बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई देउवाको व्यङ्ग्य : परमादेशले नै सँगै काम गर्ने अवसर जुरायो

शनिबार, ०१ असोज २०७९, १४ : ४५
शनिबार, ०१ असोज २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारलाई ‘परमादेशको सरकार’ भनेर टिप्पणी गरेको प्रति प्रतिनिधिसभामा व्यङ्ग्य गरेका छन् । आफ्नो सरकारसँगै संसद् पनि परमादेशबाट नै आएको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले त्यही कारणले अहिले सँगै संसदमा बसेर काम गर्ने अवसर मिलेको जिकिर गरेका हुन् ।

प्रम देउवाले भने, ‘हुन त हाम्रो प्रतिपक्षी दलको नेताले अहिले परमादेशको सरकार भनेर भन्नुहुनेछ । यो संसद् पनि परमादेशबाट आएको हो जसले गर्दा हामीसँगै काम गर्न पाइरहेका छौँ । परमादेश नभएको भए हामी सँगसँगै बसेर काम गर्नै पाउँदैन थियौँ । ठूल्ठूला विधेयक पास गर्न सक्दैन थियौँ । परमादेशले हामीलाई भेट्न मौका दिएकाले न्यायालयले पनि न्याय गर्ने मैले महसुस गरेको छु ।’

उनले गठबन्धन सरकार समग्रमा राम्रो उपलब्धि हासिल गरेको मैले महसुस गरेको बताए । सरकारले संघ प्रदेश र स्थानीय तहको निर्वाचनमा समयमा सम्पन्न गर्न लागेको उनको भनाई थियो ।  उनले गठबन्धन नेतृत्वको सरकारका कारण देशलाई पुनः संविधान बमोजिम मात्र चलाउने पद्धति बसेकोमा जोड दिए ।  प्रम देउवाले भने, ‘निर्वाचित संसद्ले विघटनको पहिलो समस्या पहिलोपटक बेहोर्नुपर्यो । जनताको अधिकार सुनिश्चित गर्न र जनताले संघर्ष गरी ल्याएको संविधानलाई बचाउन राजनीतिक दलबीच सहकार्य गरेर देशलाई पुनः संविधान बमोजिम मात्र चलाउने पद्धति बसेको छ ।’

उनले अहिलेको निर्वाचित संसदले संविधान बचाएको उल्लेख गरे ।  प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारले परराष्ट्र नीतिमा सुधार आएको समेत बताए ।  साथै मंसिर ४ गते निष्पक्ष शान्तिपूर्ण निर्वाचन गराउन सरकारले भूमिका खेल्ने प्रतिवद्धता ब्यक्त गरे ।  यस्तै अछाम, दार्चुला लगायतका विभिन्न जिल्लामा भएको बाढी पहिरो प्रभावितलाई क्षतिपूर्तिको व्यवस्था गर्ने समेत उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप