डाक्टर केसीको सत्याग्रह कि मूढाग्रह ?

person explore access_timeअसोज १, २०७९ chat_bubble_outline0

डाक्टर गोविन्द केसीको सत्याग्रहलाई आम मान्छेले सत्य कुराको रक्षा वा पालनाका निम्ति गरिने आग्रह भनेर बुझेका छन् । केही मान्छे र सत्तासीनहरूले जहिल्यै केसीको सत्याग्रहलाई मूढाग्रह र विधिको शासनका विरुद्धको जिद्दी, ढिपी र व्यक्ति सर्वोपरी बन्ने तरिका भनेर आलोचना गरेका छन् । आखिर किन यति धेरै पटक जीवन नै जोखिममा राखेर डाक्टर गोविन्द केसी अड्डी कस्छन् ? के मेडिकल साहु र प्राइभेट अस्पतालका सञ्चालकहरूले भनेझैँ केसी आफैँ मेडिकल माफिया हुन् ? नेपाली विद्यार्थी विदेश तस्करी गर्नेसँग मिलेर नेपालको मेडिकल शिक्षा तहसनहस पार्न लागेका गिरोहका मतियार हुन् ? या हुन् सच्चा सत्याग्रही ? आजको बहसको चुरो यही हो ।


गोविन्द केसीबारे अनेक भ्रम छरिएका छन् । अनेकौँ अफवाह फैलाइएका छन् । के सत्याग्रहको आवरणभित्र गोविन्द केसी राष्ट्रघात गरेर नेपालको मेडिकल सिध्याउने मतियार बन्दैछन् ? कुरा यहीँबाट सुरु गरौँ । यदि गोविन्द केसी मेडिकल माफिया र तिनका मोहोरा हुन् भने हाम्रो देशको सरकार उनीसँग बारम्बार सम्झौता किन गर्छ ? के एउटा अपराध गर्ने व्यक्तिसँग सरकार यसरी चुक्न सक्छ ? एक पटक होइन, दुई पटक पनि होइन डेढ दर्जन पटक सरकार र सरकारी संयन्त्र झुक्किन सक्छ एउटा अपराधी गिरोहसँग ? गोविन्द केसीसँग सम्झौता गर्ने सरकार के कुनै एक अमुक पार्टी मात्रै हो ? केसीसँग सम्झौता खिलराज रेग्मीको चुनावी सरकारदेखि प्रचण्ड, देउवा, सुशील र ओली सरकार सबैले गरेका छन् । त्यसैले लाभको हिस्सेदारी सबैको हो भने घातको मतियारी पनि सबैको हो । 



सरकार गोविन्द केसीको मागमा फसेर, झुक्किएर सम्झौता गर्छ भने सरकार स्वयं अपराधी हो । राष्ट्रघाती हो । सरकारले आजसम्म जेजे सम्झौता गरेर केही लागू पनि गरेको छ ती सबै अपराध कर्मको साक्षी र संरक्षक सरकार हो तर्कलाई मान्ने कि नमान्ने ? गोविन्द केसीका माग नाजायज थिए र छन् भने सिधै खारेज गरेर इन्कार गर्न सरकार किन सक्तैन ? यसर्थ पनि गोविन्द केसी सही छन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ । बरु शङ्का प्रश्न र सन्देह सरकारहरूसँग गरेर सरकारलाई मेडिकल माफियासँग मिलेको आरोप किन पनि लगाउन सकिन्छ भने सरकारहरू केवल सम्झौता गर्छन् तर सम्झौता कार्यान्वयनमा इमानदार बन्दैनन् । सम्झौता भएको मसी सुक्न नपाउँदै त्यसको विरुद्धमा जान्छन् । जुनसुकै पार्टी र नेताको सरकार बने पनि र जसले बनाए पनि मेडिकल व्यवसायीको धम्कीमा परिरहन्छन् ।



२०६९ सालदेखि जजसको सरकार बन्यो, ती सबैले प्रारम्भमा केसीलाई गलाउने थकाउने र थर्काउने रणनीति अख्तियार गरेको पाइन्छ । जब देश जाग्न थाल्छ गोविन्द केसीप्रति समर्थन व्यापक बन्छ तब मात्र सरकार लाजगाल ढाक्न सम्झौतारूपी जाली तमसुक गर्न आइपुग्छ । जाली यस मानेमा कि सरकारले गरेको सम्झौता कहिल्यै इमानसाथ पालन गर्दैन । त्यसैले त्यो जाली तमसुक बराबर नै झुट र ठगीको दस्तावेज बन्छ । यही कारण एउटा विषय र मुद्दामा सुरु भएको सत्याग्रह २०औँ पटक पुग्यो । 

अहिलेसम्म डाक्टर केसी दुई सय साठी दिनभन्दा बढी निर्जल, निराहार बसेर सरकारलाई खबरदारी गरिरहेका छन् । जीवन दाउमा राखिरहेका छन् । के एउटा अपराधी व्यक्तिले यो हदको नैतिक पाखण्ड गर्न सक्छ ? यति धेरै दुःख र कष्ट खेपेर बस्न सक्छ ? एउटा सन्त छवि निर्माण गरेर कहीँ र कहिल्यै नचुकेको बेदाग छवी राख्न सक्छ ? फेरि अविवाहित र सन्त प्रकृतिको मान्छेले द्रव्य मोहमा मरिमेटेको देखिएको पनि छैन । डाक्टर केसीलाई मेडिकल माफिया भनेर जति नै दुष्प्रचार गरिए पनि उनी कतै चुकेको प्रमाण आजसम्म भेटिएको छैन । यसले उनको निष्ठा आदर्श र समर्पण राष्ट्रका लागि भएर नै हो भनियो भने अतिशयोक्ति नहोला । ज्यादा प्रसंशा पनि नहोला । सत्य लेख्दा, बोल्दा र नजिकबाट चिन्नुको अर्थमा उनलाई खोतल्नुमा बढाइचढाई पनि नहोला । उनलाई लागेका आरोप खण्डनयोग्य छन् तर कुनै पनि कोणबाट मण्डनयोग्य आरोप नपाइनु उनको सबल पक्षकै कमाल हो भन्ने मेरो ठहर छ । मानव तस्करी जस्तो घीनलाग्दो हर्कत गरेर पैसा कमाउनुपर्ने जरुरी केसीले देखेका छैनन् । 

डाक्टर गोविन्द केसी कतै काम गरेर, आफ्नै सीप र विशेषज्ञता भजाएर, नाम हस्पिटलको बोर्डमा झुन्ड्याएर नै लाखौँ आम्दानी गर्न सक्छन् । अझ उनी लोभी र द्रव्य भोगी हुन्थे भने अवसरले उनलाई ढोका खोलेर स्वागत गथ्र्याे । आफ्नो नैतिक मूल्य र मान्यतालाई त्यागे मात्र पनि केसी विभिन्न राजनीतिक नियुक्ति, विश्वविद्यालयको उच्च तहको पदाधिकारी, सांसद र मन्त्रीसमेत बन्न सक्थे । सबै किसिमका सुविधा प्रलोभन र अवसर इन्कार गर्ने केसी कसरी भए माफिया दलाल ? दलिल पेस गर्न उनका समर्थकको तर्फबाट मेरो पनि विनम्र चुनौती छ ।  प्रमाणहीन कुरा गरेर उनकाबारे छरिने भ्रम क्षणिक भुलभुलैया मात्रै हुन् । पानीका फोका हुन् । ती सस्ता कुप्रचारको आयु लामो हुँदैन । केसीले आफ्नो निजी स्वार्थ भँजाएको र कतै लाभ लिएको देखेको र भेटेको भए सप्रमाण आउने र उनको विरोध गर्ने छुट सबैलाई छ । एउटा कुरा चाहिँ सत्य लाग्छ डाक्टर​ केसीजी पागल नै छन् र हुन् । उनी आफ्नो आदर्श र निष्ठामा अविचल छन् । ब्रह्माको आवाजलाई विश्वाश गर्छन्, त्यसैले उनी अनशन बस्न साइत कुर्दैनन् । आम मान्छेले भन्दा पृथक् भएर नै उनी आफ्ना लागि होइन अरूका लागि मर्न राजी भएका हुन् । त्यसैले केसी पागल पनि हुन् । अन्तरात्माको आवाज सुन्नेहरूलाई प्रायः पागल नै भनिन्छ । त्यसैले डाक्टर​ केसीजी पागल हुन् । 

गोविन्द केसीले २०६९ असारमा पहिलोपल्ट सत्याग्रहमा बस्दा केवल शिक्षण अस्पताल महाराजगञ्जको सुधार र त्यहाँको विकृति रोक्ने अभिलाशा राखेर मात्रै बसेका थिए । विकृतिको चुरो र अन्तर्य खोतल्ने क्रममा अख्तियार, अदालत हुँदै राजनीतिक पार्टीका ठूलाठूला नेतासम्म, पार्टी कार्यालयका भवनसम्म विकृति बेथिति र भ्रष्टचारको जरो पसेर गाडिएको भेटियो । यदाकदा केसीका माग स्वास्थ्य क्षेत्रको सीमा भन्दा पर गएजस्तो पनि लाग्छ तर त्यसरी जानुको मतलब लहरो तान्दा पहरो गर्जिएको हो । खोतल्दै जाँदा टुकुचा जय नेपाल हलको कम्पाउन्डभित्र भेटिए झैँ भीआईपी र भीभीआईपीको निवास र कार्यालयसम्म डन, माफिया, दलाल, भ्रष्टचारी र तस्कर संरक्षण गर्ने खोपी पाइएको हो । तिनको विरोध गर्नेक्रममा तिनलाई कारबाहीको माग राख्ने क्रममा विषय होरिजेन्टल भएर आएको सत्य हो । 

 डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला थालनी भएको अनसन अहिले १० वर्ष पूरा गरेर ११ वर्षमा प्रवेश गरेको छ । यसबीचमा उनले आजसम्म २६३ दिन भोकै बसेर सत्तासँग सिँगौरी खेलिसकेका छन् । यो भनेको एकमुष्ट हिसाबमा पौने नौ महिना हो । २०६६ सालदेखि नै चिकित्सा सुधारको माग उठाउन थालेर ज्ञापनपत्र बुझाउने, पदाधिकारीहरूसँग छलफल गर्नेलगायतका काम गर्दा कसैले माग सुनुवाइ नगरेको, सत्ता मागप्रति उदासीन रहेको कारण जनता जगाउने गरी भने २०६९ असारदेखि निर्जल निराहार बसेर आजपर्यन्त हरेक सरकारको टाउको दुखाइ बनेका छन् केसी । केसी उसै लहड र आवेशमा आएर तुच्छस्वार्थ बोकेर चिकित्सा सुधारको अभियानमा होमिएका होइनन् । उनी ७७ जिल्ला कम्तीमा दुई पटक पुगेका छन् । शिविर चलाएका छन् । नेपालको स्वास्थ्य अवस्था र ग्रामीणजीवन र त्यहाँका मान्छेका दुःख नजिकबाट नियालेका छन् । त्यति मात्रै होइन, देश विदेश पुगेका छन् त्यहाँको स्वास्थ्य नीति र सरकारको स्वास्थ्य सेवा र नागरिकप्रतिको दायित्व देखेका छन् । उनी स्वास्थ्य सेवाका लागि विपदमा नेपालको सीमा नाघेर भारत पाकिस्तान, बङ्गलादेश, भुटान, म्यान्मार, फिलिपिन्स यमनलगायत देशमा मानवीय कर्म चिकित्सक धर्मको श्लोगन बोकेर पुगेका छन् । केसी नेपालको ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्यको नाजुक स्थितिले धेरै पटक भावविह्वल बनेका छन् । 

अनसन बसेर डाक्टर केसीले सरकार र जनतालाई सचेत नबनाएका हुन्थे भने अहिले नेपालको त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय कलेजको सम्बन्धन बिक्रीको लाइसेन्स दिने अखडामा परिणत हुन्थ्यो भने चिकित्सा शिक्षा कालिमाटीको सब्जीमन्डी जस्तो बन्ने थियो । चिकित्सा शिक्षा र नीतिबारे यति भीषण बहस हुँदैनथ्यो । २०७१ पुसमा चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्च स्तरीय कार्यदल केदारभक्त माथेमाको नेतृत्वमा बनेर त्यसले २०७२ मा बुझाएको प्रतिवेदन केसीको सत्याग्रहको कारण नै सम्भव भएको हो । तर त्यसको कार्यन्वयन जुन रूपमा र जसरी हुनुपथ्र्याे त्यो भएको छैन । केसीको जोड स्वास्थ्य सेवा जनताको अधिकार भनेर संविधानमा लेखेपछि सो मुताबिक हुनुपर्छ । नेपालको सहरी क्षेत्रको स्वास्थ्यमा स्तरोन्नति र ग्रामीण भेगमा स्वास्थ्य सेवाको सुनिश्चितता अनि नेपालका सातै  प्रदेशमा सरकारी मेडिकल कलेज खोलेर स्वास्थ्य सेवा र जनशक्ति उत्पादन गर्ने सरकारको प्रतिबद्धता र यसअघि भएका सम्झौता पालना केसीका मागहरू हुन् । 

एउटा मान्छेको जिद्दीको अघि सरकार झुक्नुपर्ने स्थिति सामान्य मान्छेको बुताको विषय होइन । केसीजी सामान्य मान्छे हुन् तर नेपालको सन्दर्भमा असामान्य चरित्र, नैतिक तागत र अनुशासित बल बोकेर एक्लै उभिन साहस गर्ने, निर्भीक र कतै नचुकेका नागरिकको स्वास्थ्यलाई सर्वाेपरी महत्त्व दिने पात्र हुन् । केसीजी अब एक्लो व्यक्ति होइनन् । किनाराकृत मान्छेको आवाज, आवाजविहीन मान्छे र सीमान्तकृत मान्छेका प्रतिनिधि आवाज हुन् । एउटा आन्दोलन र प्रवाहको नाम हो डाक्टर गोविन्द केसी । न्याय र सत्यको प्रवक्ता हो निराशाको भुमरीबाट उठेको आशाको पुन्ज हो । 

डाक्टर गोविन्द केसीका माग र उद्देश्य प्रष्ट छन्– स्वास्थ्य सेवा र शिक्षालाई राज्यको दायित्वभित्र व्यवहारतः ल्याउने हो । शिक्षा र स्वास्थ्यमा सबै नेपालीको समान पहुँच र वर्चस्व स्थापना गर्ने हो । स्वास्थ्य र शिक्षामा गरिएको संवैधानिक ग्यारेन्टीको खोजी गर्ने हो । सामान्य स्वास्थ्य उपचार गर्दा पनि जनताले आफ्नो घर घडेरी बेच्नुपर्ने नियति अन्त्यका लागि केसी भोकभोकै लडेका छन् । केसी भन्छन मनाङ्ग, मुस्ताङ, रोल्पा डोल्पा र ताप्लेजुङ र तेह्रथुमले पनि अक्सिजन र भेन्टिलेटर पाउनुपर्छ सप्तरी र सिरहादेखि कैलाली र कञ्चनपुरसम्मले स्वास्थ्यमा आफ्नो पहुँच पाउनुपर्छ । यो देश सबैको हो । तसर्थ सबैलाई स्वास्थ्य र शिक्षाको सेवा र उज्यालोबाट वञ्चित गर्न पाइँदैन । केसीजी कम्तीमा तीन दिनदेखि लगातार २७ दिनसम्म भोकै बसेका छन् के यिनको यो त्याग सामान्य साधना, झिनो निष्ठा र तुच्छ स्वार्थको कारण सम्भव भएको हो ? करिब चार पटक केसीले मृत्यु नजिक पुगेको अनुभव गरेका छन् र आफ्नो माग पूरा नभएसम्म आफू बेहोस भए पनि कुनै उपचार नलिने कुरा आफ्ना सहयोगीलाई धेरै पटक सम्झाएका छन् । सामान्य मान्छेले यो हदको इमान र नैतिकता देखाउन सक्छ ? बेहोसपछिको नैतिकता बचाउने तर उपचार नगर्ने अठोटभन्दा ठूलो निष्ठा के हुन् सक्छ ? 

यसैबीच केसीको २०औँ अनशनको पाँचौँ दिन सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको र केसीले पनि डाक्टर जीवन क्षेत्रीको कमान्डमा वार्ता टोली बनाएर वातावरणलाई सहज बनाएका छन् । केसीका सबै माग सम्बोधन गर्दा सरकार हार्दैन । तसर्थ सबैको जित र खुसीका लागि सरकारले केसीका माग पूरा गरोस् । सत्याग्रह, मूढाग्रह होइन । सत्यलाई एकल कोणबाट मात्रै हेर्ने धृष्टता केसी र सरकार दुवै पक्षले नगरून् । तर सत्यको साक्षात्कार गर्न कसैले पनि खुट्टा तलमाथि नगरून् । वार्ता सफलताको शुभकामना । 

लेखक त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा अनुसन्धानरत छन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।