शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् ‘टप टेन’ समाचार

बिहीबार, ३० भदौ २०७९, २१ : ०१
बिहीबार, ३० भदौ २०७९

आज मिति २०७९ साल भदौ महिनाको ३० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. चुनावका लागि सुरक्षा तयारी

निर्वाचन सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई दैनिक १२ सयको दरले भत्ता दिने निर्णय गरिएको छ । अर्थ मन्त्रालयले भत्ताका लागी आवश्यक रकम उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ । आफू कार्यरत रहेको स्थानमा निर्वाचन सुरक्षामा खटिने प्रहरीले ७ दिनको भत्ता पाउँछन् । कार्यरत स्थान भन्दा बाहिरको जिल्लामा खटिनेलाई दैनिक १२ सयको दरले १४ दिनको दैनिक भ्रमण भत्ता दिने निर्णय गरिएको छ ।

​मङ्सिरमा हुने प्रदेश र केन्द्रीय चुनावको सुरक्षार्थ आवश्यक म्यादी प्रहरीको लागि १ लाख १५ हजार जनाको लागि भर्ना आजदेखि खुलेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

​२. समानुपातिक उम्मेदवार छान्न दलहरु व्यस्त

मंसिर ४ को निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरु समानुपातिक उम्मेदवार छनोटमा व्यस्त बनेका छन् । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची यही असोज २ र ३ गते बुझाउन सूचना जारी गरेसँगै दलहरूको ध्यान समानुपातिक उम्मेदवार छान्नतर्फ केन्द्रीत भएको हो ।

निर्वाचन आयोगले समानुपातिक सूची बुझाउन असोज २ र ३ गतेको समय तोकेपनि असोज १६ गतेभित्र दलहरुले बन्द सूचीका नाम फेरबदल गर्न सक्ने सुविधा दिइएको छ । यो सुविधा अनुसार दलहरुले आयोगको प्रक्रियाअनुसार असोज ३ भित्र निवेदन दिएपछि मात्रै कति दल समानुपातिक निर्वाचनमा सहभागी हुन्छन् भन्ने एकीन हुने निर्वाचन आयोगको सहप्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए ।

आयोगले दल दर्ताका लागि यसअघि दिएको समयसीमामा प्रतिनिधि सभातर्फ ७६ दल निर्वाचनमा सहभागी हुन निवेदन दर्ता गराएका छन् । त्यस्तै प्रदेश सभा सदस्यका लागि पनि फरक फरक संख्यामा दलहरु दर्ता भएका छन् । जसका केही दलले एकै चुनाव चिह्न लड्ने भनेर संयुक्त निवेदनसमेत दिएका छन् ।

​३. अग्निपथ विवादमा नेपाल र भारत

भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले अग्निपथ योजनाबारे नेपालले समयमा निर्णय नलिए गोर्खा सैनिकको लागि छुट्याइएको कोटा फिर्ता लिन बाध्य हुने चेतावनी दिएका छन् ।  भारतले यस्तो निर्णय लिए दुई देशको सम्बन्धमा असर पर्ने टिप्पणी भइरहेको बेला उनको धारणा आएको हो । 

यता परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे वर्तमान सरकारले कुनै निर्णय नगर्ने बताएको छ । बिहीवार सिंहदरबारमा भएको नियमित पत्रकार सम्मेलनमा यसबारेमा मन्त्रालयले सरकारले कुनैपनि निर्णय नगर्ने जानकारी गराएको हो ।

​४. विप्लवबारे सरकारको निर्णय

सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले गरेको मुद्दा खारेजको निर्णयलाई पार्टीले स्वागत गरेको प्रवक्ता प्रकाण्डले जनाएका छन् । उनले सो निर्णय तत्कालीन केपी ओली नेतृत्वको सरकार र आफ्नो पार्टीबीच भएको सहमति अनुसार भएको समेत जनाएका छन् ।

​५. राष्ट्र बैंकको रिपोर्ट

आर्थिक वर्ष २०७९–८० को पहिलो महिनामा नै विदेशी मुद्राको सञ्चितिमा १.५ प्रतिशतले गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तको तुलनामा साउन महिनामा १.५ प्रतिशतले घट्दै विदेशी मुद्राको सञ्चिति ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँमा झरेको हो । यस्तो सञ्चिति २०७९ असार मसान्तसम्म १२ खर्ब १५ ८० करोड रुपैयाँ रहेको थियो ।

६. वतः एमडिएमएस प्रणाली सुरु

नेपाल दुरसञ्चार प्राधिकरणले ३० भदौसम्म नेपालमा चलाइरहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाएको जनाएको छ । ३० भदौ पश्चात विदेशबाट व्यक्तिगत तवरले ल्याएका मोबाइल सेटलाई भने अनिवार्य रुपमा एमडिएमएस प्रविधिमा दर्ता गर्नुपर्ने छ ।   

​नेपाल टेलिकमले शुक्रबारदेखि ग्राहकलाई निःशुल्क ई–सिम वितरण गर्ने निर्णय गरेको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको हो ।

​थप आर्थिक समाचार

​७. खेल समाचार

अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु टोली नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको अनुमानित बजेट ४८ लाख भएको छ । एन्फाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको अनुमानित बजेट तय गरेको हो ।

​८. महाभियोग प्रकरण

सर्वोच्च अदालतका चार पूर्व प्रधानन्यायाधीशहरूले महाभियोग सिफारिस समितिले क्षेत्राधिकारभन्दा बाहिर जान नसक्ने बताएका छन् । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राणाले समितिमा बयान दिने क्रममा पूर्व प्रधानन्यायाधीशहरूलाई समेत मुछेपछि समितिले उनीहरुलाई छलफलका लागि बोलाउँदै पत्र काटेको थियो ।

​९. प्रमुख निर्वाचन आयुक्तको चेतावनी

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राख्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले निर्वाचन पर्यवेक्षकहरुका लागि नगरकोटमा बिहीबारदेखि सुरु गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा भाग लिने उमेदवारले एक महिनाभित्र खर्च सार्वजनीक नगरे ६ वर्ष कालो सूचीमा राख्ने बताएका हुन् । कालो सूचीमा परेका उम्मेदवारले ६ वर्ष फेरि उम्मेदवार बन्न नपाउने उनको भनाइ छ ।

​नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता गरेर कम्युनिस्ट आन्दोलन एकीकृत गर्न खोजेपनि प्रचण्डले आफुलाई छुरी रोपेको आरोप लगाएका छन् ।  बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई आफूले सम्मानपूर्वक आफ्नै सिट छेउमा राखेपनि उनले ग्वाम्मै छुरी रोपेको टिप्पणी गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर भएमा २०६२–०६३ को जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि गुम्न सक्ने बताएका छन् ।

पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्तरिक व्यवस्थापनमा सबैले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए ।

​१०. यो पनि...

नजिकिँदै गरेको दशैंतिहार तथा छठ जस्ता ठूला चाडपर्वलाई लिएर उपत्यका छाड्ने हजारौं यात्रुहरूको सुरक्षामा गम्भीर हुन यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग माग गरेको छ । बर्खाले भत्किएका तथा पहिरो गएका सडक संरचना, निर्माणाधिन भौतिक संरचना र संभावित जोखिम भएका संरचना समेत अविलम्ब मर्म तथा सुधार गर्न महासंघले सरकारसँग माग गरेको हो ।

​लगानी बोर्डको आयोजनामा भएको ‘सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम’ सम्पन्न भएको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले उद्घाटन गरेको फोरममा देशमा लगानीका विषयमा छलफल भएर सम्पन्न भएको हो ।

​नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १२६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७९० जनामा गरिएको नुमना परीक्षणमध्ये १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

​काभ्रेको बेथानचोक गाउँपालिकामा गएराती खसेको पहिरोमा परि एकै परिवारका ३ जनाको मृत्यु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर–४ चलालमा गएराती परेको वर्षाका कारण खसेको पहिरोले एक घर पुरिँदा उनीहरुको मृत्यु भएको हो ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप