बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अबको १० वर्षपछि नेपालमा नर्सको अभाव हुने संकेत

अहिलेसम्म २७ हजारभन्दा बढी नर्स विदेशमा
शुक्रबार, ३१ भदौ २०७९, ०६ : ५७
शुक्रबार, ३१ भदौ २०७९

नेपालमा अबको केही वर्षमा नर्सको अभाव हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । नेपाल सरकारको नीति र राष्ट्रिय चिकित्सा शिक्षा आयोगका कारण हाल नर्सको उत्पादन ह्वात्तै घटेको छ । जसले गर्दा अबको एक दशकपछि नै नेपालमा नर्सको अभाव हुने सरोकारवालाहरुको भनाइ छ ।

चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदनका अनुसार सन् २०३१ सम्ममा नेपालमा ६० देखि ७० हजार नर्स आवश्यक पर्ने देखाएको छ । तर वार्षिक रुपमा नर्स उत्पादन दर र नर्सहरुका लागि विदेशमा उपलब्ध अवसरका कारण त्यतिन्जेलसम्म नेपालमा नर्सको ठुलो अभाव हुने विज्ञहरु बताउँछन् ।

प्रत्येक वर्ष नेपालबाट १ देखि २ हजारको हाराहारीमा विदेश गइरहेका छन् । कतिपय मुलुकमा नेपाली नर्सका लागि रोजगारीको अवसर खुल्दैछन् भने कतिपय त प्रक्रियामै गइसकेका छन् । सामान्य हिसाबले पनि आगामी १० वर्षमा नर्सिङ क्षेत्रबाट जति जनशक्ति उत्पादन हुन्छ, त्यतिनै मात्रामा विदेशका लागि अवसर खुल्ने देखिएकाले आन्तरिक माग धान्न जनशक्तिको अभाव हुने देखिएको हो । अहिलेसम्म देशमा उत्पादन भएकामध्ये ३७ प्रतिशत नर्स देशबाहिर छन् ।

वार्षिक ४ हजार १०० हाराहारीमा पीसीएल लेभलका नर्स फेजआउट हुँदै आएका थिए । २ वर्षयता देशभरका ७८ वटा नर्सिङ कलेज बन्द छन् । जसले गर्दा दुई वर्षमा पीसीएल लेभलका ६ हजारभन्दा बढी जनशक्ति उत्पादन हुने बाटो पनि बन्द भएको छ ।

भएका नर्सहरूले समेत देशमा रोजगारीको राम्रो अवसर नपाएपछि विदेश पलायन हुनु परिरहेको छ । जसले गर्दा अबको एक दशकपछि नै विदेशबाट नर्स ल्याउनुपर्ने अवस्था आउन सक्ने फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका पूर्व अध्यक्ष तथा प्राविधिक शिक्षाको क्षेत्रमा लामो अनुभव प्राप्त व्यक्ति कश्यप पौडेलले बताए ।

‘हामीले त अबको ५ वर्षभित्रमै बाहिरबाट नर्स मगाउनुपर्ने अवस्था छ । हामीले पटकपटक राज्यलाई सचेत गराइरहेका छौं । तर, उल्टै नेपाली विद्यार्थीलाई जबरजस्ती विदेश जान बाध्य बनाइरहेको छ,’ पौडेलले भने ।

कसरी हुन्छ नर्सहरूको अभाव ?

नेपालमा हाल नेपाल नर्सिङ परिषद्बाट ७२ हजार ५५० जनाले नर्सिङको लाइसेन्स लिएका छन् । तीमध्ये २७ हजारभन्दा बढीले विदेश जान पाउँ भन्दै परिषद्बाट गुड स्ट्याण्डिङ सर्टिफिकेट लिएका छन् ।

त्यस अतिरिक्त स्वदेशमै कतिपय निर्माणाधीन अस्पतालका लागि ठुलो संख्यामा नर्स आवश्यक पर्दछ भने हरेक स्थानीय तह र सामुदायिक विद्यालयमा समेत नर्स अनिवार्य गरिएको छ ।

पौडेलका अनुसार यसअघि हरेक वर्ष ४ हजार १०० को हाराहारीमा पीसीएल नर्स उत्पादन हुन्थे । अहिले उत्पादन भनेको करिब एक हजार ३०० मात्र हो । त्यसमध्ये करिब ३०० नर्स बीएन पढ्न जान्छन् । करिब ३०० कै हाराहारीमा सरकारी सेवाबाट रिटायर हुन्छन् र त्यो ठाउँमा अर्कोले मौका पाउँछ ।

नेपालबाट हरेक वर्ष १ हजारभन्दा बढीको हाराहारीमा नर्स विदेश जाने गरेका छन् । त्यो पनि उतै सेटल हुनको लागि । नेपालले वैदेशिक रोजगारीका लागि बेलायतमा नर्स पठाउने तयारी गरिरहेको छ । पहिलो चरणमा बढीमा २०० नर्सलाई पठाउने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको छ ।

बेलायतले १० हजारको हाराहारीमा नर्स माग गरेको थियो । तर, नेपालले त्यसको यकिन जवाफ दिइसकेको छैन । मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसाल भन्छन्, ‘ठ्याक्कै कति पठाउने भन्ने टुङ्गो त लागेको छैन । हाम्रो आवश्यकता र उत्पादनको आधारमा पठाउने हो ।’

त्यस्तै जापानले समेत स्वास्थ्य क्षेत्रका कामदार माग गरेको छ । स्वास्थ्य क्षेत्रमा पनि बढीमा केयरगिभर तथा नर्सहरूलाई जोड दिएको छ । हालै इजरायलले लगेका १ हजार जना केयर गिभरमा ३०० भन्दा बढी नर्स छन् । उनीहरूमध्ये अधिकांशले नेपालका ठूल्ठूला अस्पतालमा खाइपाइ आएको जागिर छोडेर गएका हुन् ।

त्यस्तै सरकारले प्रत्येक सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू गरेको छ । जसमा माध्यमिक तहसम्म अध्यापन गराउने २५ हजार भन्दा बढी सामुदायिक विद्यालय छन् । यसका लागि २५ हजार कै हाराहारीमा नर्स चाहिन्छन् ।

त्यस्तै प्रत्येक स्थानीय तहले आधारभूत अस्पताल निर्माण गरिरहेका छन् । अहिलेसम्म ३०० भन्दा बढीको हाराहारीमा अस्पतालहरू निर्माणाधीन अवस्थामा छन् । एक अस्पतालमा कम्तीमा २० जना नर्स आवश्यक पर्छ । जसले गर्दा ती ३०० अस्पताललाई अबको केही वर्षमा ६ हजार नर्स चाहिन्छ ।

विषय परिवर्तन गरेर (एयर होस्टेज पढ्ने, बीबीएच पढ्न जाने, बी फार्मेसी पढ्न जाने) जानेको संख्या पनि ३०० कै हाराहारीमा छ । त्यस्तै बिहे गरेर विदेश जाने २०० को हाराहारीमा छ । उनीहरू यूरोप, अमेरिका, अष्ट्रेलिया, जापान, लगायतका देशमा डिपेण्डेण्ट भिसामा विदेश जाने र उतै बस्ने गर्दछन् ।

त्यसो हुँदा नेपालमा हरेक वर्ष १५० को हाराहारीमा मात्रै नर्स उत्पादन भइरहेको पौडेलको भनाइ छ । नेपाल नर्सिङ संघकी अध्यक्ष प्रोफेसर मनकुमारी राई पनि अबको केही वर्षमा नेपालमा नर्सको अभाव देखिन सक्नेत बताउँछिन् । उनले भनिन्, ‘विदेशिनु नर्सहरूको व्यक्तिगत करिअरका लागि त राम्रो हो । तर, यसले देशलाई समस्यामा पार्छ । एक दशकपछि हामीले विदेशबाट नर्स ल्याउनुपर्ने अवस्था आउन सक्छ ।’

उत्पादन भएका नर्सहरूलाई स्वदेशमै राम्रो सेवा सुविधासहित रोजगारीको अवसर दिएको खण्डमा बाहिर जाने बाध्यता नहुने उनको भनाइ छ ।

कति हुन्छ नेपालमा नर्सहरूको तलब ?

नेपालका सरकारी, सामुदायिक तथा निजी अस्पतालले नर्सहरूलाई के कस्तो सेवा सुविधा दिन्छन् भन्ने विषयमा केही नर्सहरूलाई सोध्यौं । नाम उल्लेख नगर्ने सर्तमा एक नर्सले भनिन्, ‘मासिक ८ देखि १० हजार रूपैयाँ तलबमा काम गर्नुपर्ने अवस्था छ ।’

काठमाडौंमा रहेका वीर, टिचिङ, गंगालाल, पाटन लगायतका ठूला अस्पतालले भने राम्रै सेवा सुविधा दिन्छन् । टिचिङमा कार्यरत एक नर्सले न्युनतम तलब बाहेक बेसिक सेलरीको ५० प्रतिशत थप भत्ता दिने गरेको बताइन् ।

टिचिङ अस्पतालमा ८ घण्टाको ड्युटी भएकाले अन्त काम नगरोस् भनेर बेसिक सेलरीको ५० प्रतिशत थप दिने गरेको उनको भनाइ छ । उनले भनिन्, ‘टिचिङमा पाँचौं तहको नर्सको ३२ हजार न्यूनतम तलब छ । त्यसमा ५० प्रतिशत थपेर दिन्छ । अन्य सेवा सुविधा पनि पाइन्छ ।’

त्यस्तै वीर अस्पतालले सरकारी सेवा सेवा सुविधा अनुसार नै स्थायी र करारलाई तलब दिइरहेको छ । गंगालालले सबैभन्दा राम्रो सेवा सुविधा दिन्छ । त्यस्तै पाटन अस्पतालले पनि सरकारी सेवा सुविधा अनुसार नै तलब भत्ता दिने गरेको पाइएको छ ।

ती बाहेक निजी अस्पतालमा भने अनुभवको आधारमा तलब दिने गरेको ती कर्मचारीले बताइन् । ‘निजी अस्पतालमा नयाँ नर्सलाई १४/१५ हजारदेखि तलव सुरू गर्छन् । अनुभव छ भने १८ हजारभन्दा माथि दिन्छन्,’ उनले भनिन् ।

केही वर्षअघिसम्म भोलेन्टियरको रूपमा काम गर्ने र गराउने प्रचलन थियो । अहिले सरकारले त्यसमा रोक लगाएको छ । तर पनि लुकीलुकी काम गर्ने र गराउने काम भइरहेको उनीहरूको भनाइ छ ।

‘भोलेन्टियरमा काम गराउँदा ८/१० हजारमात्रै हो तलब । त्यसैमा उनीहरूले अरूको बराबरै काम गर्नुपर्छ । एकदमै श्रम शोषण भइरहेको हुन्छ,’ ती नर्सले भनिन् ।     

बीएनतर्फ पनि उस्तै समस्या छ । चिकित्सा शिक्षा आयोगले गत वर्षको मंसिर २८ गते लिएको इन्ट्रान्स परीक्षाको नतिजा गत साउन १३ गते प्रकाशित गरेको थियो, जुन अहिले भर्ना भएर पढाई सुरू भइसकेको छ । कतिपय कलेजले विद्यार्थीको अभावमा पढाउन सकिरहेका छैनन् ।

आयोगले यो वर्ष माघतिर इन्ट्रान्स गर्ने बताएको थियो । त्यसको नतिजा फेरि अर्को वर्ष गर्छ । जसले गर्दा विद्यार्थी कम हुने, भएका पनि अर्को विषय पढ्नतिर लाग्ने र विदेशतिर जाने समस्या देखिएको पूर्व अध्यक्ष पौडेलले बताए ।

यसरी हेर्दा हरेक वर्ष एक हजार ५०० को हाराहारीमा नर्सहरू विदेश जाने, देशमा उत्पादन भइरहेको जनशक्ति पनि बन्द हुने अवस्था आएपछि ढिलो चाँडो नेपालले विदेशबाट नर्स ल्याउनुपर्ने अवस्था आउने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप