शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोठाटारमा गोली प्रहार भएका व्यवसायीको उपचारका क्रममा मृत्यु

सोमबार, ०३ असोज २०७९, २१ : २९
सोमबार, ०३ असोज २०७९

राजधानीको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यवसायीको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले लाल मोहम्मद भन्ने मोहम्मद दर्जीमाथि गोली हानेका थिए ।

मृतक गार्मेन्ट व्यवसायी भएको पुष्टि भएको छ । सर्लाहीको हरिवन घर भएका उनले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।  उनी कागेश्वरी बस्दै आएको र त्यही व्यवसाय गर्ने गरेको खुलेको उपत्यका प्रहरी अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए । रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ।  

घाइतेलाई टिचिङ अस्पतालमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषित गरेका हुन् । सोमबार साँझ भएको घटनामा ४ राउण्ड गोली चलेको बताइएको छ । दर्जीलाई टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड  गोली लागेको थियो । 

प्रहरीका अनुसार मोहम्मद बा ६ च ५१५२ नम्बरको गाडीमा सवार थिए । उनलाई फलो गर्दै मोटरसाइकलमा आएका दुई जनाले गाडीबाट झरेर गार्मेन्ट (निवास पनि सोही स्थान) तर्फ जाने क्रममा एक्कासि गोली प्रहार गरेका थिए ।  गाडी उनका चालकले चलाएको बताइएको छ । सुरुमा उनीमाथि ४ राउण्ड गोली प्रहार भएको र त्यसपछि एक राउण्ड हवाइ फायर भएको प्रत्यक्षदर्शी राम श्रेष्ठले जानकारी दिए ।  

गोली लागेर ढलेपछि अपराधीले पेस्तोलको बटले टाउकोमा समेत हानेका थिए । गोली चलेको आवाज सुनेपछि मृतककी छोरीसहितका स्थानीयले हल्लाखल्ला गरेपछि पेस्तोल छाडेर अपराधी भागेको बताइएको छ । 

प्रहरीले गोली चलेको स्थलबाटै प्रहरीले पेस्तोल बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी भरत बोहराले घटनास्थलबाट पेस्तोल बरामद भएको बताए ।  प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान तीव्र पारेको छ।

चालकको बयान–
यसैबीच गाडी चालक रामप्रसाद गौतमले केही दिनअघिदेखि नै मोहम्मदले असुरक्षा महसुश गरेको दाबी गरेका छन् । कोबाट असुरक्षा भएको भनेर केही नखुलाएपछि मोहम्मदले प्रहरीमा भने जानकारी गराएको उनको भनाइ छ । ‘मेरो ज्यानको खतरा भयो उहाँले बौद्ध प्रहरीलाई जानकारी गराउनुभएको थियो’, उनले भने ।

काभ्रे घर भएका चालकले आक्रमणकारीले एकाएक गोली प्रहार गरेको बताए । गाडी अगाडि रोकिएका नचिनेका व्यक्तिहरुलाई साइड छाड्न भन्दा नमानेको र मोहम्मद गाडीबाट झर्ने बेलामा एकाएक गोली चलाएको उनको भनाइ छ ।  उनले भने, ‘प्लाष्टिक लिन जोरपाटी गएका थियौँ । घर नजिक आएपछि एकाएक साइडमा मोटरसाइकल रोकियो । साइड छाडिदिन भन्दा बोलेनन् । गाडीबाट झरेपछि मालिकलाई गोली हान्यो ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप