शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण मैले लोसपा छाडेँ

कार्यकारिणी समिति सदस्य, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
शनिबार, ०१ असोज २०७९, ०८ : ०३
शनिबार, ०१ असोज २०७९

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य उमाशंकर अरगरिया एमालेमा प्रवेश गर्ने तयारी गरिरहेका छन् । उनी असोज ३ गते लोसपाबाट राजीनामा दिने र असोज ८ गते एमालेमा प्रवेश गर्ने तयारीमा लागेका छन् ।

२०७४ मा धनुषा–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका अरगरियाले जसपा विभाजन हुँदा उपेन्द्र यादवको साथ छाडेर महन्थ ठाकुरलाई साथ दिएका थिए । लोसपा गठन हुँदा उनी कार्यकारिणी सदस्य बने भने संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी पनि पाए ।

चुनावको मुखमा लोसपा छाडेर एमालेमा प्रवेश गर्न लागेका अरगरियासँग रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईंले किन लोसपा छाड्ने निर्णय गर्नुभयो ?

लोसपाले अहिलेसम्म पार्टीको रुप लिन सकेको छैन । लोसपालाई वैकल्पिक शक्ति बनाउने, ठुलो पार्टी बनाउने कुरा त भयो तर अहिलेसम्म केन्द्रीय समिति बन्न सकेको छैन । भ्रातृ संगठनको अवस्था त्यस्तै छ । जिल्ला तथा प्रदेश कमिटी बनाउँदा नेताहरुले आफ्ना गोजीका मान्छेलाई राख्ने काम गर्नुभयो । कार्यकारिणी समिति छ तर बैठक बस्दैन । बैठक बसे पनि त्यहाँ निर्णय सुनाउने काममात्र हुन्छ । कसैको राय सुझाव लिइँदैन । कसैको कुरा सुनिँदैन । चुनावका लागि गठबन्धन गर्ने निर्णय गरेको छ तर अहिलेसम्म बुलबुलको चालजस्तै कहिले यता, कहिले उता गइरहेको छ । समानुपातिकमा नेताहरुले आआफ्ना व्यक्तिको नाममात्र सिफारिस गरेका छन् । यस्तै अवस्था रहे लोसपालाई यसपटक थ्रेसहोल्ड कटाउन पनि मुस्किल हुनेछ । यस्ता थुप्रै कारण छन् जसले गर्दा मलाई लोसपा छाड्न बाध्य बनायो ।

एमाले अर्थात् ‘ओली मुक्त मधेस’ बनाउन आन्दोलन गर्नुभएका तपाईंले सोही पार्टीमा जाने निर्णय कसरी लिनुभयो ?

हामीले संघीयताका लागि आन्दोलन गरेका थियौं । त्यो संघीयता भ्रष्टाचार र लुटपाट गर्नका ल्याएका थिएनौं । मधेस प्रदेशमा मधेसी दलको पाँच वर्षसम्म सरकार टिक्यो । तपाईं नै भन्नुस्, मधेसमा भन्न लायक कुनै ठोस काम भएको छ ? भ्रष्टाचारले गर्दा पार्टीका नेता, मन्त्रीहरु गन्हाइ सकेका छन् । कतिपय अवस्थामा मधेसी नेता र उसको पार्टीबारे केपी शर्मा ओलीले गर्ने टिप्पणी ठिक हो जस्तो लाग्छ । ओली नेतृत्वमा सरकार भएको बेला थुप्रै विकासका काम भए । विकासको लहर नै चलेको थियो तर अहिले ती सबै बन्द भएका छन् ।

समृद्ध नेपाल बनाउन बोलेर वा कागजमा लेखेर हुँदैन, विकास नै गर्नुपर्छ, जुन अहिले देखिएको छैन । ओलीले विकासका योजनाहरु ल्याउनु भएको थियो । त्यसमा रकम हाल्नु भएको थियो तर अहिले ती सबै रकम कटौती गरिएको छ । कतिपय विकास योजना खारेज गरिएको छ । ओली नै यस्ता नेता हुनुहुन्छ जसले आफ्नो सम्पत्ति पनि राष्ट्रको नाममा गर्नुभयो तर मधेसका नेताहरु आफ्नो सम्पत्ति राष्ट्रको नाममा गर्नु कता हो कता, उल्टै मन्त्री पद बेच्नु हुन्छ, चुनावमा टिकट बेच्नु हुन्छ, समानुपातिक सिट बेच्नु हुन्छ । उहाँहरुले हरेक कुरालाई आर्थिक रुपमा हेर्ने गर्नुहुन्छ । राजनीतिलाई व्यपार बनाई सक्नु भएकोे छ ।

मधेसप्रति ओलीको सोच सही हो त अब ?

विगतमा उहाँले मधेसको बारेमा के बोल्नु भयो, के बोल्नु भएन, ती सबै कुरा छाड्नुस् । मधेसप्रति शेरबहादुर देउवा र प्रचण्डको दृष्टि पनि राम्रो छैन । बरु ओली मधेसमा आलोचित भए पनि उहाँले मधेसका लागि धेरै काम गर्नुभएको छ । त्यति काम देउवा र प्रचण्डले कहिल्यै गर्न सक्नु हुन्न । मधेस आन्दोलनको क्रममा लागेका मुद्दा फिर्ता लिनेदेखि लिएर संविधान संशोधनका लागि अध्ययन गर्न कार्यदलसमेत ओलीले बनाउनु भएको थियो । नागरिकताको समस्या अध्यादेशमार्फत समाधान गर्नुभएको थियो । उहाँले यस्ता थुप्रै काम गर्नुभएको थियो तर यिनै पाँच दलीय गठबन्धनका नेताहरुले सर्वोच्चमा मुद्दा हालेर सबै खारेज गराउने काम गर्नुभयो ।

अब तपाईं नै भन्नुस्, मधेस शुभचिन्तक ओली कि देउवा, प्रचण्ड, उपेन्द्र यादव, महन्थ ठाकुर ? ओलीले अहिले पनि भन्नुहुन्छ, जन्मसिद्ध नागरिकलाई नागरिकता दियो भने एमालेले सहयोग गर्न तयार छ तर त्यसका लागि उहाँहरु तयार हुनुहुन्न ।

तपाईंको पारिवारिक पृष्ठभूमि, स्कुलिङ सबै डेमोक्रेट छ तर तपाईं एकाएक वामपन्थीतिर जानुभयो, त्यहाँ आफूलाई कसरी ‘एडजस्ट’ गर्नुहुन्छ ?

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले हँसिया हथौडाका लागि भोट मागिरहनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रुख छापका लागि भोट मागिरहनु भएको छ । अब तपाईं नै भन्नुस्, कहाँ गयो विचार र सिद्धान्त ? गठबन्धन वा मोर्चा त विचार र सिद्धान्त मिल्नेहरुको बीचमा हुन्छ । अहिलेको गठबन्धनमा एउटा उत्तरी ध्रुवको, अर्को दक्षिणी ध्रुवको छ । यी दुई विपरीत ध्रुव कसरी मिले त ? नेपालमा विचार र सिद्धान्तको राजनीति अब बाँकी रहेन । सबै आ–आफ्नो स्वार्थका राजनीतिमा लागि सकेका छन् ।

त्यसो भए एमालेसँग मिल्नुमा तपाईंको चाहिँ के स्वार्थ छ त ?

मेरो कुनै स्वार्थ छैन । मैले अघि नै भनेँ कि ओलीको काम देखेर, ओलीको विचार सुनेर म प्रभावित भएँ । ओलीले मधेसमा पनि विकासका जुन लहर ल्याउनुभयो, त्यो अरु कुनै दलका नेताले कल्पनासमेत गर्न सक्नु हुन्न । त्यहाँसम्म उहाँहरुको दृष्टि नै पुग्दैन । म विचार र सिद्धान्तभन्दा पनि ओलीको काम गर्ने शैली, उहाँको सोचबाट प्रभावित भएर एमालेमा जान लागेको हुँ । तर म जहाँ भए पनि मधेसप्रति समर्पित रहने छु । मधेस आन्दोलनलाई जोगाइरहने छु ।

तपाईं लोसपामा रहँदा चुनाव जित्ने अवस्था नदेखेपछि एमालेमा जान लागेको भन्ने आरोप पनि लागिरहेको छ, यसमा के भन्नुहुन्छ ?

पहिलो कुरा, म एमालेसँग टिकटको बार्गेनिङ गरेर त्यो पार्टीमा जान लागेको होइन । म उम्मेदवार बन्नैपर्छ भन्ने पनि छैन । पार्टीले अरुलाई टिकट दिए पनि त्यसमा मलाई कुनै गुनासो छैन । मलाई दिए पनि म नाई भन्दिनँ । रह्यो चुनाव जित्ने कुरा, धनुषा क्षेत्र नम्बर २ का लागि उमाशंकर अरगरिया ब्राण्ड बनिसकेको छ । चुनाव जित्नका लागि कुनै पार्टीकै सहारा लिनुपर्छ भन्ने छैन । त्यहाँको जनताको मनमा म बसेको छु । जनताले मलाई नै चाहेका छन् । मैले पनि जनताको दुःखसुखमा साथ दिएको छु । त्यसैले चुनाव जित्नकै लागि एमालेमा जान लागेको भन्ने आरोपमा कुनै सत्यता छैन ।

यसअघि पनि पहिलो पटक चुनाव लड्दा म थोरै मतले चुनाव हारेको थिएँ । २०७४ को चुनावमा उपेन्द्र यादवले जवर्जस्ती प्रत्यक्षमा मलाई टिकट दिनुभयो । मलाई चुनाव लड्ने इच्छा थिएन । पार्टीले टिकट दिइसकेपछि चुनावमा भाग लिएँ । वाम गठबन्धन र कांग्रेसलाई हराएर मैले चुनाव जितेको थिएँ । अहिले पनि मेरो लागि त्यहाँ त्यही अवस्था छ ।

तपाईंसँग लोसपाबाट अरु कुनकुन नेता एमालेमा जाँदै हुनुहुन्छ ?

अहिले त्यो विषयमा कुरा नगरौं । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप