शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिला साफ च्याम्पियनसिपः उपाधि बाहिर जान दिने छैनौँ !

आइतबार, ०२ असोज २०७९, २० : ४४
आइतबार, ०२ असोज २०७९

घरेलु भूमिमा आयोजना भइरहेको महिला साफ च्याम्पियनसिपको फाइनल खेल भोलि सोमबार हुँदैछ । 

भोलि हुने फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालमा नै दोस्रो पटक आयोजना भएको प्रतियोगिताको उपाधि यो पटक नेपाल आफ्नै पोल्टोमा राख्ने योजनामा छ ।

यसअघि विराटनगरमा सन् २०१९ मा भएको साफमा नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । तर, यो पटक भने नेपालले सेमिफाइनलमै भारतलाई हराउँदै ऐतिहासिक सफलता हात पारेको छ । 

साफ महिला च्याम्पियनसिपले अहिले नयाँ च्याम्पियन पाउँदैछ । यसअघि भएका प्रतियोगिताका पाँचवटै संस्करणमा भारतले उपाधि उचालेको थियो । जसमा नेपाल चार पटक फाइनल खेलमा भारतसँग पराजित भएको थियो । 

यो पटक भने नेपाल उपाधि बाहिर जान नदिने योजनामा छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कुमार थापाले नेपालले यो पटकको उपाधि जित्नेमा आफू ढुक्क रहेको बताए । 

‘हामी लामो समयदेखि नेपालले साफ च्याम्पियनसिपको उपाधि जित्ने सपना देख्यौँ, त्यो मौका अहिले आएको छ । उसो त यसअघिमा पाँच संस्करणमा नेपाललाई मौका नआएको पनि होइन । तर यो पटक भने वातावरण हाम्रै पक्षमा छ । हामी उपाधि बाहिर जान दिने छैनौं,’ थापाले भने । 

थापाले नेपाली टोली फाइनल खेलका लागि सबै हिसावले तयार भएको बताए । खेलाडीहरु बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने योजनामा रहेको उनको भनाइ छ । 

‘अहिले नगरे पछि के हुन्छ भन्न सकिँदैन । खेलाडीहरु उपाधिका लागि तयार छन् । यो पटक उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नुपर्छ भन्ने हाम्रो मानसिकता नै बनेको छ,’ थापाले भने । 

जारी प्रतियोगिताका सबै खेलमा नेपाल र बंगलादेश दुबै टोलीले क्लिन सिट राखेका छन् । नेपाल पाँचौं पटक फाइनलमा प्रवेश गरेको टोली हो भने बंगलादेश दोस्रो पटक फाइनलमा प्रवेश गरेको टोली हो ।  

मुख्य प्रशिक्षक थापा उपाधि नै मुख्य लक्ष्य भएको र कुनै पनि चुनौती सामना गर्न टोली सबै किसिमले तयार भएको बताए । टिमलाई मिलाएर अघि लाने र पाँचै खेलाडी परिवर्तनको योजना पनि रहेको उनले बताए । 

शुक्रवार भएको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई १–० गोल अन्तरले हराएको थियो । यता बंगलादेशले भुटानमाथि ८–० को फराकिलो जित निकालेको थियो । 

‘हाम्रो नजर उपाधिमा हो । हामी उपाधिका लागि मात्र खेल्छौँ । टिममा परिवर्तन गर्न मिल्ने पाँचै खेलाडीलाई परिवर्तन गर्नेछौं । ता कि खेलाडीहरुले आफ्नो खेल कौशलता देखाउँदै आगामी दिनमा पनि मौका पाऊन्,’ थापाले भने । 

सन् २०१६ को संस्करणमा सेमिफाइनलबाट नै बाहिरिएको नेपाल अन्य संस्करणमा भने उपविजेतामा सीमित हुँदै आएको छ । बंगलादेशका प्रशिक्षक गोलाम रब्बानी छोटोनले नेपालको मैदानमा हुन लागेको फाइनल खेल बंगलादेशका लागि सहज नभएको बताए । 

नेपाल सबै रुपमा बलियो टिम भएकाले आफूहरु पनि सोहीअनुसार तयार भएको उनले बताए । घरेलु दर्शकका माझ नेपालले केही कुरामा सहजता ल्याउने भएपनि आफूहरुले पनि दर्शकको माया पाउनेमा आशारत रहेको रब्बानीको भनाइ छ । 

नेपाली टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले पछिल्लो पटक खेलाडीहरु उच्च मनोबलमा रहेका कारण भोलिको खेल उत्कृष्ट रहने बताइन् । उनले फाइनल खेलमा जित निकाल्दै उपाधि दिलाउँदा सबैकौ सफलतासँग जोडिने बताइन् । 

‘भोलिको खेल सामान्य हुने छैन । बंगालादेश पनि बलियो टोली हो । हाम्रो विगतको नतिजा हेर्दा बंगलादेशसँग राम्रो इतिहास छ । तर, यो पटक भने फरक हुनेछ । फाइनलका लागि खेलाडीहरु तयार छन्,’ एन्जिलाले भनिन् । 

एन्जिलाले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गरिरहेकी छन् । उनले भारतलाई हराउँदा नेपाली टोलीको कप्तानी गर्ने खेलाडीको रुपमा पनि इतिहास बनाइ सकेकी छन् । 

नेपालले ३ खेल खेल्दा ११ गोल गरेको छ । नेपाली टोलीका अनुभवी खेलाडी सावित्रा भण्डारी अस्वस्थताका कारण पछिल्ला दुई खेल गुमाइसकेकी छिन् । सोमवार हुने फाइनलमा पनि सावित्राको उपस्थिति अन्यौल बनेको छ । 

सावित्राले सामान्य रुपमा प्रशिक्षण भने गरिरहेकी छन् । सावित्राको रिपोर्ट आजै आइतबार आउने मुख्य प्रशिक्षक कुमार थापाले बताएका छन् । 

यता बंगलादेशकी कप्तान सविना खातुनले नेपाली टोलीको सामना गर्न आपूmहरु शारीरिक र मानसिक रुपमा तयार भएको बताइन् । फाइनल खेलका लागि समय भएका कारण त्यो समयमा आफूहरुले राम्रो रणनीति बनाएर अघि बढिरहेको उनको भनाइ छ ।

‘घरेलु टोलीसँगको फाइनल खेल सहज हुने छैन । तर, समूह चरणदेखि सेमिफाइनलको नतिजा हेर्दा हामी सबै रुपमा तयार छौं । मात्र मैदानमा उपाधिका लागि भिड्न बाँकी छ,’ उनले भनिन् । 

नेपालले सन् २०१६ मा उपविजेता बंगलादेशलाई प्रतिद्वन्द्वी पाएको थियो । यस अघिका संस्करणमा नेपाल र बंगलादेश तीन पटक आमने सामने भएका छन् । सबै भेटमा नेपालले जित निकालेको छ । 

सन् २०१० को पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–० गोल अन्तरले हराएको थियो । त्यसपछि सन् २०१४ दोस्रो भेट नेपालले १–० र २०१९ को भेटमा पनि नेपालले ३–० को जित निकालेको थियो । 

छैटौं संस्करणमा पनि नेपाललाई यस्तै नतिजाको अपेक्षा छ । तर, त्यसका लागि नेपालले सन्तुलित रुपमा चनाखो भएर मैदानमा भिड्न आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप