शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिभिल सहकारीको नाममा किनिएको जग्गा इच्छाराजको स्वामित्वमा !

सोमबार, ०३ असोज २०७९, १९ : २८
सोमबार, ०३ असोज २०७९

सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका नामा विभिन्न समयमा किनिएका जग्गा तथा भवन व्यक्तिको नाममा पुगेको पाइएको छ । सहकारीले पैसा तिरेर किनेको सुन्धाराको सिभिल मल र सिटिसी मल तथा सोल्टीमोडको आफ्नै भवन पनि संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङको स्वामित्वमा पुगेको हो ।

सिभिल सहकारी पीडितहरूका अनुसार काठमाडौँको सुन्धारामा रहेको १२ रोपनी जग्गा र त्यसमा बनेको सिभिल बिजनेस कम्प्लेक्स भवनको ५० प्रतिशत स्वामित्व सिभिल सहकारीको थियो । र, सो जग्गा खरिद गर्न जग्गाधनीलाई सहकारीबाट नै भुक्तानी भएको थियो । तर, सो भवनको स्वामित्व सहकारीको नभई आफ्नो भएको दाबी तामाङले गर्न थालेका छन् । 

रातोपाटीलाई प्राप्त कागजात अनुसार सिभिल बिजनेस कम्प्लेक्स प्रालिको ५० प्रतिशत स्वामित्व सिभिल सहकारी भएको देखिन्छ । बाँकी ५० प्रतिशत सेयर स्वामित्व लालकाजी गुरुङ र मीना गुरुङको नाममा देखिन्छ । सहकारी स्रोतका अनुसार सो जग्गा लालकाजी गुरुङ र मिना गुरुङको नामा थियो भने त्यसको मूल्यांकन ३४ करोड रुपैयाँ गरी आधा रकम सिभिल सहकारीले तिरेर ५० प्रतिशत सेयर स्वामित्व लिएको थियो ।

सहकारी संस्थाबाट रकम भुक्तानी गरिएर खरिद गरिएको जग्गा र त्यसमा बनेको भवनको दाबी अहिले तामाङले गरेका छन् । सहकारीको नाममा सेयर भए पनि सेयर बापतको रकम सहकारीले भुक्तानी नगरेको दाबी तामाङले गरेका छन् । सो प्रालिको लागि खरिद गरिएको जग्गा र भवनको रकम आफूले तिरेको दाबी तामाङको छ । 

तामाङले सिभिल बिजनेस कम्प्लेक्समा सिभिल सहकारीको नाममा रहेको ५० प्रतिशत सेयर दाबी गरेपछि सो प्रालिका अन्य सेयरधनीले तामाङ र सहकारी दुवैको सेयर नभएको अर्को दाबी गरेका छन् । सिभिल बिजनेस कम्प्लेक्स प्रालिको ५० प्रतिशत सेयर स्वामित्व भएका लालकाजी गुरुङ र मीना गुरुङले सिभिल बिजनेस कम्प्लेक्समा आफूहरूको मात्रै सेयर भएको (सिभिल सहकारी वा इच्छाराज तामाङको सेयर नभएको) दाबी गरेका छन् ।

यस्तै, सुन्धारामै रहेको सिटीसी मल र सिभिल लक्जरी होटल रहेको १२ रोपनी जग्गाको स्वामित्व पनि सिभिल सहकारीबाट हटेको छ । सिभिल सहकारीबाट ५० करोड रुपैयाँ तिरेर पवित्र डेभलपर्सबाट खरिद गरिएको सो जग्गा र भवन अहिले सिभिल सहकारीको स्वामित्वमा छैन ।

‘सिभिल सहकारीबाट ५० करोड रुपैयाँ तिरेर पवित्र डेभलपर्सबाट किनिएको १२ रोपनीमध्ये ६ रोपनी जग्गामा सीटीसी मल र ६ रोपनी जग्गामा सिभिल लक्जरी होटल खोलिएको थियो, यी दुवै सम्पत्तिमा सिभिल सहकारीको ४० प्रतिशत, लालकाजी गुरुङको २० प्रतिशत र सिभिल सहकारीका तत्कालीन सञ्चालकहरूको ४० प्रतिशत सेयर स्वामित्व रहने कागजात भेटिन्छन् तर सिभिल सहकारीले जग्गा सो जमिन स्वामित्व भएको छैन भने जग्गा किन्दा दिएको रकमको पनि कुनै हिसाबकिताब छैन,’ सहकारीका एक पीडितले भने ।

सहकारीको भवन पनि कागजी बिक्रीमा

सिभिल सहकारीको केन्द्रीय कार्यालय रहेको सोल्टीमोडको जग्गा र भवन पनि तामाङको कम्पनी सिभिल ग्रुपलाई विक्री गरेको कागजी प्रक्रिया पूरा गरिएको आरोप पीडितले लगाएका छन् । सोल्टीमोडमा सिभिल सहकारीले खरिद गरेको ३ रोपनी जग्गामा सहकारीको केन्द्रीय कार्यालय छ ।

‘सोल्टीमोडको ३ रोपनी जग्गा र सिभिल सहकारी भएको भवन समेत ८ करोड रुपैयाँमा सिभिल ग्रुपले खरिद गरेको देखाइएको रहेछ, सहकारीको सम्पत्ति व्यक्तिगत वा निजी कम्पनीमा सारेर बचतकर्तालाई रकम फिर्ता नगर्ने नियतका साथ काम भएको पाइयो,’ एक पीडितले भने । सिभिल सहकारीको विभिन्न स्थापनमा गरी ३५० रोपनी जग्गा खरिद गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिव सत्याल
शिव सत्याल
लेखकबाट थप