बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टोखाद्वारा ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान

बुधबार, २९ भदौ २०७९, १५ : ५४
बुधबार, २९ भदौ २०७९

काठमाडौँको टोखा नगरपालिकाले ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ । टोखाले ५८ राष्ट्रिय बाल दिवसका अवसर पारेर आज साउथ वेष्टर्न स्कुल वसुन्धरामा आयोजित कार्यक्रममा नगरपालिकाभित्रका कक्षा १० र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको हो ।

सो नगरपालिकाले २० विद्यार्थी, ४१ शिक्षक तथा १२ विद्यालयलाई सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीलाई रु १२ हजार पाँच सय पुरस्कार, प्रमाणपत्र र खादा लगाएको थियो ।  यस्तै उत्कृष्ट शिक्षकलाई रु पाँच हजार नगद पुरस्कार, प्रमाणपत्र र खादा तथा विद्यालयलाई प्रमाणपत्र तथा खादाद्वारा सम्मान गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले टोखाभित्रको शिक्षाको गुणस्तरलाई अगाडि बढाउनका लागि विद्यार्थी, शिक्षक र विद्यालयलाई हौसला स्वरुप उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको जानकारी दिए । “टोखाभित्रका विद्यालयले देशभरका अरू विद्यालयभन्दा उत्कृष्ट नतिजा प्रदान गर्न सकोस्”, उनले भने । नगरप्रमुख अधिकारीले सीमित स्रोत र साधनबीच नपाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको बताए ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले नगरपालिकाभित्रका विद्यालयमा शिक्षाको गुणस्तर बढाउनका लागि सम्मान तथा पुरस्कार कार्यक्रम गरिएको बताए । उक्त सम्मानले भावी दिनमा शिक्षण सिकाइ क्रियाकलापलाई थप अगाडि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा नगरप्रमुख अधिकारीसँगै शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौँका प्रमुख नन्दलाल पौडेल, नगरपालिकाका उपप्रमुख मुरारी तामाङले सम्मान प्राप्त विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए । 
सोही नगरपालिकाले आजै ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ विषयमा वडास्तरीय वक्तृत्वकला कार्यक्रमसमेत आयोजना गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकामा ११ वडा रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप