनले ३६३ मतान्तरले गौचनलाई पराजित गरेका थिए ।

२०७४ सालको निर्वाचनताका तीन वटा क्षेत्रमा कांग्रेसका उम्मेदवार एक हजारभन्दा कम मतान्तरले पराजित भएका थिए । जसमा मोरङ–६, कपिलवस्तु–१ र धादिङ २ नम्बर क्षेत्र छन् ।

मोरङ–६ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले नेता लालबाबु पण्डितले कांग्रेसका डा. शेखर कोइरालालाई ६७५ मतान्तरले पराजित गरेका थिए । पण्डितले ३३ हजार ९४१ मत ल्याउँदा कांग्रेसका कोइरालाले ३३ हजार २६६ मत पाएका थिए ।

यस्तै धादिङ क्षेत्र नम्बर २ मा तत्कालीन वाम गठबन्धनबाट एमालेका उम्मेदवार खेमप्रसाद लोहनीले कांग्रेसका दिलमान पाख्रिनलाई ६४० मतले पराजित गरेका थिए । लोहनीले ३६ हजार २५६ मत ल्याउँदा पाख्रिनले ३५ हजार ६१६ मत पाएका थिए ।

कपिलवस्तु–१ मा पनि तत्कालीन वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता चक्रपाणि खनाल र कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायबीच कडा टक्कर परेको थियो । ०७४ मा खनालले उपाध्यायलाई ९४६ मतान्तरले पराजित गरेका थिए । खनालले २९ हजार ७९९ मत पाउँदा उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए ।

०७४ को संघीय निर्वाचनमा २ हजारभन्दा कम मतान्तरमा पराजित हुने कांग्रेस उम्मेदवारमा सुनिलकुमार शर्मा हुन् । मोरङ क्षेत्र नम्बर ३ मा कांग्रेसका शर्मा एमालेका भानुभक्त ढकालसँग एक हजार ९०७ मतान्तरले पराजित भएका हुन् ।

ढकालले ४२ हजार ४ सय १३ ल्याएर विजयी हुँदा शर्माले ४० हजार ५०७ मत प्राप्त गरेका थिए ।

०७४ मा कांग्रेस झापा–१ मा तीन हजारभन्दा कम मतान्तरले पराजित भएको थियो । तत्कालीन वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा २ हजार ८६३ मतले पराजित भएका थिए । कार्कीले ३६ हजार १ सय ७३ मत ल्याउँदा शर्माले ३३ हजार ३ सय १० मत ल्याएका थिए ।

०७४ मा कांग्रेसले तीन हजारभन्दा कम मतान्तरमा धनुषा–३ मा पनि गुमाएको थियो । कांग्रेस उम्मेदवार विमलेन्द्र निधि तत्कालीन राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार राजेन्द्र महतोसँग २ हजार ९०३ मतले पराजित भएका थिए । महतोले ३० हजार ७ सय ५० मत पाउँदा निधिले २७ हजार ८ सय ४७ मत प्राप्त गरेका थिए ।

०७४ मा अछाम–२  मा पनि कांग्रेसले ३ हजारभन्दा कम मतान्तरले चुनाव हारेको थियो । वाम गठबन्धनबाट एमालेका यज्ञबहादुर बोगटीसँग कांग्रेसका पुष्पबहादुर शाह पराजित भएका थिए । बोगटीले २१ हजार ९६५ मत पाउँदा शाहले १९ हजार १०६ मत पाएका थिए । २ हजार ८५९ मतान्तरले बोगटीले बाजी मारेका थिए ।

यस्तै २०७४ को संसदीय निर्वाचनमा ४ हजारभन्दा कम मतान्तरमा पराजित हुने कांग्रेस नेतामा पूर्णबहादुर खड्का पनि पर्छन् । सुर्खेत क्षेत्र नम्बर १ मा तत्कालीन वाम गठबन्धनबाट एमालेका ध्रुवबहादुर शाहीसँग खड्का ३ हजार ३८२ मतान्तरले पराजित भएका थिए । शाहीले ३६ हजार ७६९ मत पाउँदा खड्काले ३३ हजार ३७७ मत ल्याएका थिए ।

यस्तै ०७४ को निर्वाचनमा स्याङ्जा–२ मा वाम गठबन्धनका उम्मेदवार पद्मा अर्यालसँग कांग्रेसका गोपालमान श्रेष्ठ करिब ४ हजार मतान्तरले पराजित भएका थिए । वाम गठबन्धनबाट उम्मेदवार बनेकी अर्यालसँग श्रेष्ठ ३ हजार ७०६ मतान्तरले पराजित भएका थिए । अर्यालले ३५ हजार १४२ मत ल्याएकी थिइन् भने श्रेष्ठले ३१ हजार ४३६ मत प्राप्त गरेका थिए ।

२०७४ निर्वाचनमा सोलुखुम्बुमा कांग्रेस वाम गठबन्धनसँग ३ हजार ४५३ मतले पछि परेको थियो । कांग्रेस नेता बलबहादुर केसी वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका होमकुमार राईसँग पराजित भएका थिए । राईले २० हजार ७४७ मत पाउँदा केसीले १७ हजार २९४ मत प्राप्त गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप