बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गोठाटार घटना : मृतक मोहम्मद १० वर्ष जेल बसेर निस्केका थिए

सोमबार, ०३ असोज २०७९, २३ : ४३
सोमबार, ०३ असोज २०७९

 काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली प्रहारबाट ज्यान गुमाएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मद १० वर्ष जेल बसेर निस्केको खुलेको छ । सोमबार साँझ अज्ञात व्यक्तिहरुले पछ्याएर सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदलाई गोली प्रहार गरेका थिए । 

उनको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली लागेको छ । उपचारको क्रममा उनको त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । 

२०६४ असार २० मा काठमाडौंको अनामनगरस्थित धोबिखोलामा बाराका बलराम पटुवाको गोली प्रहारबाट हत्या भएको थियो । सो घटनामा प्रहरीले लाल मोहम्मद र पप्पु गुप्तालाई पक्राउ गरेर मुद्दा चलाएको थियो । पटुवालाई गोली हानेको आरोप लागेका अर्का व्यक्ति मुन्ना खान भनिने इल्ताव हुनेस अन्सारी पनि २०६६ मा पक्राउ परेका थिए । भारतीय जाली नोट कारोबारबारे विवाद हुँदा लाल मोहम्मदको समूहले पटुवाको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

​ सोही मुद्दामा अदालतले लाल मोहम्मदलाई १० वर्ष कैद सजाय गरेको थियो । सो सजाय भुक्तान गरेर उनी छुटेका हुन् । 

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार मोहम्मद लगायतका समूहले पाकिस्तान र बंगलादेशबाट नक्कली भारतीय नोट ल्याएर भारतमा पठाउने गरेका थिए । 

अनुसन्धानमा असहयोग 
कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा मोहम्मद दर्जीले ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट चलाएका छन् । भाडामा लिएको घरको एउटा तलामा गार्मेन्ट छ, माथिल्लो तलामा उनी परिवार सँग बस्दै आएका थिए । 

जोरपाटीबाट कपडा प्याक गर्ने प्लाष्टिक लिएर फर्केका उनलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लिनासाथ दुई जनाले गोली हानेर भागेका हुन् । मोहम्मदका परिवारले अनुसन्धानमा प्रहरीलाई असहयोग गरेका छन् । मोहम्मदले बोक्ने मोबाइल उनका परिवारले प्रहरीलाई दिन अस्वीकार गरेका छन् । 

उनको साथमा नेपाल कम्युनिष्ट पार्टीको परिचयपत्र फेला परेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।

 सिसिटिभी फुटेजमा रातो रङको शर्ट र जिन्स पाइन्ट लगाएका युवकले लखेटेर उनलाई अन्धाधुन्ध गोली प्रहार गरेको देखिएको छ । गाडी वरिपरि भागेका मोहम्मदले केहीबेर प्रतिकारको प्रयास गरेका छन् । 

घटना थाहा पाएर छोरी घरको दोस्रो तलाबाट हाम्फालेपछि सुटर भागेको दृश्य सीसी क्यामरामा कैद भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप