शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इरानमा २२ वर्षीया युवतीको मृत्यु भएपछि हंगामा, हिजाब उतारेर महिला उत्रिए विरोधमा

आइतबार, ०२ असोज २०७९, १७ : ४९
आइतबार, ०२ असोज २०७९

इरानमा धार्मिक मामिलासम्बन्धी प्रहरीले पक्राउ गर्दा मृत्यु भएकी एक महिलाको अन्त्येष्टिमा व्यापक विरोध प्रदर्शन भएको छ ।

२२ वर्षीया मेहसा अमिनीको शुक्रबार निधन भएको थियो । प्रत्यक्षदर्शीहरूले अमिनीलाई तेहरानमा गिरफ्तार गरेपछि भ्यानमा कुटपिट गरिएको बताएका छन्, तर प्रहरीले उक्त आरोप अस्वीकार गरेको छ ।

अमिनीको अन्त्येष्टिमा, केही महिलाहरूले विरोधमा आफ्नो हिजाब फुकालेको बताइएको छ, जबकि इरानमा हिजाब लगाउनु अनिवार्य छ ।

सामाजिक सञ्जालमा भिडियो भाइरल भइरहेको छ जसमा प्रदर्शनकारीहरूले ‘तानाशाह मुर्दाबाद’को नारा लगाएका छन् र पछि प्रहरीले भीडमाथि गोली चलाइरहेको छ ।

अमिनीको शव पश्चिमी कुर्दिस्तानको उनको गृहनगर सकिजमा गाडिएको छ ।

सामाजिक सञ्जालमा जारी भिडियोमा इरानी सुरक्षा बललाई गोप्य रूपमा शव गाड्न नदिने भन्दै बिहानैदेखि स्थानीय मानिसहरू भेला हुन थालेको बताइएको छ । विरोध प्रदर्शनबाट बच्न सुरक्षाकर्मीले यस्तो गर्न सक्ने आशंका थियो ।

रिपोर्टमा बताइए अनुसार यो मृत्युको विरोध जताउनका लागि केही क्रोधित प्रदर्शनकारीले स्थानीय गभर्नरको कार्यालयसम्म मार्च पनि गरेका थिए । बीबीसीको फारसी सेवाले एउटा भिडियो फेला पारेको छ, जसमाथि उसले पनि अनुसन्धान गरेको छ, उक्त भिडियोमा सुरक्षाबलले प्रदर्शनकारीमाथि गोली चलाइरहेका छन् ।

त्यहाँ मानिसहरु घाइते र पक्राउ परेको पनि समाचार छ । ट्विटरमा जारी गरिएको भिडियोमा सुरक्षा बलले गभर्नरको कार्यालयको सुरक्षा गर्दै र भवन नजिकै हिँडिरहेका प्रदर्शनकारीहरूलाई पक्राउ गरेको देख्न सकिन्छ ।

अमिनीको चिहानमा राखिएको ढुङ्गाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा लेखिएको छ, ‘तिमी मरेकी छैनौँ । तिम्रो नाम एउटा कोड हुनेछ ।’

अमिनीलाई किन पक्राउ गरियो ?

अमिनीलाई धार्मिक मामिला प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनलाई टाउको छोप्ने कडा ड्रेस कोडको पालना नगरेको आरोप लगाइएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरीले भ्यानमा उनलाई नराम्ररी कुटपिट गरेपछि उनी कोमामा गएकी थिइन् ।

इरानी प्रहरीले यी आरोपहरू अस्वीकार गरेको छ र अमिनीलाई ‘तत्काल हृदयघात’ भएको बताएको छ ।

इरानका कट्टरपन्थी राष्ट्रपति इब्राहिम रायसीले गृह मन्त्रालयलाई मृत्युको छानबिन गर्न आग्रह गरेका छन् ।

उत्तरी तेहरानस्थित कसरा अस्पतालले एक विज्ञप्तिमा अमिनीलाई सेप्टेम्बर १३ मा अस्पतालमा ल्याइएको र उनको शरीरको कुनै हलचल नभएको बताएको छ ।

तर, सामाजिक सञ्जालमा कट्टरपन्थी एकाउन्टले अस्पताललाई ‘सरकार विरोधी एजेन्ट’ भएको आरोप लगाएपछि अस्पतालको सामाजिक सञ्जाल अकाउन्टबाट यो वक्तव्य पछि हटाइएको थियो ।

इरानी टिभीले अमिनीको गिरफ्तारीको सीसीटीभी फुटेज पनि देखाएको थियो । मानवअधिकार कार्यकर्ताहरूले देशको सरकारी टिभीमाथि यो फुटेजलाई सेन्सर गरेको आरोप पनि लगाएको छ ताकि एउटा झुटो कहानी बताउन सकियोस् ।

साइबर सुरक्षा र इन्टरनेट गभर्नेन्सको अनुगमन गर्ने संस्था नेटब्लकका अनुसार अमिनीको मृत्युको खबर आएपछि इरानको राजधानी तेहरान र साकीजलगायतका धेरै ठाउँमा इन्टरनेटको समस्या देखिएको छ ।

धेरै प्रयोगकर्ताहरूले आफूहरु इन्स्टाग्राममा भिडियो अपलोड गर्न वा व्हाट्सएपमा मेसेज पठाउन समस्या भोगिरहेको बताएका छन् ।

यसैबीच, इरानको आधिकारिक पत्रिका शार्कले शनिबार तेहरानको इन्टरनेट स्पीडका कारण सेयर बजार प्रभावित भएको जानकारी दिएको छ ।

इरानमा महिला

सन् १९७९ मा इरानमा इस्लामिक क्रान्तिपछि महिलाले इस्लामिक लुगा लगाउनु पर्ने कानुन बनेको थियो । यसपछि महिलाहरूले आफ्नो शरीर छोप्ने सल लगाउनुका साथै टाउकोमा स्कार्फ वा हिजाब वा बुर्का लगाउन आवश्यक भयो ।

हालैका वर्षहरूमा, इरानमा हिजाबको अनिवार्य आवश्यकता बारे धेरै अभियानहरू सुरु गरिएको छ, तर इरानको धार्मिक मामिला प्रहरीले ड्रेस कोडको पालना नगरेको आरोपमा धेरै पटक कडा कारवाही गरेको छ, जसको विरुद्धमा विरोध प्रदर्शनहरू भएका छन् ।

यस्तै इरानको न्यायपालिकाका प्रमुख गुलाम हुसेन मोहसेनी–इजेईले यस अभियानको पछाडि विदेशी शक्तिहरू भएकोम आरोप लगाएका छन् । साथै उनले यसका पछाडि कसको हात रहेको भनेर पत्ता लगाउन गुप्तचर निकायलाई निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप