बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रातोपाटी ब्रिफिङ : यस्ता छन् ‘टप टेन’ समाचार

शुक्रबार, ३१ भदौ २०७९, २२ : ३४
शुक्रबार, ३१ भदौ २०७९

आज मिति २०७९ साल भदौ महिनाको ३१ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

१. महाभियोग सिफारिस समिति

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन शनिबार बुझाउने भएको छ ।

सिंहदरबारस्थित शुक्रबार बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरु साधेर प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरिएको र प्रतिवेदन शनिबार बुझाउने तयारी भएको सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।   संसद् आगामी असोज १ गते राति १२ बजे सकिने भएकाले समितिले शनिबार नै संसद्मा प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

​यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्तावको प्रतिवेदन संसद् सचिवालयमा शनिवार नै पेश गर्न नसकिने अडान राखेको छ ।

२. मतदाता नामावली सार्वजनिक

निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले शुक्रवार अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरेको हो ।  आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् ।

​निर्वाचन आयोगले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुन बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारवाही गरेको छ ।

आयोगका अनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउनु पर्ने दायित्व भएका उम्मेदवारहरू मध्ये सो बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १४ हजार ९५८ जना उम्मेदवारलाई र तोकिएको समयावधिपछि निर्वाचन खर्चको विवरण बुझाउने ८ हजार ६६६ जनासमेत गरी जम्मा एक लाख २३ हजार ६२४ जना उम्मेदवारहरूलाई तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोबारे आफ्नो सफाई सहितको स्पष्टीकरण सात दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमा पेस गर्न आदेश दिइएको थियो ।

​३. टुकुचाबारे रातोपाटीको विशेष कभरेज

टुकुचा मिचेर संरचना बनाइएको ५८१ वटा कित्ताका जग्गा र त्यहाँ बनेका घरमा डोजर चल्ने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर चल्ने भएको हो ।

शहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनलाई काठमाडौं महानगरपालिकाले स्वीकार गर्दै सोही योजना अनुसार टुकुचा खोला करिडोर बनाउन लागेको हो । त्यसका लागि बिहीबारदेखि महानगरपालिकाले टुकुचा खोला मिचिएको जय नेपाल हलबाट उत्खनन् सुरु गरेको छ ।

४ नेपालको ऐतिहासिक जित

भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई  १–० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

​५. समानुपातिकबारे जसपाको निर्णय

जनता समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको विषयमा छलफल सुरु गरेको छ । शुक्रवारदेखि सुरु भएको जसपाको कार्यकारिणी समितिको बैठकले संसदीय बोर्डबाट सिफारिस भएको समानुपातिक उम्मेदवारहरूको बारेमा छलफल सुरु भएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

​नेपाली कांग्रेस समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्द सूची बनाउने अन्तिम तयारीमा छ । कांग्रेसका ८ जना सहमहामन्त्रीले मातहतका समितिबाट केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारको नाम क्लस्टर अनुसार सूचीकृत गरेर प्रतिवेदन बुझाएका हुन् ।

​६. टीकाको साइत सार्वजनिक

यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः ५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसदिन बिहान १०ः ३४ बजे देवी विसर्जन गरी ११ः ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।

पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

​७. कर्मचारी सञ्चय कोषको ६० वर्ष

कर्मचारी सञ्चय कोषको आकार ४ खर्ब ५९ अर्बमाथि पुगेको छ । कोषको ६१ औं वार्षिक उत्सवका अवसरमा शुक्रबार सार्वजनिक गरिएको वित्तीय रिपोर्टअनुसार कोषको कुल स्रोत ४ खर्ब ५९ अर्ब ७० करोड रुपैयाँ पुगेको हो ।

साथै, सोही अवधिमा कोषको कुल लगानी ४ खर्ब ४८ अर्ब ६४ करोड रुपैयाँ पुगेको समेत रिपोर्टमा बताइएको छ ।

​राजस्व अनुसन्धान विभागले मुद्दा दायर गर्नको लागि सरकारी वकिलको कार्यालय पठाएका १८ वटा फाइल रोकिएका छन् । सरकारी वकिलको कार्यालयले समयमै राय नदिदा विभागले अनुसन्धान सकिएका फाइलको पनि न्यायिक निरुपण प्रक्रियामा लान पाएको छैन ।

​८. भोलि रातिदेखि संसदको कार्यकाल सकिने

सरकारले भोलि असोज १ गते राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।  शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

​९. कोरोना अपडेट

पछिल्लो २४ घण्टामा देशभर थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८२७ जनामा गरिएको नमुना परीक्षणमध्ये ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

​१०. यो पनि..

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गते (संविधान दिवस) को कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको कार्यकारिणी सदस्य अकवाल अहमदले बताए ।

​नेकपा माओवादी केन्द्रले सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर घोषणापत्रमा समेट्ने भएको छ । पार्टीको केन्द्रीय घोषणापत्र लेखन समितिको शुक्रवार पेरिसडाँडामा बसेको बैठकले सरोकारवाला निकायसँग छलफल गरेर सुझाव समेट्ने निर्णय गरेको हो ।

​भारतीय आयल निगमले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको छ। मूल्यसूचीअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको छ ।

​बैंकहरुले असोज महिनाको लागि १ अर्ब रुपैयाँभन्दा बढी खर्च बढाएका छन् । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृत हरुको संस्था नेपाल बैंकर्स एसोसिएसनले गरेको निर्णयका कारण बैंकहरुको असोज महिनाको खर्च १ अर्ब रुपैयाँ बृद्धि हुने देखिएको हो ।

​ थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप