मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

'उपेन्द्र यादवले पत्र नै पठाएपछि जसपा फर्केको हुँ'

आइतबार, ०२ असोज २०७९, ०७ : ३०
आइतबार, ०२ असोज २०७९

जनता समाजवादी पार्टी नेपालबाट राजीनामा दिएकी रेणु यादव भदौ ३१ गते सो पार्टीमा फर्केकी छिन् । भौतिक मन्त्री पदबाट हटाएपछि असन्तुष्ट भएकी यादवले असार ३० गते वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकमा पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएकी थिइन । तर दुई महिना न बित्दै उनी पुनः जसपामा फर्केकी छिन् ।

जसपा उनी किन फर्किन, के के विषयमा भयो डिल, अगामी दिनको राजनीतिक कसरी अगाडी बढ्छ लगायतका विषयमा जसपाका कार्यकारिणी सदस्य रेणु यादवसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ यादवसँग गरिएको कुराकानीको सम्पादित अंश

तपाईले जसपाबाट राजीनामा दिनु भएको थियो । ठ्याक्कै दुई महिनापछि पार्टीमा फर्किनुभयो, किन छाड्नु भएको थियो र फेरि किन फर्किनु भयो ?

 मैले दिएको राजीनामा बारे धेरै जनालाई एउटा मिस कम्यूनिकेशन के भयो भने म पार्टीबाट नै राजीनामा दिएको हुँ रे । तर त्यस्तो होइन, म पार्टीबाट राजीनामा दिएको होइन, पार्टीमा रहेको म आफ्नो सबै पदबाट मात्र राजीनामा दिएको हुँ । पार्टीको साधारण सदस्यमा छँदै थिए । पार्टी सिस्टममा चल्नुपर्छ ।

पार्टीमा सिस्टममा नचलेको कारण एकखालको पीडा हुँदो रहेछ र त्यही पीडाका कारण मैले जसपाका सबै पदबाट राजीनामा दिएको थिएँ । तर धेरै मान्छेलाई के लाग्यो भने रेणु यादवले जसपाबाट राजीनामा दिनुभयो, उहाँ अब जसपामा रहनु भएन । आफ्ना पदबाट राजीनामा दिएर म चुप लागेर बसेँ । आफ्नो घरायसी कामहरुमा लागेँ । म २०४७ सालदेखि नै नेपालको सक्रिय राजनीतिमा थिएँ । १५ वर्ष त म फोरम नेपाल हुँदै जसपासम्ममा समय बिताएँ ।

म एउटा मधेशको महिला भएर पाँच–पाँच पटक चुनाव लडेको हुँ । त्यसमा कतिपटक हारे कतिपटक जिते त्यो बेग्लै कुरा हो । पार्टीमा योगदान दिएँ । सडक, सदन विभिन्न ठाउँमा संघर्ष गरेको महिला हुँ म । पार्टीको पदबाट राजीनामा दिएर बसेको बेला पार्टीकै कतिपय साथीहरुले यो चुनावको मुखमा तपाई जस्तो नेतृ यसरी चुप लगाएर बस्नु हुँदैन । साथीहरुले पार्टीमा फर्किन एक खालको दवाव नै दिनुभयो ।

मैले दिएको राजीनामा पार्टीको समितिबाट स्विकृत भएको थियो । तर पछि जसपाका अध्यक्ष उपेन्द्र यादवजीलाई पनि पार्टीमा मेरो आवश्यकता महसुस भयो कि के थाह छैन । उहाँले कार्यकारिणी समितिमा राखेको भनि पत्र पठाउनु भयो र पार्टीमा फर्किन आग्रह गर्नुभयो । त्यसपछि मैले आफ्ना आफन्त र साथीभाइसँग सल्लाह गरेँ । उहाँहरुले पनि चुनावको मुखमा यसरी गर्नुहुँदैन । पार्टीमै फर्किदा बेस हुने सल्लाह दिनु भयो । र, म पुनः पार्टीमा सक्रिय भएको हुँ । 

तपाईलाई मन्त्री पदबाट हटाएपछि जसपाबाट राजीनामा दिनुभएको थियो । के अब पार्टीमा फर्किँदा तपाईको मन्त्री पद पनि फर्किने भयो कि के हो ?

राजनीतिमा सबै कुरा पद र पैसा होइन । जो साथीले राजनीतिमा पद र पैसा मात्र देख्नु भएको छ, त्यसले यस्तो आरोप लगाउने गर्नु भएको छ । मधेशको महिला भएर पाँच–पाँच चोटी चुनाव लडेर आएको व्यक्ति हुँ म । अघिल्लो पटक गठबन्धनका कारण सीट नपाएको कारण म समानुपातिकबाट प्रतिनिधिसभामा आएको थिएँ । तर पाँच–पाँच पटक चुनाव लडेको व्यक्ति मै हुँ । धेरै महिलाले यसरी आँट गर्न सक्दैनन् होला जस्तो मलाई लाग्छ ।

मेरो लागि मन्त्री ठूलो कुरा होइन । म पहिला पनि मन्त्री र सांसद भएको थिएँ । पछि फेरि अवसर पाएँ । त्यसका लागि पार्टीलाई धन्यवाद पनि छ । म नौ महिना भौतिक मन्त्रालयमा बसेँ । मेरो पालामा धेरै ऐतिहासिक कामहरु भए । यसअघि शिक्षा मन्त्री हुँदा पनि मैले ऐतिहासिक कामहरु गरेका थिए । मेरै पालामा शिक्षामा आरक्षण प्रणाली लागुको भएको थियो । अहिले विद्यार्थीहरु आरक्षण कोटामा पढ्न पाएका छन् । त्यसमा मलाई गर्व लाग्छ । तराई मधेशमा सडकको अवस्था जर्जर थियो । तर म आएपछि टु लाइन, थ्री लाइन, फोर लाइनका सडकहरू बन्न थालेका छन् ।

कामहरु द्रुतगतिमा अगाडी बढेका छन् । भारतले रेल दिएपनि नेपालको तर्फबाट सञ्चालनमा आइरहेको थिएन म मन्त्री भएपछि त्यो रेल चलाउन पनि सफल भएँ । फास्ट ट्रयाकका कामहरु पनि अगाडी बढेको छ। हुलाकी सडक निर्माणको काम पनि थुप्रै ठाउँमा अगाडी बढे । अर्थात यस्ता थुप्रै महत्वपूर्ण कामहरु म मन्त्री भएको बेला गरेँ । तैपनि पार्टीले मन्त्रीबाट हटायो । हटाउनु कुनै ठूलो कुरा होइन । कोही पनि सधैका लागि मन्त्री बन्दैनन् । तर हटाउनु भन्दा पहिले एकपटक सल्लाह हुनुपथ्र्यो । अग्रिम जानकारी दिनुपथ्र्यो । त्यो काममा पार्टी त्यतिबेला चुकेको थियो ।

अर्को कुरा यदि मन्त्रीबाट पार्टीले हटायो भने चारै जनालाई हटाउनु पथ्र्यो । तीन जनालाई हटायो, एकजनालाई किन राख्यो त । चारजना मन्त्रीमध्ये तीनजना कामै नलाग्ने अनि एकजना मन्त्री सुपर कसरी भएँ । यदि पार्टीले मन्त्री हटाउने कुरा गरेको छ भने चारै जनालाई हटाउनु पथ्र्यो । त्यो ठाउँमा अर्को चार जना मन्त्री आउन सक्थे । अर्को कुरा, मलाई हटाए पछि त्यहाँ एकजना महिला पठाउनु पथ्र्यो त्यो पनि गरेन । त्यसले मलाई दुखी बनाएको थियो । म अहिले पनि भन्छु मेरो लागि मन्त्री पद ठूलो होइन । म पहिला पनि मन्त्री भइसकेको हुँ । तर पार्टी सिस्टममा चल्नुपर्छ त्यसमा मात्र मेरो आपत्ति थियो र छ पनि । ​

तपाईको जे असन्तुष्टि थियो त्यो सम्बोधन भयो त अब ?

 मैले मन्त्रीमा फिर्ता बोलाउन भनेको थिएन र त्यो चाहना पनि थिएन । अरुलाई हटाएर एकजना महिलालाई पठाउन पनि भन्न मिलेन किनभने अब यो मन्त्रीपरिषद् दुई महिनाका लागि मात्र हो । पार्टी सिस्टममा नचलेकोमा मेरो असन्तुष्टि हो । पार्टीले त्यसको रियलायज गरे होला अनि मलाई फिर्ता बोलाउने प्रयास गर्यो । पत्र नै पठाएर मलाई फिर्ता बोलाएको छ  पार्टीले । म फर्केँ । यो चुनावको मुखमा म एकजना व्यक्तिको कारण पार्टीलाई कुनै क्षति नहोस् भनि मेरो मन आयो । र, साथीहरुको सल्लाहमा म फर्केको हुँ । 

जसपाबाट राजीनामा दिइसकेपछि तपाई एमालेलगायत अन्य पार्टीमा जानका लागि कसरतमा हुनुहुन्थ्यो भन्ने चर्चा थियो । के यो सही हो ?

म कुनै पार्टीमा जानका लागि कसरतमा थिइनन् । त्यो कुरा एकदमै गलत हो । म पार्टीको पदहरुबाट राजीनामा दिएर घरमा निश्कृय भएर बसिरहँदा विभिन्न दलका नेताहरु मेरो सम्पर्कमा आउनु भयो, त्यो स्वभाविक हो । ती दलका नेताहरुको चाहना थियो कि म उहाँहरुको पार्टीमा गइदिउँ ।

उहाँहरुले पार्टीमा आउनका लागि प्रस्ताव पनि गर्नुभयो तर मैले पार्टीमा त के, कसैलाई कुनै आश्वासन पनि दिइनँ । मान्छे एउटा पार्टीबाट असन्तुष्ट भएर बसेपछि अर्को पार्टीले तान्ने कोशिस गर्नु अहिले मामुली भइसकेको छ । तर कुनै पार्टीले कसैसँग कुरा गर्दैमा त्यो पार्टीमा गइसक्यो भन्नु गलत हो । म कुनै नेताको घरमा वा पार्टी कार्यालयमा गएको छैन । कुनै नेतासँग भेटेको पनि छैन । कुनै कुनै नेता मेरै घरसम्म आए तर उहाँहरुलाई मैले चिया खुवाएर फर्काएको छु ।
 
जसपाभित्र तपाईमाथि एउटा के आरोप छ भने रेणु यादवले उपेन्द्र यादवलाई पार्टी फोड दिन्छु भनि पटक पटक थर्काएर, धम्काएर पार्टीमा विभिन्न फाइदा लिइरहनुभएको छ । के यो सत्य नै हो त ?

विल्कुल होइन, उपेन्द्र यादव मेरो आदरणीय व्यक्तित्व हुनुहुन्छ । उहाँलाई मैले कहिले थर्काएको, धम्काएको कुनै प्रमाण छ भने भन्नुस् । थर्काएर वा बार्गेनिङ गरेर कुनै फाइदा लिएको छु भने भन्नुस् । मलाई न रुचाउने कतिपय नेताहरुले यस्ता आरोपहरू लगाउने गरेका छन् । उपेन्द्र यादवसँग मेरो कुनै प्रतिस्पर्धा छैन । म पार्टीको अध्यक्ष बन्छु भन्ने मेरो सोचाई पनि छैन । अनि किन धम्काउनु किन थर्काउनु, त्यो बेकारको कुरा हो । हो, एउटा कुरा सही के हो भने मेरो प्रष्ट बोल्ने स्वभाव छ । पार्टीमा कुनै गलत काम भइरहेको हुन्छ भने म बोल्ने गरेको छु ।

म भित्र पचाएर, एक अर्कालाई धोका दिएर बोल्ने व्यक्ति होइन, मलाई जे सही लाग्छ त्यो कुरा म पार्टीमा राख्ने गरेको छु । सायद त्यही कुराले मलाई बेलाबेलामा विवादमा ल्याई दिने गरेको छ । अहिले पनि त्यही भएको छ । पार्टी सिस्टममा चलेन भनि पार्टीमा कुरा उठाएर पदबाट राजीनामा दिएको थिएँ । पार्टीका अध्यक्ष पनि सिस्टम विपरीत गइरहनु भएको छ त्यसको विरुद्धमा पनि बोल्नु पर्छ । र, म बोलिरहेको छु । हुनसक्छ म पार्टीमा कुरा राखि रहँदा त्यो नमिठो भएर कतिपयलाई सह्य हुँदैन ।

पार्टीमा हुने हरेक कुरामा ताली पिटेर बस्ने राजनीतिकर्मी म होइन । मेरो संस्कार र स्कुलिङले पनि त्यो भन्दैन । गलत गर्नुहुँदैन, गलत सहनु पनि हुँदैन, मलाई मेरो संस्कारले सिकाएको कुरा हो । म जुन दिन तत्कालीन मधेशी जनअधिकार फोरममा लागेको थिएँ । त्यो दिन म सांसद थिए ।

सांसद पद छाडेर म उपेन्द्र यादवको विचारबाट प्रभावित भएर फोरममा लागेको थिएँ । एउटा सांसद पदका लागि मान्छेले के के गर्छन् सबैलाई थाहा छ । तर मैले त्यतिबेला सांसद​ पदलाई त्यागेर उपेन्द्र यादवलाई साथ दिएको थिएँ । उपेन्द्र यादवको विचारलाई अहिले पनि कदर गर्छु । तर उहाँबाट पनि कहिले कही मिस्टेक हुन्छ, गल्ती हुन्छ । त्यो गल्तीको बारेमा बोल्नु भनेको थर्काउनु वा धम्काउनु होइन । 

तपाई जसपामा फर्किनु भएको छ । अब त तपाईको आगामी सांसद पद सुरक्षित भएको होला नि त ? 

 होइन, म सांसद पद सुरक्षित गर्नका लागि पार्टीमा फर्किएको होइन । यो प्रष्ट पार्न चाहन्छु । म मन्त्री हुँदा नै पार्टीको औपचारिक, अनौपचारिक बैठकहरू हुँदा म सांसदको दौडमा छैन भनि प्रष्ट पारेको थिए । मैले यसपाली पनि मन्त्री मागेको थिइनँ । सपथ ग्रहणको दिन अध्यक्ष उपेन्द्र यादवले मलाई सपथ ग्रहणका लागि जानुस् भन्नुभयो ।

त्यसअघि त्यसको बारेमा मलाई कुनै जानकारी दिइएको थिएन । मैले पनि मन्त्रीको लागि प्रयास गरेको थिइनँ । पार्टीकै कुनै नेता वा कार्यकर्ताले रेणु यादव पनि मन्त्री बन्नुपर्छ भनि भनेको होला त्यो बेग्लै कुरा हो । तर, मैले आफै मन्त्री पद मागेको थिइनँ । तर अध्यक्षज्युले मलाई दिनुभयो त्यसका लागि मैले अभार पनि व्यक्त गरेको छु ।

त्यस्तै सांसदका लागि पनि उपेन्द्रजीलाई भनेको छु, ‘चुनाव लड्ने क्षेत्र छैन, गठबन्धन हुँदा कहिले के, कहिले के भइरहेका हुन्छन् । मलाई नै समानुपातिकमा दिइरहनु पर्दैन अरुलाई पनि अवसर दिनुपर्छ ।’ तर पार्टीमा मलाई भूमिका दिनुपर्छ भनि भनेको छु ।

पार्टीमा मलाई काम गर्ने अवसर दिनुपर्छ भनेको छु । तर सांसदका लागि कहिले कुनै कुरा गरेको छैन । यद्यपि मैले त्याग गरेको ठाउँमा अरु कसैलाई अवसर दिँदा पार्टीमा उसको योगदान के छ, पार्टीप्रति कति इमान्दार छन् यी सबै कुरा हेरेर मात्र दिनुपर्छ । कसैको मुख हेरेर वा भागबण्डा हेरेर दिनु हुँदैन । त्यसमा फेरि मेरो आपत्ति हुनेछ । 

त्यसो भए यसपटक तपाई चुनाव पनि लड्नु हुन्न, समानुपातिकमा पनि जानु हुन्न ?

–गठबन्धनका कारण चुनावमा सीट नै हुँदैन जस्तो लाग्छ । सप्तरी–२ बाट उपेन्द्र यादव पुनः चुनाव लड्ने तयारी गरिरहनु भएको छ । समानुपातिक सांसद हुने चाहना मलाई छैन । समानुपातिक सांसद र प्रत्यक्षबाट जितेर आएको सांसदमा धेरैको फरक हुन्छ ।

सेवा सुविधा एउटै भएपनि जनतासँग प्रत्यक्ष जोडिने अवसर पाउँदैन । मनमा एक प्रकारको कताकता हीनताबोध भइरहेका हुन्छ । जितेर आएपछिको मज्जा बेग्लै हुन्छ, समानुपातिक पाउनु भनेको टिका लगाएको जस्तो फिल हुन्छ । त्यसैले समानुपातिकमा आउने मेरो चाहना पटकै छैन । तर पार्टीले चुनाव लड्न भन्यो भने त्यसमा विचार गर्छु । तर त्यसका लागि पनि मरिहत्ते गर्ने पक्षमा म छैन । मलाई केही समय पार्टीमा काम गर्ने इच्छा छ । 

यस पटकको चुनावमा जसपाको पोजिसन कस्तो हुन्छ, कस्तो तयारी भइरहेको छ ?

जसपाको अवस्था राम्रै छ । पहिलाभन्दा झन सुधार भएको छ । तर स्थानीय चुनावका कारण ग्रासरुटमा नेताहरुको बीचमा केही मनमुटाव भएको कारणले अन्तर्घात हुनसक्छ कि भनि एउटा डर छ । नभए सांगठनिक हिसाबले धेरै नै राम्रो छ । विगतको चुनावमा जसपा–लोसपा गठबन्धनले गर्दा पोजेटिभ म्यासेज दिएको थियो । यसपटक यी दुई दलबीच गठबन्धन नहुँदा केही खल्लो महसुस भइरहेको छ । अहिले पनि केही बिग्रेको छैन । यी दुई दलको गठबन्धन भयो भने अझै बेटर हुन्छ । 

तपाई पार्टीको नेतृत्व भूमिकामा रहेर काम गर्नुभयो, अन्त्यमा भन्दिनस् न यसपटकको चुनावमा जसपा कति सीट जित्छ ?

पहिलो कुरा त गठबन्धनमा सिटको बाँडफाँड हुन बाँकी नै छ । कुन दलले कति सीट पाउँछ त्यसको आधारमा मात्र भन्न सकिन्छ कि जसपा कति सिटमा जित्छ । गठबन्धनबाट पाउने अधिकांश सीट जसपाले जित्छ । सय प्रतिशत जित्छ भनि भन्न सकिँदैन । झुठा बोल्नु हुँदैन । तर गठबन्धनबाट पाउने अधिकांश सीट जसपाले जित्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप