शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केही रोचक जानकारी, लामखुट्टेको कथा

सोमबार, ०३ असोज २०७९, ११ : ३७
सोमबार, ०३ असोज २०७९

मुसाको संसार 
कसैले मुसाको वजन कतिसम्म होला भनेर सोध्यो भने भाइबहिनीहरू के भन्छौँ ? होला त्यस्तै एक, दुई किलो, यही होइन ? हदै भए तीनचार किलोसम्म पनि भन्न सक्छौ, होकिहोइन ? हो, सबैलाई लाग्ने त्यस्तै हो तर त्यो आधामात्र सत्य हो । पूर्ण सत्य होइन । पूर्ण सत्य त यही हो कि पृथिवीमा पाइने विभिन्न प्रजातिका मुसामध्ये केही प्रजातिका मुसा वजन ८० किलो ग्रामसम्मका हुन्छन् । त्यतिमात्र होइन कुनै बेला यसै पृथिवीमा ४५३ किलो ग्रामसम्मका मुसा पाइन्थे । वैज्ञानिकहरूका अनुसार त्यतिबेलाका मुसाहरू खच्चडभन्दा पनि ठूला हुने गर्थे । 

लामखुट्टेको कथा
लामखुट्टे सबैले देखेका छौँ । आकृतिका हिसावले यिनीहरू कति साना हुन्छन् त्यो पनि थाहा छ तर संसारका मानिस यदि कसैबाट बढी पीडित छन् भने लामखुट्टेबाटै छन् । अहिले पनि औलो आदि लामखुट्टेबाट सर्ने रोगका कारण वर्सेनि लाखौँ मानिसको ज्यान जाने गरेको छ । पछिल्लो अवस्थामा यसले डेङ्गुको नाममा आतङ्कै मच्चाएको छ । तथापि सत्य के हो भने प्राकृतिक स्थिति बनाइराख्न लामखुट्टेको योगदान पनि बिर्सनै नसकिने खालको छ । वैज्ञानिकहरू भन्छन्– हाल संसारमा तीन हजार ५०० प्रजातिका लामखुट्टे भेटिन्छन् तर ती सबैले टोक्दैनन् । नटोक्ने भएपछि पिडित हुनुपर्ने कुरा प्रश्नै रहेन । मानिसलाई टोक्ने भनेको पोथी लामखुट्टेले मात्र हो, जसलाई अन्डा पार्न मानव रगतको सहयोग चाहिन्छ तर प्राकृतिक स्थिति बनाइराख्ने काममा भने दुवैको भूमिका उत्तिकै हुन्छ ।  

मौरीको विशेषता
मौरी कति सानो हुन्छ भाइबहिनीहरूले पनि देखेकै हुनुपर्छ । उनीहरूले बनाएका मह कति मीठो हुन्छ त्यो पनि थाहा छ । यसलाई कतिपय रोगको औषधीको रूपमा समेत लिने गरिएको छ । प्रायः आयुर्वेदिक डक्टर, वैद्य, कविराजहरू कतिपय औषधी महको साथमा खानुपर्ने बताउँछन् तर त्यति सानो जीवको आमाशय दुईवटा हुन्छन् भनेको सुन्दा भने आश्चर्य लाग्न सक्छ तर यथार्थ त्यही हो । वैज्ञानिकहरूका अनुसार प्रत्येक मौरीको आमाशय दुईवटा हुन्छन् । यीमध्ये एउटा उनीहरूले खाएको चीज राख्ने काममा प्रयोग गर्छन् भने अर्कोमा आफूले सङ्कलन गरेको पूmलको पराग राख्ने गर्छन् ।  

हाम्रो शरीरको रहस्य
शरीर हामी सबैसँग छ । यसैका कारण बोल्न, हिँड्न, खान, सुत्न, पढ्न, लेख्न सक्छौँ तर त्यही शरीरको रहश्य भने धेरैलाई थाहा नहुन सक्छ । हाम्रो शरीर स्थूल, सूक्ष्म, कारण गरी तीन किसिमका हुन्छन । यीमध्ये स्थूल शरीरमा पञ्चकोष र नौ प्रणाली हुन्छन् । यीमध्ये पञ्चकोषमा अन्नमयकोष, प्राणमयकोष, मनोमयकोष, विज्ञानमयकोष र आनन्दमयकोष पर्छन् । त्यस्तै नौ प्रणालीमा रक्तसञ्चार प्रणाली, श्वासप्रश्वास प्रणाली, पाचन प्रणाली, स्नायु प्रणाली, मांशपेशी प्रणाली, अस्थिपञ्जर प्रणाली, गन्थी प्रणाली, प्रजनन प्रणाली र मलमूत्र विसर्जन प्रणाली पर्छन् । त्यस्तै सूक्ष्म शरीरमा १० इन्द्रिय तथा मन, बुद्धि, चित्त र अहङ्कार रहेका हुन्छन् भने कारण शरीरमा इन्द्रिय तथा मन, बुद्धि, चित्त र अहङ्कारले सञ्चित गर्ने वासना छिपेको हुन्छ ।

स्रोतः विभिन्न पुस्तक तथा पत्रपत्रिका  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप