अन्तरवार्ता

पञ्चकन्या ग्रुपको ५० वर्ष : इलामको किराना पसलदेखि व्यावसायिक साम्राज्यसम्मको यात्रा

person explore access_timeअसोज २, २०७९ chat_bubble_outline0

औद्योगिक घराना पञ्चकन्या ग्रुप सञ्चालनमा आएको ५० वर्ष पूरा भएको छ । ग्रुपका संस्थापक प्रेमबहादुर श्रेष्ठले इलामको फिक्कलमा किराना पसलबाट सुरु गरेको व्यवसाय अहिले ट्रेडिङ, हाउजिङ, कन्स्ट्रक्सन, जलविद्युत् जस्ता क्षेत्रमा संलग्न छ । यो ग्रुपको कार्यकारी निर्देशकको रूपमा तेस्रो पुस्ताका उज्ज्वलकुमार श्रेष्ठले नेतृत्व गरिरहेका छन् । 


पञ्चकन्या ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण, शिक्षा, स्वास्थ्य, सम्पदा र संस्कृति तथा क्षमता विकासमा बढी ध्यान दिएको छ । ५० वर्ष पुगेको उपलक्ष्यमा देशभरका ७ प्रदेशमा ग्रुपले प्राथमिकता दिने गरेका ५ विषयमा संस्थागत सामाजिक उत्तरदायित्वको प्रभावकारी काम गर्ने सोच राखिएको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् । व्यापारबाट सुरु भएको पञ्चकन्या अहिले उद्योग क्षेत्रमा बढी केन्द्रित छ । उद्योगमा पनि निर्माण क्षेत्रलाई विशेष प्राथमिकता दिइरहेको पञ्चकन्या ग्रुपको ५० वर्षे यात्रा, अबको उद्योग रणनीति र नयाँ योजनाबारे कार्यकारी निर्देशक श्रेष्ठसँग रातोपाटीका लागि शिव सत्यालले कुराकानी गरेका छन् :



–पञ्चकन्या ग्रुपले स्थापनाको ५० वर्षको विरासतलाई कसरी सम्झनु हुन्छ ?



पाँच दशक धेरै लामो समय हो । पञ्चकन्या स्थापनाको जग नै विश्वासमा अडिएको छ । हामीले सुरुका दिनदेखि गरेको कामबाट विश्वास दिलाउन सकेकाले नै धेरै कुरा फैलाउन सकेका छौँ । हामी यो बीचमा उद्योगका साथै जलविद्युत्, व्यापार, शिक्षाजस्ता धेरै क्षेत्रमा हामीले काम गरिरहेका छौँ । 

–पञ्चकन्या ग्रुप स्थापनको पृष्ठभूमिका बारेमा बताइदिनुस् न ?

पञ्चकन्याको पृष्ठभूमि धेरै नै रोचक छ । इलामको फिक्कलमा पञ्चकन्या मन्दिर छ । हाम्रो हजुरबुवा प्रेमबहादुर श्रेष्ठ राजनीतिमा आबद्ध हुनुहुन्थ्यो । काँग्रेस नेता बीपी कोइरालाका निकट रहेर काम गर्नुभएको थियो । तर उहाँले आफ्नो परिवारको पालनपोषण गर्नुपर्ने दायित्व बढ्दै गएपछि राजनीति छोड्नुभयो । त्यसपछि उहाँले फिक्कलमा झरेर किराना दोकान सुरु गर्नुभएको थियो । त्यो पसलबाट कमाउँदै गएपछि उहाँले झापा झरेर काठको व्यापार सुरु गर्नुभयो । उहाँले खासगरी भारतमा काठ निर्यात गरेर कमाउनुभएको थियो । त्यो व्यापारबाट पनि उहाँले टन्न पैसा कमाउनुभयो । “पैसा कमाएको साहु भन्थे, बोरामा पैसा बोकेर हिँड्थेँ” भनेर बेलाबेलामा उहाँले ठट्टा गरेर भन्नु पनि हुन्छ । 

प्रेमबहादुर श्रेष्ठ

त्यसपछि हजुरबुवाले झापाको विर्तामोडमा इँटाभट्टा सुरु गर्नुभयो । त्यो बेला उहाँले झापामा ६० बिघा जमिन लिनुभएको रहेछ । त्यसलाई घेर्नुपर्ने भयो । जमिन घेर्नका लागि इँटा चाहियो । त्यो बेला काठमाडौँमा मात्रै इँटा पाइने रहेछ । अनि हजुरबुवाले झापामै इँटाभट्टा खोल्नुभएछ । हाम्रो ग्रुपको पहिलो उद्योग नै त्यही इँटाभट्टा हो । अहिले पनि हामीले त्यो भट्टाको इँटा राखेका छौँ । त्यसमा पीकेआरएम (पञ्चकन्या राइस मिल) लेखिएको रहेछ । त्यो इँटा बजारमा सायद धेरै बिक्री भएन । त्यसपछि उहाँले झापामा चामल मिल स्थापना गर्नुभयो । त्यो मिलबाट बङ्गलादेश, भुटान र भारतमा उहाँले चामल निर्यात गर्ने गर्नुभएको थियो । 

झापामा उहाँको व्यवसाय विस्तार भइरहेको थियो । उहाँलाई त्यो क्षेत्रमा आफ्नो पहिचान बनाइसकेको भए पनि नेपालभर फैलाउने सोच रहेछ । त्यही बेलामा मेरो बुवा (ध्रुवकुमार श्रेष्ठ) को पनि विवाह गर्ने बेला भएको थियो । बुवाको विवाह भयो । मेरो आमातिरको हजुरबुवा (नगेन्द्रप्रसाद श्रेष्ठ) राजा वीरेन्द्रको सचिव हुनुहुन्थ्यो । दरबारसँगको त्यही नाताका कारण हजुरबुवाले उद्योगको एउटा लाइसेन्स पाउनुभयो । किनभने त्यतिबेला नेपालमा लाइसेन्स राज थियो । लाइसेन्स पाएपछि भैरहवाको कोटिहवामा पञ्चकन्या प्लास्टिक, पञ्चकन्या आइरन र पञ्चकन्या स्टिलको उद्योग स्थापना भयो । त्यहाँबाट सुरु भएको पञ्चकन्या ग्रुपको औद्योगिक यात्रामा ५, ६ प्रकारका उद्योग स्थापना भइसकको छ भने १२ देखि १५ प्रकारका फरक फरक वस्तुहरू उत्पादन गर्ने गरेका छौँ ।

–यो ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ त्यो बेला नै डाइनामिक व्यवसायी हुनुहुँदो रहेछ ?

आजको दिनमा पनि उहाँसँग जस्तो आँट छ, त्यति आँट त हामी सबैको मिलाएर पनि छैन । आज पनि उहाँसँग विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य, भारतको राजनीति, चीनको राजनीति जस्ता विषयमा जति ज्ञान छ, त्यति ज्ञान हामीसँग छैन । उहाँ नै हाम्रो प्रोत्साहनको स्रोत हो । उहाँसँग भेट हुँदा जहिले पनि व्यापारकै कुरा हुन्छ । आज ९१ वर्षको उमेरमा पनि उहाँ त्यतिकै सक्रिय देखिनुहुन्छ ।

पञ्चकन्या ग्रुपभित्र र पार्टनरसिपको व्यवसायमा गरी हामीले प्रत्यक्ष रूपमा २ हजार जनालाई रोजगारी दिएका छौँ । यसमध्ये काठमाडौँ उपत्यकाभित्र करिब ४ सय जनालाई रोजगारी दिइएको छ ।

–तपाईं अहिले पञ्चकन्या ग्रुपको कार्यकारी निर्देशक हुनुहुन्छ र तेस्रो पुस्ताको प्रतिनिधित्व गरिरहनुभएको छ, परिवारलाई एक ढिक्का राख्न पनि तपाईंका हजुरबुवाकै अहम् भूमिका हो ? 

संयुक्त व्यवसाय र पारिवारिक व्यवसाय संसारमै सबैभन्दा ठूलो व्यवसाय मानिन्छ । धेरैजसो व्यापारहरू पारिवारिक व्यवसाय वा संयुक्त व्यवसाय हुन्छन् । पञ्चकन्या समूह एउटा संयुक्त पारिवारिक व्यवसाय हो । यसमा जो व्यक्ति सबैभन्दा सिनियर हुन्छ, जो फाउन्डर हुन्छ, त्यो व्यक्तिसँग क्लियर भिजन भएपछि सबैले काम गर्नुपर्ने, लगनशील हुनुपर्ने, विश्वासमा काम गर्नुपर्ने हुन्छ । अनुशासनको वातावरण बनाएपछि सबै जना त्यो अनुशासनमा बाँधिनुपर्छ । घरको मूली नै दायाँबायाँ गर्ने भएपछि पारिवारिक व्यवसाय चल्न गाह्रो हुन्छ । 

हाम्रो घरमा घरायसीभन्दा बढी व्यापारिक कुराकानी हुन्छन् । व्यापारिक कुरामा बोलेका कुरा पुर्याउनै पर्यो, आफ्नो कुर्सी काम गरेर कमाउनुपर्यो । मैले पनि मार्केटिङ म्यानेजरबाट यहाँ काम सुरु गरेको हो । मेरो तलब १० हजार रूपैयाँभन्दा पनि कम थियो । आजको दिनमा पनि मेरोभन्दा कर्मचारीको तलब धेरै छ । मैले के भन्न खोजेको हो भने अघिल्लो पुस्ताले गरेको कामअनुसार नै पछिल्लो पुस्ता पनि चल्ने हो । 

–पञ्चकन्या ग्रुपले कुन कुन क्षेत्रमा उद्यम व्यवसाय गरिरहेको छ ?

हामी कृषिबाट छिरेका हौँ । कृषिपछि हाम्रो प्रवेश निर्माण क्षेत्रमा भयो । नेपालको पूर्वाधारको अवस्था हेर्दा यो क्षेत्रमा धेरै गर्नुपर्ने छ र त्यो गर्न सक्ने क्षमता पनि हामीसँग छ । हाम्रो कोर व्यवसाय निर्माण क्षेत्रकै छ । जस्तो कि फलामे डन्डी, ५ किसिमका पाइपहरू, ३/४ सय किसिमका फिटिङ बनाउँछौँ । हाम्रो आयात भनेको ३, ४ प्रतिशतमा सीमित छ । यस्तै हामी कङ्क्रिटमा प्रवेश गर्यौँ, अनि ट्याङ्कीमा प्रवेश गर्यौँ । झ्यालढोका बनाउन लाग्यौँ । जलविद्युतमा प्रवेश गर्यौँ र भोलिका दिनमा पनि निर्माण क्षेत्रमै बढी ध्यान दिने योजनामा छौँ । हामीले उद्योग सुरु गर्दा केही समय लिएर मात्रै सुरु गर्ने गरेका छौँ । किनभने हाम्रो सबैभन्दा ठूलो विश्वास भनेको नै उपभोक्ताको विश्वास हो । हाम्रो ग्रुपको यो विश्वास कायम राख्न सक्ने क्षेत्रमा मात्रै हात हाल्ने हाम्रो योजना छ । 

–पञ्चकन्या ग्रुपमा कतिले रोजगारी पाएका छन् ?

पञ्चकन्या ग्रुपभित्र र पार्टनरसिपको व्यवसायमा गरी हामीले प्रत्यक्ष रूपमा २ हजार जनालाई रोजगारी दिएका छौँ । यसमध्ये काठमाडौँ उपत्यकाभित्र करिब ४ सय जनालाई रोजगारी दिइएको छ । रोजगारी दिने क्रममा महिलालाई बढी प्रोत्साहन गर्ने गरेका छौँ । हेड अफिसकै कुरा गर्ने हो भने पनि करिब १५ प्रतिशत कर्मचारी महिला छन् । 

–ग्रुपको वार्षिक कारोबार कति रकम बराबरको हुने गरेको छ ?

वार्षिक कारोबार कति रकम बराबरको हुन्छ भनेर प्राइभेट कम्पनीको विवरण सार्वजनिक गर्नु त्यति उचित हुँदैन होला । नाफा, घाटा वा कति कमाइयो भन्नेभन्दा पनि विश्वास र इज्जत नै सबैभन्दा ठूलो विषय हो भन्ने मलाई लाग्छ । हामी ठिकै अवस्थामा छौँ । धेरै उद्योगहरू हामीभन्दा ठूला भइसकेका छन् । तर इज्जत र विश्वास भने हामीले जोगाएर राखेका छौँ । यो नै हाम्रो सबैभन्दा ठूलो आम्दानी हो ।

हाम्रो देशको पूर्वाधारका विषयमा धेरै नै छलफलहरू भएका छन् । तर कार्यान्वयन कमै हुने गरेको छ । हाम्रो देशका लागि जति पूर्वाधारहरू निर्माण हुनुपर्ने हो, त्यो हुन सकेको छैन । पूर्वाधार नभएका कारण हामी धेरै नै पछाडि पर्नुपरेको छ ।

–इलाममा किराना पसल र झापामा चामल मिलबाट सुरु भएको पञ्चकन्या ग्रुप अब नवीन सोचसहित अत्याधुनिक उद्यम व्यवसायमा हात हाल्ने कुनै तयारीमा छ ?

मैले के भन्ने गरेको छु भने हाम्रा बाजे बुवाहरूले हामीलाई जेजस्तो बनाइदिनुभएको छ, हामीले त्यसलाई नै प्राविधिक रूपमा एड्भान्स, बलियो र स्रोत तथा साधनको अधिकतम उपयोग गर्ने प्रकारको बनाउनुपर्छ । हामीले स्थापना गरेका सबै उद्योगहरू आन्तरिक रूपमा निकै नै बलियो छन् । अबका दिनमा कृषि, आर्टिफिसियल इन्टेलिजेन्स जस्ता विषयमा छिर्नुपर्छ भन्ने हामीले पनि सोच बनाएका छौँ । 

–तपाईं आफँै पनि अमेरिकामा अध्ययन गरेर फर्किनुभएको व्यक्ति, नेपालमा उद्यम व्यवसाय गर्ने सोचमा केही परिवर्तन आवश्यक छ भन्ने देख्नुहुन्छ ?

मैले के भन्ने गरेको छु भने आफ्नो ठाउँ, आफ्नो पहिचान र आफ्नो संस्कृति नबिर्साैं । अमेरिकाबाट फर्केको एक वर्षसम्म त म फ्रस्टेड थिएँ । विदेशमा मैले जे सिकेको थिएँ, नेपालमा त्यो हुन सकिरहेको थिएन । नेपालको काम गर्ने शैली बुझ्न नै मलाई साढे १ वर्ष जति लागेको थियो । त्यसपछि म एमबीए गर्न अस्ट्रेलिया गएँ । अस्ट्रेलियामा काम गर्न मलाई एकदमै सजिलो भयो । किनभने क्राइसिस म्यानेजमेन्टमा हामी धेरै नै अब्बल छौँ । कहिले द्वन्द्वकालको सङ्कट, कहिले राजनीतिक सङ्कट, कहिले भूकम्प आएको छ । हरेक देशमा आफ्नो विशेषता हुन्छ । आफ्नै खालको च्यालेन्ज हुन्छ । नेपालका काम गरेर सफल भएका व्यक्तिहरूले विदेशमा मौका पाउनु भयो भने धेरै नै फष्टाउनु हुन्छ जस्तो लाग्छ । किनभने हामी क्राइसिस म्यानेजमेन्ट एक्सपर्ट भइसकेका छौँ । 

पञ्चकन्या ग्रुपका उत्पादनहरू हेर्दा निर्माण क्षेत्रलाई अलि बढी ध्यान दिएको जस्तो लाग्छ, यो क्षेत्रलाई बढी केन्द्रमा राख्नुको कुनै कारण छ ?

हाम्रो देशको पूर्वाधारका विषयमा धेरै नै छलफलहरू भएका छन् । तर कार्यान्वयन कमै हुने गरेको छ । हाम्रो देशका लागि जति पूर्वाधारहरू निर्माण हुनुपर्ने हो, त्यो हुन सकेको छैन । पूर्वाधार नभएका कारण हामी धेरै नै पछाडि पर्नुपरेको छ । गुणस्तरीय उत्पादन हाम्रो पहिचान हो । निर्माण क्षेत्रका लागि चाहिने वस्तु पनि हामीले उत्पादन गरेका छौँ । गुणस्तरीय सामान उत्पादन गर्ने र निर्माण सामग्री उत्पादन गर्ने भएकाले हामीले निर्माण क्षेत्रका लागि पनि योगदान पुग्छ भनेर निर्माण क्षेत्रमै बढी जोड दिएका हौँ । 

–नयाँ लगानी वा उद्योग विस्तारको कुनै परियोजना बनाउँदै हुनुहुन्छ ?

गएको ११ वर्षको बीचमा हामीले करिब ५, ६ वटा फरक प्रकारका वस्तुहरू उत्पादन सुरु गर्यौँ । गएको ३, ४ वर्षयता हामीले हाम्रा पुराना उद्योगहरूमा नयाँ प्रविधि जडान र अत्याधुनिक बनाएका छौँ । हामीले पञ्चकन्या सिमेन्ट उत्पादनका लागि आवश्यक जमिन पनि लिएका छौँ र उद्योग दर्ता पनि भएको छ । हामी सिमेन्टमा प्रवेश गर्ने कि नगर्ने, प्रवेश गर्दा कसरी गर्ने भन्ने जस्ता आन्तरिक छलफलमै छौँ । त्यसपछि घरसँग सम्बन्धित प्लास्टिक उत्पादन गर्ने नयाँ उद्योगको गृहकार्य गरिरहेका छौँ । त्यो उद्योगमा करिब १ अर्ब जति लगानी आवश्यक पर्छ होला । नयाँ उद्योग स्थापना हुँदा अत्याधुनिक प्रविधिसहितको उद्योग स्थापना गर्छाैं । त्यसैले रोजगारी भने पहिलाको उद्योगहरूमा जस्तो गरेर धेरै नहुन सक्छ । अटोमेसनलाई नै हामीले बढी ध्यान दिएका छौँ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।