शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजस्व अनुसन्धानले माग्यो मालपोतहरुबाट घरजग्गा कारोबारको विवरण

आइतबार, ०२ असोज २०७९, १८ : १६
आइतबार, ०२ असोज २०७९

राजस्व अनुसन्धान विभागले शहरी क्षेत्रका मालपोत कार्यालयहरुसँग घरजग्गा कारोबारको विवरण मागेको छ । घरजग्गाको मूल्य बढी भएको तर पुँजीगत लाभकर छली भएको आशंकाले विभागले शहरी क्षेत्रका मालपोत कार्यालयहरुसँग  कारोबारको सम्पूर्ण विवरण मागेको हो ।

घरजग्गा कारोबारमा पुँजीगत लाभकर छलिएको उजुरी समेत परेपछि विभागले यस्तो विवरण मागेको हो । केही कारोबारमा पुँजीगत लाभकर छलिएकै पाइएपछि थप विवरण माग गरिएको विभागका महानिर्देशक झलकराम अधिकारीले बताए ।

‘ठूला कारोबार र उच्च मूल्यका शहरी क्षेत्रका कारोबारमा पुँजीगत लाभकर छलिएको उजुरी आएको छ, शंकास्पद कारोबार पनि भएको देखिएको छ, यसैले हामीले देशभरका प्रमुख मालपोत कार्यालयहरुबाट विवरण माग गरिरहेका छौं,’ महानिर्देशक अधिकारीले रातोपाटीसँग भने ।

विभागले सिमराको एउटा कारोबारको विषयमा भने अनुसन्धान सुरु नै गरेको छ । सिमराको १८ विगाहाको जग्गा कारोबारमा पुँजीगत लाभकर छलिएको आशंका गर्दै विभागले अनुसन्धान सुरु गरेको हो । सो कारोबारमा पुँजीगत लाभकर छल्ने उद्देश्यले कारोबार रकम निकै नै कम देखाइएको पाइएको छ । 
घरजग्गाको मूल्य अत्यधिक बढेको समयमा जग्गा किन्दै बेच्दै गर्नेहरुले प्रशस्त आम्दानी गरेका थिए । तर, यसरी आम्दानी गरेर बेच्दा पनि सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर नतिरी राजस्व चुहावट गरेको उजुरी परेपछि विभागले विवरण नै माग गरेर अनुसन्धान थालेको हो । 

अहिले आफूले किनेपछि ५ वर्ष वा सोभन्दा बढी समय आफैले राखेर बेच्दा जति फाइदा हुन्छ त्यसको २.५ प्रतिशत र ५ वर्षभन्दा कम समयमा विक्री गर्दा जति फाइदा हुन्छ त्यसको ५ प्रतिशतका दरले पुँजीगत लाभकर तिर्नुपर्छ । विभागले अहिले यही करको अनुसन्धान थालेको हो ।

विभागले काठमाडौं उपत्यका र मूल्य धेरै भएका शहरी क्षेत्रमा मालपोत कार्यालयहरूबाट विवरण मागेको जनाएको छ । यसरी विवरण माग्दा कति समयसम्मको विवरण मागिएको छ भन्ने विषयमा भने विभागले केही खुलाएन ।
‘हामीले काठमाडौं उपत्यका र मूल्य धेरै भएका शहरी क्षेत्रका मालपोत कार्यालयहरुबाट घरजग्गा कारोबारको विवरण मागेका छौं, केही मालपोत कार्यालयहरुबाट विवरण आउन पनि थालेको छ,’ विभाग स्रोतले भन्यो ।

सरकारले गत साउन महिनामा घरजग्गा कारोबारबाट ७४ करोड ७२ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ भने भदौ महिनामा १ अर्ब ५ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ ।  २०७८ साउन महिनामा भने सरकारले २ अर्ब ४ करोड रुपैयाँ पुँजीगत लाभकर घरजग्गा कारोबारबाट प्राप्त गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिव सत्याल
शिव सत्याल
लेखकबाट थप