शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटमा केसी–महत परिवारको शक्ति संघर्षले चुनौती, को–को छन् चुनावी मैदानमा ?

यस्तो छ स्थानीय तहको हिसाब किताब
बिहीबार, ३० भदौ २०७९, १३ : ५८
बिहीबार, ३० भदौ २०७९

पछिल्लो समय नुवाकोटमा नेपाली कांग्रेसभित्र बढेको शक्ति संघर्षका कारण आगामी निर्वाचनमा सो पार्टीलाई चुनौती थपिने देखिएको छ । नेपाली कांग्रेसका पुराना नेता डा. अर्जुननरसिंह केसी र डा. रामशरण महतको गृह जिल्ला नुवाकोटमा यिनै दुई परिवारका बीच आन्तरिक राजनीतिक प्रतिस्पर्धा हुने गरेको छ ।

कांग्रेसको केन्द्रीय तहमा दुवै परिवारको बलियो उपस्थिति छ । केसीका भाइ जगदीश्वर नरसिंह र महतका भाइ प्रकाशशरण पनि कांग्रेसको राजनीतिमा स्थापित भइसकेका छन् । दशकौंदेखि महत र केसी परिवारबीच शक्ति संघर्ष चल्दै आएको नुवाकोटका कांग्रेस कार्यकर्ताको भनाइ छ ।

आसन्न निर्वाचनमा कांग्रेसबाट उम्मेदवारीका लागि पनि यिनै दुई परिवारको हानथाप चलेको छ । यद्यपि अर्जुननरसिंह केसी यस पटक समानुपातिकतर्फ सिफारिस भएका छन् भने महत दाजुभाइ एउटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।

कांग्रेस नुवाकोटमा केसी र महतको आन्तरिक द्वन्द्वका कारण भागबण्डामा कांग्रेसको दाबी कमजोर बन्दै गएको कार्यकर्ताहरु बताउँछन् । नुवाकोटमा पहिलो शक्तिका रुपमा रहेको कांग्रेस केसी र महत पक्षको द्वन्द्वका कारण कमजोर बन्ने गरेको उनीहरुको भनाइ छ । नुवाकोटबाट सत्ता गठबन्धनमा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि उम्मेदवारीका लागि दाबी गरेका छन् ।

यी हुन् नुवाकोट–१ र २ का सम्भावित उम्मेदवार

नुवाकोटमा प्रतिनिधिसभातर्फको दुवै क्षेत्रबाट मुख्य ठुला दलले आ–आफ्ना उम्मेदवार सिफारिस गरिसकेका छन् । कांग्रेसबाट नुवाकोट क्षेत्र नम्बर–१ का लागि प्रत्यक्षतर्फ कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य डा.रामशरण महतलाई सिफारिस गरिएको छ । रामशरण महतको नाम सोही क्षेत्रको समानुपातिक सूचीमा समेत समावेश छ । समानुपातिक सूचीमा डा. केदारनरसिंह केसी, कल्पना नेपाली, कृष्णबहादुर लामा, प्रकाश गोतामे र सीता मिजारको नाम पनि छ ।

कांग्रेसले नुवाकोट–२ बाट प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ बहादुरसिंह लामा, राज्यलक्ष्मी पाण्डे श्रेष्ठ र लालीमाया तामाङको नाम सिफारिस गरेको छ । अर्जुन नरसिंह केसीको नाम भने नुवाकोट–२ को समानुपातिकतर्फ समावेश छ । केसीले प्रत्यक्षतर्फ चुनाव लड्न चाहेपनि  शक्ति संघर्षकै कारण समानुपातिकका सीमित गरिएको नेताहरुको भनाइ छ । समानुपातिकमा सिफारिस भएपछि केसी निकटस्थहरुले असन्तुष्टि जनाउँदै आएका छन् । हाल प्रत्यक्षको टिकटका लागि एक नम्बरमा सिफारिस बहादुरसिंह लामा महत क्याम्पमा छन् । 

 केसीको असन्तुष्टिका बीच क्षेत्र नम्बर २ बाट उनीसहित समानुपातिक सूचीमा धुव्र अधिकारी र रुकमणी सेढाईको नाम सिफारिस भएको छ । त्यस्तै माओवादी केन्द्रले नुवाकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ बाट हितबहादुर तामाङ, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा केशवप्रसाद पुडासैनी, सुभद्रा नेपाल र माधवप्रसाद पाण्डेको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।

एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा नुवाकोट–१ का लागि राजेन्द्रप्रकाश लोहनी र नुवाकोट–२ मा सूर्य कँडेलको नाम सिफारिस गरेको छ । लोहनी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं नुवाकोटका इन्चार्ज हुन् । उनी २०५६ को निर्वाचनमा एमालेबाट नुवाकोट–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

एमालेबाट नुवाकोट–१ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ बद्री मैनालीको नाम सिफारिस गरिएको छ भने नुवाकोट–२ बाट नारायणप्रसाद खतिवडा, केशवराज पाण्डे, विष्णु लोहनी, रामशरण प्याकुरेल र माधवप्रसाद तिवारीको नाम सिफारिस गरिएको छ । 

यस्तो छ स्थानीय तहको हिसाब किताब

नुवाकोट–१ मा ७ स्थानीय तह पर्दछन् । सो क्षेत्रमा दुप्चेश्वर गाउँपालिका, शिवपुरी गाउँपालिका, ताडी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, सूर्यगढी गाउँपालिका, लिखु गाउँपालिका र ककनी गाउँपालिका पर्दछन् ।

गत स्थानीय तह चुनावमा सो क्षेत्रमा कांग्रेस, माओवादी केन्द्र, एमाले नुवाकोटमा एक्लाएक्लै प्रतिस्पर्धामा थिए । एकल चुनावमा लड्दा नुवाकोट–१ मा पहिलो पार्टीको रुपमा कांग्रेसले नतिजा निकालेको छ भने दोस्रोमा माओवादी छ ।

गत स्थानीय तहको निर्वाचनमा सो क्षेत्रको ७ वटा पालिकामध्ये कांग्रेसले ४ वटा पालिका अध्यक्ष र २ वटा उपाध्यक्ष जितेको छ । माओवादीले ३ वटा पालिका अध्यक्ष र ५ वटा उपाध्यक्ष जितेको छ । सो क्षेत्रमा एमालेले कुनै पनि पालिकाको नेतृत्व लिन सकेन । 

यता नुवाकोट–२ मा २ वटा नगरपालिकासहित ५ वटा स्थानीय तह पर्दछन् । सो क्षेत्रमा विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकासहित किस्पाङ गाउँपालिका, मेघाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका पर्दछन् ।

गत स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पहिलो शक्तिको रुपमा कांग्रेस स्थापित भएको छ । उक्त निर्वाचनमा कांग्रेसले ३ वटा पालिकाको प्रमुख र २ वटा उपप्रमुख पदमा जितेको छ । कांग्रेसले सत्ता गठबन्धनको बलमा २ वटा पालिका प्रमुख र उपप्रमुख पदमा जितेको थियो भने एउटा पालिकाको प्रमुख र उपप्रमुख एकल रुपमा जितेको थियो ।

माओवादी केन्द्र भने सो क्षेत्रको दोस्रो शक्तिको रुपमा छ । माओवादी केन्द्रले सो क्षेत्रको एउटा पालिका प्रमुखसहित ३ वटा उपप्रमुख पदमा जितेको छ । माओवादी केन्द्रले सत्ता गठबन्धनको सहयोगमा सो क्षेत्रको एक पालिका प्रमुख र २ उपप्रमुख पदमा जितेको छ भने एउटा पालिकाको उपप्रमुख पदमा एमालेसँगको गठबन्धनबाट जितेको छ ।

एमालेले भने माओवादी केन्द्रको गठबन्धनका कारण सो क्षेत्रको एउटा पालिका प्रमुख पदमा मात्र जित हात पारेको छ । २०७४ को संसदीय निर्वाचनमा नुवाकोट–१ मा कांग्रेसका डा. रामशरण महत र नुवाकोट–२ मा अर्जुननरसिंह केसी दुवै पराजित भए । नुवाकोट–१ मा तत्कालीन वाम गठबन्धनबाट माओवादी केन्द्रका हितबहादुर तामाङ ३६ हजार ४७३ मतसहित विजयी हुँदा कांग्रेसका डा. महतले २७ हजार ९२० मत पाएका थिए ।

नुवाकोट–२ मा एमालेका नारायण प्रसाद खतिवडा ३६ हजार ८९२ मतसहित विजयी हुँदा कांग्रेसका केसीले २६ हजार ३३५ प्राप्त गरे । प्रदेशसभा तर्फ नुवाकोट–१ (क)मा वाम गठबन्धनबाट माओवादी केन्द्रकी राधिका तामाङ १८ हजार १३७ मतसहित निर्वाचित हुँदा कांग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत पाएका थिए । प्रदेशसभा तर्फको नुवाकोट–१ (ख)मा वाम गठबन्धनबाट एमालेका बद्री मैनाली २० हजार ५०९ मतसहित निर्वाचित हुँदा कांग्रेसका रमेशकुमार महत १२ हजार २१७ मतमा सीमित भए ।

प्रदेशसभातर्फ नुवाकोट–२ (क)मा वाम गठबन्धनबाट एमालेका केशवराज पाण्डे २० हजार ९ मतसहित विजयी हुँदा कांग्रेसका जगदीश्वर नरसिंह केसी १२ हजार ७२९ मतमा सीमित भए । नुवाकोट–२ (ख)मा पनि वाम गठबन्धनबाट माओवादी केन्द्रका हिरानाथ खतिवडा १७ हजार ६२ मतसहित निर्वाचित भए । कांग्रेसका जगतबहादुर तामाङ १४ हजार ५२ मतमा सीमित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप