शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा फोहोरबाट बायो ग्याँस उत्पादन : टेम्पोमा प्रयोग गर्न केन्द्रले अनुमति दियो, प्रदेशले दिएन

आइतबार, ०२ असोज २०७९, १० : १०
आइतबार, ०२ असोज २०७९

२०७८ पुस २० गते प्रधानमन्त्री शेरबहादुर देउवाले धरानमा आएर सिएनजी अर्थात् कम्प्रेस नेचुरल ग्याँसबाट टेम्पो चलाएर उद्घाटन गरे । फोहोरबाट उत्पादित उक्त ग्याँसले धरानमा दैनिक ३ सयदेखि ३५० वटा टेम्पोलाई पुग्ने अनुमान गरिएको थियो । प्रधानमन्त्रीले तामझामका साथ उद्घाटन गरेको ग्याँस प्रयोग गरेर टेम्पो चलाउने अनुमति दिन भने अझै सरकारी संयन्त्रले आनाकानी गरिरहेको छ ।

पेट्रोलबाट चलिरहेको टेम्पोमा यो ग्याँस प्रयोग गर्नका लागि एउटा सिलिण्डरसहितको किट परिवर्तन गर्ने र मल्टीफ्युल राखेपछि पेट्रोलले पनि चल्ने र ग्याँसले पनि चल्ने बनाउन सकिन्छ । यसरी ग्याँसबाट चल्ने बनाउनका लागि टेम्पोमा झण्डै ३० हजार रुपैयाँको लागत थप हुने बताइएको छ । 

तर, ग्याँसको प्रयोगबाट भने टेम्पोलाई पेट्रोलको लागत भन्दा आधा सस्तो पर्न जाने ग्याँस उत्पादक कम्पनीको भनाइ छ । कम्पनीका डाइरेक्टर विपुलराज पाण्डेका अनुसार हाल पेट्रोलको मूल्य १८० रुपैयाँ छ । यो ग्याँसको मूल्य १३० रुपैयाँ हो । ग्याँसले प्रतिकिलो ३२ देखि ३५ किलोमिटर कुद्न सक्छ । तर, पेट्रोलबाट प्रतिलिटर १६ देखि १८ किलोमिटर बढी कुद्छ । यस आधारमा हेर्दा ग्याँसमा १ किलोमिटरको ४ रुपैयाँ ५२ पैसा पर्छ । पेट्रोलमा भने ९ रुपैयाँ ७७ पैसा प्रति किलोमिटर बन्छ । 

देशमा पेट्रोलियम पदार्थको खपत कम गर्ने अभियान चलिरहेको बेला दैनिक ८ सय लिटर खपत कम गर्न सक्ने ग्याँसको प्रयोगमा भने कागजी प्रक्रिया देखाएर केन्द्र र प्रदेश सरकारले अनुमति भने दिएका छैनन् । हाल दैनिक ४ सय किलो उत्पादन भइरहेको र बालेर खेर फाल्नु परेको पाण्डे बताउँछन् । ‘दैनिक ४ सय किलो उत्पादन भइरहेको छ, धरानमा १५ सयभन्दा माथि टेम्पोहरु छन्,’ पाण्डे भन्छन्, ‘हाम्रो योजना भनेको ३ सयदेखि ३५० भन्दा माथिको सङ्ख्यामा अटो चलाउने प्लान बनाएका थियौँ । अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।’

प्रधानमन्त्रीले यो आयोजना उद्घाटन गरेसँगै कम्पनीले यातायात विभागमा स्वीकृतिका लागि निवेदन दियो । विभागले टेम्पोको मोडिफिकेसन गर्न पाइँदैन भन्यो । त्यसपछि प्रदेशको ऐन अनुसार प्रदेश मातहत यातायात कार्यालय रहेछ भने भनेर यहाँ पनि कम्पनीले निवेदन दियो । तर, प्रदेशले फेरि यो काम त यातायात विभाग केन्द्रबाट हुन्छ भनेर लेखेर विभागमा पठाइदियो । 

त्यसपछि केन्द्रको यातायात विभागको पहलमा क्याबिनेटबाट निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित भयो । ‘नेपाल सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७६ को अधिकार प्रयोग गरी सोही ऐनको दफा ३९ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश तीन वर्षसम्म लागू नहुने गरी ‘इन्धन प्रणालीमा वातावरणमैत्री वा उर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा’ छुट दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,’ आज्ञाले नेपाल सरकारका सचिव रवीन्द्रनाथ श्रेष्ठले गत चैत १४ गते प्रकाशित नेपाल राजपत्रमा उल्लेख छ । 

हेर्नुहोस् राजपत्र

तर, उक्त राजपत्र प्रकाशित भएपछि पनि प्रदेश सरकारले उक्त ग्याँस प्रयोग गर्न अनुमति दिएन । ‘भएको कानुनबाटै गाइड हुने गरी कार्यविधि बनाउनु नपर्ने भनेरै केन्द्र सरकारले स्वीकृति दियो । तर, यहाँ (प्रदेश) आएपछि यो त मिल्दैन कार्यविधि केन्द्रबाटै आउनुपर्छ भनेर अडान लिनुभयो,’ पाण्डे भन्छन्, ‘कार्यविधिलाई अगाडि बढाउन प्रदेश १ का मन्त्री उपेन्द्र घिमिरेले पहल गरेर पास पनि भयो । कुरा आएर कहाँ अड्कियो भने वर्कसप कहाँ छ भनेर प्रश्न उठाए । नेपालमा कुनै पनि सवारी साधनको वर्कसप त दर्ता भएकै छैन । वर्कसप नभएसम्म अनुमति दिन नसक्ने भन्ने उहाँहरूको कुरा आयो । सबै कार डिलर तथा सोरुमहरुको त वर्कसप त छ । तर, कुनै पनि दर्ता छैन । अनि हामीलाई चाहिँ वर्कसप बिना काम गर्न पाइँदैन भनेर रोक्ने ? कि सबैलाई रोक्नु पर्‍यो नि ? जति पनि डिलरहरू प्रदेश १ मा छन् उहाँहरूले पनि वर्कसप दर्ता नगराई बेच्न पाउनु भएन नि ! हामीलाई मात्रै यसो गर्न मिल्दैन कि जस्तो लाग्छ ।’

ग्याँस उत्पादन क्षमता दैनिक ६ सय किलो हो । तर, अहिले कै उत्पादन बालेर फालिरहनु परेको कारण त्यसरी उत्पादन गर्नुको अर्थ नहुने उनी बताउँछन् । ‘टेम्पोमा प्रयोग गर्ने बाहेक अन्य कुनै अप्सन छैन हामीसँग त्यसैले बालेर फाल्नु परेको छ । सिएनजी प्रयोग गरेर चल्ने गाडी पनि छैन नेपालमा ।’

यता, प्रदेश १ का यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले सबै प्रक्रिया पुरा गरेर सञ्चालनको अनुमति दिएको र केही कागजपत्र मिलाउनु पर्ने अवस्था रहेको बताए । ग्याँसबाट टेम्पो चलाउँदा अत्यन्तै उपयोगी र राम्रो हुने भएको कारण प्रदेश सरकारले आवश्यक सहजीकरण गरिरहेको पनि उनले बताए । 

उक्त कम्पनीले धरानको हिमालयन पेट्रोल पम्प नजिकै खहरे खोलाको छेउमा रिफिल स्टेसन समेत बनाएको छ । अहिले ६ वटा टेम्पोले परीक्षणको लागि भनेर नियमित उक्त ग्याँस प्रयोग गरिरहेका छन् । धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानवारीमा भेन्चर वेष्ट टु इनर्जीले फोहोर प्रशोधन केन्द्र निर्माण गरेको हो । लगभग २४ करोड ८० लाखको लगानीमा बनेको प्रशोधन केन्द्रले धरानबाट उत्पादन हुने ५० टन फोहोरको व्यवस्थापन गर्ने क्षमता रहेको जनाएको छ । उक्त प्रशोधन केन्द्रबाट ग्याँसका साथै मल उत्पादन पनि भइरहेको छ । 

ग्याँस प्रयोग गर्ने टेम्पोमा आवाज र पेट्रोलको गन्ध तथा धुवाँ पनि आउँदैन । जसका कारण प्रदूषण पनि कम हुने कम्पनीको दाबी छ ।  टेम्पो चालक धरान १९ का टंकबहादुर योङहाङ पनि खर्चको बचत, आवाज नआउने, गन्ध नआउने भएको र वातावरण मैत्री भएको हुनाले ग्याँस प्रयोगमा अनुमति दिनुपर्नेमा जोड दिन्छन् । उक्त ग्याँस खाना पकाउनका लागि पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप