मोदीसँगको भेटमा पुटिनले भने–‘युक्रेन युद्ध सम्भव भएसम्म छिटो अन्त्य गर्न चाहन्छौं ’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा आफूले युक्रेन युद्ध ‘सम्भव भएसम्म छिटो’ अन्त्य गर्न चाहेको बताएका छन् । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले सार्वजनिक गरेको दुई नेताबीचको भेटघाटको विवरणमा उक्त कुरा उल्लेख छ ।
सांघाई कोअपरेसन अर्गनाइजेसन(एससीओ) को बैठकमा भाग लिन उज्वेकिस्तान पुगेका दुई नेताबीच शुक्रबार अलग द्वीपक्षीय वार्ता भएको थियो । भेटमा भारतीय प्रधानमन्त्रीले पुटिनसँग ‘आजको युग युद्धको युग नभएको र फोनमा पनि यस विषयमा जानकारी गराएको’ बताएका थिए । मोदीको संकेत युक्रेन माथिको रुसी आक्रमणतर्फ थियो ।
मोदीले प्रजातन्त्र, कुटनीति र वार्ताले विश्वलाई नजिक ल्याउने बताए । जवाफमा पुटिनले ‘युक्रेनले वार्ताको प्रस्ताव अस्वीकार गरेको बताए । ‘युक्रेन द्वन्द्वप्रति तपाईले आफ्ना चिन्ता निरन्तर व्यक्त गर्नु भएको छ । हामी युद्ध रोक्न सम्भव भएसम्म सबै गर्नेछौं । तर दुर्भाग्यवश युक्रेनी नेतृत्वले वार्ताको प्रक्रियालाई अस्वीकार गरिरहेको छ । उसले सैन्य माध्यमबाट उद्देश्य हासिल गर्ने घोषणा गरेको छ,’ पुटिनले मोदीसँग भने ।
भारत र रुस शीत युद्धकालदेखिका घनिष्ट मित्र शक्ति हुन् । अहिले पनि रुस भारतको सबैभन्दा ठूलो हतियार निर्यातक मुलुक हो । तर युक्रेन युद्ध सुरु भएपछि भारतले त्यसको विरोध जनाएको छ । भलै उसले पश्चिमी मुलुकजस्तो रुसी आयात निर्यात प्रतिबन्ध लगाएको छैन ।
मस्कोले भने ‘युक्रेनमा जारी विशेष सैन्य अपरेसन’ युक्रेनलाई आधार बनाएर हुनसक्ने पश्चिमी आक्रमकता रोक्न र पूर्वी युक्रेनमा बस्ने रुसी भाषीहरुको प्रतिरक्षाको लागि आवश्यक रहेको बताउने गरेको छ । पश्चिमी मुलुकले भने रुसका यी तर्कहरुलाई अस्वीकार गर्दै बिना सर्त युक्रेनमा रहेका रुसी सेना फिर्ता गर्नुपर्ने बताइरहेका छन् ।
यसबीच सेप्टेम्बर ६ देखि युक्रेनले पश्चिमले दिएका हतियारको सहयोगमा रुसी फौजविरुद्ध प्रत्याक्रमण सञ्चालन गर्न थालेको छ । त्यसमा युक्रेनले अप्रत्यासित सफलता हासिल गर्दा झण्डै ८ हजार वर्ग किमी जमिन रुसी कब्जाबाट फिर्ता गर्न सफल भएको छ ।
युक्रेन युद्धका कारण पश्चिमी प्रतिबन्ध भोगिरहँदा पुटिनले भारत र चीनजस्ता ठूला बजार रहेका मुलुकसँग न्यानो सम्बन्ध कायम राख्ने प्रयास गरिरहेका छन् । दुवै मुलुकले युक्रेन संकटपछि रुसी इन्धनको खरिद बढाएका छन् ।